Powered by Blogger.
राजनीतिक जागरण र विकासको खेती रुदानेले नै सुरु गरेको दावी


पालुङ । उत्तरी मकवानपुरमा राजनीतिक जागरण र  पालुङ क्षेत्रमा विकासे खेती रूपचन्द्र विष्टबाट सुरु भएको राष्ट्रियसभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारीले बताउनुभएको छ  । 

रूपचन्द्र विष्ट रुदानेको १९औँ स्मृतिमा आयोजित राष्ट्रिय काव्य उत्सव, २०७५ मा थाहा नगरमा आयोजित कार्यक्रममा  उनै विष्टका अनुयायी बिडारीले यस्तो दावी गर्नुभएको हो । 

थाहामा हालसम्म पनि विकासे खेती, विकास घर, विकासे चौर रहेको स्मरण गराउँदै उहाँले रूपचन्द्रले त्यस समयमा समाज र आर्थिक विकासका लागि खेलेको भूमिका अतुलनीय रहेको जिकिर गर्नुभयो ।  

कवि भावनाका रुदानेका अधिकांशश पर्चाहरु कवितात्मक शैलिमै लेखिएका छन् ।  ‘सत्य थाहा हुँदा झूट नाश हुन्छ’ भन्ने रूपचन्द्रको भनाइमा केन्द्रित रहेर  थाहा नगर पालिकाको सहयोगमा कवि गोष्ठी आयोजना गरिएको हो । 

रूपचन्द्रद्वारा नै प्रधानपञ्च भएका बेला निर्मित थाहा नगरपालिका– ३ को विकास घरमा संचालन भएको उत्सवमा सातवटै प्रदेशका ३५ जिल्लाका ६२ जना कविहरूले आफ्ना रचना वाचन गरेका थिए । 

कविहरूले रुदाने, स्वरूपे, जनमुखी नेतालगायत अन्य नामले चिनिने रूपचन्द्र विष्टको नाम र योगदान समेटिएका रचनाहरू वाचन गरेका थिए । 

कवि तथा सहित्यकारहरूले रूपचन्द्रको कथा, व्यथा, उनले फैलाएका सन्देशलाई रचनामार्फत वाचन गरेका थिए ।  थाहा नगरपालिकाको आयोजना तथा पालुङ साहित्य परिषद्को समन्वयमा उत्सव भएको हो । 

थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले संचालन गरेको उत्सवमा थाहा नगरपालिका वडा नम्बर– ३ का वडा अध्यक्ष राजेश केसीले स्वागत गरेका थिए । 

उत्सव थाहा नगरपालिका प्रमुख लवशेर विष्टको अध्यक्षतामा भएको हो ।




0 comments

Write Down Your Responses