अपराध, उन्मुक्ति र न्यायको चीत्कार
लक्ष्मण न्यौपाने |
परिदृश्य एक
दरबारमार्गको एक होटलमा एक युवती सामुहिक बलात्कारको सिकार बनिन् । प्रहरीमा पिडक विरुद्ध उजुरी हालिन् । शान्ति सुरक्षा र न्याय दिलाउने प्रहरी नै पिडक सँग मिलेर आर्थिक प्रलोभनमा परि राजनीतिको एक इमानदार दलाल बन्यो ।
प्रहरीको संलग्नतामा पिडकको दबाब र आर्थिक लेनदेनपछि ती बलात्कार पिडित युवतीले बयान फेरिन् । उनको बैंक खातामा लाखौं रकम जम्मा गरि मुद्दा फिर्ता लिन दबाब दिइयो र मेलमिलापको नाममा बलात्कार जस्तो जघन्य अपराधलाई पैसासँग साँटियो।
परिदृश्य दुई
बल्खु निबासी पन्ध्र वर्षिया मानसिक अपांगता भएकि एक किशोरी फागुन तेस्रो साता सामुहिक बलात्कारको सिकार भइन् ।
बलात्कारमा दोषी पाइएका पाँच जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । बलात्कार गर्नेमा बा ४ ख ३८५१ नम्बरको बस र बा २ ख ४१९५ नम्बरको बसका चालक र सहयोगी सहित एक अर्को व्यक्ति संलग्न भएको पाइएको छ ।
तरपनि दोषीलाई कारबाही हुनेमा भने आश्वस्त हुन सकिने अवस्था छैन । किनभने यस अघिका यस्ता अपराधका घटनाका दोषीलाई राजनीतिक पहुँचका भरमा छुटकारा दिइएका उदाहरण प्रशस्तै छन।
परिदृश्य तीन
गत मंसिरमा दक्षिणकाली बस्ने एक अर्कि महिला बिरामी भएर गुम्बामा उपचार गराउन जाँदा गुम्बाका लामा रिम्पोछे छुल्ठिम दोर्जेद्वारा जबर्जस्ती करणीमा परिन् ।
दोर्जेले गुम्बामा यसैगरी उपचार गराउन आउने प्रायः महिलामाथि यौन दुराचार गर्ने गरेको पाइएको छ । तर उनलाई कारबाही भए नभएको केही पत्तो छैन । यस मामिलामा प्रहरी मौन देखिन्छ।
परिदृश्य चार
ललितपुर सातदोबाटो स्थित ज्ञानकुञ्ज स्कुलका प्रधानाध्यापक शिव कार्की आफ्नै विद्यालयमा कक्षा दसमा अध्ययनरत एक छात्रालाई यौन दुर्ववहार गरेको आरोपमा पक्राउ परे। यसमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरि अनुसन्धान थालेको जनाएको छ ।
यद्यपि यस मुद्दामा प्रधानाध्यापक र उनका आफन्तले यो आरोप मात्रै हो भनिरहेका छन् । पछि गएर यो मुद्दा पनि यत्तिकै तुहिन सक्ने छनक यसले दिएको छ । पिडक शिव कार्की ललितपुर प्याबसनका अध्यक्ष समेत भएकोले यसमा प्याब्सन ललितपुरले मुद्दा फिर्ता लिन दबाब दिइरहेको खुल्न आएको छ ।
अबको बाटो
माथिका यी केही घटनाका परिदृश्य मात्र हुन् । हाम्रो समाजमा बलात्कारका घटना दिनदिनै बढिरहेको पाइन्छ । यस्ता जघन्य अपराधका घटना थोरै मात्र बाहिर आउछन् भने अधिकांश घटना दबाब, प्रलोभन, डर धम्की र प्रहरीको समेत मिलेमतोमा बाहिर नआइकनै थमाउने पर्यत्न गरिन्छ ।
राष्ट्रिय महिला आयोगकि कानुनी सल्लाहकार बिमला खड्काका अनुसार पिडित महिलालाई न्याय दिलाउन कानुनी प्रक्रिया पूरा नहुँदै कुनै न कुनै राजनीतिक दलका नेताहरूले प्रहरीलाई नै दबाब दिई मुद्दालाई शिथिल पारिदिन्छन् ।
बलात्कार पिडित महिलाले न्याय पाउने ठाउँबाट नै अन्याय बेहोर्नु पर्दा पीडा त बल्झिन्छ नै उल्टै यस्ता प्रकृतिका घटना दिनानुदिन बढिरहेका छन् ।
कानुनमा महिला वा बालिकालाई करणी वा बलात्कार गरेमा कम्तीमा ५ देखि २० वर्षसम्म कैद सजाय हुने उल्लेख भएता पनि विभिन्न बाहाना बाजिमा पिडकलाई उन्मुक्ति दिइने गरेको पाईन्छ । सामाजिक प्रतिष्ठा, मानसम्मान र इज्जत अनि पारिवारिक कुरा देखाएर अमानवीय कुकृत्यलाई प्रशय दिइने गरिएको छ।
आफै भ्रष्ट र आपराधिक पृष्ठभूमिबाट आएका केही कलंकीत दलिय नेताले अपराधी छुटाउन पिडित, अधिकारकर्मि र प्रहरीलाई समेत दबाब दिनेगरेका छ । यसले हामीले परिकल्पना गरेको स्वच्छ, सानदार र सभ्य समाज निर्माणमा अकल्पनीय क्षेती पु¥याएको छ ।
कानुनी राज भएको देशमा कानुनकै धज्जि उडाउने गरिएको छ । उता मानवाकृति भएको कित्रिम मानव रोबट सोफिया त मान्छे भन्दा चेतनशील पाइयो। तर हामी हाम्रो समाजको चेतनशीलता लाई नै गुमाउँदै गइरहेका छौँ । सामाजिक अपराधलाई उन्मुलन गर्न अग्रसर हुनुपर्ने बेला हामी राजनीतिको आडमा अपराध लुकाएर अपराधीलाई अझै हौसला थोपरिरहेका छौँ त्यो पनि अझै बलात्कार जस्तो घृणित कुकर्ममा।
पिडकलाई कानुन बमोजिम दण्ड गराउन कतै प्रयास गरिए पनि पारिवारिक, सामाजिक, आर्थिक र राजनीतिक चलखेलमा ती न्यायका दियाहरु निभाइन्छन। छोरी बलात्कार हुँदा परिवारले नै छोरिलाई घरनिकाला गर्छ, श्रीमानले आफ्नै श्रीमती बलात्कार गर्न लगाउँछ, लैङ्गिक असमानताले समाजलाई थिलोथिलो पारेको छ। तैपनि न्यायलय र अन्य निकाय पिडितलाई न्याय दिलाउने भन्दा पनि रिपोर्ट निकाल्न मात्रै व्यस्त हुन्छन।
घरेलु हिंसा, दाइजो प्रथा, बोक्सी आरोप, लैङ्गिक विभेद, नाबालिका तथा महिला हिंसा र बलात्कार आदि जस्ता अमानवीय कुकृत्यलाई जरैदेखि उखेल्न त अब बलियो कानुन निर्माण गरि कार्यान्वयन गर्नु जरुरी छ ५–७ वर्षको जेल सजाय त्यो पनि राजनीतिको आडमा मिनाहा अथवा उन्मुक्ति पाएर अपराधीहरु खुलेआम पिडितमाथि धावा बोलिरहेका बेला समाज, नागरिक समाज, अधिकारकर्मी, सरकार र न्यायलय टुलुटुलु हेरेरमात्र बस्न हुँदैन । सरकारले यस्ता अपराधीलाई हदैसम्मको कारबाही गरि पिडितलाई उचित क्षतिपुर्ति सहित परिवार र समाजमा सम्मानजनक पुर्नस्थापना गराउनु पर्छ ।
गाउँ गाउँमा सिंहदरबारको नारामात्रै लगाएर हुदैन सिंहदरबारको आभाष पनि दिलाउन सक्नुपर्छ । सिंहदरबार गरिब जनतासँग अधिकतम कर उठाउने हेतुले मात्र गाउँ गाउँमा स्थापना गरिएको होइन ।
गाउँ घरका सामाजिक समस्या, कुप्रथा र अपराध उन्मुलन र नियन्त्रण गर्न पनि स्थापना गरिएको हो । सामाजिक अपराधका घटनामा स्थानीय निकाय र नेतृत्वले आवश्यक पहलकदमि लिनुपर्नेमा उल्टै पिडितलाई नै दोषी देखाएर पन्छिन खोजेका घटना पनि कैलाली बोक्सिकाण्डबाट छर्लंग छ ।
पिडित राधा चौधरी न्यायको खोजीमा भौँतारिदा उनी त्यही समाजको रमिते पात्र बन्नुपरेको पीडा के गाउँको सिंहदरबारले महशुस गर्छ? सात वर्षिया बालिका छिमेकी हजुरबाबाट बलात्कृत हुँदाको पीडा के महिला तथा बालअधिकारको भाषणमा रमाउने एजेन्टलाई महशुस हुन्छ?
एउटि मानसिक अशक्त किशोरी सामुहिक बलात्कारको सिकार हुँदा मुद्दा दर्ता गर्न इन्कार गर्ने तर आफ्ना छोरिलाई लक्ष्मीको स्वरुप पुजा गर्ने ती घुस्याहा भ्रष्ट प्रहरीलाई के थाहा छ अबोध नाबालिक चीत्कार? यी आम मानिसलाई चाहिने उत्तरका तिखा प्रश्नहरु हुन् ।
यी प्रश्नहरुको उत्तर जिम्मेवार व्यक्ति र निकायले दिनैपर्छ र दिनुपर्छ। नत्र त न्याय खोज्दा बदलाको भावना पैदा हुन्छ नै जसरि घोडाघोडि नगरपालिकाका मेयर बदलाको सिकार बने। त्यो आक्रमण न्याय नपाउँदाको आक्रोश मात्र नभइ एकखालको दबाब पनि थियो र हो सिंहदरबारमाथिको ।
0 comments
Write Down Your Responses