सुरुमै उपचारमा नआए क्यान्सर उपचारको प्रभावकारितामा कमि हुने
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjDYZGx7ULef1eFTF__pg8iKkAnvaZ9Ba_ibsSk8XqXB37LMJGaNNfAXLIdK2pYzuSQ-HAeeR2YKyjLTqNjuJXA4V_70AI_EHgk-oGa4XZVcomXn32Sjl3gAou-Yj44F_-8pRVAKdbYuww/s640/cancer+council.jpg)
काठमाडौं । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक स्तरबाटै जनचेतनमूलक कार्यक्रममा जोड दिनुपर्ने बताएका छन् ।
कडरियाले सुर्तीजन्य पदार्थको कारण दिन प्रति दिन मानिसहरु विभिन्न किसिमका रोगबाट प्रभावित भएकोले यस विषयमा गम्भिर भएर सोच्न सम्बन्धित निकायले ढिलाई गर्न नहुने धारणा राखे ।
क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्रे बैंक लि. को प्रायोजनमा काठमाडौंको इपीएस स्कूल मिनभवनमा सञ्चालित जनचेतनामूलक कार्यक्रममा विर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा. डा. विष्णुदत्त पौडेलले क्यान्सर रोग लाग्दैमा आँत्तिनु नपर्ने धारणा राखे ।
यद्धपी डा. पौडेलले क्यान्सर रोग लागे समयमा नै उपचार गर्नुपर्ने र सचेत रहनुपर्नेमा जोड दिए । उनले विकसित देशमा सुर्तीजन्य पदार्थ उपभोगमा कमी भएतापनि नेपालजस्तो देशमा जनचेतनाको अभाव र साथीहरुको गलत संगतले गर्दा विद्यार्थीहरुले सानै उमेरदेखि सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको स्पष्ट पारे ।
नेपालमा जनचेतनाको अभावले गर्दा धेरैजसो क्यान्सर रोगीहरु रोग गम्भिर अवस्थामा पुगेपछि मात्रै अस्पताल आइपुग्ने हुँदा उपचारको प्रभावकारिता कम हुने कुरा उनको भनाई छ ।
सुर्तीजन्य पदार्थकै कारणले गर्दा विभिन्न किसिमका रोगबाट मानिसहरु प्रभावित भएको कुरा उनले स्पष्ट पारे । इपिएस स्कुलका प्रिन्सिपल प्रमिला सिंहले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालय स्तरबाटै अभियान सञ्चालन गर्नुपर्ने बताईन् ।
क्यान्सर काउन्सिल नेपालले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा धन्यबाद दिँदै सिंहले आगामी दिन यस इपिएस स्कूलपनि सुर्तीजन्य पदार्थ रोकथामको लागि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
ग्रिन बुक्स पब्लिकेशनका शैक्षिक निर्देशक खेमनाथ कडरियाले उक्त कार्यक्रममा विद्यार्थीहरु व्यवहारिक रुपमा अनुसाशित नभएसम्म शिक्षा अपूर्ण हुने बताए ।
स्वस्थ समाज निर्माणको लागि सुर्तीजन्य तथा लागु पदार्थबाट टाढै बस्नुपर्नेमा उनको जोड थियो । उक्त कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक लगायत उल्लेखनीय सहभागीता थियो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgb2OmMzaHBi7Yv8r2AUIA4WUy48Kj0XUlw1PVTmRRX0GgRfY-mR9aCjV5BMiUtby_x7JilBekVnLUNa8RnLKW9onlz13RS4Xvt1LsbYkgejkf_J7LdwYnhIsrHw-AT1u3w-k2DixZuEn8/s640/cancer+council+nepal.jpg)
0 comments
Write Down Your Responses