Powered by Blogger.
टिके सभापति खारेज नगरे समानान्तर समिति चलाउने डोल्पा काँग्रेसका नेताहरुको दावी


काठमाडौं । नेपाली कांग्रेस डोल्पाका पूर्व पार्टी सभापति दिल बहादुर विष्ट र गाउँ कार्य समितिका सभापति मोतिप्रसाद उपाध्यायद्धयले पार्टीको विधि र विधान मिचेर जिल्लाको सभापति चयन गरिएको भन्दै पार्टी मुल नेतृत्वको ध्यानाकर्षण गराएका छन् । 

उनीहरुले पार्टी नेतृत्वले विधान विपरित अवैधानिक जिल्ला सभापति नियुक्त गरेको भन्दै उक्त निर्णय तत्काल खारेज गर्नुपर्ने माँग गरेका छन् । 
पूर्व जिल्ला सभापति विष्टले भने,‘पार्टी विधान अनुरुप चल्नुपर्यो, अवैधानिक तरिकाले क्रियाशिल सदस्यताहरु वितरण गर्नुभएन, पार्टीको विधान अनुसार क्रियाशिल सदस्य वितरण गरी पूराना नेता तथा कार्यकर्ताहरुको मुल्यांकन गर्नुपर्छ, तर अहिले पूराना तथा पार्टीमा लामो समयदेखि त्याग र बलिदान गरेका थुप्रै नेता साथीहरुमाथि अवमुल्यन भएको छ, यो हामीलाई कुनैपनि हालतमा सैह््य छैन।’
उनले पार्टीभित्र देखिएको चरम गुटबन्दी तत्काल अन्त्य गर्नुपर्ने समेत माँग गरे । विष्टले भने,‘अहिले पार्टीभित्र चरम गुटबन्दी भएको छ, पार्टीभित्रका दुःख गरेका, क्षमता भएका नेता साथीहरुले स्थान पाएनन्, यो पार्टी नेतृत्वको गुटबन्दी र चरम लापारवाहीको कारण आज पार्टीले हार व्यहोरे, टिके प्रथाको अब अन्त्य हुनुपर्छ।’ हाल जिल्ला पार्टी सभापतिका कारण डोल्पामा कांग्रेस कमजोर भएको समेत उनले आरोप लगाए ।

विष्टले भने,‘गैर–कांग्रेसी, एमालेबाट आएको मान्छेलाई पार्टी सुम्पिने काम भयो, त्यही कारणले पार्टीको यो हबिगत भयो, हामी गुट उपगुट र घात तथा अन्तरघातको पक्षमा छैनौं।’ उनले आफूहरु महामानव विपीले प्रतिपादन गरेको सिद्धान्त, विचार, लोकतन्त्र र समाजवाद, र नेपाली कांग्रेसको झण्डामुनी रहेर ईमानदार र वफादारसँग पार्टी संगठनलाई अगाडि बढाउन वचनवद्धता रहेको समेत स्पष्ट पारे । 

त्यस्तै कार्यक्रममा डोल्पा जिल्ला गाउँ कार्य समितिका सभापति उपाध्यायले पनि अवैधानिक पार्टी सभापतिलाई तत्काल पदबाट हटाउनुपर्ने माँग गरे । 

उनले भने,‘जिल्लामा कुनैपनि योगदान नगरेको गैरकांग्रेसीलाई टिका लगाएर पार्टी सुम्पिने काम भएको छ, यस कार्यप्रति हामी पार्टी नेतृत्व अर्थात सभापति शेरबहादुर देउवामाथि घोर आपत्ति जनाउँछौं, यदि यही ढंगले जबरजस्ती अघि बढ्ने हो भने हामीजस्ता हजारौं ईमानदार नेता तथा कार्यकर्ताहरु बाध्य भएर समानान्तर कमिटी चलाउनेछौं।’

उपाध्यायले जिल्ला सभापति चयनमा केन्द्रबाट हस्तक्षेप हुनु लोकतान्त्रिक पार्टीको चरित्र विपरित भएको समेत आरोप लगाए । उनले भने,‘जिल्ला पार्टी सभापतिको लागि मैलेपनि उम्मेद्धवारी दिएको थिएँ, तर मतदानमा नगईकन खासगरी आफ्नो मत आँफै जाहेर गर्न समेत नदिईकन टिका लगाएर सभापति चयन गर्ने काम गरियो, यसमा हाम्रो कुनैपनि हालतमा समर्थन हुनेछैन, अवैधानिक पार्टी सभापतिलाई खारेज नगरेसम्म हाम्रो संघर्ष जारी रहन्छ।’

उनले पनि स्थानीय तहको निर्वाचनमा कांग्रेस पराजय हुनुको प्रमुख कारण पार्टीको एउटा पक्षलाई पूर्ण रुपमा निष्तेज र बाईपास गरेर एकलौटी ढंगले जिल्ला नेतृत्व चयन गनुृ रहेको आरोप लगाए । 

काठमाडौं–डोल्पा सम्पर्क मञ्चका सदस्य एवम् नेपाल विद्यार्थी संघका नेता राजकुमार न्यौपानेले पनि पार्टीलाई विधि र विधान अनुरुप सञ्चालन गर्नको लागि संघर्षलाई जारी राख्नुपर्ने बताए । उनले उपाध्याय र विष्टले चलाएको अभियानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहेको बताए ।

0 comments

Write Down Your Responses