Powered by Blogger.
सञ्चारमाध्यममा काम गरेका कारण जागिर छोड्न बाध्य

मकवानपुर / मकवानपुर उद्योग बाणिज्य संघका एक कर्मचारीले सञ्चारमाध्यममा काम गरेका कारण जागिर छोड्न बाध्य भएका छन् । संघमा कार्यक्रम अधिकृतको रुपमा डेढ वर्षदेखि कार्यरत देवराज पन्तले बिभिन्न गलत विषयका बिरुद्ध समाचार लेखेका कारण संघबाट राजिनामा दिनुपरेको हो ।
पत्रकारिता तथा आम सञ्चारमा स्नातकोत्तर गरेका पन्त न्युज २४ टेलिभिजनका मकवानपुर टिभि जर्नालिष्ट  संघका स्थायी कर्मचारी थिए । संघमा  बिभिन्न संघ संस्था तथा ब्यवसायीले गरेको गलत कार्यका बिरुद्ध समाचार लेख्दा त्यस्ता समाचार नलेख्न दबाव दिँदै आएको पन्तले बताए । तर उनले भने गलत कार्यका बिरुद्ध आफुले आवाज उठाईरहने भन्दै नैतिक हिसावले संघमा काम गर्न नसकिने ब्यहोराको राजिनामा पत्र संघमा बुझाएको बताएका छन् ।
‘संघको कार्यालय समय बाहिर मैले पत्रकारिता गर्दै आएको थिएँ, तर समाचारको विषयलाई लिएर पत्रकारिता बाहेक अरु पेशा गर्न दिने तर पत्रकारिता गर्न नदिने भनियो’, पन्तले भने, ‘गलतका बिरुद्ध आवाज उठाउँदा जागिर छोड्नुपर्छ भने म तयार छु भनेर अघि बढेको हुँ ।’ उनको राजिनामा गत आईतबार बसेको कार्य समिति बैठकले स्वीकृत गरेको छ ।

पन्तले अगाडी भने, ‘वास्तविकता सबैले थाहा पाउन् भनेर मैले राजिनामा पत्रमा समेत चलनचल्तीमा रहेको घरायसी तथा अन्य कारण नभनी समाचारकै कारण राजिनामा दिएको उल्लेख गरेको छु । यसले मकवानपुरमा बहसको विषय बनोस् ।’

सम्बन्धित उद्योगी ब्यवसायीले समाचारको विषयमा चित्त नबुझे सम्बन्धित सञ्चारमाध्यममा खण्डन गर्ने संबैधानिक हक भएपनि गलत कार्य ढाकछोप गर्न संघका पदाधिकारीमार्फत दवाब दिन लाउने र संघ पनि गलतकै पक्षमा देखिएको उनले बताए । क्रसर उद्योग तथा नदीजन्य पदार्थको उत्खनन्, हेटौंडा अस्पतालको बिकृति, शिवम् सिमेन्टको अबैध खानी लगायतका विषयमा समाचार सम्प्रेषण गर्दा संघका पदाधिकारीलाई सम्बन्धित निकायले समाचार नलेख्न दबाव दिँदै आएको संघका एक पदाधिकारीले बताए ।

‘हामीले उद्योगीले गलतै गरेपनि उनीहरुको पक्षमा बोल्नुपर्ने बाध्यता छ’, एक पदाधिकारीले भने, ‘हाम्रो कर्मचारीले त्यस्ता विषयमा कुरा उठाउनु राम्रो भएपनि हामीलाई दबाव थेग्न गाह्रो भयो ।’
संघका अध्यक्ष कृष्ण कटुवालले ब्यवसायीले गलतै गरेपनि उनीहरुको पक्षमा संघले बोल्नुपर्ने बाध्यता रहेको बताए । ‘हाम्रै कर्मचारीले ब्यवसायीका बिरुद्ध बोल्दा हामीलाई समस्या भएको कुरा साचो हो’, उनले भने, ‘पत्रकारिताले त्यस्ता कुरा खोज्नु जायज हो तर हामी पनि आफ्नो ठाउँमा बाध्य छौं ।’ गलत कार्यका बिरुद्ध समाचार लेखेकै कारण संघबाट कर्मचारीले राजिनामा दिनुपरेपछि संघ पनि गलत गर्ने ब्यवसायीकै पक्षमा उभिने संस्था हो की भन्ने प्रश्न उब्जिएको हेटौंडाका सञ्चारकर्मीहरुको भनाई छ ।

0 comments

Write Down Your Responses