Powered by Blogger.
प्रेस भन्दा माथि सरकार हुन सक्दैनः सञ्चार राज्यमन्त्री बास्कोटा


काठमाडौं । नेपाल पत्रकार महासंघले नवनियुक्त सञ्चार तथा सूचना  प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई पूर्ण कार्यकालका लागि सफलताको शुभकामना व्यक्त गरेको छ । 

महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सञ्चार राज्यमन्त्री बाँस्कोटाले सञ्चारजगत लोकतन्त्रको पहरेदार रहेकाले प्रेस भन्दामाथि सरकार हुन नसक्ने बताउनुभयो । 

उहाँले आमसञ्चार नीतिको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाहरुसँग छलफल गरी अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । राज्यमन्त्री बाँस्कोटाले पत्रकारको न्यूनतम पारीश्रमिकलाई समयानुकुल बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रता अक्षुण्ण रहने स्पष्ट पार्दै मर्यादाभित्र रहन पत्रकारिता क्षेत्रलाई आग्रह गर्नुभयो । 

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न, समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न, पत्रकार महासंघको परिचयपत्रबाट सिंहदरबारमा पहुँचका लागि ध्यानाकर्षण गराउनु भयो । 

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्टले अझै पनि स्वनियन्त्रणको खतरा रहेको भन्दै त्यस्ता खालका  नियम कानूनलाई परिमार्जन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

महासंघका उपाध्यक्ष विपुल पोख्र्रेलले समाचार लेखेकै कारण पत्रकारले अझैपनि धम्की तथा आक्रमण जस्ता घटनाको सामना गर्नुपरेको भन्दै त्यसतर्फ ध्यान दिन राज्यमन्त्री बाँस्कोटालाई आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु सिवाकोटीले सरकारका  गतिविधि जनताको पक्षमा हुनुपर्ने भन्दै त्यसका लागि सिंगो पत्रकारिता जगतको सहयोग हुने बताउनुभयो । 

प्रेस चौतारिका वरिष्ठ उपाध्यक्ष माधव नेपालले मुलुकमा शक्तिशाली सरकार रहेकाले पत्रकारका समस्या समाधान गर्नका लागि  उपयुक्त अवसर रहेको बताउनु भयो । 

प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले सबैखाले सञ्चार माध्यमको हितमा नीति निर्माण गर्न राज्मन्त्रीलाई आग्रह गर्नु भएको थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं जिल्लाका अध्यक्ष शन्तराम बिडारी र ललितपुर जिल्ला अध्यक्ष ज्ञानप्रसाद पौडेलले पनि राज्यमन्त्री बास्कोटालाई आ आफ्ना जिल्ला शाखाका तर्फबाट खादा लगाएर बधाई समेत ज्ञापन गरेका थिए । 




0 comments

Write Down Your Responses