Powered by Blogger.
ककनीमा जिप लाईनको चहल पहल बढ्दो

विचारी चाम्लीङ
जिप लाईन स्पोटस प्रालि नामक कम्पनिले हालै मात्र नुवाकोट जिल्लाको पर्यटकीय स्थल ककनीमा जिप लाईन संचालनमा ल्याएको छ । हाम्रा गाँउघर वरपर जंगल, भिर ,पहाड र पखेरा प्रशस्त छन् । असंख्य रुपमा रहेका ति सम्पदाको उचित सदुपयोग हुन नसक्दा त्यत्तिकै खेर गइरहेको छ । 

पछिल्ला समय तिनलाई उपयोग गरेर केही नयाँ अवधारणा ल्याउन सके आन्तरिक पर्यटनमा टेवा पुग्नुका साथै राज्यलाई पनि केही फाइदा हुन्छ भन्ने प्रमाणित भइरहेको छ ।

उदाहरणका लागि चन्द्रागिरीको डाँडामा केवुलकार बनाएर ‘साँच्चै आँट्यो भने’ जे पनि हुँदोरहेछ भन्ने प्रमाणित भइसकेको छ । त्यति मात्र होइन गोर्खाको चर्चित मनकामना मन्दिरमा दैनीक रुपमा हजारौंको संख्यामा आउजाऊगर्ने भक्तजनलाई लक्षित गर्दै केवलकार निर्माण गरिएपछि त्यस क्षेत्रको कायापलट नै भएको छ ।

हो, यस्तै अवधारणाका साथै राजधानीबाट नजिकै रहेको पर्यटकीय गन्तव्य ककनीमा एक उत्साही युवाले ‘जिपलाइन’ सुरु गरेका छन् । केवुलकारमा जस्तै दृश्यावलोकनको मज्जा लिन सकिने जिपलाइनमा भने एक पटकमा एक जना मात्र मान्छे पठाउन सकिन्छ । 

साहसिक खालको यो यात्रा गराएर सर्वसाधारणलाई मनोरम दृश्यावलोकनको मज्जा दिलाउने अभियानमा ककनीकै स्थानीय युवा सञ्जयकुमार लामा अघि सरेका हुन् । लामाले करिव ३ वर्ष अघिदेखि नै यो सपना साँचेर आवश्यक तयारी थालेका थिए । दर्ता प्रक्रिया सुरु गरेर आवश्यक व्यवस्थापनमा लाग्दा लाग्दै तिन वर्ष बिते पनि अहिले आएर सेवा सुचारु गर्न पाएकामा उनी दंग छन् ।

यही फागुन २१ गते शनिबार ककनीका सचिव किरणमणी श्रेष्ठको उपस्थितिमा उक्त सेवा उद्घाटन समेत भइसकेको छ । उक्त समारोहमा ककनी स्थित क्रियाशील होटेल ब्याबसायी,राजनीतिज्ञ,समाजसेवी,पत्रकारहरु र सर्वसाधारणहरुको बाक्लै उपस्थिति रहेको थियो । 

यसको बारेमा प्रचार प्रसारको कमी भएकाले पनि मानिसहरुले जिपलाइनको बारेमा राम्ररी बुझिसकेका छैनन् । तैपनि औपचारिक उद्घाटन पछि भने जिपलाइन प्रयोगकर्ताहरु बढेकामा लामा खुसी छन् । ‘वाल क्लाइम्बर’को समेत परिचय बनाएका लामा त्यस सम्वन्धी तालिमहरु पनि दिने गर्छन् । एक पटक जिप लाईन सयर गरेबापत ३०० सय रुपैयाँ र दोस्रो पटक बाट २०० सय रुपैयाँ निर्धारण गरिएको छ भने विद्यार्थी सहुलियत ४० प्रतिशत छुट दिइएको संचालक लामा बताउँछन् । 

साधारण जागिर छाडेर नयाँ अभियानमा जोडिएका लामा एक आँटी युवा हुन् । उनले २० औं लाख लगानी गर्नुको स्वार्थ खासै ठुलो रहेनछ । गाँउ ठाँउमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश आम युवाहरुलाई प्रवाह गर्ने र खेर गइरहेको जंगल र पहाडलाई उपयोग गरेर पर्यटक बढाउने नै आफ्नो मुख्य उदेश्य रहेको उनी बताँउछन् । 

उनका यि दुइ उदेश्य पुरा हुने चरणमा छन् । भन्छन्–‘म जहिले पनि चुनौतिमा काम गर्न मन पराउँछु, सुरुवातमा मलाई यसमा अवरोध गर्नेदेखि धेरै चुनौति आए, तर मेरो ब्याक्तिगत स्वार्थ भन्दा पनि केही गरेर देखाँऊ भन्ने लोभले म निरन्तर अघि बढेर आखिर जिपलाइन चलाएरैं छाडें ।’ 

यसबाटै ककनीको परिचय दिलाउने र आन्तरिक तथा वाह्य पर्यटक बढाउने उनको चाहना छ । उनी छोटो दुरीको जिपलाइन चलाउनुका साथै वाल क्लाइम्बीङ सम्वन्धी तालिम समेत दिने गर्छन् । 

नेपालमै पहिलो जिपलाइन सुरु गरेका सञ्जय पछिल्लो समय आफ्नो सपना पुरा भएकामा खुशी पनि छन् । उनले उक्त परियोजनामा स्थानीय शिप र साधनको मात्र प्रयोग गरेका छन् । स्थानीय जिम्बा वर्कशपमार्फत नै उनले आवश्यक सामान, तार र अन्य उपकरणको संयोजन गरेको बताइन्छ ।

यो आफ्नो व्यक्तिगत परियोजना मात्र नभएर सबैलाई शेयर दिने उनको योजना छ । जिपलाइनले चर्चेको क्षेत्रको जग्गा भाडामा लिइएको छ । जुन जग्गावालालाई नाफाको ५ प्रतिशत दिने, गाँउ विकास समितिलाई पनि ५ प्रतिशत दिने सहमति उनले गरेका छन् । त्यतीमात्र होइन नाफाको १० प्रतिशत रकम स्थानीय विकास निर्माणका लागि खर्च गर्न पनि उनी राजी छन् । 

उनको यो अभियानमा सबैको होस्टेमा हैंसेको खाँचो छ । गाँउमा रोजगार नपाएर खाडीको मरुभूमिमा पसिना बगाउन जानेहरुलाई उनले चालेको पाईला देख्दा आफैंले आफैंलाई गिज्याइरहेको भान हुन्छ । तसर्थ लामाको यो अभियानमा सबैले साथ दिएर होस्टेमा हैंसे गरिदिनु हामी सबैको दायित्व हो । राज्यले पनि यस्ता आँटीला युवाहरुलाई प्रोत्साहन गर्ने नीति लिनु आवश्यक छ । 





0 comments

Write Down Your Responses