Powered by Blogger.
बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको अध्यक्षमा पाँच वर्षका लागि सुरेन्द्र भण्डारी सर्वसम्मत


काठमाडौ । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको पाँचौ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । सुरेन्द्र भण्डारीको अध्यक्षतामा  चार वर्षका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

संघको उपाध्यक्षमा नारायणभक्त श्रेष्ठ, सचिवमा माधव तिमिल्सिना, कोषाध्यक्षमा पुष्पबहादुर पौडेल निर्वाचित भएका छन् । 

सञ्चालक सदस्यमा मनोज थापा मगर, तुलसीप्रसाद सापकोटा, शम्भुलाल श्रेष्ठ, चन्द्रप्रसाद थानी, सुरेन्द्रबहादुर शाह, तारा गुरुङ, सनिपकुमार भुझेल, नरेन्द्र विष्ट, हजुरी विष्ट निर्वाचित भएका छन् । त्यस्तै सुरेन्द्रमणि भण्डारी, पार्वती थापा, तीखवीर राई, जीवनकुमार राई, बलराम खनाल, भुपेन्द्र अधिकारी, शरदकुमार महर्जन, पुरुषोतम पहाडी निर्वाचित भएका हुन् ।

भोलाप्रसाद शर्मा खरेलको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति गठन भएको छ । समितिमा कमला विष्ट, सुमनविक्रम थापा सदस्यमा निर्वाचित भएका छन् ।

कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड मेम्बर एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले सहकारीले बचत तथा ऋणमा मात्र नभई उत्पादन तथा व्यवसायमा जान आवश्यक भएको बताइन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संघको पाँचौ वार्षिक साधारणसभाका अवसरमा बोल्दै मल्लले अधिकांश बहुउद्देश्यीय सहकारी बचतमा मात्र केन्द्रीत भएको भन्दै उत्पादन तथा व्यवसायमा जान अपरिहार्य भएको बताइन् । ‘कम्तिमा पनि दुईतीनवटा व्यावसायिक काम गर्नुपर्ने उनको जोड थियो ।

सहकारी ऐनले बहुउद्देश्यीय सहकारीलाई अन्यौल सिर्जना गरेको भन्दै मल्लले समस्या पर्ने बुँदा संशोधन गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन् । ‘सबै कुरा समेट्न नसके पनि अभियानका धेरै कुरा राख्न सकेका छौं, आगामी दिनमा संशोधन गरी सहकारीमैत्री बनाउन थप भूमिका खेल्नुपर्छ’ उनले भनिन् ।

सहकारी नियमावली बनाउने क्रममा चनाखो हुनुपर्ने उनको भनाई थियो । ‘ऐनले धेरै कुरा रजिष्ट्रारलाई दिएकाले नियमावली तथा मापदण्ड बनाउने क्रममा अभियान सक्रिय हुन जरुरी रहेको उनको भनाई थियो ।  २६ वर्षदेखि संशोधन हुन नसकेको सहकारी ऐन २०४८ तीन वर्ष लगाएर संशोधन गरिएको जानकारी दिइन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटाले लामो संघर्षपछि सहकारी ऐन आएको भन्दै आलोचना गरिहाल्नुपर्ने विषय नभएको बताए । ऐनको सजिलो र अफ्ठेरो दुवै भएको भन्दै सहकारीको गतिमा वाधा पर्ने कुरा संशोधन गरेर हटाउन सकिने बताए ।

पूर्वराज्यमन्त्री शम्भुलाल श्रेष्ठले सहकारीको नीतिगत कुरा राम्रो हुन सके सहकारी व्यावसायिक बन्न सक्ने बताए ।
जिल्ला सहकारी संघका अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव दुलालले बहुउद्देश्यीय सहकारी संस्था र संघ हुने नहुने आशंका बढेको बताए । 

ऐनले बचत तथा ऋणमा रुपान्तर गर्न दवाव दिएको भन्दै उक्त कुरा कार्यान्वयन गर्न समस्या रहेको उनको भनाई थियो । ‘ऐन तथा प्रस्तावित नियमावलीमा बहुउद्देश्यीय संघको परिकल्पना नहुनु दुखद कुरा हो’ उनले भने ।

नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघका कार्यवाहक अध्यक्ष गोविन्द शर्मा पौडेलले ऐनले नसमेटेका कुरा नियमावलीमा समेट्नुपर्ने बताउनुभयो । सहकारी उत्पादनमा जानुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा नेशनल कोअपरेटर्स एलाईन्सका अध्यक्ष डिल्ली तिवारीले केन्द्रीय संघलाई विशिष्ट बनाउन नयाँ नेतृत्वले जोड दिनुपर्ने बताउनुभयो । जिल्ला बचत संघ ललितपुरका अध्यक्ष रामशरण घिमिरेले व्यवसायिक संघमा राजनीति हावी हुन नहुने बताए ।

यसैबीच नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले संघको नेतृत्वमा सहकारी बैंक खोल्ने घोषणा गरेका छन् । सहकारी ऐनले बैंक खोल्ने अधिकार दिएको भन्दै संघकै नेतृत्वमा बैंक खोलिने र छिट्टै देशैभर सञ्चालनमा ल्याउने उनको भनाई थियो ।



0 comments

Write Down Your Responses