Powered by Blogger.
रुदाने र थाहा दर्शनबारे काठमाडौंमा वृहत छलफल, जन्मस्थानमा पनि माल्यापर्ण र वृक्षारोपण


काठमाडौं, थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको अवसरमा थाहा दर्शन अध्ययन प्रतिष्ठानले मंगलबार काठमाडौंमा रुपचन्द्र र थाहा आन्दोलनको विषयमा छलफल कार्यक्रम गरेको छ ।
  
छलफलमा सहभागीहरुले रुपचन्द्र विष्टले सुरु गरेको थाहा आन्दोलनको विषयमा चर्चा गरेका थिए । नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचनले थाहा दर्शन अहिलेको समयमा पनि उत्तिकै आवश्यक र सान्दर्भिक रहेको भन्दै यसलाई अझै फैलाउनुपर्ने बताए । रुपचन्द्र विष्ट एक दार्शनिक व्यक्तित्व भन्दै उनले सुरु गरेको थाहा आन्दोलन काल्पनिकताको विरुद्ध यथार्थवादी र भौतिकवादी दर्शन भएको बताए ।
  
नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले रुपचन्द्र विष्टले सुरु गरेको थाहा आन्दोलनकै रुप अहिलेको सूचनाको हक भएको बताए ।  माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले थाहा आन्दोलन सत्यको अन्वेषण मात्र नभएर तथ्यको अनुसन्धान गर्ने विधि पनि भएको बताए । सांसद तथा रुपचन्द्र विष्टकी बहिनी गीता वाग्लेले जनमुखी राजनीति गर्ने दाजु रुपचन्द्रले आफू कांग्रेस बन्दा १६ वर्षसम्म नबोलेको स्मरण गरिन् । 

रुपचन्द्र विष्टका भाइ गुणचन्द्र विष्टले रुपचन्द्र विष्टले आफ्नो समयमा मकवानपुरको दुईवटा गाविसमा पहिलो पटक स्थानीय सरकारको अभ्यास गरेको बताए ।  माओवादी केन्द्रका नेता अग्नि सापकोटाले रुपचन्द्र विष्टको व्यक्तित्व असाधारण र मौलिक रहेको बताउँदै पञ्चायतको चुनाव लडेर त्यहीँभित्रबाट सुधारको चाहना राख्ने व्यक्तित्वको रुपमा स्मरण गरे । 

कला साधक भैरवबहादुर थापाले युवा अवस्थाको रुपचन्द्र विष्टको स्मरण गर्दै उनको व्यक्तित्वबारे चर्चा गरे । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले रुपचन्द्र विष्टलाई पञ्चायत कालमा मन्त्रीको अफर गरे पनि स्वीकार नगरेको बताए ।  

सांसद तथा थाहा दर्शन अध्ययन प्रतिष्ठानका महासचिव रामनारायण बिडारीले रुपचन्द्र विष्टले आफ्नो समयमा आदर्श राजनीतिको उदाहरण दिएको बताउँदै चुनाव प्रचार गर्दा फोटोको प्रचार नगरी पर्चा र घोषणापत्रको भरमा चुनाव जितेको स्मरण गरे ।  

थाहा दर्शन अध्ययन प्रतिष्ठानका अध्यक्ष अजेयराज सुमार्गीले राज्यले रुपचन्द्र विष्टलाई दार्शनिकको मान्यता दिएर हुलाक टिकट प्रकाशन गर्नु खुशीको कुरा भएको बताए । समाजमा सत्य फैलाउन अभियान चलाउने रुपचन्द्र विष्टले पूर्वीय धर्म दर्शनको ज्ञाता भएको पनि बताए ।  
  
थाहा दर्शन अध्ययन प्रतिष्ठानले आउँदो फागुनमा भारतको देहरादूनमा विशेष कार्यक्रम गर्न लागेको पनि बताए । नालापानी किल्लामा नेपालको पराजय भएदेखि नेपालको स्खलनको यात्रा सुरु भएको भन्दै उनले देहरादूनको नालापानी किल्लामा आउँदो फागुनमा १३ दिनसम्म विशेष कार्यक्रम गर्ने जानकारी दिए । 

थाहा दर्शन अध्ययन प्रतिष्ठानले दर्शनमा स्नातकोत्तर गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति पनि दिने उनले जानकारी दिए ।  थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टको २०५६ साल असार ७ गते काठमाडौंमा निधन भएको थियो । 

विष्टको १८ औं स्मृति दिवसको अवसरमा बुधबार मकवानपुरको थाहा नगरपालिकामा विशेष कार्यक्रम सम्पन्न भएको छ । रुपचन्द्र विष्ट स्मारक समितिको आयोजनामा भएको कार्यक्रममा स्वर्गिय विष्टको शालिकका माल्यार्पण तथा वृक्षारोपण गरिएको थियो । 

विष्टको जन्म स्थानमा आयोजना गरिएको उक्त कार्यक्रममा सांसद रामनारायण बिडारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा थाहा नगर पालिकाका मेयर लवशेर विष्ट तथा स्थानीय जनताको व्यापक सहभागिता रहेको थियो । 






0 comments

Write Down Your Responses