Powered by Blogger.
तेस्रो मनहरी महोत्सवको समापन गर्दै अरुणराज सुमार्गीले के भने त ?

मनहरी–भब्य समारोहका बीच तेस्रो मनहरी महोत्सव २०७३ को बुधवार समापन गरिएको छ । उद्घाटनलाई भब्य बनाउन नपाइएपनि समापनलाई आयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीले व्यवस्थित बनाएको हो । 
नेपाल उद्योग वाणिज्य संघ मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष अरुणराज सुमार्गीको प्रमुख आतिथ्यतामा महोत्सव समापन समारोह आयोजना गरिएको हो ।

समापन समारोहमा प्रमुख अतिथि सुमार्गीले ग्रामीण क्षेत्रमा आयोजना हुने महोत्सवले मौलिकता झल्काउनुपर्ने धारणा राखेका थिए । उनले आफू मकवानपुर  उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा सुरुवात गरेको पश्चिम क्षेत्र समिति र मनहरी महोत्सवले सफलता तिर उन्मुख हुँदै तेस्रो महोत्सवसम्म पुगेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत यो सक्रियतालाई कायम राख्नुपर्ने बताएका थिए । 
महोत्सवमा पाँच करोड रुपियाँभन्दा बढीको कारोबार भएको आयोजक मूल समारोह समितिका संयोजक गोविन्द रिजालले बताए । उनका अनुसार १५ वटा ट्रेक्टर महोत्सवस्थलबाटै बिक्री भएका छन् । अझै केही संख्याका ट्रेक्टरहरु बुकिङ भएको बताइएको छ । कारोबारमा मुख्य हिस्सा ओगटेको ट्रेक्टर बिक्रीकै कारण आर्थिक कारोबारका लक्ष्य पूरा भएको उनले बताए । 
अटोका अलावा बाल उद्यान, होटल, तयारी पोशाक तथा सांस्कृति कार्यक्रमहरु र टिकट बिक्री समेत गरी कूल कारोबार रकमले लक्ष्य प्राप्ति गरेको उनले सुनाए । ‘सोचेजस्तै सफलता हात पारेका छौँ, मौसमले साथ नदिएपनि हामी संकटग्रस्त छैनौँ’, रिजालले भने । 
महोत्सवमा कूल २ सय वटा स्टलहरु राखिएका थिए । तीमध्ये मौसमले साथ नदिएपछि केही स्टलहरु बुकिङ भएपनि व्यवसायीहरु आएका थिएनन् । सुरुका दिनहरुमा शून्यप्राय बनेको व्यापारल केही दिनपछि नै गति लिएको थियो भने महोत्सवको अन्तिम दिनसम्म पनि व्यापारमा सहभागी स्टलवालाहरु व्यस्त नै देखिन्थे । पछिल्ला ५ दिनमा महोत्सवमा देखिएको चापले व्यापारीहरु समेत खुसी भएका थिए । कूल १ लाख जनाले महोत्सवको अबलोकन गरेको अनुमान गरिएको आयोजक समितिका संयोजक रिजालले जानकारी दिए । 
महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु आएका थिए । उनीहरुले हरेक दिनजसो सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । लोकप्रिय गायकहरु पशुपति शर्मा, शिव परियार, सुगम पोखरेल, ज्योति मगर, लोकप्रिय हाँस्यव्यंग्य टिम भद्रगोलका कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे पाँडे बुढा, सागर लम्साल बले लगायतका कलाकारहरु महोत्सव अबधिभरमा आएका थिए ।
त्यसैगरी जीवन परियार, बलराम अधिकारी, सुनिल पण्डित, सीता कँडेल, मुक्तिनाथ उप्रेती, अन्जन दाहाल, प्रलय चौलागाईं लगायतका कलाकारहरुको दमदार प्रस्तुतिले महोत्सवलाई रोमाञ्चित पारेको थियो । नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ, सुन्दर लामा, रीता चेपाङ, गमबहादुर चेपाङ लगायतका स्थानीय रुपमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिले पनि महोत्सवलाई थप शोभायमान पारेको थियो । त्यसैगरी स्थानीय आस्था कला केन्द्र, सिर्जना कला केन्द्र तथा आरजे डान्स एकेडेमीका नृत्यकार÷नृत्यांगनाहरुका कारण पनि महोत्सवमा भरपुर मनोरन्जन प्राप्त भएको थियो । 
महोत्सवमा कृषि प्रदर्शनीले पनि विशेष महत्व राखेको थियो । जिल्ला कृषि विकास कार्यालय मकवानपुरको संयोजनमा भएको कृषि प्रदर्शनीमा उत्कृष्ट कृषि उपज प्रदर्शन गर्ने सबै कृषकहरु समापन समारोहका बेला नगदसहित पुरस्कृत भएको थिए । 
यसैबीच मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिले गीतसंगीत क्षेत्रमा विशेष योगदान पु¥याएका हेटौँडाका गायक अन्जन दाहाललाई सम्मान गरेको छ । उनलाई दोसल्ला तथा कदरपत्रसहित सम्मान गरिएको हो । 
कार्यक्रम समापन अबसरमा गायकहरु अन्जन दाहाल, प्रलय चौलागाई, सुन्दर लामा, रविनकुमार चेपाङ लगायतले गीतसंगीत प्रस्तुत गरेका थिए भने आस्था कला केन्द्रका कलाकारले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा मूल आयोजक समारोह समितिका संयोजक गोविन्द रिजालले स्वागत गरेका थिए भने राजनीतिक दलका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता प्रदीप घलान, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने लगायतले बोलेका थिए । महोत्सवमा योगदान गर्नेहरुलाई मायाको चिनो, कदर पत्र प्रदान गरिएको थियो । त्यसैगरी झाँकी प्रदर्शनमा श्रेष्ठता हासिल गर्ने विभिन्न विधाका संस्था तथा प्रतिष्ठानहरुलाई पनि सम्मान गरिएको थियो । 

0 comments

Write Down Your Responses