Powered by Blogger.
हेटौडाको बजेट १ अर्ब ६३ करोड - एक वडा एक खेल मैदान देखि आकाशेपुल सम्मको योजना

हेटौडा /
  "स्वच्छ, सिर्जनशिल, समृद्ध औद्योगिक नगर हेटौडा" 
हेटौंडा उपमहानगरपालिकाको तेश्रो नगरसभा समक्ष नगर उपप्रमुख श्री मिना कुमारी लामाद्वारा प्रस्तुत आ ब २०७5।०७6 को वार्षिक बजेट, नीति तथा कार्यक्रम

 सम्मानित नगर सभाका अध्यक्ष एवं नगरप्रमुख श्री हरिबहादुर महतज्यू नगर सभा सदस्यज्यूहरू प्रमुख प्रशासकीय अधिकृतज्यू सञ्चारकर्मी एवं यस नगर सभामा उपस्थित हुनुभएका सम्पूर्ण सज्जनवृन्द । आगामी आ ब २०७5।०७6 को बिनियोजन सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक, २०७5 तथा आर्थिक विधेयक, 2075 एवं तत् सम्बन्धी वार्षिक नीति तथा कार्यक्रम र आय ब्यय अनुमान प्रस्तुतीका लागि बसेको यस गरिमामय सभाप्रति सर्बप्रथम हार्दिक अभिवादन ब्यक्त गर्न चाहन्छु । 

 यस गरिमामय सभामा राजनितिक उपलब्धीको रक्षा एवम् नेपाल र नेपालीहरूको स्वतन्त्रताका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । यसैगरी 2072 को बिनासकारी भुकम्पमा परी ज्यान गुमाउने सवै प्रति भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु । साथै तत्कालिन हेटौडा नगर पञ्चायतका प्रथम प्रधानपञ्च स्व. बासुदेव रिजालज्यू लगायत प्रजातन्त्रको पुर्नस्थापना पश्चात हेटौंडा नगरको विकास गर्दै हरित नगरी हेटौडाको रुपमा चिनाउन सफल भई लामो समय योगदान गर्नु हुने हाल ३ नं. प्रदेशका माननीय मुख्य मन्त्री श्री डोरमाणी पौडेलज्यूप्रति विशेष आभार व्यक्त गर्दछु । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, 2074 अनुसार गठित यस नगर सभामा नगर क्षेत्रको विकास, सुशासन र समृद्धिका लागि आर्थिक वर्ष 075/076 को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न पाउँदा गौरबपूर्ण अनुभुतिका साथ यो अबसर दिनु हुने नगर सभाप्रति आभार प्रकट गर्न चाहान्छु । आफ्नो संविधान आफै लेख्न सक्षम भैसकेको वर्तमान सन्दर्भमा हेटौडा नगरबासीको भावना अनुरुप यस उपमहानगरपालिकाको तर्फबाट ११ वटा ऐनहरु, २ वटा नियमावलीहरु र ७ वटा कार्यविधि निर्देशिकाहरु समेत पारीत गरी कानुनी शासनको जगबाट लोकतन्त्रको रक्षा गरी यसको समान लाभ कसरी उपमहानगरपालिकाभित्र वितरण गर्न सकिन्छ भन्ने अभिप्राय तर्फ मार्गनिर्देशित भएर बजेट विनियोजन गरिएको छ । "समृद्ध हेटौडा, सुखी नगरवासी" वनाउने दिर्घकालिन उद्देश्य सहित विकासलाई मौलिक ढाँचामा अगाडि बढाउने हाम्रो लक्ष्य छ । यसमा राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, प्राविधिक तथा साँस्कृतिक पक्षलाई समेटिएको बजेट नीति तथा कार्यक्रमलाई यस नगरको ऐनाको रुपमा विकास गर्ने प्रयास गरिएको छ । आगामी बजेट, नीति तथा कार्यक्रम, आवधिक नगर विकास योजना र दिर्घकालिन नगर सडक गुरुयोजनाबाट मार्गनिर्देशित हुने प्रतिबद्धता व्यक्त गर्दछौं । बजेटलाई यथासम्भव उपलब्धीमुलक हुने गरी विनियोजन गर्ने प्रयास गरिएको छ । कामलाई छिटो छरितो, चुस्त र नतिजामुलक बनाउन नेपाल सरकारको राष्ट्रिय नीति अनुरुप नै डिजिटल हेटौडाको अवधारणामा विकास गरिनेछ । 

 आदरणीय नगरसभा सदस्यज्यूहरु, 
 अब म यस उपमहानगरपालिकाले सम्पादन गरेका मुख्य मुख्य कामहरुको सारांश प्रगति विवरण प्रस्तुत गर्ने अनुमति चाहान्छु । चालु आ.ब.को हालसम्ममा संस्थागत सुधार, सूचना प्रबिधि, आन्तरिक राजस्व परिचालन, पुर्बाधार विकास, सामाजिक परिचालन तथा सरसफाई तथा वातावरणको क्षेत्रमा उल्लेख्य कामहरु भएका छन् । संस्थागत सुधारको क्रममा सूचना प्रबिधिको प्रयोगलाई अधिकतम प्रयोग गर्दै वडा कार्यलयहरु सवैमा एकिकृत सम्पत्तिकरको सफ्टवेयर जडान गरी केही वडा कार्यलयहरुबाट सफ्टवेयर मार्फत बिलिङ्ग गरिएको, कार्यलयको सिसि क्यामेरा, वेबसाइट, मोबाइल एप्स Update गरिएको छ । 
नगरका क्रियाकलापहरुको पारदर्शिताका लागि नियमित सुचना प्रसारण गरिएको, २० वटा रेडियो कार्यक्रम सञ्चालन गरिएको र १२ वटा स्तम्भ प्रकाशन गरिएको छ । यसैगरी सुन्दर नगरी निर्माणका लागि सुन्दर देखिने फुलहरु रोप्ने कार्य गरिएको, फोहोरबाट उर्जा उत्पादन गर्ने कार्यका लागि निजि क्षेत्रको छनोट प्रक्रिया अगाडि बढेको, 203 वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण समेत गरिएको छ । साथै पुरातात्विक महत्व बोकेको चुरे सुरुङ्गलाई राष्ट्रिय सम्पदा सुचीमा राख्न प्रक्रिया अगाडी बढीसकेको छ भने विश्व वातावरण दिवश मनाउने क्रममा नै यस नगरलाई पुर्ण खोपयुक्त नगर घोषणा समेत गरिसकिएको छ । 

 यसै आ.ब.मा आधारभुत तहको अन्तिम परीक्षा सञ्चालन, अनुगमन, मुल्याङ्कन र नतिजा प्रकाशन समेतको काम समयमै सम्पन्न गरिएको छ भने नगरको विस्तारित क्षेत्रमा ३५ वटा टोलविकास संस्थाहरु गठन गरिएको र लघुउद्यम विकास कार्यक्रमको माध्यमबाट उद्यम समुहहरु गठन गरी उद्यमशिलता विकास गर्न प्रेरित गरिएको छ । लक्षित क्षेत्रसँग सम्बन्धित सिपमुलक तालिमहरु सञ्चालन गर्नुका साथै 10390 जनालाई सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिएको छ । पुर्बाधार निर्माणका सन्दर्भमा यस आ.ब.मा साना ठूला गरी 575 वटा निर्माण आयोजनाहरु स्वीकृत भएकोमा 2 दर्जन भन्दा बढी 50 लाख वा सो भन्दा बढी लागत पर्ने आयोजनाहरु रहेका छन् । अधिकांस आयोजनाहरु लागत सहभागितामा आधारित भई उपभोक्ता समिति मार्फत सञ्चालन गरिएको छ भने धेरै जसो आयोजनाहरु सडक निर्माण, स्तरीकरण, मर्मत र खानेपानी तथा ढल निकाससँग सम्बन्धित रहेकोमा सञ्चालित योजनाहरु मध्ये करिब 80 प्रतिशत योजनाहरु सम्पन्न भईसकेको छ । यसैगरी दोश्रो नगर सभाबाट न्यायिक समिति कार्यबिधि ऐन, 2074 स्वीकृत भई 2074 फाल्गुण महिना देखि न्यायिक समिति पूर्ण रुपमा सञ्चालन भई नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को क्षेत्राधिकारभित्र रही स्थानीय स्तरको विवाद निरुपण निरन्तर रुपमा गर्दै आइरहेको व्यहोरा सम्मान्नित सभा समक्ष अनुरोध गर्न चाहान्छु । यस हेटौंडा उपमहानगरपालिकाको पहिलो नगर सभाबाट चालु आ.ब. 074/075 का लागि विनियोजन गरेका व्यय र्शीषकहरुमा सामान्य संशोधन गर्नुपर्ने अबस्था सिर्जना भएको र केही ऐन कानुनहरु तत्काल स्वीकृत गर्नका लागि मिति 2074/11/8 मा बसेको दोस्रो नगर सभा र ऐनहरुको स्वीकृतिका लागि नै मिति 2075/2/7 मा बसेको विशेष नगर सभा बैठक पश्चात तेस्रो नगर सभाको पहिलो दिन आज आगामी आ.ब. 075/076 का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सुअवसर प्रदान गर्नु भएकोमा यस सभाका अध्यक्षज्यूप्रति हार्दिक आभारी छु । 

 आदरणीय नगरसभा सदस्यज्यूहरु, 
 यस हेटौंडा उपमहानगरपालिकाको आगामी आ ब २०७5।०७6 का लागि आर्थिक ऐन, २०७5 जारी गर्नु परेकोले यस बिधेयकमा उपमहानगरपालिकाले हाल सम्म स्थानीय सरकार सञ्चालन ऐन, 2074 मा उल्लेख भए अनुसारको अधिकार प्रयोग गर्दै नेपालको संबिधान २०७२ को अनुसूची ९ मा उल्लेख भए अनुसारका साझा सूचीमा रहेका अधिकारहरूको हकमा हाल संघीय तथा प्रादेशिक कानून निर्माण भई साझा अधिकारको सम्बन्धमा भएको व्यवस्था अनुसार नै हुने गरी आगामी आ ब २०७5।०७6 का लागि विभिन्न आय र्शीषकहरुमा आय प्रक्षेपण गरिएको छ । स्थानीय तह संचालन तथा ब्यबस्थापन सम्बन्धमा नेपाल सरकारबाट पटकपटक जारी भएका आदेशहरू तथा राजस्व परामर्श समितिले दिएका सुझावहरू समेतलाई आधार मानी यस हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालयको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक, २०७5 यस सभा समक्ष प्रस्तुत गर्ने क्रममा उक्त बिधेयकमा भएका मुख्यमुख्य प्राबधानहरूलाई छोटकरीमा प्रस्तुत गर्न चाहन्छु । स्थानीय सरकार सञ्चालन ऐन, 2074 को दफा 11 को उपदफा (२)(घ) अनुसारका आय शीर्षकहरूको हकमा कर, शुल्क तथा दस्तुरहरूको संकलनलाई सहज बनाउने उद्धेश्यले बिस्तृत बिबरण सहितको छुट्टाछुट्टै १6 वटा अनुसूचिहरूको समेत ब्यबस्था गरिएको छ । यस प्रस्तावित विधेयकमा उल्लेख भएका ब्यबस्थाहरुको हकमा यसै बिधेयक बमोजिम र अन्यको हकमा बिगतका नगर सभाहरुले स्वीकृत गरेका बिनियम, कार्यबिधि, निर्देशिका, निर्णय एवं अनुसूचीहरु र प्रचलित कानूनमा उल्लेख भए बमोजिम हुने गरी यो ऐन कार्यान्वयनमा ल्याउन प्रस्ताव गरिएको छ । हालसम्म प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकिएको उपमहानगरपालिका क्षेत्रभित्र रहेका वातावरणलाई प्रतिकूल प्रभाव पार्ने व्यबसायहरू वा वातावरण प्रदूषित गर्ने किसिमका बस्तु वा सेवाको कारोबार गर्ने ब्यक्ति वा संस्थालाई वातावरण प्रदूषण शुल्क लगाउन प्रस्ताव गरिएको छ, जसबाट यस उपमहानगरपालिकाको लागि आगामी दिनमा स्थाई आम्दानीको श्रोत हुनसक्ने अनुमान समेत गरिएको छ ।

 आदरणीय नगरसभा सदस्यज्यूहरु, 
 आगामी आ.ब.२०७5।०७6 को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक,२०७5 सँग सम्बन्धित अनुसूचिहरूमा उल्लेखित मुख्यमुख्य कर, शुल्क तथा दस्तुरहरूका दर निर्धारण गर्दा देहाय बमोजिमको नीति प्रस्ताव गरेको छु । 
 1. एकीकृत सम्पत्तिकर सबै सम्पत्तिधनी नगरबासीहरूलाई लाग्ने कर भएकोले यथा संभव प्रगतिशिल करदर कायम गर्ने प्रयास गरिएको छ । मालपोत कार्यालयले रजिष्ट्रेशन पारित प्रयोजनका लागि वार्षिक रूपमा कायम गर्ने गरेको जग्गाको मूल्यलाई आधार मानी सम्पत्तिको न्यूनतम मूल्यांकन गर्ने गरिएको हुँदा सोही विधिलाई निरन्तरता दिने । 
 2. ब्यबसाय कर बिशुद्ध उधोग, पेशा एवं ब्यबसायसँग सम्बन्धित ब्यक्ति वा संस्थालाई मात्र लाग्ने भएकोले ती ब्याबसायीहरूको हितलाइ समेत ध्यानमा राखी राजस्व परामर्श समितिको सिफारिस समेतलाई आधार मानी केही ब्यबसायमा सामान्य बृद्धि गरी करका दरहरू प्रस्ताव गर्ने। यसरी करदर प्रस्ताव गर्दा देहाय वमोजिमको छुट दिने । 
 (क) महिला उद्यमीहरूले सञ्चालन गर्ने उधोगहरूको दर्ता दस्तुरमा निर्धारित दस्तुरको ५० प्रतिशत छुट दिने गरी विगतदेखि दिईदै आएको छुटलाई निरन्तरता दिने ।
 (ख) माटाका भाँडा बिक्री गर्ने तथा हस्तकलाका सामान बिक्री गर्ने ब्यबसायीहरूलाई प्रबर्द्धन गर्ने उद्धेश्यले          साबिकको कर दरमा 50 प्रतिशत छुट दिने गरी विगतदेखि दिइदै आएको छुटलाई निरन्तरता दिने । 
 (ग) एकल महिलाहरुलाई वाणिज्य तर्फको कारोवारमा तोकिएको कर रकमको 50 प्रतिशत छुट दिने । 
 (घ) एच.आइ.भी. सङ्क्रमित, वेचविखनबाट फिर्ता वा उद्धार भै आएका महिला तथा यौनिक अल्पसङ्ख्यकहरुले उधोग दर्ता गर्न आएमा तोकिएको कर रकमको 90 प्रतिशत छुट दिने । 
 (ङ) गैर नेपाली नागरिकहरुको हकमा निर्धारित कर दरमा 50 प्रतिशत थप कर रकम लिने । 
 3. घर तथा अन्य प्रकारका संरचनाहरुको नक्सा पास गर्दा लाग्ने दस्तुरमा चालु वर्ष वृद्धि नगर्ने । 
 4. कार्यालयबाट प्रदान गरिने बिभिन्न प्रकारका सेवामा साबिक देखि लाग्दै आएको सिफारिस दस्तुरमा चालु वर्ष वृद्धि नगर्ने । 
 5. घर बहालकरको हकमा घरधनी र बहालमा बसेका ब्यक्तिहरूको बीचमा हुनुपर्ने लिखित सम्झौतालाई अनिवार्य गरिनेछ । वास्तविक बहालमा लिएको रकम र सम्झौता रकममा आएको वा आउन सक्ने अन्तरका कारण कर सङ्कलनमा यथासम्भव नकारात्मक प्रभाव पर्न नदिन क्षेत्रगत आधारमा न्यूनतम बहाल रकम निर्धारण गरी प्रस्ताव गरिएको छ । प्रस्तावित दर वा सम्झौताको अङ्क जुन बढी छ सोही बढीलाई आधार मानी कर सङ्कलन गर्ने नीतिलाई निरन्तरता दिइनेछ । साथै घर बहाल करको दरमा २% छुट दिई १०% मात्र कायम गरिएको छ । 
 6. सरकारी जग्गा अतिक्रमण गरी उपमहानगरपालिकाको क्षेत्रभित्र घर टहरा निर्माण गरी वा नगरी बसेका व्यक्तिहरुलाई समेत वहाल स्वरुप शुल्क निर्धारण गरी सङ्कलन गर्ने नीति लिइनेछ तर शुल्क तिरेको आधारबाट त्यस्ता सम्पत्तिको स्वामित्व हस्तान्तरण हुन दिइने छैन । साथै यसको कार्यान्वयनका लागि आवश्यक कार्यबिधि वनाई लागु गरिने नीति लिइनेछ ।
 7. प्राकृतिक स्रोतको उपयोग, उत्खनन्, निकासि, पैठारी, बिक्री वितरणमा कर शुल्क लगाउँदा चालु आ.ब. मा नगर कार्यपालिकाबाट स्वीकृत गरिएको कार्यबिधिको कार्यान्वयनलाई निरन्तरता दिई कर शुल्क रकम उठाउने नीति अवलम्वन गरिनेछ । 

आदरणीय नगरसभा सदस्यज्यूहरु, 
 अब म चालु आ ब २०७4।०७5 का लागि स्वीकृत (संशोधित) आन्तरिक आय अनुमान र त्यसको प्रगति समीक्षा छोटकरीमा प्रस्तुत गर्न चाहन्छु । चालु आ ब का लागि कूल आन्तरिक आय रू १5 करोड 49 लाख 69 हजार अनुमान गरिएकोमा २०७5 वैशाखसम्म रू.१3 करोड 46 लाख 24 हजार आय संकलन भएको छ । अर्थात् कूल लक्ष्यको तुलनामा 87 प्रतिशत प्रगति हासिल भएको देखिन्छ । आन्तरिक आयमा एकीकृत सम्पत्तिकर, फटके सबारीकर, नक्सापास दस्तुर, बहाल आय, सिफारिस दस्तुरको योगदान बढी रहेको छ भने मालपोत कार्यालयबाट प्राप्त हुने रजिष्ट्रेशन शुल्क बापतको रकम पनि उल्लेख्य नै रहेको छ । बाह्य आय तर्फ नेपाल सरकारबाट प्राप्त भएको सशर्त तथा समानीकरण अनुदान र प्रदेश सरकारबाट प्राप्त भएको सशर्त तथा समानीकरण अनुदान रकम समेत समाबेश गरी कूल आय प्रक्षेपण गरिएको छ ।
चालु आ.ब. को राजस्व तर्फको कार्यसम्पादन स्तर, अभ्यासमा रहेका कर, शुल्क तथा दस्तुरका दरहरू, राजस्व संकलनमा देखिएका बिद्यमान चुनौतिहरू, राजस्वको संभाब्यता, बर्तमान जनशक्ति तथा राजस्व परामर्श समितिका सुझावहरू, तथा नेपाल सरकार, प्रदेश सरकार, नगर बिकास कोष, सडक बोर्ड तथा अन्य निकायबाट प्राप्त हुनसक्ने आय समेतका आधारमा कूल १ अर्ब 63 करोड 4 लाख 57 हजार रूपैया आय हुने अनुमान गरिएको छ । जसमध्ये कूल आन्तरिक आय रू.18 करोड 45 लाख 55 हजार हुने अनुमान रहेको छ ।आन्तरिक आयमा पनि एकीकृत सम्पत्तिकर, फटके सबारीकर, नक्सापास दस्तुर, भाडा तथा बहाल आय, सिफारिस दस्तुर जस्ता शीर्षकहरूमा भएको संकलन उल्लेखनीय छ । आदरणीय नगरसभा सदस्यज्यूहरु, स्वच्छ, सृजनशील, र समृद्ध औद्योगिक नगरको निर्माणका लागि सीमित श्रोत र साधनलाई अधिकतम परिचालन एवं सदुपयोग गर्ने प्रयास गरिएको ब्यहोरा यस सम्मानित सभा समक्ष प्रस्तुत गर्न चाहन्छु । 
 नगरको अधिकांश भाग ग्रामीण प्रकृतिको भएको कारण सानोतिनो लगानीले पूर्वाधार बिकासमा खासै महत्व नराख्ने हुँदा यथासंभव ठूला योजनाहरूको छनौट तथा कार्यान्वयनमा जोड दिनु पर्ने आवश्यकता छ । नगरमा पछि थप भएका ८ वटा वडाहरु साबिकका ११ वटा वडाहरूको तुलनामा बिकासका दृष्टिकोणले पछाडि परेकोले ती वडाहरूमा पूर्बाधार बिकासका लागि ठूलो लगानीको आबश्यकता रहेको हुँदा संभव भए सम्म त्यस तर्फको पूर्बाधार लगानीमा जोड दिने प्रयास गरिएको छ । हेटौडा उपमहानगरपालिकाको चालु आ.व.२०७5।०७6 का लागि नीति एवं कार्यक्रम सहितको बजेट तर्जुमा गर्दा बिनियोजन बिधेयक, २०७5 मा उल्लेखित बजेटको परिधिभित्र रही नीतिगत व्यवस्था गरिएको व्यहोरा यस गरिमामय सभामा राख्न चाहन्छु ।
आन्तरिक तथा वाहृय श्रोतको अधिकतम परिचालन गर्नका लागि सार्बजनिक निजी साझेदारी अबधारणा अनुरूप निजी क्षेत्रको पूँजी र सीपको समेत यथोचित उपयोग गर्दै उद्यमशीलता बिकास, महिला, वालवालिका, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक तथा पिछडिएका वर्ग जस्ता लक्षित क्षेत्रको समावेसी विकासमा जोड दिने प्रयास गरिएको छ ।
आयमूलक तथा सीपमूलक कार्यक्रमहरू सञ्चालनका माध्यमबाट रोजगारी सृजना गर्दै क्रमशः गरीवी न्युनीकरण गर्ने र सामाजिक परिचालनका माध्यमद्वारा जनसहभागिता अभिबृद्धि गरी सबै बर्ग र समूहहरूलाई नगर बिकासको मूल धारमा ल्याउने प्रयास गरिएको छ ।

 नगरसभा सदस्यज्यूहरु,
 यस उपमहानगरपालिकाको विकासका चुनौति एवं संभावनाहरूलाई मध्यनजर गरी आगामी आ.ब. 075/076 को बजेट तर्जुमा गर्दा लिइएका उद्धेश्यहरू देहाय बमोजिम प्रस्ताव गरिएकोछ । 
 आधारभूत तथा अत्याधुनिक शहरी पूर्वाधार बिकासका लागि जोड दिइनेछ । 
  बिभिन्न कारणबाट नगर बिकासको मूल प्रवाहबाट तुलनात्मक रुपमा पछाडी परेका महिला, दलित, आदिवासी जनजाति, अल्पसङ्ख्यक, सिमान्तकृत, द्वन्द्व पिडित, फरक क्षमता भएका व्यक्ति, जेष्ठ नागरिक तथा पिछडिएको क्षेत्रको विकासमा जोड दिई लैगिक समता र समावेशी विकासको अवधारणालाई आत्मसात गर्ने ।
  व्यवसायिक क्रियाकलापहरूको माध्यमबाट आर्थिक उन्नतिका अवसरहरूको सृजना गर्दै रोजगारी अभिवृद्धि गरी गरीवी न्युनीकरणमा जोड दिने ।
  सामाजिक परिचालनका माध्यमद्वारा जनसहभागिता अभिबृद्धि गर्ने । 
 आन्तरिक आयका नयां क्षेत्रहरूको पहिचान एवं बिद्यमान श्रोतको प्रभावकारी परिचालन गर्दै क्रमशः आत्मनिर्भरता सहितको स्थानीय सरकार निर्माण गर्ने । उपरोक्त उद्देश्य प्राप्तिका लागि उपमहानगरपालिकाबाट निम्न बमोजिमका विषयगत र क्षेत्रगत नीति तथा कार्यक्रमहरू तर्जुमा गरिएको छ । 
  आधारभूत तथा आधुनिक शहरी सेवामा नगरबासीहरूको पहुँचवृद्धि गर्ने । 
 नगरको दिगो आर्थिक विकासका लागि उद्योग क्षेत्रको प्रवर्द्धन र बिकास गर्ने । 
 राजश्वका थप क्षेत्रहरुको पहिचान गर्दै यस सम्बन्धी सूचना तथा तथ्याङ्कको बैज्ञानिक अभिलेखीकरण र एकिकृत नगर सूचना प्रणालीको बिकास गरी उपलब्ध श्रोतहरुको अधिकतम प्रतिफल प्राप्त हुनेगरी परिचालन गर्ने । 
 महिला, वालवालिका, अशक्त अपांग, दलित, आदिवासी, जनजाती, मधेशी, मुस्लिम, पिछडिएका वर्ग र अति गरीव तथा सिमान्तकृत समुदायको उत्थानमा उपलब्ध श्रोत साधनलाई यथोचित प्रयोग गर्ने, 
 राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका स्थानीय सरकार वा स्थानीय निकायसंग सम्बन्धित संघसंस्थाहरुसँग भातृत्वपूर्ण सम्बन्ध बिकास तथा बिस्तार गरी एक अर्कामा रहेको स्रोत, प्रविधि र सिकाई/अनुभव साटासाट गर्ने । 
 शिक्षा, संस्कृति, भाषा, साहित्य, खेलकूदको योजनाबद्ध बिकास गर्ने एवं पर्यटन क्षेत्रको विकासमा विभिन्न सरोकारवाला निकायहरु बीच सहकार्य गर्ने, 
 कृषि तथा पशुपालनको क्षेत्रमा वैज्ञानिक पद्धति अपनाई उपयुक्त स्थानमा खेती गर्ने गरी व्यवसायिक खेती तर्फ नगरबासीहरुलाई उन्मुख गराउने । यस उपमहानगरपालिकाको लागि चालु आ.व.२०७5।०७6 का लागि तयार पारिएको आय ब्ययको अनुमान तथा विनियोजन नीति समेतको आधारमा तयार गरिएको बिनियोजन बिधेयक, २०७5 अनुसारको बजेट सहितको क्षेत्रगत नीति तथा कार्यक्रम यस सम्मानित सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु । 

 क) शहरी पूर्वाधार बिकास तथा भौतिक संरचना निर्माण तर्फः 
 1. स्वच्छ, सजनशील र सम्बृद्ध औद्योगिक नगर निर्माणका लागि नेपाल सरकारबाट जारी भएको वृहत शहरी बिकास योजना निर्माण सम्बन्धी कार्य विवरण अनुसार हेटौडा उपमहानगरको नक्सांकन सहितको वृहत शहरी बिकास योजना तर्जुमा गरिनेछ । 
2. हेटौडा उपमहानगरपालिकाको सम्पूर्ण बस्तुस्थिति झल्किने नगर प्रोफाईल तयार गर्ने काम आगामी आ ब २०७५।०७६ मा सम्पन्न गरिनेछ । 
 3. नगरक्षेत्रको भूमीलाई व्यवस्थित गर्न र अनियन्त्रित र अव्यवस्थित शहरीकरणलाई निरूत्साहित गर्न यस उपमहानगरपालिकाले बिगतमा तयार गरेको भूउपयोग योजना, नगर यातायात गुरुयोजना र योजना तथा भवन निर्माण मापदण्डलाई निरन्तरता दिंदै समयसापेक्ष परिमार्जन सहित अद्यावधिक गरिनेछ । 
4. हटिया क्षेत्रमा शुरु गरिएको व्यवस्थित र अत्याधुनिक सेवा सुविधा सहितको एकीकृत जग्गा बिकास कार्यक्रमलाई कार्यान्वयन गर्दै पदमपोखरी र अन्य क्षेत्रमा समेत बिस्तार गरिनेछ । 
5. टावर सहितको केन्द्रिय वस टर्मिनल भवन जस्ता दूरगामी महत्वका ठूला शहरी पूर्वाधारहरु सहितको एकिकृत गूरुयोजना तर्जुमा गरिनेछ । 
6. ३ नं. प्रदेशको राजधानी सहर समेत भएको कारणबाट हेटौडा बजारमा दिनानुदिन जनचाप बढ्दै गएकोले मुख्य बजार क्षेत्रमा आवागमनमा समस्या भएको हुँदा आकासे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गराइनेछ । 
 7. वडास्तरीय आयोजना तथा कार्यक्रमहरु छनौट गर्ने क्रममा आगामी आ.ब.२०७5।०७6 का लागि बजेट बिनियोजन गर्दा भूगोल, जनसंख्या, गरिवीको अवस्था र पूर्बाधारको बिद्यमान अवस्था समेतको आधारमा क र ख वर्गमा वर्गिकरण गरी वडा नं. १, ३, १२, १३, १४,१५,१६,१७,१८ र १९ गरी 10 वटा वडाहरुलाई क वर्ग अर्थात उच्च प्राथमिकतामा राखी प्रति वडा रु.१ करोड पन्ध्र लाख र अन्य ९ वटा वडाहरु वडा नं. 2, ४, ५, ६, 7, ८, ९, 10 र ११ लाई ख वर्गमा राखी प्रतिवडा रु. १ करोड गरी वडास्तरीय आयोजनाहरुका लागि रु. 20 करोड 50 लाख बजेट बिनियोजन प्रस्ताव गरिएको छ ।
8. यसैगरी दीर्घकालसम्म नगरको आय बृद्धि गर्नमा मद्धत गर्ने प्रकृतिका वहुवर्षिय ठूला आयोजनाहरु आगामी आ.ब.मा थालनी गर्ने मुख्य उद्देश्यका साथ अन्य ठूला आयोजनाहरु समेत सञ्चालन गर्नका लागि एकमुष्ठ रु. ६ करोड विनियोजन प्रस्ताब गरेको छु । 
9. यस उपमहानगरपालिकाले नेपाल सरकार र एशियाली बिकास बैंकसंगको ऋण तथा अनुदान सहयोगमा संचालन गरिएको शहरी तथा वातावरणीय सुधार परियोजना अर्न्तर्गत वृहत खानेपानी तथा मूख्य बजार क्षेत्रमा निर्मित भूमिगत ढलको शुल्क संकलन गर्न हेटौडा खानेपानी व्यवस्थापन वोर्डसंग खानेपानी प्रणाली संचालन तथा भूमिगत ढल सेवाको अधिकतम उपयोगका लागि हाल सम्म भैरहेको सेवालाई निरन्तरता दिइनेछ । 
10. उपमहानगरपालिकाले अवलम्बन गर्दै आएको लागत सहभागिताको नीतिलाई विस्तारित हेटौडाको परिप्रेक्षमा समतामूलक बिकासका लागि शहरी क्षेत्र, अर्धशहरी क्षेत्र, ग्रामिण प्रकृतिका क्षेत्र र विस्तारित वडाको वर्ग अनुसार पूर्बाधार बिकाससंग सम्बन्धित क्षेत्रगत परियोजनाका लागि उपभोक्ताले ब्यहोर्नु पर्ने लागत सहभागिताको रकममा सकारात्मक विभेदको नीतिलाई निरन्तरता दिइनेछ । 
11. नगर यातायात गुरुयोजना अनुसार हेटौडा उपमहानगरपालिकाको ६३ कि.मि.लामो चक्रपथको वांकी ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको हुंदा बिस्तृत सम्भाव्यता अध्ययन सहितको कामका लागि डिभिजन सडक कार्यालयसंग समन्वय गरिनेछ । 
12. तरकरी तथा फलफूल बजार व्यवस्थापनका लागि सरकारी तथा गैरसरकारी निकायहरु एवं सम्बन्धित क्षेत्रका व्यवसायीहरु संगको सहकार्यमा तरकारी तथा फलफुलको थोक बिक्री केन्द्र स्थापनाका लागि उपयुक्त स्थानमा जग्गा व्यवस्थापन गरी विस्तृत आयोजना प्रतिवेदन (DPR) समेत तयार गरी कार्यान्वयन गरिनेछ । 
 13. सबैका लागि बिजुली कार्यक्रम अन्तर्गत बिद्युत सेवा नपुगेका क्षेत्रमा बिद्युत सेवा पुर्याउने र काठे पोलहरू हटाई कंक्रिट पोल प्रतिस्थापन गर्दै लिड वा सि एफ एल बत्ती जडान गर्ने कार्यलाई प्रोत्साहन दिइनेछ । साथै, मुख्य शहरी क्षेत्रमा सौर्य बत्ती जडान गर्ने कामलाई निरन्तरता दिईनेछ । 
14. अब्यबस्थित जग्गा खण्डीकरण एवम् सोको बिक्रीबाट खरीदकर्तालाई र उपमहानगरपालिका समेतलाई नकारात्मक असर परेको हुँदा सोको उचित व्यवस्थापनका सम्बन्धमा आवश्यक नीति तय गरी लागू गरिनेछ । 15. नगरभित्र रहेका सार्बजनिक जग्गाहरूको अभिलेख लिई त्यसको संरक्षण गर्ने कामलाई उच्च प्राथमिकतामा राखिनेछ । 
16. नापी कार्यालयको सहकार्यमा नगरभित्र रहेका सार्बजनिक भैनसकेका प्रस्ताबित बाटोहरूको अभिलेख लिई उपमहानगरपालिकाको लगानीमा निर्मित सबै बाटाहरू नक्सामा हाल साविक गरी सार्बजनिक गर्ने कार्यलाई निरन्तरता दिइनेछ । 
17. राष्ट्रपति चुरे कार्यक्रम र अन्य सम्बन्धित निकायहरुसँग समन्वय गरी चुरेबाट बग्ने खहरे नियन्त्रणका लागि पहल गरिनेछ । 
18. बढ्दो ट्राफिक नियन्त्रण गरी शहरको मुख्य भागबाट भारी सबारी सञ्चालन गर्दा हुने सबारी दुर्घटना समेतलाई न्युनीकरण गर्ने उद्देश्यले बाईपास रोडको पूर्बाधार तयार गरी भारी सबारी साधनहरू सञ्चालन गर्ने ब्यबस्था मिलाउन सम्बन्धित निकायहरुसँग समन्वय गरिनेछ । 
 19. भूकम्प पीडितहरूका लागि साबिकमा नक्सापास दस्तुरमा दिईएको ५० प्रतिशत छुटलाई यथावत गर्ने गरी निरन्तरता दिईएको छ । 
20. उपमहानगरपालिकाको सम्पूर्ण वडाहरुमा जीर्ण अवस्थामा रहेका काठेपुलहरु विस्थापन गरी आवश्यकता अनुसारको पक्की पुल/कल्भर्टहरुको निर्माण कार्य आगामी आ.ब. 075/076 मा शुरू गरिनेछ । 
 21. आगामी आ.ब. 075/076 देखि नै "घरको छाना सुधार" कार्यक्रम सञ्चालन गरी आगामी 4 बर्षभित्र यस उपमहानगरलाई फुसको छानारहित नगर निर्माण गर्न तथ्याङ्क सङ्कलन गरी कार्यान्वयन गरिनेछ । 
 22. विकास निर्माणमा जनसहभागिता र लागत सहभागिता नजुट्ने क्षेत्रमा प्रतिस्पर्धात्मक व्यवस्था मार्फत निर्माण व्यवसायीहरुसँग सहकार्य गरी निर्माण सम्पन्न गरिनेछ । 
 23. संघीय सरकारको वा बाह्य स्रोत भित्र्याई उपमहानगरपालिकाको मापदण्डमा भवन वनाउने सरकारी निकाय लगायत सार्वजनिक विद्यालयहरुलाई नक्सापास दस्तुर छुट दिइनेछ । 
 24. नगरभित्रका सार्बजनिक जग्गाहरुको लगत लिने कार्य सुरु गरिनेछ । 
 25. हेटौडा ८ राजपानी क्षेत्रमा रहेको सार्बजनिक जग्गामा पार्क निर्माण गर्न सम्भाव्यता अध्ययन गरिनेछ । 
 26. आगामी आ.ब. देखि आयोजनाको सङ्ख्या भन्दा गुणस्तरमा ध्यान केन्द्रित गर्न नतिजामुलक ठूला आयोजनाहरु तर्जुमामा प्रोत्साहन गरिनेछ । 

 ख. आर्थिक तथा सामाजिक बिकास तर्फः 
 1. नगरको समग्र आथिक बिकासमा कृषि, पशु, उद्योग वाणिज्य, पर्यटन, सहकारी र बित्तीय क्षेत्रको योगदानलाई व्यवस्थित गरिनेछ । प्रधानमन्त्री कृषि आधुनिकिरण आयोजना अर्न्तर्गत साविकमा पदमपोखरी क्षेत्रमा कायम रहेको मकै पकेट क्षेत्रलाई व्लकमा स्तरवृद्धि गरिनेछ भने पदमपोखरी क्षेत्रको च्याउ पकेट क्षेत्र, हटिया र हर्नामाडीमा रहेको धानको वीउ उत्पादन पकेटक्षेत्रलाई यस बर्षपनि निरन्तरता दिई वसामाडी क्षेत्रमा थप एक च्याउ पकेट क्षेत्र र अन्य उपयुक्त क्षेत्रमा तरकारी, माछा वा फलफूलको थप दुइ पकेट क्षेत्र बिस्तार गरिनेछ । यस वाहेक आलु वाली बिकास, साना सिचाई, मल वीउ ढुवानी, साना कृषि उद्यम जस्ता कार्यक्रमहरुका लागि समेत आवश्यक बजेट बिनियोजन गरिएको छ । 
 2. नगरमा नै कृषि बजारको विकास एवम् बिस्तार नभएसम्म स्थानीय कृषि उत्पादन स्थानीय बजारमा बिक्री गर्न नसकिने भएकोले कृषि बजार प्रबर्द्धनका लागि पुर्बाधार विकास गर्ने काम आ.ब. 075/076 मा नै सम्पन्न गरिनेछ । 
 3. किसानहरूलाई कृषि उपज बेच बिखन गर्नका लागि संभव भए सम्म प्रत्येक वडामा कृषि हाट बजारको ब्यबस्था गरिने छ । 
4. पशु बिकास, घाँस वीउ उत्पादन तथा पशु स्वास्थ्यसंग सम्बन्धित सेवाका लागि उपमहानगरपालिकाबाट आवश्यक बजेट बिनियोजन गरेको छु । 
 5. सामुदायिक र निजी बिद्यालयको शैक्षिक गुणस्तर वीच देखिएको असमानतालाई कम गरी नगरको शैक्षिक गुणस्तर सुधार गर्न घोषित नीति अनुसार चालु आ.व.२०७5।०७6 का लागि नेपाल सरकारबाट प्राप्त शिक्षा क्षेत्र अर्न्तर्गत शर्सत अनुदान र यस उपमहानगरपालिकाबाट बिनियोजित बजेटलाई सामुदायिक बिद्यालय शिक्षाको गुणस्तर सुधारका लागि एकद्धार प्रणाली अर्न्तर्गत खर्च गरिनेछ । यसका लागि शिक्षाविद, वुद्धिजीवि तथा यस क्षेत्रका सरकारी तथा अन्य सरोकारवाला निकायहरु संगको समन्वय, सहकार्यमा बिद्यालयहरुको आवश्यकता र औचित्यताको आधारमा सुरक्षा पर्खाल, खानेपानी जस्ता आधारभूत भौतिक सुविधा बिकास तथा शिक्षक कर्मचारीहरुको क्षमता बिकाससंग सम्बन्धित क्षेत्रमा सहयोग गर्ने नीतिलाई प्राथमिकतामा राखी कार्यक्रम संचालन गरिनेछ । नगरका विद्यालयहरूमा भएका शौचालयहरूलाई अपाङ्गमैत्री, बालमैत्री तथा महिलामैत्री बनाउन पहल गरिने छ ।नगरका बिकट स्थानमा रहेका सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधारलाई लक्षित गरी लगानी गर्ने र शैक्षिक गुणस्तर सुधारका लागि आबश्यक नीति बनाई लागू गरिनेछ ।माध्यमिक विद्यालयहरूमा प्राबिधिक शिक्षा अध्यापनका लागि बिशेष जोड दिइनेछ । 
 6. नगर क्षेत्रको खेलकूद विकासका लागि आवश्यक पूर्बाधार विकास अर्न्तगत कर्भडहल निर्माण कार्य र खेलकुद विकाससंग सरोकारवाला निकायहरुसंगको सहकार्यमा अन्तर वडास्तरीय नगरकप फुटवल तथा अन्य खेलकुद कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।साथै स्थानीय तहमा संचालन गरिने बिभिन्न खेलकुद गतिविधिहरुको लागि वडातहबाट सहयोग उपलव्ध गराउने नीति लिइनेछ । 
7. आन्तरिक तथा वाह्य पर्यटन प्रर्वर्द्धन तथा बिकासका लागि यस नगरमा रहेको सय बर्ष पुरानो दक्षिण एशियाको पहिलो ऐतिहासिक चुरे सुरुंग सहितको चुरिया क्षेत्रको DPR तयार पारी संरक्षण कार्यका लागि पर्यटन मन्त्रालयमा समन्वय गरी कार्यक्रम अघि बढाइनेछ । गुम्वा डांडाको अन्तराष्ट्रिय मूर्ति पार्क, जुरेथुम पर्यापर्यटकीय पार्क, रामताल, शहिद स्मारक, कुस्माण्ड सरोवर त्रिवेणी धाम, मनकामना, वनस्खण्डी, भुटनदेवी, गुफाथान, गोरक्षेश्वर, दक्षिणकाली, शक्तेश्वर, रुद्रेश्वर, ज्याङ छोपलिङ पोतला गुम्बा बौद्ध दर्शन केन्द्र, शान्ति स्मृति पार्क, कमल पोखरी, मनकामना मन्दिर, सन्सारीमाई मन्दिर, नागस्वती स्मृति पार्क निर्माण, राजदेवि मन्दिर, भैरवडाँडा भ्यूटावर जस्ता धार्मिक मठमन्दिर, गुम्वा, मस्जिद, चर्चहरुको संरक्षण, साना पूर्वाधार सुधार एवं प्रचार प्रसारका लागि कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । नगरभित्रका सबै वडाहरूमा एकवडा एक पर्यटक पार्कको अबधारणालाई निरन्तरता दिइनेछ । 
 8. स्थानीय सरोकारवालाहरू सँग बिस्तृत छलफल गरी उपयुक्त स्थानमा स्व. मदन भण्डारी, गणेशमान सिंह र बि. पि. कोइराला स्मृति पार्कको निर्माण गरिनेछ । 
 9. नगरभित्र पर्यटकीय प्रबर्द्धन गर्ने समेत उद्देश्यले केबलकार सञ्चालन गर्नका लागि संभाव्यता अध्ययन गरिनेछ । 
 10. साविकको जडिवुटि बनस्पति उद्यानलाई डा. टोनि हेगन अन्तराष्ट्रिय पार्क घोषणा गर्ने तर्फ सम्बन्धित निकाय मार्फत पहल गरिनेछ । 
11. समुदाय परिचालन तथा बिकासका लागि उपमहानगरपालिका क्षेत्रभित्र गठित टोल बिकास संस्था, आमा समुह, महिला स्वयं सेविका, वाल संरक्षण समिति, वाल क्लव, किसोरी समुह, जेष्ठ नागरिक संजाल लगायतका स्थानीय समुहरुलाई बिस्तारित क्षेत्रमा बिस्तार गरी नगरको सरसफाई, हरियाली प्रवर्द्धन, सानातिना बिकास आयोजना कार्यान्वयन, कर राजश्वसंग सम्बन्धित सूचना तथा तथ्यांक संकलन जस्ता कार्यमा त्यस्ता समुहहरुको सहयोग लिइनेछ । 
 12. नेपाल सरकारको साविक लैंगिक समानता र सामाजिक समावेशीकरण नीति अनुसार महिला, वालवालिका र आदिवासी, जनजाती, दलित, उत्पिडित, अल्पसङ्ख्यक, सिमान्तकृत, द्वन्द्व पिडित, उपेक्षित, मधेशी, मुस्लिम जस्ता लक्षित क्षेत्रसंग सम्बन्धित आर्थिक सामाजिक र शीप बिकास सहित तिनिहरुको संस्थागत बिकासमा समेत साविक बमोजिम नै कार्यक्रम र बजेट विनियोजन गरिएको छ । 
 13. नगरमा बेरोजगार रहेका कम शिक्षित ब्यक्तिहरूलाई लक्षित गरी हेभी इक्युपमेण्ट सञ्चालन,औद्योगिक बिद्युत जडान, ड्राइभिङ जस्ता शीपमूलक तालिम सञ्चालनका लागि सम्बन्धित तालिम केन्द्रहरू सँग सहकार्य गरिनेछ । 
14. हेटौडा उपमहानगरपालिकालाई मानवताको शहरको अवधारणा अनुसार सडक मानव रहित नगर निर्माणका लागि यस क्षेत्रमा क्रियाशील संस्थाहरुसंगको सहकार्यलाई थप प्रभावकारी बनाइनेछ । यसका लागि यस क्षेत्रमा क्रियाशील संस्थाहरुको संस्थागत क्षमता बिकास तथा अन्य भौतिक पूर्बाधार बिकासका लागि आवश्यक श्रोत जुटाउन पहल गरिनेछ । 
15. बिभिन्न कारणबस सडकमा अमानवीय जीवन गुजार्न बाध्य भएका बृद्धबृद्धा तथा बालबालिकाहरूका लागि सेबारत संस्थाहरूको दीगो बिकासका लागि सबै नागरिकहरूको सहयोग जुट्न सकोस भन्ने हेतुले एक मानवीय कोषको स्थापना गरिनेछ । 
 16. बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ र कार्यान्वयन रणनीति २०६८ एवं कार्यविधिले निर्दिष्ट गरे अनुरुप चालु आ.व.देखि नै स्थानीय सरोकारवालाहरुसंग समन्वय र सहकार्य गर्दै वालमैत्री स्थानीय शासनका सूचकहरुमा आधारित लगानी योजना निर्माण गरी सोही अनुरुप वालवालिकाका क्षेत्रमा लगानी वढाउदै वालमैत्री नगर निर्माणका लागि वालमैत्री स्थानीय शासन पद्धतिको अवलम्वन गरिनेछ । 
17. प्रत्येक सामुदायिक विद्यालयमा स्वच्छ खानेपानी आपूर्तिका लागि यूरो गार्ड व्यवस्थापन गरिनेछ र संस्थागत विद्यालयहरुमा समेत व्यवस्थापनका लागि निर्देशन गरिनेछ । 
 18. प्रत्येक सामुदायिक विद्यालयहरुमा अध्ययनरत कोशोरी विद्यार्थीहरुलाई आकस्मिक महिनावारी हुँदा त्यसले अध्ययनमा पार्ने असरलाई न्यून गर्न नि:शुल्क स्यानेटरी प्याड उपलब्ध गराउन बजेट व्यवस्था गरिएको छ । 
19. विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको आँखा स्वास्थ्य परिक्षण गर्ने कार्यलाई समन्वयात्मक रुपबाट सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइनेछ । 
 20. टोल बिकास संस्थाको संस्थागत बिकास र परिचालनलाई व्यवस्थित एवम् प्रभावकारी वनाउने कार्यलाई निरन्तरता दिइनेछ । 
 21. उपमहानगरका केही वडाहरूमा जेष्ठ नागरिक बिश्रामस्थल / पार्क निर्माणका लागि आबश्यक पहल गरिनेछ । 
22. एक वडा एक खेलमैदान, एक बालउद्यान तथा एक जिम क्लव कार्यक्रम अन्तर्गत प्रत्येक वडामा एक खेल मैदान, एक बाल उद्यान, एक योग साधना केन्द्र तथा एक जिम क्लब निर्माण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
 23. वैदेशिक रोजगारमा गएका नगरबासीका श्रीमान तथा श्रीमतीहरुलाई सङ्गठित एवम् सशक्तिकरण गर्न प्राप्त रेमिटान्सलाई पुर्नलगानीका लागि उद्यम विकास प्रबर्द्धन गर्न प्रोत्साहन गरिनेछ । 
 24. आगामी 3 वर्षभित्र उपमहानगरपालिकामा वालविवाहको अवस्था अन्त्य गर्न वालविवाह विरुद्धको अभियान समन्वयात्मक रुपबाट अघि बढाइनेछ । 
 25. हेटौडा अस्पतालबाट किड्नी डायलासिस सेवा उपलब्ध गराउन समन्वयात्मक प्रयास अघि बढाई सेवा सुरु गर्न आवश्यक बजेट व्यवस्थापन गरिएको छ । 
 26. प्रसव वेदनाले पीडित भएका महिलाहरूका लागि सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रसम्म जाँदा लाग्ने एकतर्फी यातायात खर्च (एम्बुलेन्स भाडा) सरकारी अस्पताल वा स्वास्थ्य केन्द्र सँग समन्वय गरी उपमहानगरपालिकाले ब्यहोरी नो होम डेलिभरी कार्यक्रमलाई निरन्तरता दिइनेछ । साथै हाल सञ्चालनमा रहेका स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गर्दै स्वास्थ्य सेवाको विस्तार गर्ने क्रममा भौगोलिक रुपमा टाढा रहेका वस्तीहरुका लागि थप स्वास्थ्य केन्द्रहरु सञ्चालन गर्ने कार्यको थालनी गरिनेछ । 
 27. महिलाहरुमा देखिएको स्तन तथा पाठेघर क्यान्सर एवम् अङ्ग खस्ने समस्यालाई लक्षित गरी नगर क्षेत्रमा विभिन्न ५ स्थानमा स्वास्थ्य सिविर सञ्चालन गरी स्वास्थ्य परिक्षण तथा उपचारका लागि परामर्श र प्रेषण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
 28. घरेलु स्तरमा उत्पादित हस्तकला सामानलाई प्रबर्द्धन गर्न उत्पादित वस्तुको प्रदर्शनी तथा बेचबिखन गर्नका लागि बिक्री केन्द्र वा कोसेली घर सञ्चालन गरिनेछ । 
 29. गैरसरकारी संस्थाहरुको स्थानीय विकासमा रहने भूमिकालाई प्रभावकारी वनाउन नगर क्षेत्रभित्र कार्य गर्दै आएका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुलाई नगरको आवश्यकता र प्राथमिकताका आधारमा हेटौडा उपमहानगरपालिकाको स्वीकृतीमा नगर क्षेत्रमा कार्य गर्न प्रोत्साहन गरिनेछ । 
 30. नगरका सवै वडाहरुमा क्रमश: शहरी स्वास्थ्य सेवा बिस्तार गर्ने नीति अनुसार शहरी स्वास्थ्य केन्द्रहरुको स्थापना गरिनेछ । 
 31. बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरूको नियमित स्वास्थ्य परीक्षणका लागि वडामा रहेका स्वास्थ्य केन्द्रहरु मार्फत सहयोग गरिनेछ । 
 32. नगरका जेष्ठ नागरिकहरूको मोति बिन्दु परीक्षण गर्नका लागि हेटैंडा सामुदायिक आँखा अस्पताल तथा अन्य सामाजिक संस्थाहरुसँग समेत आबश्यक सहकार्य गरिनेछ । 
33. सामाजिक सुरक्षा भत्ता बितरणका लागि स्थानीय बैंकहरू सँगको सहयोगमा स्थानीय स्तरमा नै बितरणको ब्यबस्था मिलाईने छ । 
34. नागरिकता नभएका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसकेका बृद्धाश्रममा बसेका जेष्ठ नागरिकहरूको अभिलेख लिई सामाजिक सुरक्षा भत्ता दिलाउन आबश्यक पहल गरिनेछ । 
35. त्रि बि वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पसको अडिटोरियमहलको क्षमता अभिबृद्धि एवं थप सुधारका लागि सहकार्य गरिनेछ । 36. सफा र सुन्दर नगर निर्माणमा उपमहानगरपालिकाभित्रका उद्योगहरुको पञ्जीकरण, प्रवर्द्धन र वातावरणीय कर व्यवस्थापन गर्न सम्बन्धित उद्योगहरुसँग सहकार्य र सहजीकरण गरिनेछ । 37. सञ्चार क्षेत्रको प्रबर्द्धन एवम् क्षमता विकासका लागि पत्रकार महासँघसँग समन्वय एबम् सहकार्य गरिनेछ । 38. महिलाहरुलाई खेलकुद क्षेत्रमा सहभागिता बढाउने उद्देश्यले महिला जिम क्लबको स्थापना एवम् सञ्चालन गर्ने नीति लिइनेछ । 39. समुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्ने क्रममा नगरका दुर्गम क्षेत्रमा रहेका विद्यालयहरुमा कार्यरत शिक्षक शिक्षिकाहरुलाई प्रोत्साहन गर्ने नीति लिइनेछ । घ. वातावरण, स्वास्थ्य र सरसफाई तर्फः 1. हाम्रो हेटौडा सफा हेटौडा प्रर्वद्धन कार्यक्रम अर्न्तर्गत सून्य फोहर अवस्था निर्माणका लागि क्रमश: अन्य क्षेत्रमा समेत सेवा बिस्तार गरी फोहरको मात्रा घटाउने, जैविक तथा अजैविक फोहरजन्य पदार्थको पुन प्रयोग र पुनः प्रशोधन बिधि प्रवर्द्धन कार्यक्रमलाई निरन्तता दिइनेछ । 2. जैविक फोहरबाट ग्यास उत्पादन हुन सक्ने संभावनालाई मध्यनजर गरी वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रसंगको सहकार्यमा भएको संभाव्यता अध्ययनको आधारमा ग्याँस उत्पादनका लागि निजी क्षेत्र छनोट सम्बन्धि कार्य भईरहेकोले यसको कार्यान्वयनलाई प्रोत्साहन गरिनेछ । 3. सफा, स्वच्छ एवम् वातावरणमैत्री नगर निर्माणका लागि प्रयोगविहिन बिद्युतीय तथा अन्य समाग्रीजन्य फोहरलाई वैज्ञानिक बिधिबाट व्यवस्थापनको प्रारम्भिक प्रयास स्वरुप कागजजन्य फोहरको पुन प्रयोग गर्ने गरी कार्यक्रम संचालनमा ल्याइनेछ । 4. Poluters Should Pay अवधारणा अनुसार उपमहानगरपालिकाले गरेको राजश्व क्षेत्र सुधार सम्बन्धी अध्ययन प्रतिवेदनले सिफारिस गरेका केही प्रदुषणयुक्त उत्पादनमा परिक्षणको रुपमा वातावरण प्रदूषण शुल्क लगाइनेछ । यसरी प्राप्त हुने रकम कार्यविधि बनाई वातावरण संरक्षण तथा प्रभावित क्षेत्रको हितमा खर्च गरिनेछ । 5. हरियाली प्रबर्द्धनका लागि सडक आयोजना संचालन गर्दा वृक्षारोपणलाई आयोजनाको अभिन्न अंगको रुपमा एकीकृत गरी कार्यान्वयन गर्ने कार्यलाई निरन्तरता दिइनेछ । साथै निर्माण भइसकेका सडकहरु तथा नदी किनारहरूमा समेत वृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिइनेछ । 6. नगर क्षेत्रमा हरियालीको प्रबर्द्धन सँगसँगै उत्पादन बृद्धिलाई समेत बढावा दिन आगामी आ.ब. 075/076 बाट वडा स्तरमा फलफुल नर्सरीको विकास गरिनेछ । 7. पोलिथिन झोला तथा प्लाष्टिक कपको प्रयोगलाई क्रमशः निरूत्साहन गर्दै हेटौंडालाई प्लाष्टिकमुक्त नगर वनाउने कार्यलाई निरन्तरता दिइनेछ । 8. यस नगरलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएकोमा सन २०१8 भित्रमा पूर्ण सरसफाइयुक्त नगर निर्माणका लागि बिकास साझेदारहरुसंगको सहकार्यमा तर्जुमा भएको पूर्ण सरसफाई योजना कार्यान्वयनमा ल्याई पूर्ण सरसफाईयुक्त नगर निर्माण कार्य सम्पन्न गरिनेछ । 9. हेटौडा उपमहानगरपालिकालाई रेविजजन्य जोखिम मुक्त नगर बनाउन सामुदायिक कुकुर वन्ध्याकरण अभियान संचालन गरिनेछ भने घरपालुवा कुकुरको रजिष्ट्रेशन, नियमित खोपको अनुगमन र कुकुरजन्य दिसा जोखिम न्युनिकरणका लागि बिशेष अभियान संचालन गरिनेछ । 10. उपमहानगरको सौन्दर्यता एवं सबारी आबागमनमा प्रतिकूल प्रभाव पारिरहेका बिभिन्न प्रकारका सबारी साधनहरूको पार्किङ ब्यबस्थापनका लागि विशेष पहल गरिनेछ । 11. एक घर तीन बिरूवा र एक पानी संरक्षण पोखरी निर्माण सहितको हरियाली प्रबर्द्धन कार्यक्रम अन्तर्गत हरियाली नगर निर्माण गर्नका लागि नगरबासीहरूले आफ्नो घर निर्माण गर्दा कम्तिमा ३ वटा फलफूलका विरूवा रोपी हुर्काउन लगाउने अभियानलाई निरन्तरता दिदै घर निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्दा यसको अनुगमन गरिने छ । 12. गुणस्तरयुक्त खानेपानीको ब्यबस्थापनका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, हेटौंडा खानेपानी ब्यबस्थापन बोर्ड सँग सहकार्य गरिनेछ । 13. महिलाहरूको पाठेघर सम्बन्धी तथा स्तन क्यान्सर सम्बन्धी रोगको परीक्षणका लागि स्वास्थ्य सम्बन्धी सँस्थाहरूसँग सहकार्य गरिने छ । 14. हेटौंडा अस्पताललाई सुबिधा सम्पन्न बनाउन सरोकारवालाहरुसँग समेत छलफल गरी सम्बन्धित निकायमा पहल गरिने छ । 15. भौगोलिक दृष्टिकोणले जोखिमयुक्त स्थानमा वसेका नगरका केही वस्तीहरुको स्थानान्तरणका लागि आ.ब. 075/076 भित्रै सरोकारवालाहरुसँग छलफल गरी आवश्यक नीति वनाई कार्यान्वयन गरिनेछ । 16. "स्वच्छ शरीर स्वच्छ मन, योगसाधना सहितको स्वास्थ्य साझा धन" कार्यक्रम अन्तर्गत उपमहानगरभित्र रहेका योगसाधना, व्यायाम सँग सम्बन्धित सङ्घ संस्थाहरूको कार्यक्रमहरुलाई बढावा दिने नीति लिईनेछ । ङ. सुशासन तथा संस्थागत सुधार तर्फः 1. संविधानतः स्थानीय तहको सरकारको जिम्मेवारी सम्पादन गर्न आवश्यक संस्थागत संरचना, जनशक्ति व्यवस्थापन तथा समायोजन भैनसकेको वर्तमान अवस्थामा तदर्थ व्यवस्थापन अर्न्तर्गत आवश्यकताको आधारमा नगर कार्यपालिका, वडा कार्यालय लगायत बिषयगत शाखा महाशाखाको तहगत जिम्मेवारी वांडफांडको व्यवस्थालाई निरन्तरता दिइनेछ । 2. सवै वडामा सुविधा सम्पन्न वडा कार्यालयहरुको व्यवस्थापन गर्ने सर्न्दर्भमा क्रमश वडा कार्यालयहरुको नयाँ भवन निर्माण गर्ने कार्यलाई निरन्तरता दिइनेछ । 3. स्थानीयतहका विवादहरु स्थानीय तहमा नै समाधानका लागि वैकल्पिक व्यवस्थापनको रुपमा संचालनमा आएको मेलमिलाप पद्धतिलाई उपमहानगरपालिकाको न्यायिक समितिबाट सम्पादन हुने काममा आबद्ध गरी थप प्रभावकारी बनाइनेछ । 4. उपमहानगरपालिका अर्न्तर्गत रहेको मानव संसाधन बिकास कोष, बिपद व्यवस्थापन कोष, गरिवी न्युनिकरण तथा सामाजिक परिचालन कोष, अनाथ अपांग, असहाय बिशेष कोष, वातावरण संरक्षण विशेष कोष लगायतका कोषहरुको परिचालनका लागि आवश्यक कार्यविधि बनाइनेछ । 5. सुशासन तथा पारदर्शिताका लागि उपमहानगरपालिकाबाट सम्पादन भएका कामहरूको सम्बन्धमा सार्बजनिक रूपमा जानकारी गराउन सरोकारवालाहरू सँग चौमासिक रूपमा समीक्षात्मक छलफल गरिने छ । साथै बिकास पत्रकारिता पुरस्कार जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ । 6. उपमहानगरपालिकाबाट संचालन गरिने आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा गुणस्तर कायम गर्न आयोजना अनुगमन तथा सुपरिवेक्षण समितिलाई थप प्रभावकारी वनाइनेछ । 7. राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका स्थानीय सरकार, स्थानीय निकायसंग सम्बन्धित संघसंस्थाहरुसंग मैत्री सम्बन्ध बिस्तार गर्ने र सम्बन्ध स्थापित भइसकेको ललितपुर महानगरपालिकासँगको सहकार्य बिस्तारका लागि कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गरिनेछ । 8. वडामा आईपर्ने बिभिन्न किसिमका भैपरी कामहरू समयमै सम्पन्न गर्न सहज बनाउने उद्देश्यले वडा अध्यक्षज्यूको निर्णयानुसार खर्च गर्ने गरी खडा गरिएको वडा बिकास कोषलाई निरन्तरता दिइनेछ । 9. विज्ञ प्राविधिक तथा कुशल परामर्शदाताको सहयोगमा भू-उपयोग नीति, नगर यातायात गुरु योजना, दिर्घकालिन नगर विकास योजना तर्जुमा आ.ब. 075/076 भित्र सम्पन्न गरिनेछ । 10. उपमहानगरपालिकाले बजार अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले उपमहानगरपालिका आफैले खाद्य परिक्षण प्रयोगशालाको स्थापना आ.ब. 075/076 को सुरुमा नै गरिनेछ । 11. प्रबिधिमैत्री उपमहानगरपालिका निर्माण गर्ने क्रममा सवै वडा कार्यालयहरुमा Free Wifi zone को उपलव्धता गराइनेछ ।साथै पुष्पलाल पार्कमा समेतमा Free Wifi zone को सुविधा उपलव्ध गराइनेछ । 12. उपमहानगरपालिकाका राष्ट्रसेवकहरुको कार्य प्रेरणाका लागि सुपरिवेक्षकबाट नियन्त्रित हुने गरी मासिक रुपमा प्रोत्साहन स्वरुप अतिरिक्त समय समर्पण भत्ता उपलब्ध गराइनेछ । नगरसभा सदस्यज्यूहरु, चालु आ.ब. 074/075 का लागि रु. १ अर्ब ४३ करोड 66 लाख 83 हजार संशोधित व्यय अनुमान गरिएकोमा आगामी आ.ब. 075/076 का लागि रु. 1 अर्ब 63 करोड ४ लाख ५७ हजार अनुमानित बजेट प्रस्ताव गरिएको छ । कूल बजेट मध्ये कार्यालय सञ्चालन तथा प्रसासनिक खर्च तर्फ रु. 16 करोड 59 लाख 64 हजार अनुमान गरिएको छ । अर्थात कूल बजेटको 10.18% प्रसासनिक खर्च तर्फ विनियोजन प्रस्ताव गरिएको छ । यसै गरी पूँजिगत तर्फ बिनियोजन प्रस्ताव गर्दा गत नगर सभाबाट स्विकृत गरेको रणनीतिक, नगरस्तरीय ठूला पूर्बाधार र नगरस्तरीय क्षेत्रगत आयोजना तथा कार्यक्रमहरु, लक्षित क्षेत्रसंग सम्बन्धित आर्थिक, सामाजिक, शीप बिकास तथा संस्थागत क्षेत्रका लागि स्विकृत आयोजना तथा कार्यक्रम र वडा भेलाबाट स्विकृत वडा तथा वस्ती स्तरीय साधारण र लक्षित क्षेत्रसंग सम्बन्धित भौतिक पूर्वाधार निर्माणसंग सम्बन्धित आयोजना तथा कार्यक्रमहरु सञ्चालनका लागि उच्च प्राथमिकतामा राखी बिनियोजन गरिएको छ ।नगरका सम्पूर्ण वडाहरुलाई भूगोल, जनसंख्या, गरिवीको अवस्था र पूर्बाधार संरचनाको वर्तमान अवस्था समेतको आधारमा क र ख वर्गमा बिभाजन गरी वडास्तरीय आयोजना तथा कार्यक्रमहरुका लागि मात्र रु.20 करोड 50 लाख बिनियोजन प्रस्ताव गरेको छु । क्षेत्रगत रुपमा आर्थिक बिकास तर्फ (कृषि, पशु, उद्योग वाणिज्य, पर्यटन, सहकारी र बित्तीय क्षेत्र) कूल रु.2 करोड 64 लाख 69 हजार बिनियोजन गरिएको छ । सामाजिक बिकास क्षेत्र अर्न्तर्गत (शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, खाद्य परिक्षण प्रयोगशाला, सँस्कृति प्रबर्धन, खेलकुद तथा मनोरन्जन र लैङ्गिक समानता र सामाजिक समावेसीकरण) कूल रु.59 करोड 17 लाख 56 हजार बिनियोजन गरिएको छ । पूर्बाधार बिकास क्षेत्र तर्फ (स्थानीय सडक, पुल तथा झोलुङ्गेपुल, सिचाई, भवन तथा शहरी बिकास, सडकबत्ती, उर्जा, खानेपानी पुर्बाधार तथा वडागत आयोजनाहरु समेत) कूल रु. 37 करोड 08 लाख 51 हजार बिनियोजन गरिएको छ । यसै गरी वातावरण तथा विपद व्यवस्थापन क्षेत्र तर्फ (वन तथा भू संरक्षण, जलाधार संरक्षण, जलउत्पन्न प्रकोप नियन्त्रण, वातावरण संरक्षण, जलवायु परिवर्तन, फोहरमैला व्यवस्थापन, विपद व्यवस्थापन र वारुणयन्त्र संचालन तथा व्यवस्थापन समेत) कूल रु. 7 करोड 31 लाख 70 हजार बिनियोजन गरिएको छ । यसै गरी संस्थागत बिकास, सेवा प्रवाह र शुसासन क्षेत्र तर्फ (संस्थगत पुर्बाधार, संस्थगत क्षमता विकास, मानव संशाधन विकास, सुरक्षा व्यवस्थापन, सुचना प्रविधि, सुशासन प्रबर्द्धन, पञ्जीकरण व्यवस्थापन समेत) कूल रु. 2 करोड 16 लाख 34 हजार बिनियोजन गरिएको छ । सवै वडामा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गर्ने उद्देश्यका साथ वडा नं. 12 को भवन निर्माणको प्रक्रिया सुरु भैसकेको छ ।बाँकी वडाहरुको भवन निर्माण तथा मर्मतका लागि आगामी आ.ब.का लागि बर्ष रु. 50 लाख, भारि मेसिन र औजार, निर्माण सम्बन्धि मेसिन, ट्रीपर, ट्रयाक्टर, जिप, मोटरसाइकल, कार्यालय साधन तर्फ २ करोड 75 लाख बजेट अनुमान गरिएको छ । आगामी 4 बर्षभित्र दिर्घकालिन प्रभाव दिने खालका नगरस्तरीय गौरबका आयोजनाहरु सञ्चालन गर्न विनियोजन गरिनेछ । त्यस्ता आयोजनाहरुको विस्तृत सम्भाव्यता अध्ययन सहित परियोजना निर्माणका लागि रु.1 करोड विनियोजन प्रस्ताव गरिएको छ । गत आ.व.मा संचालित क्रमागत आयोजना तथा कार्यक्रमहरुको दायित्व भुक्तानीका लागि रु. ८ करोड, नेपाल सरकारका अन्य निकायहरुबाट कार्यान्वयनमा आउन सक्ने आयोजना तथा कार्यक्रमहरुका लागि समपूरक कोष तर्फ रु. १ करोड, सडकवोर्ड नेपालबाट शहरी सडक मर्मत शीर्षकमा प्राप्त हुने अनुदान तथा अन्य मर्मत सम्भार कार्यका लागि मर्मत सम्भार कोष तर्फ रु. 2 करोड 5० लाख, आकस्मिक तथा भैपरी आउने खर्चका लागि रु. 1 करोड, नगरस्तरीय बिपद व्यवस्थापन कोष तर्फ रु. 1 करोड बिनियोजन प्रस्ताव गरेको छु । आगामी आ.ब.मा वडास्तरीय आयोजना तथा कार्यक्रमहरु, बिषयगत कार्यालय तथा शाखाहरु मार्फत संचालन गरिने कार्यक्रमहरुका अतिरिक्त नगरस्तरीय ठूला बिकास पूर्बाधार कार्यक्रम अर्न्तर्गत कर्भडहल निर्माण कार्य पूरा गरिनेछ । यसै गरी सडक मर्मत सम्भार अर्न्तर्गत नगरक्षेत्रका बिभिन्न सडक खण्डको मर्मत सुधारका कार्यक्रमहरु संचालनमा ल्याउने प्रस्ताव गरिएको छ । साथै बजार अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले खाद्य परीक्षण प्रयोगशालाको निर्माण तथा सञ्चालनका लागि रु.20 लाख बजेट विनियोजन प्रस्ताव गरेको छु । यस गरिमामय नगरसभाका अध्यक्षज्यू, अन्त्यमा, प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले यस नगरको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिंदै आगामी आ.ब. २०७5।०७6 का लागि नीति तथा कार्यक्रम र आयब्ययको अनुमान (बिनियोजन बिधेयक, २०७5 र आर्थिक विधेयक, 2075 ) यस गरिमामय सभामा आबश्यक छलफल तथा स्वीकृतिका लागि पेश गरेको छु। धन्यबाद । मितिः २०७5 आषाढ 10 गते

0 comments

Write Down Your Responses