Powered by Blogger.
प्यारो मामाघर अर्थात आजभन्दा ५५–६० वर्ष पहिलेको टिस्टुङको ढल्टा गाँउको स्मृति

श्रीधर गौतम
म सानै उमेरको थिएँ । १४–१५ वर्षको कक्षा ७ तिर पढ्थें होला । मामाघर जाने रहर लाग्यो । बिहानीको खाना, दाल, भात, दूध, भात खाएर म मेरो मामाघरतिर हिँड्ने तरखर गरें अनि मेरी पूज्य आमासँग सोधनी गर्दै बुबासँग आज्ञा लिएँ । तब दिनको ९–१० बजेतिर मामाघर हिँडेँ । 

यो त आजभन्दा ५५–६० वर्ष पहिलेको कुरा आज सम्झँदै लेख्न तम्सेको छु । मामाघर साह्रै प्यारो शब्द हो । सृष्टिको बिहानी मामाघर नै होला किनकि आमाको जन्मभूमि, जन्मस्थल, जहाँबाट उज्यालो आइपुग्यो । त्यो सुन्दर संसार हेर्न पाएँ, यो यथार्थ हो । त्यसकारण मलाई पनि मामाघर भन्ने बित्तिकै मनले आनन्दको अनुभव पाउँछ । काठमाडौंस्थित पुल्डोल गाउँबाट मेरो मामाघर पुग्न निकै समय लाग्छ । मामाघर एउटा कौतुहलताले गर्दा त्यो दूरी पनि केही जस्तो लाग्दैनथ्यो । 

पुल्डोल गाउँबाट हिँड्दै किटिनी, राम भद्रे, बलम्बु, थानकोट, चन्द्रागिरि भन्ज्याङ, चित्लाङ, कुचुपुर, नौखण्डे, लीलाखेल, टिष्टुङ शहर अनि टिष्टुङ ढल्टा गाउँ मेरो मामाघर । सायद उल्लिखित स्थान हिँडीहिँडी पार गर्न पर्ने नियति नै हो किनकि त्यसका विकल्प थिएनन् । मेरो मनमा त्यतिका गाउँघर बाटाहरू पार गरिहिँड्छन् कत्ति पनि दिक्क हुँदैनथयो । मामा घर भनेपछि प्यारो लाग्ने मात्र होइन, रहर नै लाग्ने रहेछ । 

मेरो पुल्डोलको घर तीनतले ठूलो टायलको छाना पहिलो तल्लामा र दोस्रो तल्लामा बार्दली थिए । बार्दलीबाट काठमाडौं शहरको धरहरा राम्रोसँग देखिन्थ्यो । टुँडिखेलमा रातको ११ बजेको तोप र बिहानीको ४ बजेको तोप पड्केको मेरो घरको बार्दलीमा बस्दा सुनिन्थ्यो । तर आज त्यो घरको त्यो बार्दली त्यो ठाउँ सपनामा देखेको हो कि वा दन्त्यकथाको वर्णन हो जस्तो लाग्न सक्छ । 

यत्रो घरमा बसेको म मेरो मामाघर दुईतले खरको छानाभित्र तलै सब कोठा जस्तो लाग्ने भुइँमा टाँड बनाएको त्यही टाँडमाथि सयन गर्ने ओछ्यान हुन्थ्यो । तर पनि मलाई आनन्द, खुशी लाग्दथ्यो । यो मन, विचारमा प्रिय वस्तुप्रतिको स्नेह रहेमा आनन्दै, आनन्द हुने रहेछ । म आनन्दित थिएँ । मेरो रुचिकर खाना मामाघरमा मकैको ढिँडो, सिन्कीको तिउन, सिमीको दाल, दूध, घीउ हुन्थ्यो । 

यी वस्तु भएपछि मेरो प्रसादका खाना हुन्थ्यो । मामाघर गएपछि बिहानको खाना खाएपछि डुल्ने स्थान बाराहीको जङ्गल, खोला, बाराहीचौर दिनभर हिँड्ने घुम्ने अनि खोलाका तीरमा चलेका घट्टहरू र सोलीबाट खसेको अन्न हेर्ने मन भइरहन्थ्यो । 

दिनमा त्यही घट्टको धारको पिठाको रोटी र मह भएपछि दिनको खाजा बन्दथ्यो । मेरो रुचिकर खाना हुन् । म आज ७४ वर्ष पूरा भए पनि ती दिनचर्या मेरा मानसपटलमा ताजा रहेको छ । मीठो र प्यारो वस्तुको गहिरो सम्झना रहिरहन्छ । यिनै हुन् जीवनका बाँच्ने रहरहरूका लहर । ।

एक दिनको कुरा, मामाघरमा मामाले गोठ जाने भन्नुभयो । मैले सुनेँ मलाई कौतुहल लाग्यो, गोठ कति टाढा छ ? मामामध्ये माहिला मामा मलाई सारै माया गर्नुहुन्थ्यो । माइला मामले भन्नुभयो ‘टाढा छ २ घण्टा लाग्छ ।’ उकालो छ, जङ्गलै जङ्गल छ । बिहान ५–६ बजे उकालो लागिसक्नुपर्छ भन्नुभयो, मामाले । 

मैले सोचे गोठ हेर्न जान्छु भनी त्यो दिन म पनि मामाको पछि लागें । टिष्टुङबाट कुन्छाल हुँदै उकालो लाग्थें २–३ घण्टामा मुल्चोक, लेकको गोठमा पुग्यौं । बाटाका दायाँबायाँ घनघोर जङ्गल सानु आकार मात्र बाटोको त्यो पनि झ्याउँकिरी कराउँछ । सुनसान सन्नाटा छाउने जङ्गलमा बेलाबेलामा न्याउली चरा कराएर जङ्गललाई शोभा दिन्थ्यो । हामीलाई रमाइलो हुन्थ्यो । 

बिहानी पारिलो घाम पिठ्युँमा ताप्दै ८ बजेतिर गोठका आँगन पुग्यौं । मुल्चोक गोठ, गोठभरि गाई, मामाका गोठमा गाई, गोरु, बाच्छाबाच्छी गरेर ४०–५० जति थिए । बाँच्छा भएका गाई जतिले बाच्छालाई नै दूध खान दिने बाच्छी भएका गाईहरू चाहिँ आधा दूध दुहनी । त्यो दूध खाने, दही मोही, घ्यु बनाउने चलन रहेछ । गाई वस्तुको गोबरले गोठ वरिपरि बारीका ठूला पाटा मल हाल्ने गर्दा मकै, फाबर उब्जनी हुने यस्तो खेतीयोग्यमा गोठ बनाई बस्नु पनि कृषि विकासको पहिलो पाइला हो । 

नेपाली भूभागका वर्णन क्रममा पहाड, हिमाल बस्ने बासिन्दाका जीवनी दुःखदायी भए पनि प्रकृतिसँग रमाई बाँच्ने कुरामा विश्वास रहेछ । म मेरा भोगाइले भन्न सक्छु । बाच्छा, बाच्छीलाई आँगनभरि बाँधेर बाँकी गाईगोरु चर्नको लागि जङ्गलमा लगेर छाडिदिनुभयो । मामा फर्केर मेरा लागि खाना खाने बन्दोबस्ततिर लाग्नुभयो । केही समयपछि खाना खायौं । 

गाईबस्तु चर्ने चौर र पूरा गोलाकारको ठूलो बाटुलो टुँडिखेल जत्रो चौर दमार ठूलो दमार मात्रै गाई र गोरु चर्ने चरन रहेछ । त्यो स्थान एकदम शान्त, सुनसान थियो । सायद ऋषि मनीषिहरू त्यस्तो स्थलमा तपस्या गरिसबस्थे होलान् । त्यो स्थल ठूलोदमार अति सुन्दर थियो । 

पहाडको कछाड वा भित्रबाट पानी रसाएको त्यसलाई जम्मा पारी पोखरी वा वोपी बनाएर गाईबस्तुको पिउने पानी हुन्थ्यो । त्यो पानी पिउन पंक्षीहरू पनि आउँथे । गोठालाले पिउने पानी त्यही हुन्थ्यो । गाईगोरुहरू बिहान ८ बजेबाट जङ्गलतिर छाडिदिन्थे बेलुकी ३–४ बजेतिर मात्र गोठ फर्कन्थे कहिले काहीँ वस्तुभाउ खोज्न पनि पथ्र्यो, अरूका गोठमा जान सक्ने हुँदा । यही क्रमले दिन बित्थ्यो गोठको जीवन । गोठाले जीवन रमाइलो लाग्थ्यो ।

टिष्टुङ शहरमा नेवार जातिको बस्ती बाक्लो थियो । तर, आफू आफूमा बाहेक अरूसँग पर्वते कुरा गर्थे । शहर समथर भागमा छ । शहरका चारैतर्फ भने पहाड छन्, बाहुन, क्षत्री र अन्य जाति बसेका छन् । टिष्टुङ शहरले पनि नेपालको इतिहास बोकेको छ । यो शहरमा पर्व पर्वमा जात्रा निकाल्नेदेखि महाभारत नाच देखाउने प्रचलन अद्यावधि छँदैछ । शहरको दक्षिण भागमा प्रख्यात देवी बाराही छन् । खोलाको नाम पनि बाराही खोला भनिन्छ । ठूलो चौर छ त्यो चौरको नाम बाराहीको चौर छ । 

साथमा खोलाको टाकुरामा घनाजङ्गल छ त्यो जङ्गलको नाम पनि बाराहीको वन भनिन्छ । यो सभ्यता बोकेको शहर टिष्टुङ हो । मेरो मामा घर ढल्टा गाउँ अलि माथि डाँडो पाखोमा छ । शहर र बेँसी १५–२० मिनेटको दूरी छ । 

फराकिलो फाँट छ । सबै खेती अर्थात् कृषिजन्य वस्तुको बाहुल्य छ । धान, गहुँ मुख्य बाली हो । जीवनयापनका लागि गोठ, गाईबस्तु लेकमा लेककै खेती मकै, फापर र तोरी हुने बेँसीमा बस्ने घर जम, थोरै धान खेत हुने प्रायः मेरा मामाघरमा गाउँकै जनजीवनयापन गर्ने रहनसहन पाइन्थ्यो, मेरो छोटो बसाइ हुने भए पनि बेलाबेलामा पुग्दाका अनुभवले ती गाउँ र लेकगोठाका कुरा थाहा पाएँ । 

आज ती कुरा सम्झँदा सपना हुन् कि दन्त्यकथा हुन जस्तो लाग्छ किनकि ? त्यो लेकबारीमा गोठ छैनन् । बेंसीमा बस्ती तराईतिर आएर पातलो छ र अब टिष्टुङ ढल्टा गाउँसम्म यातायातका बाटा बनिसके बाटो पिच काला अलकत्रा भएका छन् अब यो वातावरण छैन । परिवर्तन भएको छ । 

यो समयले खेलेको खेल जस्तै हो लाग्छ । समय कसलाई थाहा छ । भोलिका दिनमा के हुन्छ ? कस्तो हुन्छ ? समयले बताउँछ । टिष्टुङ शहरमा निर्माण भएका कंक्रिट भवन देख्दा र बस्ती बढेको पाउँदा लेक–डाँडामा बस्ने मानिस सबै शहरतिरै आएर बसेको अनुभव हुन्छ । शहरमा बाक्ला घरहरू र साँघुरा बस्तीले बताउँछ । गाउँपाखाका बस्तीबाट, शहर पस्ने थालेपछि शहरको वातावरण साँगिरिनु हुन्छ भने उता पहाड बस्ती वा गाउँ बस्ती सुना–खेती कृषि हुने जमिन बाँझिन पुगेको हुन्छ । 

यसकारण अब स्थानीय सरकारले यसतर्फ योजना ल्याउनुपर्दछ, जसबाट गाउँमुखी हुन विशेष सुविधाको व्यवस्था हुनु जरुरी छ । जसबाट प्रकृति संरचनालाई प्रभाव नपरोस् खेतीयोग्य जमिन बाँझा नहुन, खेतीयोग्य भूमि कृषिजन्य बालीनाली लगाइयोस् । भोलिका पिँढीले हाम्रो भूबनोटलाई संरक्षण गर्न सकून् । पहाड, गाउँबाट शहर बसाइ सर्न नपरोस् । त्यस्ता अवधिका जनचेतनामूलक योजना लागू होस् । 

मामा घरमा बूढा हजुरबुबा मात्र, मामाको विवाह नभएको घर भए पनि मेरो कति टाढा माया थियो त्यो मामा घरको जुन मैले जीवनभर सम्झने एउटा मायाको पोको बन्न गयो । यी मीठा सम्झनालाई मुटभरि कुटुरो बनाएर राख्दै केही दिनपछि मेरो घर पुल्डोलतिर बिहानै मामाघरबाट बिदा भएँ । 

बाटाभरि ती सम्झनाका कुटुरोलाई मनभरि खेलाउँदै चित्लाङको उकालो (चन्द्रागिरि) बाटो उकालो लागियो । केही घण्टा हिँडेपछि भन्ज्याङ चन्द्रागिरी आइपुगें धौरालीमा थचक्क बसें र उपत्यकालाई हेरें घामको उज्यालोले उपत्यका सुन्दर धरहरा काठमाडौं शहर देखियो । आज त्यसै स्थानबाट हेरेमा काठमाडौंभरि धेरै घरको जङ्गल सिबाय अरू देख्द पाइँदैन ।

(लेखक गौतम नेपाल सरकारका पुर्व अधिकृत हुनुहुन्छ । प्रस्तुत आलेख उहाँको निवन्ध संग्रहबाट लिइएको हो ।)

0 comments

Write Down Your Responses