‘सोभियत संघ ढलेपछि नेपाली कम्युनिष्ट आन्दोलनले गम्भिर शिक्षा लिएको छ’

काठमाडौं । १९१७ को अक्टोबर क्रान्तिको शतवार्षिक समारोहमा भाग लिन रसियाको सेन्ट पिटर्सवर्ग पुगेका एमाले पोलिट्व्युरो सदस्य बेदुराम भुषालले कम्युनिष्ट तथा श्रमिक पार्टीहरुको १९ औं अन्तराष्ट्रिय बैठकलाई सम्वोधन गरेका छन् ।
सम्वोधनका क्रममा उनले समाजवादी क्रान्ति मानव समाजको इतिहासमा एउटा युगान्तकारी महान छलाङ भएको दावी गर्दै त्यसले संसारभरका शोषित पिडित जनतालाई मुक्तिमार्गमा अग्रसर हुन ठुलो प्रेरणा प्रदान गरेको बताए ।
अक्टुबर क्रान्तिपछि समाहित सोभियत संघले भयङ्कर आर्थिक प्रगति, शान्ति, स्थायित्व, विज्ञान र प्रविधीमा महान उपलव्धी, युद्धकलामा श्रेष्ठता जस्ता कार्यहरु गर्न सफल भएर पनि ७० वर्षपछि किन धक्का खानुप¥यो भन्ने प्रश्न गर्दै त्यस धक्काबाट नेपाली कम्युनिष्टहरुले गम्भिर शिक्षा लिएको बताए ।
उनले भने–‘ यही विषयलाई गम्भिर ढंगले मनन गरेर हामीले नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तको रुपमा मौलिक कार्यक्रम जनताको बहुदलीय जनवाद प्रतिपादन गरेका छौं । ’ उनको जोड थियो –‘जडसुत्रवाद र विर्सजनवादका विरुद्ध कठोर संघर्ष नगरी रक्षा हुन सक्दैन तसर्थ त्यसमा ध्यान दिन जरुरी छ । ’
६ मिनेट समय पाएका नेकपा एमालेका पोलिट्व्युरो सदस्य, कम्युनिष्ट दर्शनका ज्ञाता एवं अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका जानकार व्यक्तित्व भुषालले ४ मिनेट थप मागेर १० मिनेटभित्र उक्त कुरा राखेका हुन् ।
भुषाल एमाले वरिष्ठ नेता, विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष प्रतिनिधी भएर कार्यक्रमका लागि दुई सदस्यीय टोलीको नेतृत्व गर्दै रसिया प्रस्थान गरेका हुन् ।
रुसमा अक्टोबर क्रान्ति सफल भएको एक सय वर्ष पुगेको अवशरमा रसियन कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यक्रमका लागि भुषालसंगै एमालेको मकवानपुर जिल्ला सचिवालय सदस्य एवं नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रीय सचिव रामचन्द्र बल रसिया पुगेका हुन् । बल एमालेका तर्फबाट प्रदेश नम्बर ३ का प्रदेश सभाका लागि समानुपातीक तर्फका बन्द सुचीका उमेद्वार हुन् ।
उक्त कार्यक्रमका लागि पूर्व प्रधानमन्त्री नेपाललाई नै आमन्त्रण गरिए पनि नेपालमा आगामी प्रतिनिधीसभा निर्वाचन र त्यसका लागि पार्टी गृहकार्यमा व्यस्त रहेकाले वरिष्ठ नेता नेपालले उक्त कार्यक्रममा आफु सहभागि नभएर प्रतिनिधी पठाएका हुन् ।
१० दिने भ्रमणमा दर्शन शास्त्रका व्याख्याता भुषालले सेन्ट पिटर्सबर्गमा आयोजित कार्यक्रम सकेर रसियाको राजधानी मस्कोमा अर्को कार्यक्रममा सरिक छन् । विश्वका अधिकांश देशका कम्युनिष्ट पार्टीका नेताहरु उक्त कार्यक्रममा सहभागी रहेको बताइएको छ ।


0 comments
Write Down Your Responses