Powered by Blogger.
बिसिङ्खेलमा भव्य रुपमा चम्पाकेश्वर जात्रा सुरु


चित्लाङ, १ कात्तिक । उत्तरी मकवानपुरको चित्लाङ गाविसमा पर्ने बिसिङ्खेलमा आज भव्य रुपमा चम्पाकेश्वर महादेवको जात्रा सुरु भएको छ । हरेक वर्ष कात्तिक १ गते हुने उक्त जात्रालाई स्थानीयहरु ‘अम्बे’ जात्रा भनेर पनि चिन्दछन् ।  

चित्लाङका  चार गाँउका ऐतिहासिक गोपाली जातीले राष्ट्रिय चाड दशैं समेत पछि सारेर मनाउने प्रचलन रहेको चम्पाकेश्वर महादेवको जात्रा यस पाली कात्तिक १ गते अर्थात सोमबार सम्पन्न हुँदैछ ।
चित्लाङ्ग गाविसको बिसिङ्गखेलमा हरेक वर्ष कात्तिक संक्रान्तीको दिन लाग्ने यो मेला दशैको एक हप्ता अगाडि सम्म पर्न गएमा उक्त जात्रा सम्पन्न गरेर मात्र स्थानीय गोपालीहरुले विधि पूर्वक दशैं मान्ने गरेका छन् । यसपालि पनि नुहुल गाँउ, टौखेल, कलाँटु र अम्बुटोलका बासिन्दाले विधिपूर्वक अम्बे जात्रा मनाइरहेको टौखेल गाँउका दीपक गोपाली दामन पोष्टलाई बताए । 

धार्मीक ग्रन्थ रामायणको पात्र वाणासुरको कथासंग चम्पाकेश्वर महादेवको उत्पत्तिको प्रसंग जोडिएकोले चम्पाकेश्वर महादेवको उत्पत्ति आदि कालमै भएको दाबी छ ।  गोपाली जातीको बाहुल्यता रहेको यो क्षेत्रमा नाच र जात्रा चलाउन गुठीको ब्यवस्था गरीएको छ ।

यस भेगमा पानी नपरेमा पानी माग्न र गाईवस्तुको रक्षाको लागि चम्पाकेश्वर महादेवलाई पुज्ने बताइन्छ । यस मन्दिरमा पुख्यौँली घर पाटन रहेका राजोपाध्याय  खलकका पुजारी छन् । प्रत्येक वर्ष जात्रामा विशेष पुजाका लागि महादेवलाई जाँड  र एकैपटक कुटीएको चिउरा चढाउनु पर्छ । जस लाई स्थानिय वासिन्दा ‘कक बजि’ भन्दछन् ।

बेलुकी काठको लठी ठोकाठोक गरेर टाउकोमा पगरी  र पगरीभरि फुल सिउरेर स्थानीय गोपालीहरुले घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलन रहेको छ । उक्त नाचलाई स्थानिय भाषामा ‘ट्वाक प्याखँ ’ भनिन्छ ।
स्थानिय गोपालवंशी ग्वालाहरुको अत्यन्त श्रद्धाको पर्व चम्पाकेश्वर मेलामा विभिन्न गुठीयारहरुले चार घेम्पो जाँड ल्याउने प्रचलन छ । कीरा परिसकेको उक्त जाँड र ‘कक बजि’ प्रसादको रुपमा खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास रहेको चित्लाङ्ग माझगाउका पुण्यराज बलामीले जानकारी दिनुभयो ।


किम्बदन्ती अनुसार हालको थानकोटलाई प्राचिन कालमा शोणितपुर भनिन्थ्यो ।  त्यहा राजा बाणासुर ले राज्य गर्दथे । एक दिन शिकार खेल्न राजपरिवार र सेनाहरु चन्दागिरी जंगल हँुदै बिसिङ्गखेलको वनमा आइपुगेको स्थानिय बासिन्दा बताउँछन् । उक्त वनको एउटा रुखमा फुलिरहेको चापको फुल राजकुमारीले देखेपछि उनी लोभिएको र उक्त फुल टिपेर ल्याउन अनुरोध गरिएको स्थानिय बुढापाकाहरु बताउँछन्  ।


कथाअनुसार फुलको रुखको फेदबाट हेर्दा फुल देखिने र टुप्पोमा पुग्दा हराउने गरेपछि राजालाई साह्ै रिस उठेछ । त्यसपछि कलाँटु गाँउका काठका काम गर्ने ब्यक्तिहरुलाई बोलाएर उक्त रुख काट्न आदेश दिएछन् । रुख काट्दा रगत आएको र एउटा ज्योर्ती्लिङ्ग पैदा भएपछि कलाँटुका गमालहरुले उक्त लिङ्ग आफ्नो गाँउमा लगेर राखेछन् । तर त्यो रात गाँउमा कुखुराको भाले नबासेपछि केहि अनिष्ट भयो भन्ठानेर गाँउलेमा चिन्ता बढेछ ।
क्षमापुजा गरेपछि आकाशवाणी भएर ‘सोझा जाती गोपाली बस्ने टौखेलमा मलाई लगेर राख्न’ भनेपछि अझैपनि जात्राको दिन टौखेलबाट शिवलिङ्ग ल्याउने र जात्रा सकिएपछि फिर्ता लैजाने प्रचलन रहेको स्थानिय हरि गोपालीले बताए । सो चाँपको रुखको ठुटो हालसम्म मन्दिर क्षेत्रमै रहेको छ ।


तस्बिरः फाइल फोटो

0 comments

Write Down Your Responses