Powered by Blogger.
मकवानपुरमा ९१ प्रतिशत भूकम्प पिडितले तेस्रो किस्ता लिन वाँकी

प्रताप विष्ट ,
मकवानपुर / भूकम्पले घर भत्काएको तीन वर्ष बित्न लागिसक्दा पनि मकवानपुरका करिब ९ प्रतिशत लाभग्राहीले मात्र तेस्रो किस्ताको अनुदान रकम लिएका छन् । अझै करिब ९१ प्रतिशत भूकम्प प्रभावितले सरकारी अनुदान प्राप्त गर्न सकेका छैनन् । भूकम्पका कारण मकवानपुरमा घरबारविहीन भएकाहरूको संख्या ३१ हजार ८ सय १७ छ । जसमध्ये हालसम्म २ हजार ८ सय ५२ ले मात्र तेस्रो किस्ता प्राप्त गरेका छन् ।

जिल्ला पुनर्निर्माण सहजीकरण समितिको बसेको वैठकमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । गुनासो फछ्र्योटपछि थप भएका लाभग्राहीको संख्या १ हजार ५ सय ७९ सहित कुल ३१ हजार ८ सय १७ रहेको जनाइएको छ । जसमध्ये हालसम्म २४ हजार ८ सय ८७ लाभग्राहीले अनुदानका लागि सम्झौता गरेका छन् ।मकवानपुरमा अझै पनि ६ हजार ९ सय ३० भूकम्पपीडितसँग अनुदान सम्झौता हुन सकेको छैन । सम्झौता भएकामध्ये हालसम्म कुल २३ हजार ६ सय २९ ले पहिलो किस्ता पाएका छन् । जसमध्ये २२ हजार २ सय ११ पीडितले सरकारबाट र १ हजार ४ सय १८ ले विभिन्न गैरसरकारी संस्था मार्फत पहिलो किस्ता प्राप्त गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना इकाई प्रमुख पुष्पराज अधिकारीले बताए ।
कुल सम्झौता गरेका लाभग्राहीमध्ये मकवानपुरमा ९ हजार ७ सय ३ जनाले मात्र दोस्रो किस्ता पाएका छन् । जसमध्ये सरकारबाट ८ हजार ६ सय ७४ र गैरसरकारी संस्थामार्फत १ हजार २९ छन् । मकवानपुरका २३ हजार ९ सय ६१ भूकम्पप्रभावित लाभग्राहीको गुनासो सम्बोधन भएको छ । जसमध्ये ४ हजार १ सय ५० प्रबलीकरण लाभग्राही छन् । जसमा १ हजार ९ सय ४४ जनाको प्रबलीकरण सम्झौता भएको र १ हजार ६ सय ७० जनाले प्रबलीकरणका लागि पहिलो किस्ता बुझिसकेको जनाइएको छ । अहिलेकै अवस्थामा पुनर्निर्माण हुने हो भने सरकारले ५ वर्षमा सम्पन्न गर्ने भनेको पुनर्निर्माण पूरा नहुने देखिन्छ । भूकम्पीय आवास परियोजना इकाईका संयोजक एव जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सोमनाथ तिमिल्सिनाले भने, ‘दोस्रो किस्ता लिन घरको जग बनाउनुपर्छ, अधिकांशले त्यसो नगरेको भएर होला, दोस्रो किस्ता लिन आउनेको संख्या अत्यन्त न्यून छ ।’

उनका अनुसार भूकम्पपीडितसँग अनुदान सम्झौता हुन नसक्नुमा जग्गाधनी पुर्जाको अभाव, सुकुम्बासी, पुनर्वासको मुद्दा, बहुस्वामित्व, लाभग्राहीहरू विदेशमा, सम्पर्कमा नआएका, घरायसी विवादलगायत विभिन्न समस्या छन् । त्यसमध्ये अधिकांश जग्गा धनीपुर्जा अभावले गर्दा अनुदान सम्झौता हुन सकेको छैन । ‘सरकारले यो गाँठो फुकाउने प्रयास पनि गरेको पनि देखिँदैन,’ जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालले भने, ‘समस्याको समाधान सरकारले तत्काल निकालेर भूकम्पपीडितलाई राहत दिनुपर्छ ।’ मकवानपुरमा पुनर्निर्माण भएका घरको सर्वेक्षण गर्न अहिले गाउँ/गाउँमा एक सय इन्जिनियर खटिएका छन् भने गुनासो गरेकाको पुन: सर्वेक्षण गर्न थप ४८ इन्जिनियरहरू परिचालन भएका छन् ।

जिल्ला पुनर्निर्माण सहजीकरण समितिका संयोजक रघुनाथ खुलालको संयोजकत्वमा बसेको बैठकमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख विनोदकुमार खड्का, जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख प्रह्लाद धिताल, भूकम्प पुनर्निर्माण प्राधिकरण मकवानपुरका प्रमुख सोमराज तिमल्सिना, जिल्ला आयोजना इकाईका प्रमुख पुष्पराज अधिकारी सहभागी थिए ।

0 comments

Write Down Your Responses