Powered by Blogger.
कलाकारका साथमा महाँसचिव पोखरेल टोखावाशीको आँगनमा


काठमाडौँ । टेलिभिजन र चलचित्रका पर्दामा मात्र हेरेका   कलाकारलाई बिहीबार आफ्नै घरआँगनमा देख्दा काठमाडौं, टोखावासी मक्ख परे । 

सँधैजसो टेलिभिजनमा देखिने तिनै कलाकार त्यो पनि भोट माग्दै आफ्नो घर–दैलोमा आइपुगेपछि टोखावासीलाई केहीबेर त पत्याउन पनि मुस्किल प¥यो । केही समय त कुनै सिनेमाको सुटिङ गर्न पो आएका हुन् की भनी अलमलमा पनि परे टोखावासी ।  

तर, कलाकारहरु कुनै सिनेमाको सुटिङ गर्न नभइ एमाले महासचिव एवं काठमाडौँ क्षेत्र नम्बर–५ का वाम गठबन्धनका तर्फका उम्मेद्वार ईश्वर पोख्रेलको पक्षमा भोट माग्न सांस्कृतिक नगरी टोखा पुगेका थिए । 

त्यो कुरा स्थानीयले जब बुझे उनीहरु थप उत्साहित मात्र भएनन् देशका चर्चित कलाकारहरु दिनेश डिसी, कोमल वली, निखिल उप्रेती लगायतसँग रहर पुगुन्जेल तस्बिर पनि खिचाए ।

सुरुमा महासचिव पाखरेल कार्यकर्तासहित टोखावासीको घरदैलोमा विहीबार बिहानै पुग्दा टोखावासी हस्याङ्फस्याङ् गर्दै स्वागतमा निस्किएका थिए । केहीबेरपछि पोखरेलकै निर्वाचन क्षेत्रका कलाकार दिनेश डिसी पनि टुप्लुक्क देखा परे । केही बेरमा चर्चित लोकगायिका कोमल वली पुगिन्, लगत्तै अभिनेता निखिल उप्रेती पनि त्यहाँ थपिएपछि टोखाको माहौलको रौनक नै अर्कै बन्यो । 

त्यसपछि कलाकारहरु पोखरेलको पक्षमा भोट माग्दै हिँडेपछि त्यहाँको माहोल थप रोचक बन्यो । अघिअघि महासचिव पोख्रेल अनि पछिपछि कलाकार र कार्यकर्ताको हुल करिब तीन घण्टा घरदैलो कार्यक्रममा हिडेपछि केही बेर भाषणको कार्यक्रम पनि भयो ।

सुरुमा मन्तव्य राख्नुभएका महासचिव पोख्रेलले कलाकारलाई छेउमै राखेर स्थायी सरकारका लागि वाम गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो । 

उहाँले देशको समृद्धिका लागि वाम गठबन्धनको सरकार नै आवश्यक भएको पनि बताउनुभयो । देश नै वाममय भएको भन्दै उहाँले राष्ट्रका गहना भनिने कलाकारहरुको समेत साथ पाउनु गौरवको विषय भएको बताउनुभयो ।

 पोखरेलपछि मन्तव्य राख्नु भएका कलाकार उप्रेतीले पोखरेल जस्तो उम्मेदवार पाउनु टोखावासीको गौरव भएको दाबी गर्नुभयो । उहाँले दलहरु धरै भएको भन्दै देशको समृद्धिका लागि थोरै पार्टी चाहिएको बताउनुभयो । 
लोक गायिका कोमल वलीले पनि देशको स्वाभिमानलाई आफ्नो दिलमा सजाएर राख्ने सु–संस्कृत र राष्ट्रिय पहुँच भएका पोखरेललाई विजयी बनाउन टोखावासीसँग आग्रह गर्नुभयो । 

कलाकार डिसीले पनि पोख्रेलको पक्षमा भोट माग्नुभयो । त्यहाँ तीन दर्जन बढीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरे ।  



0 comments

Write Down Your Responses