Powered by Blogger.
जागरण अभियानले दियो विद्यालयलाई पंखा

हेटौंडा, ६ असार । मकवानपुर जागरण अभियानले हेटौंडा ११ गोल्फेनटारमा रहेको शंकरज्योति निमाविलाई ६ थान पंखा सहयोग गरेको छ । भौगोलिक दृष्टिकोणले पछाडि परेको र मध्यमबर्गीय परिवारका बालबालिका अध्ययन गर्ने विद्यालयलाई आज विद्यालयमा पुगी अभियान टोलीले सिलिङ फ्यान सहयोग गरेको हो ।

अभियानका अध्यक्ष कृष्णराज कोईरालाको अध्यक्षतामा भएको पंखा हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक मुकुन्द न्यौपानेले अभियानको सहयोग र कार्यको प्रशंसा गरे । उनले मध्यम वर्गीय परिवारका २ सय ७५ विद्यार्थी अध्ययनरत विद्यालयको आर्थिक श्रोत कम भएकोले धेरै जसो शैक्षिक सामाग्रीहरु सहयोगमा प्राप्त भईरहेको बताए । उनले अभियानको यस किसिमको कार्यले विद्यालयलाई थप टेवा पुगेको भन्दै सहयोग गर्न चाहाने अन्य संघसंस्था र व्यक्तित्वहरुलाई पनि सहयोगका लागि अनुरोध गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष कोईरालाले विद्यालयको समस्याका बारेमा अभियानलाई पहिले पनि जानकारी प्राप्त भएको तर पूँजी अभावका कारण यथासक्दो समयमा सहयोग गर्न नपाएको बताए ।

अहिले गर्मी मौसममा विद्यार्थीहरुले गर्मीमा बस्नु नपरोस् र कम्तिमा शितल वातारणमा बसेर विद्यार्थीहरुले अध्ययन गर्न सकुन् भन्ने उद्देश्यले  पंखा सहयोग गरेको बताए । उनले आगामी दिनमा पनि यो भन्दा अझ ठूला सहयोगहरु गर्न संस्था सँधै तत्पर रहेको उल्लेख गरे ।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीका साथै मकवानपुर जागरण अभियानका अध्यक्ष कोईराला, उपाध्यक्ष जनकमान डंगोल, सचिव बालकृष्ण दाहाल, कोषाध्यक्ष सलिना ढुङ्गेल, सदस्यहरु अंजन दाहाल, अच्यूत चालिसे, ध्रुव देवकोटा लगायतको उपस्थिति रहेको थियो ।

वि.सं. २०७३ सालमा स्थापना भएको अभियानले थोरै समयमा नै विभिन्न सामाजिक कार्यहरु गर्नुका साथै सामाजिक हितका विषयहरुमा खबरदारी समेत गर्दै आएको छ ।

0 comments

Write Down Your Responses