Powered by Blogger.
देशका १४ वटा पहिचानको शहरमध्ये थाहालाई कम्तिमा ‘टप फाइभ’ मा पार्नैपर्छ

अच्युतमप्रसाद ढकाल, युवा नेता, नेकपा(एमाले) मकवानपुर


नेकपा एमालेका पूर्व थाहा नगर कमिटी अध्यक्ष अच्युतमप्रसाद ढकाल स्थानीय तह पुनर्संरचना र स्थानीय निर्वाचन अघि थाहा नगरपालिकाको दलीय संयन्त्रका सदस्य थिए । थाहा नगरको  अल्पकालिन र दिर्घकालिन विकास निर्माण र योजनावद्ध  कामहरुमा विशेष चासो राख्ने ढकालले थाहाको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।  

अन्तराष्ट्रिय स्तरको कभर्ड हल सहितको इन्द्रायणी चौर खेल मैदान,  दुई वर्षभित्र थाहा नगरका २ सय महिलालाई स्वरोजगार बनाउने, ज्येष्ठ नागरिकहरुका लागि प्रत्येक वडामा सेवा केन्द्र सञ्चालन गर्ने, युवाहरुलाई कृषि, पर्यटन र खेलमा आवद्ध गराई स्वरोजगार बनाउने लगायतको पूर्वाधारहरुको उनले यसअघि नै अवधारणा राखेका थिए ।

उनकै पहलमा पालुङको पाण्डुकेश्वरमा ज्येष्ठ नागरिकहरुको लागि दिवा सेवा केन्द्र संचालन प्रक्रिया शुरु भएको छ । प्रस्तुत छ उनीसंग गरिएको कुराकानीः 

थाहा नगरको बजेट कार्यान्वयन कसरी भइरहेको पाउनु भएको छ ?

बजेटको सम्बन्धमा  विगतमा मैले कनिका छराई शैलिको काम भयो , यसले परिणाम दिँदैन भनेर जे भनें, त्यो यथार्थ थियो । अहिले कार्यन्वयनको पक्ष हेर्दा अवस्था त्यही छ । कतै उपभोक्ता समिति बनाउन नसकेको अवस्था, कतै प्राविधिक पुग्न नसकेकोे अवस्था । 

जनगुनासाहरु यथावत् छन् । त्यसलाई सच्याउनु पथ्र्यो, सच्याइएन । अब जे भए पनि आगामी दिनमा कसरी जाने भनेर छलफल गर्न ढिला भइसकेको छ ।

भनेपछि यो बजेटको कार्यान्वयन सही ढंगले भइरहेको छैन ?

सही ढंगले कार्यान्वयन हुने बजेट नै थिएन । हामीले जनप्रतिनिधिहरुलाई सचेत गराएकै हौं । अब फेरि विगततिर फर्केर फाइदा छैन । तर, कसरी जाने र के गर्ने भनेर छलफल गर्न सक्छौं । मुख्य कुरा नगरको योजना बनाउनै ढिला भइसकेको अवस्था छ । मैले अन्य नगरपालिकाहरु पनि हेरें । 

उनीहरुले पहिलो वर्ष योजनाको वर्ष बनाएका छन् र नगर कस्तो बनाउने भनेर योजना बनाएका छन् । योजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) पनि तयार पारिसकेका छन् । हाम्रोमा त्यो छैन । अब कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, संचार, सडक, पर्यटन लगायतको विषयमा के कसरी जाने, के गर्ने, कसरी गर्ने र श्रोत कसरी जुटाउने, कार्यान्वयन कसरी गर्ने भनेर तुरुन्त योजना बनाउनु पर्छ । यो काम गर्न ढिला भइसकेको छ । 

नगरको योजना नभएकै हो त ? 

अहिले त माथिबाट आएको बजेट छर्ने काम मात्र भएको छ । यस्तो वार्षिक बजेटले मात्र काम गर्दैन । योभन्दा अघि त हाम्रो पाँच वर्षे, १० वर्षे योजनाहरु बनाउन जरुरी छ । हामीसँग अबको १० वर्षमा के गर्ने, कुन क्षेत्रलाई कस्तो बनाउने भन्ने पहिले नै खाका बनाउनु पर्छ । त्यही खाका अथवा गुरुयोजनामा वार्षिक बजेट हाल्ने  हो । नत्र फेरि पनि बनमारा उखेल्ने बजेट मात्र हुनेछ ।

यही अवस्था रहिरहेमा आगामी बर्ष पनि त्यही हुने छ । अहिले धेरै बजेट सडकमा हालिएको छ । तर सडकको अवस्था कस्तो छ, देख्नु भएकै होला । 

फेरि यदि सडक नै नगरको पहिलो प्राथमिकता हो भने पनि कुन सडक कस्तो बनाउने, यो वर्ष कति स्तरीकरण गर्ने, कति पिच गर्ने यसको योजना वा खाका कोर्नु प¥यो । नगरको हाम्रो मुल नारा के छ ? कृषि, पर्यटन र पूर्वाधार , थाहा नगरको आधार । यदि कृषि  पहिलो प्राथमिकता हो भने कृषिमा के गर्ने , पर्यटनमा के गर्ने , खोइ त योजना ? योजना नभई कसरी काम हुन्छ । अब प्राथमिकता तोकेर काम गर्नुपर्छ । 

नगर विकास कोषले योजना निर्माण र कार्यान्वयनमा सहयोग गर्दैछ भन्ने सुनिएको छ नि ?

हो, नगर विकास कोषले इन्द्रायणी चौर खेलकुद मैदानमा केही सहयोग गरेको छ । यसैअन्तर्गत क्रिकेट मैदानको लागि पनि उसले चासो देखाएको थियो । डिपिआर तयार पारी ल्याउनुस् भनेकै हो । तर काम हुन सकेको छैन । अहिलेसम्म डिपिआर तयार छैन । नार्खु ढाँडमा बस पार्क बनाउने र सपिङ  कम्प्लेक्स बनाउने विषयमा पनि कुरा भएकै हो । तर, कसले पहल गर्ने ? यसको अगुवाई जनप्रतिनिधिहरुले नै गर्नुपर्छ । तर, त्यसो हुन सकेको छैन । 

अन्य नगरपालिकाहरुले सम्पूर्ण योजनाको डिपिआर तयार गरी पेश गरिसकेको अवस्था छ । म यसै हप्ता नगर विकास कोषको कार्यालय काठमाण्डौंमा पनि गएँ । अहिले त नीति नै परिवर्तन भइसकेछ । पहिले साना योजनाहरुमा पनि उसले सहयोग गथ्र्यो । अब ठूला योजनाहरुमा मात्र सहयोग गर्ने नीति बनाएको छ । 

यस्ता ठूला योजनाहरुका लागि डिपिआर अनिवार्य छ र यसरी प्राप्त भएको डिपिआरको अध्ययन गरी उसले अर्थ मन्त्रालयलाई सिफारिश गर्दछ ।

वास्तवमा हामीले चाह्यौं भने धेरै कुरा गर्न सक्छौं । बज्रवाराहीको फन पार्क, चित्लाङमा पिकनिक स्पट निर्माण, मनकामना पर्यटकीय क्षेत्र, कोटथुम्की, डाँडाबासमा टावर बनाउने, टिस्टुङमा जनजाति संग्रहालय बनाउने, आग्रामा नमुना कृषि तथा पशु फार्म निर्माण गर्ने, ऋषेश्वरमा केबलकार बनाउने, घट्टेचौरमा शैक्षिक हब बनाउने, बसपार्क बनाउने, नमुना शहरी बस्ती बनाउने, स्तरीय सडक बनाउने लगाायतका धेरै योजना र कामहरु गर्न सक्छौं । 

यसको लागि कम्तिमा स्थानीय बुद्धिजीवी, योजनाविद, शैक्षिक व्यक्तित्व, जनप्रतिनिधि लगायतको वृहद् अन्तरक्रिया र बौद्धिक सम्मेलन गरेर डिपिआर बनाएर अगाडि बढ्नु पर्छ । 

देशका १४ वटा पहिचानको शहरमध्ये एउटा थाहा पनि पर्नु भाग्यको कुरा हो, तर कार्यान्वयनको क्रममा यो १४ औं नै नम्बरमा प¥यो भने हाम्रो हालत के होला ? यसैले अब ढिला गर्नुहुँदैन, कम्तिमा टप ५ मा त पु¥याउनु प¥यो नि थाहालाई । 

तपाईंले भनेजस्तो बौद्धिक सम्मेलन वा योजना निर्माणका लागि अन्तरक्रिया चाहिँ कसले आयोजना गर्छ नि ?

यो मेरो व्यक्तिगत विचार हो । आइडियाहरु अरु पनि हुन सक्छन् । तर, कम्तिमा थाहाको विकासको बारेमा गम्भीर हुनु प¥यो । समय गुजार्ने, अवधि छोट्याउने काम मात्र गर्नु भएन । यो काम जन प्रतिनिधिहरु आफैले पनि गर्न सक्छन् । तर, अहिले त्यस्तो देखिएन । शुरुको अवस्था भएर पनि होला, जस्तो जानेको छ, त्यस्तै गर्ने हो । 

तर, यो कुरा  पनि बुझ्न आवश्यक छ कि यदि उनीहरु एक्लैको बसमा नभएका कतिपय कुराहरु सामुहिक छलफलबाट आउन सक्दछ । वास्तवमा कुनै अवधारणाहरुको विकासको लागि पनि योजनासँग सरोकार राख्ने एक ठाउँमा त बस्नै पर्छ । त्यो भनेको अहिलेको लागि एउटा वृहद अन्तरक्रिया नै हो भन्ने मलाई लाग्छ । 

अन्तरक्रियाबाट जुन कन्सेप्टहरु आउँछ, त्यसैलाई योजनामा ढालेर योजनाबद्ध ढंगले काम गर्न सकिन्छ ।  यस्तो अन्तरक्रिया कुनै स्वतन्त्र संस्था वा मिडियाले पनि गर्न सक्छ । 

त्यस्ता योजनाहरु योजना तर्जुमाको बेलामा वडाले नै ल्याउँछ नि होइन र ?

वडाको विकासका लागि वडाले योजना नल्याउने होइन तर त्यसको स्पष्ट खाका, मापदण्ड र सीमाहरु नतोकिँदा यसपाली के भयो, हामी सबैलाई थाहा भएकै कुुरा हो । अर्को कुरा वडाको आवश्यकताका योजनाहरु वडासँग सम्बन्धित हुनु स्वभाविकै हो । 

त्यसमा पनि प्रत्येक वडामा एउटा गतिलो र सबैले देख्न र अनुभव गर्न सक्ने भिजनसहितको योजना बनाउन सकिन्थ्यो, त्यो त भएन । त्यसकारण वडालाई पनि वास्तवमा एउटा गाइडलाइन चाहिएको छ । बजेट छ र आउँछ भन्दैमा जहाँ पनि हाल्न मिल्दैन । 

अर्को कुरा सबै कुरा वडाले नै गर्छ भन्ने हो भने समग्र नगरपालिकाको विकास कस्तो हुने र कहाँ जाने भन्ने कुरा कस्ले सोच्छ ? वडाले सोचेर समग्र नगरको विकास सम्भव छैन । त्यसैले हाम्रो नगरको समग्र विकासको लागि नगर योजना बनाउनै पर्छ । र, त्यो पनि बैज्ञानिक र व्यवस्थित बनाउनु पर्छ ।


0 comments

Write Down Your Responses