Powered by Blogger.
चित्लाङमा बन्ने भयो विश्वस्तरको प्राविधिक विश्वविद्यालय


काठमाडौं । शिक्षा मन्त्रालयले एसियाली विकास बैंकको सहयोगमा विश्वस्तरको कक्षा सञ्चालन हुनेगरी प्राविधिक विश्वविद्यालय स्थापनाको तयारी गरेको छ ।

राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि प्रतिष्ठानका नाममा स्थापना हुने सो विश्वविद्यालयको आवश्यक तयारी अगाडि बढेको छ । त्यसको पूर्वाधार र दिगो वित्तीय व्यवस्थापनका लागि वृहत  छलफल समेत भइरहेको छ  । 

शिक्षामन्त्री धनीराम पौडेलले प्रतिष्ठानको प्राथमिकता, अध्यापन, अनुसन्धानका विषय, उत्कृष्ट प्राध्यापक तथा विद्यार्थी कसरी आकर्षित गर्ने भन्नेबारेमा विदेशी विज्ञसहितको सुझावका आधारमा अघि बढ्ने तयारी भएको बताए । 

उनले प्राविधिक उच्च शिक्षातर्फ सो प्रतिष्ठानको स्थापना समृद्ध तथा समाजवादउन्मुख नेपालका लागि कोसेढुङ्गा साबित भई स्वदेशमै अन्तर्रा्ष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे ।

प्रतिष्ठान खोल्न मकवानपुरको चित्लाङमा करिब २०० रोपनी जग्गा लिने प्रक्रिया सुरु भएको मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिए ।

एडिबीका देशीय निर्देशक केनिची याकोयामाले प्रतिष्ठान स्थापनाका लागि आफूहरुले प्रारम्भमा सहयोग गर्ने र सरकार तथा अन्य दातृ निकायले यसमा थप लगानी गर्ने अपेक्षा व्यक्त गरे ।

0 comments

Write Down Your Responses