Powered by Blogger.
थाहा नगरको कुन्छाल पर्यटकीय गाँउ घोषणा, के छ कुन्छालको विशेषता ?


काठमाडौं । मकवानपुर जिल्लाको थाहा नगरपालिका स्थित ऐतिहासिक कुन्छाल गाँउ पर्यटकीय गाँउका रुपमा घोषणा भएको छ । 

३८ औं विश्व पर्यटन दिवसको सन्दर्भमा गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालले  सोमबार पर्यटन बोर्डमा आयोजित एक विशेष कार्यक्रममा कुन्छाललाई पर्यटकीय गाँउका रुपमा घोषणा गरिएको हो । 

यो पटक मकवानपुरको कुन्छालसंगै  अन्य तीन स्थानलाई पर्यटकीय गाँउका रुपमा घोषणा गरिएको हो । कुन्छालसंगै धादिङको सिद्धलेक सलाङ गाउँ र स्याङ्जाको पित्लेक गाउँ पनि पर्यटन वर्षको रुपमा घोषणा भएको हो ।

कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी र भिटोफका अध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले सामुहिक रुपमा तीन गाउँको घोषणा गरेका हुन् ।

सन् २०१३ मा मकवानपुरको चित्लाङलाई पनि विश्व पर्यटन दिवशको सन्दर्भमा पर्यटकीय गाँउको रुपमा घोषणा गरिएको थियो ।

सन् २०१३ बाट सुरु भएको यो ऋङ्खला हरेक वर्ष जारी छ । चार वर्ष पछि पुनः मकवानपुरकै कुन्छाल गाँउ पर्यटकीय गाँउका रुपमा घोषणा भएकामा मकवानपुरे जनता खुसी भएका छन् । पर्यटकीय गाँउ घोषणा भएको प्रमाणपत्र लिनका लागि थाहा नगरपालिका १ नम्वर वडाका अध्यक्ष हेरामान गोपाली काठमाडौं आएका थिए । 

के हो कुन्छालको विशेषता ?

ऐतिहासिक गोपाली जातीको घना वस्ती रहेको यो गाँउ हेर्दै लोभलाग्दो छ । धेरै झ्याल र रातो झिँगटीका छानो भएका पुराना घरहरु अनि त्यस गाँउमा हुने नेवारी संस्कृति र परम्परा नै कुन्छाल गाँउको विशेषता हो ।

 एक जमानामा यहाँ घरबुना कपडा उत्पादन हुन्थ्यो । तर परम्परागत रुपमा खेसका कपडा उत्पादन गर्न प्रयोग हुने तान र चर्खाका आवाज कुन्छालका घरहरुमा सुन्न सकिन्न आजकल । मकवानपुर जिल्लाको उत्तरी भेग शिखरकोट, न्हुलगाउँ, टौखेल, पापुङ्ग, कुन्छाल, गहते र कुलगाउँका बासिन्दा कपडा बुन्न भन्दा अन्य काममा व्यस्त हुन थालेपछि घरबुना कपडाको परम्परा लोप हुन लागेको हो । 

युवा पुस्ताको आकर्षण घरबुना कपडामा हुन छाडेपछि जातिय पहिचान बोकेको खेस इतिहासमा सिमित हुने अवस्थामा पुगेको छ ।

ऐतिहासिक गोपालवंशका जाति मानिने गोपालीको पहिचान र आम्दानीको स्रोत रहेको कपडा बुन्ने पेशामा एक दशक यता कोही पनि लागेका छैनन् । खेसको हाकु पटासीको ठाउँ सुतीका कपडाले लिन थालेका छन् । केही वर्ष अगाडी सम्म हाकुपटासीमा पुजा आजा देखी पँधेरामा पुग्ने महिलाहरु  आधुनिकता संगै कुर्ता सुरुवाल र सुतीका साडीमा देखिन थालेका छन् । 

आधुनिकता सँगै परम्परागत कपडा बुन्ने पेशा र कपडा हराउँदै गएको हो ।  १५ बर्ष अघिसम्म मेशिनबाट बुनेका कपडा चलेका थिएनन कुन्छालमा । त्यसबेला मकवानपुरको उत्तरी भेगका करिब एक हजार घरधुरीका महिलाहरु दिउँसो चर्खा र तान चलाएर कपडा बुन्ने गर्थे । त्यसैले धेरैको घरको जीविका चल्थ्यो । महिलाको कमाइ हुने भएकाले परिवारमा महिलाको स्थान पनि महत्वको हुन्थ्यो । 

विस्तारै बजारमा माग हुन छाडेपछि पेशा सँगै घर र समाजमा महिलाको आर्थिक क्षेत्रमा हुने सहभागितामा कमी आएको छ । ‘घरमा श्रीमतीले बुनेको कपडा बेच्न श्रीमान गाउँ गाउँ डुल्ने कुरा अहिले कथा बनेको’ छ । चर्खा र तान लाई घरघरमै थन्काएर तरकारी खेती गरि बस्दा परम्परागत पेशा लोप भएको हो । 

गाउँलेको व्यावसाय मात्र नभएर पर्यटनको सम्भावना पनि रहेको घरबुनाको परम्परा जोगाउन नगरले योजना सञ्चालन गर्न नसकेपनि एक गैरसरकारी संस्थाले यसको पहल लिएकोमा कुन्छालवाशी दंग छन् ।  पहिला पहिला परम्परागत तान र कपडा बुनेको हेर्न छिमेकी जिल्ला देखी मानिसहरु आउने गरेका थिए ।  

केही वर्ष पहिले जीविकाको माध्यम बनेको तान र घरबुनाको ऐतिहासिक र पर्यटकीय महत्व बुझेर स्थानिय गोपाली युवाहरु यसको संरक्षणमा लागेका छन् । पर्यटकलाई लक्षित गरि यहाँको घरबुना उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्य पनि स्थानिय युवाहरुले राखेका छन् । त्यसका लागि घरबुनाको तालिम सञ्चालन समेत गरिएको थियो । 


परम्परागत रुपमा गोपाली महिलाहरुको विवाहमा तीन धार्नी धागो दाईजो दिने प्रचलन थियो । उक्त धागोलाई स्थानिय भाषामा “मादाँ” अर्थात मूल पँुजी भन्ने गरिन्छ । सोही पँुजीको आधारमा पेवा बनाउने र घरखर्च चलाउने भएकाले यसले पारिवारिक रुपमा आर्थिक उपार्जनको परम्परा बसाएको थियो ।





0 comments

Write Down Your Responses

pfizer vaccine