Powered by Blogger.
अस्थिर देखिएपनि राजनीतिमा म जति स्थिर व्यक्ति कोहि छैन

वीरबहादुर लामा, वरिष्ठ नेता , नेपाल संघीय समाजवादी पार्टी

आजकाल तपाईको दिनचर्या कसरी बित्दै छ  ? 

बाख्राले मासु खाँदैन, बाघले घाँस खादैन । म एक राजनीतिक प्राणी हो, पहिले देखि नै राजनिती गर्दै आएकोले मेरो दिनचर्या राजनीति  गरेर नै गरेर बितिरहेको छ । 

कुनै समय तपाईं  एमाले जस्तो ठूलो पार्र्टीको केन्द्रीय तहमा पुगेर नेतृत्व सम्हाली सकेको मान्छे,  अहिले कस्तो छ, तपाईको राजनीतिक दौडधुप ? 

हाम्रो पार्टी नयाँ रुपमा दर्ता भएको छ । यसकारण अहिले संगठन विस्तार गर्ने, जनतासंगको सम्वन्ध जोड्ने,  पार्टीको प्रचार प्रसार गरेर पार्टीलाई राष्ट्रिय स्तरमै एउटा ठूलो पार्टीको रुपमा स्थापित गर्ने सोच रहेको छ । अनि अर्को कुरा, देशमा कुनै पार्टी सानो र कुनै पार्टी ठूलो भन्ने पनि हुदैन । सबै पार्टी बराबरी हुन् । 

सबै पार्टीहरुलाई दर्ता गर्दा एउटै संबिधानको एउटै धारामा टेकेर दर्ता गर्ने व्यवस्था छ ।  यसैले कुनै पार्टीलाई पनि सानो र ठूलो भनेर बिभाजन गर्न पाईदैन । जनताले पार्टीलाई पत्याउने र भोट दिने आधारमा पार्टीलाई बिभाजन गर्न पाईदैन । जुन समय अनुसार परिवर्तन भइरहेको  पनि हुन्छ ।

 नेपालमा कुनै बेला पंञ्चायतको वाहवाही थियो, त्यसपछि कांग्रेस र एमालेको वाहवाही भयो ।  त्यसैगरी एक समयमा माओबादीले के के नै गर्छ भन्ने थियो । फेरि अहिले जनताले वाम एकताले के के न गर्छ भन्ने सोचेका छन् । तर अहिले वाम एकता भित्र पनि ‘आउन त आएछ महादेव गु नै खाएर आएछ’ भनेझै त्रुटिहरु देखा पर्न थालिसकेका छन् । त्यसैले जनताले विभिन्न समय अनुसार विभिन्न पार्टीलाई पत्याउँछन् । 

त्यसमा पनि अहिलेको राजनीति भनेको पैसाको राजनीति हो । एउटा गाँउपालिकाको अध्यक्षले पनि चुनाव जित्नकैे लागि एक करोड खर्च गरेर, दुनियाँलाई जाँड, रक्सी, मासु, चिउरा खुवाएर त्यसको भोज लगाएरै जितेका छन् भने अब जनताले पत्याएको भए यसरी खर्च गर्नु नै पर्ने थिएन । 

यसैले म भन्छु यो सबै झुटको खेती हो, पैसाले अझै पनि जनतालाई खसिबोका जस्तै किनिरहेका छन् । यो जनताले बुझेका छैनन् । जनताहरु अझै पनि नागरिक बनेका छैनन् । अझै पनि रैती नै छन् । 

उदाहरणका लागि कमल थापा जो  पंञ्चायतकाल देखि केही अघि सम्म  लगातार मन्त्री छन् तर उनको कामको कुरा गर्ने हो भने उनले सिन्को समेत भाँचेका छैनन् । 

कमल  थापा र हेमबहादुर मल्लको विवादका कारण बनिसकेका ७ सय ओटा जग्गा धनी पुर्जा हालसम्म बितरण हुनसकेका छैनन्  ।  त्यसकारण जब सम्म देशमा पैसाको भरमा जनप्रतिनिधि छानिन्छन् तब सम्म देशले काँचुली फेर्दैन । देशमा पैसावाला भनेको ठेकेदार र व्यापारी हुन् ।  उनीहरुले १० हजार खर्च गरे भने २० हजार नाफा कमाउने सोच राखेका हुन्छन् । 

नेपालका दुई ठुला कम्युनिस्टहरुले एउटै घोषण पत्र ल्याएर चुनाव जितेर सरकार पनि बनाएका छन्, तपाई पनि विगतमा एक कम्युनिस्ट नेता भएकोले के लाग्छ वाम एकता हुन सक्छ त ? 

तपाईले गरेको प्रश्न बडा स्वागत योग्य छ । नेपालमा एउटै मात्र पार्टी कम्युनिस्ट पार्टी हुनुपर्छ । तर मैले देखेसम्म नेपालमा कुनै कम्युनिस्ट पार्टी नै छैनन् । 

पार्टी एकता मात्र भएर के गर्ने ? वाम एकता मात्र भएर केही हुदैन । कुनै एक नेता पनि चारित्रीक हिसाबले र बैचारिक हिसाबले कम्युनिस्ट छैनन् । जुन मानिसले हामी कम्युनिष्ट पार्टीको नेता हौ, सर्वहारा वर्गको नेता हौ भनिरहेको छ, त्यहि मानिसलाई १ देखि २ करोडको गाडी चाहिने अनि १७ देखि १८ तलाको दरबार चाहिने । अब भन्नुस् सर्वहारा वर्गको नेताका लागि १८ तलाको दरबार केको लागी ? 

अब दुई पार्टीबीच पार्टी कसरी अगाडि बढ्ला ? 

पार्टी एकता त पक्कै नै हुन्छ । तर देशमा कम्युनिष्ट छँदै छैन् ! यो त एउटा नाम मात्र हो । अनि जति सुकै बिवाद भएपनी ‘चोर चोर एउटै स्वर’ हुन्छ । यदि एकता नहुने हो भनेर कम्युनिस्ट हँु भनेर कम्युनिस्टको जामा लगाएर भित्रै भित्र शोषण गर्ने सामन्तबादीहरु समाप्त होइएला भन्ने डर छ । विधि बिधान कागजमा त लेख्न सकिन्छ तर व्यबाहारले यिनिहरु कम्युनिस्ट होइनन् ।

तपाईले एमालेमा रहुन्जेल आफ्नो पार्टीको बचाउ गर्नु भयो, त्यस पछि एमाले परित्याग गर्नु भयो, अशोक राईहरुसंग मिलेर पार्टी खोल्नु भयो, त्यहाँ पनि टिक्नुभएन, त्यस पछि पनि अर्को पार्टी खोल्नु भयो, स्थिर राजनीति गर्न सक्नु भएन, अब भन्नुहोस् तपाईं आफै अहिले चाहिँ कम्युनिस्ट हो कि होईन ? 

के लाई भनिन्छ कम्युनिस्ट ? भाषालाई भनिन्छ की कम्युनिस्ट, मान्छेको अनुहारलाई भन्नेकी कम्युनिस्ट,  के लाई भन्ने कम्युनिस्ट चाहिँ ?

पहिलो कुरा त देख्दा अस्थिर देखिएपनि राजनीतिमा म जति स्थिर व्यक्ति कोहि पनि छैन । मैले  व्यक्तिगत स्वार्थको लागि कहिल्यै काम गरिन । 

एमालेमा हँुदा यदि कम्युनिस्टलाई जिँउदो राख्ने हो भने अघिल्लो पदमा बसेका नेताहरुले आफुलाई सुधार्न जरुरी रहेको छ भनेर बारम्बार बैठकहरुमै भन्दै आँए । मिडीया मार्फत भन्दै आँए । कार्यकर्तालाई कार्बाही गर्ने आफुचाँही जे पायो त्यही गर्ने,  यसको अन्त्य गर्नुपर्छ भनेर मैले भनेको थिँए । 

ती कुरा उठाउँदा म नेताको अलोकप्रीय बँने जसको कारण पार्टीमा टिक्न सकिँन र मैले पार्टी परित्याग गरँे । आठौ महाधिबेशनको बेला ‘पहिचान सहितको संघियता,  संघियता सहितको पहिचान’ नीतिगत रुपबाटे पास भयो ।  । 

२०६९ को जेठ महिना तिर आएपछी नेताहरुले त्यो पालना गर्नुभएन , तोड्नुभयो ।  अनि यो ‘पहिचान सहितको संघियता, संघियता सहितको पहिचान’ शब्द सच्याउनका लागि जनतासंग माफी माग्नु पर्छ भन्नेमा हामी केही नेताहरु लाग्यौँ । 

२ जनाले कोठाभित्र बसेर बनाएको नीतिलाई हेरफेर गर्नु हुँदैन  भन्ने मेरो जिगर थियो ,यो जिगरले फेल खायो । त्यही बेला हामीले भनेका थियौ कि हामीले यसरी सामन्ती सोच  राख्नहुन्न । त्यस्तो सोच राख्नेहरु कम्युष्निट पार्टीमा सैह्य हुन्न ।

त्यो बेला तपाईं आफै नि लोकतान्त्रिक तामाङ्ग संघको अध्यक्ष हुनुहुन्थ्यो, पार्टीको केन्द्रीय नेता हुनुहुन्थ्यो, यसमा अरुको मात्र दोस देखाउनु भन्दा तपाईको नि केही भुमिका र दायित्व पक्कै थियो होला नी,  यसलाई कसरी हेर्नु हुन्छ ? 

सबैभन्दा पहिलो कुरा त म अहिले पनि कम्युनिस्ट नै छु । किन भने मैले त्यतिबेला सांसद चलाएको हो ।  जिल्ला विकास समितिको सभापति पाँच वर्ष चलाएको हो । तर अहिले सडक छाप भन्दा अरु केही पनि छैन । तपाईले देखाए पनि हुन्छ कि मैले त्यति बेला कमाएको छु भने । 

नत्र भने त्यो बेला सांसदमा बस्नेहरुको कुन चाँहि माईकालाल छ यो काठमाडौमा घर नभएको ? त्यसबेला मैले ‘म कम्युनिस्ट बन्न सकेको छैन’ भन्ने एउटा कविता लेखेको थिए । कवितामा ‘बानेश्वरको वरिपरि हिड्ने र गुड्ने घर बनाउन सकेको छैन, स्वम्भुको वारिपरी गौँथलिको गुँड बनाउन सकेको छैन, म त्यसैले कम्युष्निट बन्न सक्या छैन’ भनेर उल्लेख थियो । अब त्यही घर बनाउदैमा मात्र कम्युनिस्ट हुने हो भने माफ गर्नु होला मैल ठुलो घर बनाउन सकीन । 

मैले जनताको सेवा गर्नु पर्छ, जनताको अगाडि पार्टीलाई स्थापित गराउनु पर्छ भन्ने तिर म सधै लागिरहँे ।  हात्तीको देखाउने दाँत र चपाउने दाँत अर्को भए जस्तो मैले देखाउन जानिँन ।  व्यक्तिगत रुपमा म अहिले पनि कम्युष्निट नै हो । 

अर्को कुरा नेता भित्र पनि गलत पक्ष र सबल पक्षको खुलेर वकालत गर्ने केही साथीहरु हुनुहुन्थ्यो त्यस भित्रमा म पनि थिँए । नेतृत्व तहमा अहिले नवपुँजीवादी चरित्र हावी भएको छ ।  

नव पुजिबादीको चलनले नव सामन्तबादी प्रवृत्ति हावी भएको छ । त्यसलाई सुधार्नु पर्छ भन्ने हो । म अहिले पनि देखिरहेको छु कम्युनिस्ट पार्टिको नाममा अहिलेका नयाँ रातो जामा लगाएका सामन्तहरुको हावी छ । 

नेपालमा व्यक्तिगत रुपमा हेर्ने हो भने सामान्यतया वास्तवमा ब्यक्तिगत स्वार्थलाई तिलान्जली दिएका सिमित नेताहरु हुनुहुन्छ । केही नेताहरु त  अहिले जिबित हुनुहुन्न पनि । 

को को हुन् ति व्यक्तिगत स्वार्थलाई तिलान्जली दिएका  नेताहरु ?

मनमोहन अधिकारी, सिद्धिलाल सिंह र तुलसिलाल अमात्य लगायतका नेताहरु पर्छन । तर अहिले जिवित नेताहरु भने दिउसै लुटपात मच्चाउने बाहेक अरु कोहि पनि देखिदैनन् ।  

देशमा गणतन्त्रको नाम दिएर डन तन्त्र चलाएर बसेका छन् नेताहरु । डनहरुको संरक्षण गरेर बसेका छन् । नत्र हामी जस्तो पार्टीको संरक्षण गर्नेहरुलाई दुधबाट झिंगा निकालेर फ्याँके जस्तो गरेर फाल्दैनन् थिए नि त । 

त्यसबेला एमाले भित्र तिनप्रकारका दास थिए । एउटा माधव नेपालदास, अर्को खनाल दास अनि अर्को ओली दास । मलाई जिल्ला देखि नै सखाप पार्न चाहने दास भनेको ओलि दास नै हो । जसको कारण मैले बाध्य भएर हिँड्नु परेको हो । 

बीचमा एकचोटी एमालेले ‘मुल घर फर्किउ अभियान’ चलायो, त्यो बेला तपाईलाई कसैले पहल गरेन ? 

मैले यो पार्टीमा बसेर कसैको केही बिगारेको थिइन । मात्र मैले सत्य बोल्थें । दुधको दुध, पानीको पानी देखेको कुरा बोल्ने मान्छे पार्टीका लागि घाँडो हुने रहेछ ।  सत्य नपच्ने रहेछ ।

 पहिले एमालेबाट गुट गत गतिबिधी बन्द गरौं, केवल एमाले बनौं भन्दैं हिँडे । तर कसैले यो सुनेन । गुटगत गतिविधी यसरी झाँङेगीयो कि कसैको दास नबने त पार्टीमा टिक्नै नसक्ने अवस्था आयो । 

पछिल्लो समय जिल्लाबाट ओलीपक्षका साथीहरुले मलाई यसरी पेल्न थाल्नुभयो की म पार्टीमा टिक्नै नसक्ने भँए । मैले सबै नेताहरुलाई पहिले नै भनेको थिए ओली पक्षको कारण कुनै दिन मैले पार्टी छोड्नु पर्छ । तर कसैले वास्ता गरेनन् । 

तपाई लगायत अशोक राईहरुले जातियताको कुरा उठाएर आफै पार्टी त्यागेको हो नी, कहाँ पार्टीले हटाएको हो र ?

हैन, यो झुट्टो प्रचार हो । सबै भन्दा पहिलो कुरो त अधिबेशनले गरेको कुराहरुलाई नेताहरुले गलत व्याख्या गर्नुभयो । हामीले त्यही भएर नेताहरुले सामुहिक रुपमा माफी माग्दै आत्मालोचन गर्नपर्छ भन्यौं । दुई जनाको निर्णय अनुसार महाधिवेशनले तयार पारेको सिद्धान्त परिवर्तन गर्न मिल्दैन भन्ने हाम्रो माग हो । 

२०६३ साल  भदौ १० गते लोकतान्त्रिक तामाङ संघ बनाउने बेला नै मैले माधव नेपाल संग सिधै भनेको थिए कम्युनिस्ट पार्टी भित्र जातिय संगठन हुदैन्, अनि म कसरी जातिबादी भए ?

तपाईले जसको नेतृत्वमा पार्टी छोडेर अर्को पार्टी खोल्न लाग्नु भएको थियो उहाँसंग पनि तपाईं टिक्न सक्नु भएन नी किन ? 

म  सिद्धान्तमा टिकरिहेको छु । बरु उहाँहरु टिक्न सक्नुभएन ।  उनीहरु त सिद्धान्तबादी नै होईनन् । 

पार्टी रातारात ठूलो बनाउनु पर्ने असोकजी को सपना  । पार्टी एकता गरिसके पछि केन्द्रीय कमिटिको नेतृत्वले समेत बहस र छलफल गर्न नपाउने । 

अध्यक्षको निर्णयमा ताली ठोकेर हिड्ने ठाँउमा बसेर राजनीती गर्ने मान्छेको कुनै अर्थ रहदैन । 

त्यो भन्दा एमालेमा पो राम्रो थियो कि ? 

एमालेमा जसले गुलामी गर्दैन त्यसले सुख पाउँदैन । गुलामी गर्ने, भेटी चढाउने गर्नु पर्छ । 

तपाई भन्दा धेरै पछाडिका नेताहरुले अहिले ठुलो ठुलो जिम्मेवारी सम्हालेका छन्, तपाईं त झन त्यत्रो कम्युनिस्ट आन्दोलन गरेर आएको मान्छे,  एकाएक  राजनीतिबाट ओझेल पर्दा कस्तो अनुभूति हुन्छ ? 

मलाई केही अप्ठ्यारो अनुभुति हुन्न । अहिले सम्मको कुरा गर्दा डोरमणी पौडेल मुख्यमन्त्री बने, यो कुनै अनौठो कुरो होईन । उहाँले केपीको चाकडी गर्नु भो, अनि मुख्यमन्त्री बन्नु भो । मैले चाकडी गरिन,  म निकालिए !

त्यसैले जबसम्म चाकडी गरिन्छ तब सम्म जनताको हितमा काम गरिन्न । अनि देशमा नँया पुँजीबादी र धनायढ्यहरुको उदय होला, तर समाज परिवर्तन हुदैन ।

एमाले छाडिसके पछि एमालेका नेताहरु संग तपाईको सम्पर्क छ की छैन ?

म त्यही चाहन्छु कि मेरो सबैसंग सम्बन्ध होस् । म एक राजनीतिक मान्छे हो । सबैसंग सम्बन्ध राखेर आफ्नो बिचार राख्दै अघि बढ्न चाहन्छु । मैले सम्बन्ध राख्न खोज्दा पनि एमालेका साथिहरु जुन नेतृत्व तहमै पुगेका छन्,  उनीहरु बडो संकीर्ण छन् । 

त्यही संकीर्णताको कारणले गर्दाखेरी हिजो संगै खाए खेलेका साथिहरु बोल्नै चाहदैनन् । जस्तै राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डे संग मैले बारम्बार फोन गरे तर मेरो फोन उठाएनन् राजेन्द्रले । सुरेन्द्रले एक चोटि फोन उठाए ।  तर बिरोध खतिवडा संग भने राम्रै छ । 

कृष्ण दाहालजी म संग राम्रो संग बोलचाल गर्न  पनि चाहन्नन् । डोरमणी पौडेल संग पहिले देखि नै त्यति राम्रो बोलचाल थिएन । तर माधव पौडेल संग चाँही राम्रै सम्बन्ध छ  । 

तपाईको यो नयाँ पार्टीलाई  कसैसंग एकता गर्ने , सहकार्य गर्ने, मिलेर जाने खालको के रणनीति छ ? 

पहिले त आफ्नो संगठन बिस्तार गर्ने हो । अनि बिचार मिल्ने संग एकता गर्ने, सहकार्य गर्ने कुरो भैहाल्छ नि । अहिले हामीले ५ जिल्लामा उम्मेदवार उठाउन सफल भएका छौ । त्यहा अहिले संगठन बिस्तार गर्दै छौं । बाँकी ५ वर्ष पछि के हुन्छ त्यहि बेला हेरौला । 

तपाईले आफ्नै घरका सदस्यहरु छोरा, बुहारी, छोरी ज्वाई लगायतलाई पनि एमाले त्यागेर आफ्नो पार्टीको सदस्य बनाउन सक्नु भएको छैन , के संगठन गर्नुहुन्छ भन्छन् नी ? 

मैले नेताहरुको कारणले एमाले छोडे नी  मकवानपुरमा आफुले निर्माण गरेको संगठन भत्काउने प्रयास गरेको छैन । त्यसैले आफँैले बनाएको चौतारी नभत्काँउ भन्ने हो । 

तर  समग्र एमालेका नेता कार्यकर्ताहरु यही प्रश्न दोहो¥याँउदै  खै त ? उसकै छोराछोरीले उसले भनेको मानेनन् भन्छ । यदि भत्काउनै पर्छ भन्ने लाग्छ भने अबको ५ वर्ष भित्रमा मकवानपुरमा दह्रो संगठन बनाएर देखाई दिन्छु  । त्यतिबेला एमालेले महसुस गर्नेछ । 

अन्तिममा केही छ भन्नै पर्ने ? 

अन्तमा सिद्धान्त बिनाको पार्टी काम लाग्दैन ।  व्यवहार बिनाको पार्टी काम लाग्दैन । यो कुराको नेपालका राजनीतिक दलले ख्याल गर्न जरुरी छ ।  

एकताका रावण पनि शक्तिशाली थिए, महिशासुर पनि शक्तिशाली थिए र महाभारतको पाण्डवहरु थोरै थिए र पनि  सत्य थिए, कौरवहरु धेरै थिए, असत्य थिए त्यसैले सत्यको बिजय हुन्छ । यसकारण शक्तिको पछि नलागेर सत्यको पछी लाग्न सबैलाई आग्रह गर्दछु ।



0 comments

Write Down Your Responses