bank

BANK





Powered by Blogger.
बज्रबाराही उच्च माविको शैक्षिक महोत्सवमा हाम्रो दायित्व

रामजी बलामी
बज्रवाराहीमा शिक्षाको ज्योति बाल्दै अघि बढेको श्री बज्रवाराही उच्च माविले ६२ वर्षे वयश्क अवधि पार गरिसकेको छ । स्थापनायता विद्यालयले विविध समस्या र चुनौतिहरु सामना गर्दै अहिले उच्च माध्यामिक तहको पठनपाठन गरिरहेको छ ।
       
विद्यालयले सर्वप्रथम वि.सं. २०११ मा १ शिक्षकको व्यवस्थासहित प्रावि तह सञ्चालनका लागि अनुमति पाएको थियो । सुरुमा हाल उच्च मावि रहेको स्थानमै समुदायको समन्वयमा सामान्य खालको भवन बनाई पढाई सुरु भएको थियो । तर विडम्वना विविध कारणवश उक्त भवनमा लामो समय पठनपाठन हुन सकेन । त्यसपछि हाल प्रावि तहको कक्षा संचालनमा रहेको थहचोकमा स्थानीय स्रोत साधनको प्रयोग गरी पक्की भवन बनाई पढाई संचालन भयो । 

संचालन अनुमति पाएको करिव १४ बर्ष पछि वि.सं. २०२५ मा विद्यालयले प्रावि तहको स्वीकृत पायो । यसै गरी अनेक उतारचढावका बीच वि.सं. २०२८ मा निमावि. तह स्वीकृत भयो र एवं तरिकाले वि.सं. २०४५ मा मावि तहको अनुमति प्राप्त भयो । तर विडम्वना मावि तहको अनुमति पाइसक्दा समेत विद्यालयमा सुविधा सम्पन्न भवन थिएन । र प्रावि कक्षा संचालन भईरहेकै भवनमा पठनपाठन चलिरह्यो ।

स्थानीयमा बढ्दो चेतनासँगै बिद्यार्थीहरुको संख्या बढ्दै गएपछि विद्यालय व्यवस्थापन समितिलाई थप चुनौती आई प¥यो । तिव्रदरमा विद्यार्थीको संख्या बढ्न थालेपछि कक्षाकोठा लगायतको पूर्वाधारको अभाव खट्किन थाल्यो । त्यसपछि फर्सिखेलमा रहेको भवनमा पढाई सुचारु गरियो । त्यसैगरी बि.सं.२०६४ मा उच्च मावि तह सम्बन्धन प्राप्त गरी अहिले कक्षा १ देखि १२ सम्म अध्ययन अध्यापन कार्य सुचारु भैरहेको छ ।

विद्यालयबाट प्राप्त जानकारी अनुसार यस विद्यालयको प्रावि तहको सेवा क्षेत्र अन्तर्गत वडा नं. १३ पुरै तथा वडा नं. १५ को केही क्षेत्र, निमावि तहको सेवा क्षेत्र अन्तर्गत वडा नं. १४ र १५ पर्दछन् । यसैगरी मावि तहको सेवा क्षेत्र अन्तर्गत यस नगरपालीकाका वडा नं. १३ देखि १५ सम्म पर्दछन् ।

यसको अतिरिक्त चित्लाङ्ग गाविसको बिसिंखेल र टिष्टुङ्ग गाविसको देउराली क्षेत्रबाट पनि मावि तहमा अध्ययन गर्नका लागि बिद्यार्थीहरु आउने गर्दछन् । उच्च माविको सेवा क्षेत्र अन्तरगत चित्लाङ्ग गाविसको बिसिङखेल टिष्टुङ्ग गाविसको देउराली तथा परको केही क्षेत्र र मार्खु गाविसको सेरा, मार्खु बजार, खानिखेत तथा धादिङबाट आफन्त हुनेहरु पनि यस विद्यालयमा आएर अध्ययन गर्ने गरेका छन् । 

यो विद्यालयले अहिलेसम्म कृषि उद्यमी, चिकित्सक, शिक्षक, कलाकार, संगीतकार, लेखक, पत्रकार, वकिलदेखि सभासदसम्म उत्पादन गरिसकेको छ । जसोतसो घिस्रिदै यो अवस्थामा आईपुगेको बज्रवाराही उच्च माविलाई अब कुन दिशातर्फ लैजाने भन्ने जिम्मेवारी तिनै उत्पादनहरुको काँधमा आएको छ । जसरी अभिभावकले आप्mनो सन्तानबाट हेरचाह र राम्रो पालनपोषणको अपेक्षा राखेको हुन्छ त्यसरी नै तपाई हाम्रो दिमागमा शिक्षाको ज्योति छरेर यहाँ ल्याई दिएको विद्यालयले तपाई हामीबाट केही आश राखेको छ । 

जसरी तपाई हामीले हाम्रो अभिभावकलाई साथ दिनुलाई आप्mनो दायित्व ठान्छौ त्यसरी नै हामीलाई यो अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विद्यालयलाई सहयोग गर्नु हाम्रो प्राथमिक दायित्व हो । जो कोहीको पनि दोश्रो घर विद्यालय र दोश्रो अभिभावक शिक्षक शिक्षिका हुन् । त्यसैले जसरी हामी आप्mनो पहिलो घर र पहिलो अभिभावकलाई साथ, सहयोग र सम्मान गर्छाै त्यसरी नै दोश्रो घर विद्यालयलाई साथ, सहयोग र सम्मान दिनु हाम्रो नैतिक धर्म हो । यो कर्तब्य र दायित्व पनि हो ।

हामी जहाँ पुगे पनि, जे जस्तो प्रगति गरे पनि हाम्रो हरेक प्रगतिका पाइला पाइलामा विद्यालयको योगदान रहेको छ । यदि बिद्यालयले तपाईमा शिक्षाको ज्योति नभरेको भए तपाई अहिले जुन अवस्थामा हुनुहुन्छ त्यो अवस्थामा पक्कै पुग्नु हुने थिएन । एक सच्चा विद्यार्थीले कदापि ‘खोला त¥यो लौरो बिस्र्याे’ प्रवृति अंगाल्न सक्दैन । यदि तपाईले त्यो प्रवृति अंगाल्ने गर्नु भएको छ अथवा अंगाल्ने सोच बनाउदै हुनुहुन्छ भने त्यो तपाईकै लागि घातक सावित हुनेछ किनकी तपाईको अगाडि झन ठूलो खोला बगिरहेको हुन सक्छ । 

जसरी विद्यार्थीको भविष्य शिक्षक र विद्यालयको हातमा रहन्छ त्यसरी नै विद्यालयको भविष्य त्यहाँका स्थानीय र विद्यार्थीमा निर्भर रहन्छ । 

यहाँ अलि जोड्नैपर्ने प्रसंग के पनि हो भने यदि बज्रवाराहीमा यो विद्यालय नभएको भए हामी कुन अवस्थामा हुन्थ्यौ ? के हाम्रो अभिभावकले हामीलाई पालुङ, हेटौडा, काठमाडौं लगायतका सहरमा लगेर पढाउन सक्नु हुन्थ्यो ? यो अवस्थामा प्रावि र माविको शिक्षाबाटै कयौ स्थानीय वञ्चित हुन्थे । त्यसैले बिद्यालयलाई यहाँसम्म ल्याउने अगुवाहरु र शिक्षक शिक्षिकाहरुलाई हार्दिक नमन गर्नै पर्छ । उहाँहरुको योगदानकै कारण आज हामी यो अवस्थामा आउन सफल भएका छौ ।

पंक्तिकारले एसएलसी दिँदासम्म पनि जम्मा ३८ जना विद्यार्थी मात्रै परीक्षामा सहभागि थिए । एसएलसी उत्तिर्ण गरेकामध्ये केहीले मात्रै राजधानी र सदरमुकाम गएर जसोतसो उच्च शिक्षा हासिल गरे । उनीहरु मध्ये पनि आर्थिक, घरायसी लगायतका समस्याले गर्दा कतिपयले बीचकै पढाई छाड्न बाध्य भए । यदि त्यतिबेला उच्च मावि गाउँमै भई दिएको भए सबैले प्सल टु सम्मको शिक्षा त पक्कै हासिल गर्थे नि । 

माविबाट प्लस टु संचालन गर्ने बखतमा पनि अनेकन समस्याहरु नआएका होईनन् तर तपाई हामी जस्तै सहयोगी मनहरुका कारण यो सम्भव भएको हो । 

त्यसपछिका विद्यार्थीहरुले गाउँमै बसेर प्लस टु अध्ययन गर्न पाएका छन् । बज्रवाराही उच्च माविमा प्लस टु अध्ययन सुरु भई सकेपछि त्यहाँको विद्यार्थी र अभिभावकले निकै राहत अनुभूत गरेका छन् । 

अहिले स्नातक तहको पढाईका लागि निकै सकस परिरहेको छ । विगतमा प्रावि, मावि, उच्च मावि तहमा जस्तै अहिले प्लस टु पछिका विद्यार्थीहरु समस्यामा छन् । एकातिर रोजगारी पाउन गाह्रो अर्काेतिर सहरको महंगो बसाई जसले गर्दा एकदमै थोरै विद्यार्थीले मात्रै स्नातकमा पाइला चालेका छन् । यो भनेको उसको निजी मामिला मात्रै होईन समाज, विद्यालय र तपाई हाम्रो सबैको साझा समस्या हो । फेरि यो समस्याको समाधान पनि हामीभित्रै छ । जसलाई पहिल्याएर कार्यान्वयन गर्न हामी चुकिरहेका छौ ।

सहयोगको कुरा गर्ने वित्तिकै आर्थिक सहयोग नै भन्ने लाग्न सक्छ तर यो एउटा महत्वपूर्ण पाटो भए पनि तपाई हामीले विभिन्न कोणबाट सहयोग गर्न सक्छौ । व्यवस्थापन समितिले पनि व्यक्तिको क्षमताको मुल्यांकन गर्दै स–सम्मान सहयोग स्विकार्नु पर्छ । तर तपाई सक्षम हुनुहुन्छ भने सक्दो आर्थिक सहयोग गरौं त्यसवापत विद्यालयले तपाईलाई उचित सम्मानको पनि व्यवस्था गरेको छ । 

होईन, तपाईलाई आर्थिकरुपमा समस्या छ भने तपाई कुन क्षेत्रमा हुनुहुन्छ त्यही सहयोग गर्न सक्नु हुन्छ । शारिरीक, बौद्धिक, भौतिक, आर्थिक लगायत सबै सहयोग नै हुन् । अथवा तपाईले जति सक्नु हुन्छ सोही अनुसार हृदयदेखि खुसी भएर सहयोग गर्न सक्नु हुन्छ । भनिन्छ नि ‘एक थुकी पो सुकी, सय थरकी त नदी बन्छ ।’ हो, तपाई हामी एक्लैले पो केही गर्न सकिन्न, तपाई हामी सबै मिलेपछि जे पनि गर्न सकिन्छ । 

तपाईको आम्दानीको स्रोत राम्रो छ भने तपाईले एक महिनाको तलब विद्यालयलाई दिँदा केही फरक पर्दैन । धार्मिक कोणबाट भन्नुपर्दा तपाईलाई धर्म लाग्छ, सामाजिक कोणबाट भन्नुपर्दा तपाईको मान प्रतिष्ठा इज्जत बढ्छ । सक्नु हुन्न भने पनि १५ दिन, एक हप्ता अथवा एक दिनको तलव मात्रै  दिँदा पनि राम्रो सहयोग जुट्छ । अझ भनौ तपाईले एक महिनाको खाजा खर्च, अथवा एक महिनाको चिया खर्च, अथवा एक पटकको साथीभाईसँगको जमघटको, अथवा एक पटकको घुमफिरको, अथवा एक पटक घरायसी जमघटको, अथवा एक पटक डेटिङ जाँदाको खर्च मात्रै जोगाएर सहयोग गर्नु भयो भने पनि तपाईको योगदान अमूल्य सावित बन्ने छ ।  

तपाई हाम्रो गाउँ, स्कुल अरु कसैले विकास गरि दिने होईन तपाई हाम्रो पहल र प्रयासबाट बिकास हुने हो । सकारात्मक सोचौ त्यसको नतिजा पनि सकारात्मक नै आउँछ । तर सुरुमै नकारात्मक सोच्न थाल्नु भयो भने त्यसले न तपाईलाई फाइदा गर्छ न त अरुलाई नै ।

आप्mनै निजी फाइदा खोज्ने खालको संकुचित सोचले होइन समाज, गाउँ र मुलुकको भविष्यलाई पनि एक पटक सोच्ने गरौ । ‘धर्तीमा जन्मेर धर्तीका लागि केही गर्दैन भने उनको जन्मको कुनै अर्थ छैन’ भन्ने भनाई पनि छ । त्यसैले आफू जन्मेको धर्तीलाई ऋण तिर्नु हरेक नागरिकको दायित्व हो । जन्म, मोजमस्ती र मृत्यु त पशुपंक्षीको पनि हुन्छ तर मान्छे भएर जन्म लिएपछि मान्छेको भूमिका निर्वाह गर्नु पर्छ । त्यो भनेको पीडामा परेकालाई मल्हल लगाउनु र जन्मभूमिलाई सेवा गर्नु हो ।

तपाई हामी ‘देश बनेन, नेताहरुले बिगारे’ भनेर कराउँछौ तर देश नेताले होईन तपाई हामीले नै बिगारिरहेका छौ । गाउँ, समाज र देश बिग्रिनुमा तपाई हाम्रो पनि उत्तिकै दोष छ त्यसैले अरुलाई एउटा औला देखाउँदा बाँकी चार औलाले आफैलाई देखाईरहेको हुन्छ भन्ने कुरा पनि हेक्का राख्नुपर्छ ।

अरुले जे जस्तो गरोस् तर राम्रो कामको सुरुआत आफूबाटै गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । सबैले अरुको मात्रै मुख ताक्ने हो भने यहाँ हुनेवाला केही छैन । सके आफूले पनि केही गरौं, नसके अरुले गरेको काममा सहयोग गरौ र त्यो पनि नसके अरुले गरेको राम्रो कामको विरोध कदापि नगरौं । बरु प्रशंसा गरौं ।

डाहा, स्वार्थ, घमण्ड, ईष्र्या भन्ने कुराले क्षणिक रमाईलो त महशुस गराउला तर यसले तपाईको भविष्यलाई नै भड्खालोमा हाली दिन्छ । 

अतः बज्रवाराही उच्च माविलाई मुलुककै नमुना विद्यालयका रुपमा स्थापित गर्न धार्मिक तथा शैक्षिक महोत्सव आयोजना हुँदैछ । ब्यवस्थापन समितिले विद्यालयको नमुना समेत सार्वजनिक गरिसकेको अवस्थामा अव त्यसलाई कार्यान्वयनमा लैजान तपाई हाम्रो सहयोगको खाँचो छ । बज्रवाराही उच्च मावि नमुना विद्यालयको रुपमा स्थापित हुनु भनेको बज्रवाराहीवासीका लागि त ठूलो गर्वको विषय भयो नै साथै यसले मुलुकको शैक्षिक क्षेत्रको विकासमा समेत महत्वपूर्ण टेवा पु¥याउने छ । 

तपाई हाम्रो सानो सहयोगले मुलुकले नै समृद्धिको पाइला चाल्छ भने सहयोग गर्न किन पछि हट्ने,  होईन र ?

(बलामी भूतपूर्व विद्यार्थी समन्वय समिति काठमाडौंका अध्यक्ष तथा शैक्षिक तथा धार्मिक महोत्सव प्रचार प्रसार उपसमितिका सदस्य छन् ।)




0 comments

Write Down Your Responses