Powered by Blogger.
थाहाको शिक्षा गुणस्तरवृद्धि गर्न एकजुट हुनुपर्नेमा जोड


काठमाण्डौं । सरोकारवालाहरुले  मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको शैक्षिक गुणस्तरबृद्धिका लागि एक जुट भएर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन । 

जनकल्याण माविका भूपू बिद्यार्थी समूहको आयोजनामा राजधानीमा भएको कार्यक्रममा थाहा नगरका प्रमुख लवशेर विष्टले सवै सरोकारवालाहरुको अपनत्व हुने गरी  शिक्षा नीति बनाएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । 

उहाँले राजनीतिबाट माथि उठेर फेरी एक पटक शैक्षिक जागरण चलाउनु पर्नेमा जोड दिनुभयो ।  नगरप्रमुख विष्टले सवैले अपनत्व र स्वामित्व लिने गरी अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाका साथ शिक्षा नीति वनाउने प्रष्ट पार्नुभयो । 

उपप्रमुख खड्ग गोपालीले शैक्षिक विकासका लागि आफू व्यक्तिगत र संस्थागत सहयोग गर्न सदैव तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । 

जनकल्याण माविका प्रधानअध्यापक सानोभाइ कार्कीले शैक्षिक गुणस्तरबृद्धिका लागि आफूले कुनै कसर बाँकी नराखेको भन्दै हातेमालो गर्न सवैलाई आव्हान गर्नुभयो । 

कार्कीले जनकल्याण माविको आगामी योजना र रणनीतिहरु समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभयो । पूर्विबद्यार्थी एवं नगर शिक्षा समितिका पुर्व प्रमुख अच्युत्तमप्रसाद ढकालले थाहानगरको समग्र शैक्षिक योजना समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभयो । 

उहाँले शक्तिको आडमा शिक्षक नियुक्तिको परिपाटी बन्द गरिनुपर्ने, सरकारी विद्यालयको स्तरोन्नतीको चर्चा गर्ने शिक्षकहरुले नै आफ्ना सन्तानलाई निजीमा पढाउने गरेकोमा त्यस्तो कार्य बन्द गर्नुपर्ने, शैक्षिक संस्थाहरु राजनीतिक हश्तक्षेप मुक्त हुनुपर्ने र विद्यालयका शिक्षकहरु नैतिक अचरणयुक्त हुनुपर्ने सुझाव दिनुभएको थियो । 

उहाँले विद्यालयहरुको मर्ज गरेर अघि बढ्नु राम्रो हुने सुझाव दिनुभयो ।  कार्यपत्रमाथि टिप्पणी गर्दै सहप्राध्यापक बद्रीप्रसाद बिडारीले शिक्षामा हुने लगानी र प्रतिफलको लेखाजोखा हुनुपर्ने बताउनु भयो । 

कार्यक्रममा सहभागीहरु उमेशप्रसाद ढकाल, सन्तोष बिष्ट, भुवनप्रकाश विष्ट, कुमार थापा, ओम विष्ट लगायतले थाहा नगरको शिक्षामा सुधार गर्नुपर्ने पक्षबारे बोलेका थिए । जसमा सरकारी शिक्षाको स्तर सुधार गर्नका लागि भन्दै चर्का कुरा गर्नेहरुले नै थाहा नगरमा निजी विद्यालय सञ्चालन गरी व्यवसाय चलाएको बताए । 

सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका अध्यक्ष विष्णुहरि ढकालले शैक्षिक पर्यटनका लागि ठूला लगानीमा आवासीय विद्यालयहरु सञ्चालनमा ल्याउनु पर्ने आवश्यकता औंल्याउनु भयो ।

२०२५ सालमा स्थापना भएको जनकल्याण माविले आफ्नो ५० औं वर्षगाँठ मनाइरहँदा भूतपूर्व विद्यार्थीहरु विद्यालयको प्रगतिको खोजीमा लागेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम बिडारी, थाहा काठमाडौं पत्रकार समाजका अध्यक्ष बैकुण्ठ ढकाल, थाहा नगर मिडीया एशोशिएसनका अध्यक्ष कुमार नेगाी लगायतको सहभागिता थियो ।




0 comments

Write Down Your Responses