Powered by Blogger.
पालुङमा नापी–मालपोत भएर इन्द्रसरोवरवासीलाई कष्ट


मकवानपुर । संघीयता कार्यान्वयनसंगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको फाखेलका जनताहरुलाई झनै सरकारी सेवा लिन थप सास्ती भएको छ । 

दुरी र सडक आवागमन अनुसार सेवा लिन सदरमुकाम जान सहज हुने भएपनि थाहानगर क्षेत्रमा रहेको नापी र मालपोत कार्यालयबाट सेवा लिन इन्द्रसरोवर गाउँपालिकाका बासिन्दालाई सास्ती भएको हो । 

इन्द्रसरोवर गाउँपालिकाको फाखेल, सिस्नेरी तथा कुलेखानीबाट थाहानगरको पालुङसम्म चल्ने रुटको सवारी साधनको ब्यवस्था नहुँदा उनीहरुमा सरकारी सेवाप्रति असन्तुष्ट हुन थालेका हुन् । 

बजार बिस्तार र ब्यवस्थापनसंगै हेटैडामा रहेको मालपोत कार्यालय र नापी कार्यालयबाट लिँदै आएको सेवा उक्त गाउँपालिकाबासीले थाहानगर स्थित कार्यालयबाट लिनूपर्ने भएको हो । 

थाहा नगरबाट फाखेल समेतको सेवा प्रदानका लागि स्थापना भएपछि मालपोत र नापीको कामका लागि थाहा नगर धाउन परेपछि साबिक फाखेल र सिस्नेरी गाविसका जनताहरुले दुखेसो गर्न थालेका छन ।

इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ कुलेखानीबाट नियमित रुपमा बिहान ७ः३० बजेको समयमा पालुङ हुँदै हेटौँडा सम्मको लागि र काठमाण्डौको लागि यात्रु बाहक बस सञ्चालनमा रहे पनि इन्द्रसरोवरको ३, ४ र ५ नं वडा साबिक सिस्नेरी र फाखेललाई सो यातायात टाढा र अपायक भए पछि थाहा नगर सम्मको यात्रा गर्न कष्टकर भएको हो । 

‘मालपोत र नापीको कामले पालुङ आइरहँनु पर्छ तर एका बिहानै ३ घण्टा लगाएर कुलेखानी कलंकी सम्म हिँडेपछि मात्र बस भेटिन्छ, त्यो पनि ठेगान हुन्न, बस भेटे पनि टिकेट पाइँदैन उभिएर यात्रा गर्नुपर्छ’ इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का स्थानिय तथा श्री महाचुनी माध्यामिक बिद्यालयका प्रद्यानाध्यपक शान्तलाल लामाले भने ।

‘कार्यालय समय भित्रको काम सकाएर गन्तब्यमा फर्किने आशै नगरे हुन्छ, पालुङ मै बस्न पनि उचित लजको अभाब छ’ सिस्नेरीका स्थानिय सरोज थापा मगरले बताए ।

समस्याहरु जिउका त्युँ रहिरहँदा भुकम्पको किस्ता निकासा समेत थाहा नगरपालिकामा रहेको महालक्ष्मी बिकास बैंकबाट हुँदै आइरहेको छ । भुकम्पको पीडामा छट्पटाइरहेका पीडितहरुलाई यातायातको असहज परिस्थितिमा पालुङको आवत जावतले झन पीडा थपेको छ ।

भुकम्प पीडित रत्न लाल बलामी भन्छन्–‘हिँडेर, गाडी रिजर्भ गरेर वा बल्लतल्ल बस सम्म आइपुगेर पालुङ आइपुगे पनि भुकम्पको किस्ताको काम बन्दैन, न फर्किनु, न बास बस्नु, अलपत्रमा परिन्छ, बरु बढी नै भाँडा लागेपनि हेटौडाबाट सेवा दिएको भए धेरै सहज हुन्थ्यो  । ’

स्थानिय निकायले यातायात ब्यवसायी संघ संग धेरै पटक छलफल गरे पनि फाखेल र सिस्नेरी हुँदै पालुङ सम्मको लागि सवारी ब्यवस्थापन गर्न अटेर गर्दै आएको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए । हाल कुलेखानी कलङ्कीबाट पालुङ हुँदै हेटौँडा र बज्रबाराही हुँदै काठमाण्डौ जाने २ वटा बस कुलेखानी कलङ्कीमा बास बस्ने गर्दछ । 

सोही बस एउटा फाखेल र एउटा सिस्नेरीमा गएर बास बस्ने सम्मको मात्र ब्यवस्था भए पनि पर्याप्त हुने गाउँपालिका अध्यक्ष लामाको बुझाइ छ । 

कुलेखानीमा बस्ने दुबै बसलाई फाखेल र सिस्नेरीमा बसाउने प्रस्ताब पटक पटक गर्दा पनि यातायात ब्यवसायी संघले अटेर गरेको उनले गुनासो गर्दै यो बिषयमा सबै निकायले ध्यान दिन आग्रह गरे । –मन्जरी बलामी





0 comments

Write Down Your Responses