Powered by Blogger.
प्रवासबाट ल्याए सुन्दरले कला साहित्यको ‘रेमिट्यान्स’


बिमला घिमीरे

काठमाडौँ, ९ मंसिर । वैदेशिक रोजगारीका लागि विदेश जानेहरूले ‘रेमिट्यान्स’ त ल्याउँछन् नै, तीमध्ये केहीले भने साहित्य, कला र संस्कृतिरुपी ‘रेमिट्यान्स’ पनि ल्याउने क्रम बढिरहेको छ । यसै क्रममा पछिल्लो पटक यस्तै कविताको ‘रेमिट्यान्स’ लिएर स्वदेश फर्किएका छन्, बहराइनमा कार्यरत भोजपुर, छिनामखुका युवा सुन्दर गुरुङ । उनै गुरुङको पहिलो कविताकृति ‘आफूले खोजेको स्वर्ग’ बिहीबार राजधानीमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले विमोचन गरे । 

विमोचनपछि मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि रसिकले वैदेशिक रोगजारका क्रममा विदेश गएका नेपाली युवाहरूले पछिल्लो समयमा नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा उल्लेख्य योगदान पु¥याइरहेको दावी गरे । उनले भने, ‘यही मेसोमा सुन्दर गुरुङ पनि थपिएका छन् । यो साह्रै स्वागतयोग्य कुरा हो ।’  
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य श्रवण मुकारुङले गुरुङका कविताहरूमा आफ्नो गाउँघर, साथीसङ्गी, मेलापात, चाडपर्व, संस्कार तथा संस्कृतिको रङ सघन रुपमा आएको बताए । उनले भने, ‘कतिपयलाई उनका कविताहरू कविताजस्ता नलाग्न सक्छन् तर मलाई उनका कविताले छोए । एउटा पाठकलाई कविताले छुनु भनेको त्यो कविता सशक्त हुनु हो । यसअर्थमा सुन्दरका कविताहरू सुन्दर छन्, प्रभावशाली छन् ।’ 

कृति प्रकाशन तथा विमोचनको सन्दर्भमा एक महिनाअघिमात्रै स्वदेश आएका कवि गुरुङले कार्यक्रममा ‘आफूले खोजेको शहर’ समेत दुई कविता पाठ गरेका थिए । उनले आफूलाई कविता लेख्न सामाजिक सञ्जाल फेसबुकले उत्पेरित गरेको बताए । उनले भने, ‘फेसबुकको जन्म नभएको भए सायद म कविको अवतारमा आउने थिइनँ होला ।’ 

नेपाली वाङ्मय परिषद्द्वारा आयोजित कार्यक्रममा परिषद् अध्यक्ष प्राज्ञ शशी लुमुम्बू, प्राज्ञ वियोगी बुढाथोकी, सङ्गीतज्ञ तथा संस्कृतिविद् बुलु मुकारुङ, कवि बमबहादुर थापा ‘जिताली’, समीक्षक गुरुङ सुशान्त, कवि मङ्गल वाडे, कवि तथा कथाकार चन्द्र रानाहँछा लगायतले विमोचित कृति तथा कविका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।  

अमृता गुरुङद्वारा प्रकाशित कविताकृतिभित्र ‘मेरो सवाल’, ‘साथी’, ‘दुःखीलाल’, ‘दसैँ’, ‘वनचरी’, ‘आफूले खोजेको स्वर्ग’, ‘मेरी आमा’, ‘यो कथा शहरको’ गरी २७ वटा कविता समाविष्ट छन् । 
    



0 comments

Write Down Your Responses