Powered by Blogger.
इन्द्रसरोवरलाई पर्यटनको केन्द्र बनाउन लागिपरेका छौं


जीवन लामा, अध्यक्ष, इन्द्रसरोवर गाउँपालिका, मकवानपुर
तपाँइको गाँउपालिकामा पर्यटन क्षेत्रमा कस्तो उपलव्धी भइरहेको छ ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्ने गरी नमूना पर्यटन गन्तव्य पहिचान गरी पर्यटन विकास क्षेत्र निर्माणको गुरुयोजना तयार गरेको छ । सरकारले सीमित क्षेत्रमा केन्द्रिकृत भएको पर्यटन गतिविधिलाई विस्तार गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ ।  

पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार प्रदेश नं ३ मा मकवानपुरको कुलेखानी (इन्द्रसरोवर) लाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उल्लेख छ । 

मकवानपुरको पर्यटकीय स्थलहरु र विकासका सम्भावना बोकेका धेरै प्राकृतिक र ऐतिहाँसिक स्थालहरुको माझमा पनि प्रदेश नं ३ कै पर्यटकिय गन्तब्यको रुपमा इन्द्रसरोवरलाई विकास गरिने भएको छ । प्रदेश नं ३ को सरकारले उत्तरी मकवानपुरमा पर्ने इन्द्रसरोवरलाई पर्यटकीय गन्तब्य बनाएको छ ।  

यो हामी सबैका लागि खुसीको कुरा हो । यस बाहेक गाँउपालिकाको आफ्नै स्रात साधनमा पनि पर्यटन विकास सम्वन्धी गुरुयोजनाहरु बनाएर अघि बढेका छौं । कामहरु हुँदैछन् । पर्यटकहरुको चलह पहल बढेको छ । हामी आशावादी छौं । 

इन्द्रसरोवरलाई प्रदेश नं ३ कै पर्यटकीय गन्तब्य बनाएकोमा के भन्न चाहनुहुन्छ ? 

इन्द्रसरोवर गाउँपालिकालाई संघीय सरकारले ३ नं प्रदेशको १ सय १९ वटा स्थानीय तह मध्येमा उत्कृष्ठ छनोट गरेको छ  । पर्यटकीय गन्तब्यको रुपमा इन्द्रसरोवरलाई छनौट गरकोमा संघीय सरकारलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहान्छु ।  

यो मेरो मात्र खुशी होइन, सबै इन्द्रसरोबर गाँउपालिकावाशीको खुसी हो । यो अवसर यत्तिकै सजिलोसँग  प्राप्त भएको होइन । यो अवसरलाई सहि ढङ्गले सदुपयोग गर्नका लागि इन्द्रसरोवर गाउँपालिकाले पनि आफ्नो एक किसिमको योजनाहरु बनाएको छ । अब त्यही योजना अनुसार हामी यो गाँउपालिका देशकै नमुना बनाउनेछौं । 

इन्द्रसरोवरमा भएका पर्यटकीय गन्तव्यको संरक्षण कसरी गरिरहनुभएको छ ?

हामीले इन्द्रसरोवर गाउँपालिकामा कुनकुन चिज वस्तु तथा स्थानले पर्यटनलाई आकर्षण गर्न सक्छ र पर्यटनको केन्द्र हुन सक्छ भन्ने बारेमा केही अध्ययन पनि गरेका छौं ।  हामीसँग इन्द्रसरोवर ताल छ, विशेष गरी इन्द्रसरोवर ताललाई केन्द्रबिन्दु बनाएर यो पर्यटकिय गन्तब्यलाई हामी अगाडि बढाउँछौ ।

 इन्द्रसरोवर गाउँपालिकामा मानव निर्मित ताल त छँदै छ त्यस सँगसँगै ऐतिहाँसिक चन्द्रगढी पनि छ । चन्द्रागिरी भालेश्वरमा अहिले जुन केवलकार चलिरहेको छ, त्यसकै सेरोफेरोमा अर्को डाँडा पनि छ ।  ऐतिहाँसिक डाँडा जुन पृथ्वीनारायण शाहले हिजोको दिनमा किर्तिपुरसँग लडाँई गर्ने बेलामा जुन डाँडाबाट लडाँइ गरेका थिए, त्यो डाँडा पनि हामीसँग पनि जोडिएको छ । 

त्यो ठाउँलाई पनि एउटा पर्यटकीय स्थलको रुपमा विकास गरेर लैजान हामी अगाडि बढीरहेका छौँ । केही दिन अघिमात्र नेपालका ५० भन्दा बढी चित्रकारहरुले त्यही डाँडामा बसेर त्यतिखेरको ऐतिहाँसिक कुरालाई झ–झल्को दिने खालको चित्रहरु कोरे ।  

त्यसै चित्रलाई केही अघि भुपू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेर ७ दिने चित्रकला प्रदर्शनी पनि सम्पन्न भयो । त्यसको समापन भुपु प्रधानमन्त्री झलनाथ खनालले गर्नुभएर त्यसलाई राष्ट्रिय रुपमा उजागर गर्ने काम भएको छ । त्यसैले हामीसँग इन्द्रसरोवर गाउँपालिकामा पर्यटन सँग सम्बन्धित स्थान  चिजहरु पर्याप्त मात्रामा छन । 

विगतको राजनीतिक आन्दोलनसंग पनि फाखेल जोडिन्छ , यसको प्रवद्र्धनको लागि के गरिरहनु भएको छ ?

हामी इन्द्रसरोवर गाउँपालिकाको  वडा नं ४ फाखेलमा पनि हिजोको ऐतिहाँसिक दिनलाई झ–झल्को दिने खालको ऐतिहाँसिक नख्खु जेल ब्रेक गरेको व्यक्तित्वहरुको सम्झनामा केही काम गर्दैछौं । 

हामीले एउटा फाखेल मैत्री पार्क अर्थात मदन भण्डारी फाखेल मैत्री पार्क नामाकरणमा एउटा पार्क निर्माण  गर्दै छौँ ।  त्यसको मास्टर प्लान पनि बनिसकेको छ । त्यसमा केही रकम प्रदेशबाट पनि विनियोजन भैसकेको छ । 

त्यसकारण हामीसँग यस्ता धेरै ठाउँहरु छन् त्यस मध्येमा हामी २÷४ वटालाई प्वाइन्ट आउट गरेका छौँ । विगतको राजनीतिक आन्दोलनमा फाखेल र फाखेलवाशीले खेलेको भूमिकालाई उजागर गर्ने हाम्रो सोच छ । 

त्यसको ऐतिहासिक पृष्ठभुमीबारे अलिकति बताइदिनुस् न ?

नेपाली राजनीतिक आन्दोलको क्रममा २०३३ साल बैशाख १२ गते शुक्रवार राती एक महत्वपुर्ण घटना भयो । ललितपुरस्थित नख्खुजेल ब्रेक गरेर फाखेलकै वीरबहादुर लामा लगायत १५ जना राजनीतिक बन्दीहरु जब यो ठाँउ आइपुगे, राजनीतिक इतिहासमा यो स्थानको नाम गाढा अक्षरमा लेखिन पुग्यो । 

चैत १२ गते राती जंगलको बाटो हुँदै, भागदौड गर्दै, प्रशासनको चरम घेरालाई आँखा छलेर यही ठाँउमा आश्रय लिन आइपुगे  उनीहरु ।  सो टोलीमा तत्कालिन राजनीतिक बन्दी तथा  कम्युनिष्ट नेताहरु सिपी मैनाली, प्रदीप नेपाल, वीरबहादुर लामा, माधव पौडेल, गोपाल शाक्य, घनेन्द्र बस्नेत लगायत नेताहरु थिए । 

त्यतीमात्र होइन उक्त टोलीमा नारद वाग्ले, नरेश खरेल, धर्म घिमीरे, अशोक न्यौपाने, हर्क खड्का भीष्म धिमाल, जीवन मगर, राजेन राजवंशी र कामेश्वर हलुवाई पनि थिए । वीरबहादुर लामा स्थानीय भएकाले उनकै समन्वयमा टोली फाखेल आएको थियो । 

फाखेल आइपुगेका ति नेताहरुलाई चरम अभाव, प्रशासनको व्यापक धरपकड, कष्टसाध्य प्रयत्न तथा ज्यालामजदुरीबाटै आयआजर्न गरी स्थानीय जनताले लामो अवधी भूमिगत रुपमा यही स्थानमा जोगाएर राख्ने काम गरे । 

कम्युनिष्ट पार्टीका २ भूमिगत केन्द्रीय आकश्मीक बैठकहरु यसै स्थानमा सम्पन्न गरिए । जननेता मदन भण्डारी समेतको उपस्थितिमा भएको बैठकले पार्टीको कार्यनीति समेत परिवर्तन ग¥यो । 

त्यस अर्थले पनि कम्युनिष्ट आन्दोलनमा फाखेल भूमिको ज्यादै महत्व रहेको छ । सोही प्रसंग समेटेर ‘मुक्त आककाशको खोजी’ नामक पुस्तक समेत प्रकाशन गरेका छन् । अब हामीले त्यो इतिहासलाई बिर्सनु हुँदैन । बेच्न सक्नुपर्छ । 

अन्य मठ मन्दीर र पर्यटकीय स्थानहरु नी ?

सिस्नेरीको माथि पोखरी डाँडाबाट पनि महत्वपूर्ण भ्युहरु देख्न सकिन्छ, जुन डाँडाहरुबाट हिमालका अनगिन्ति लस्करहरु देख्न सकिन्छ, घाम उदाएको र घाम अस्ताएको दृश्य देख्न सकिन्छ । 

ति ठाउँहरु इन्द्रसरोवर गाउँपालिका भित्र छन् । यसलाई हामी विकास गर्दै लैजाने कुरामा अगाडी बढीरहेका छौँ र अहिले भर्खरै संघीय सरकारले इन्द्रसरोवर गाउँपालिकालाई पर्यटनको गन्तब्यको रुपमा घोषणा गरेको कारणले ति घोषणा सँगै त्यसबाट  प्राप्त अनुदानहरु यिनै स्थलहरुमा पर्यटकहरुलाई बढीभन्दा बढी आउने वातावरण बनाउन लागेका छौं ।  

सुरक्षित हुने वातावरण र रमाउने वातावरण  बनाउने किसिमले हामी विकास गर्छौँ । र, त्यसो भैसकेपछि इन्द्रसरोवर गाउँपालिकाका जनताहरुको आर्थिक समृद्धि हुँदै सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्नका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ  । 

यो इन्द्रसरोवर गाउँपालिकाको लागि महत्वपूर्ण अवसर हो र यो महत्वपूर्ण अवसरलाई सहि ढङ्गले सदुपयोग गर्नका लागि  सम्पूर्ण इन्द्रसरोवर गाउँपालिकाका जनताहरु, सञ्चारकर्मी, कलाकार, राजनीतिज्ञ, राजनीतिक पार्टीहरु सबैले सहि ढङ्गले सदुपयोग गर्नका लागि हार्दिक आव्हान गर्छु ।



यहाँका स्थानीयमा पर्यटनमैत्री व्यवहार त्यती छैन भन्ने गुनासो छ नी ?

वास्तवमा पर्यटक आएर बस्नको लागि राम्रो ठाउँ मात्र भएर हुदैन, सुन्दर दृश्यहरु मात्र भएर पनि हुँदैन । जहाँ रहेका व्यक्तिहरुको व्यवहारले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । त्यसैले सुरक्षाको कुरा महत्वपूर्ण कुरा हो ।  त्यससँगसँगै पर्यटकलाई गर्ने व्यवहार अझ महत्वपूर्ण कुरा हो । 

त्यसैले पर्यटनलाई कस्तो खालको ब्यवहार गर्ने र कुन खालको ब्यवहारले त्यो पर्यटक अझ दोहोर्याइ तेहर्याइ यहि ठाउँमा आउने वातावरण बन्छ भन्नेमा हामी गम्भिर हुन जरुरी छ ।  

त्यसैले अहिले हामीले इन्द्रसरोवर गाउँपालिकाका स्थानीय जनता, पर्यटन क्षेत्रका व्यक्तिहरु, समुदायहरुलाई प्रशिक्षणहरु, आनीबानी परिवर्तनका कुराहरु गराउनु  प्रशिक्षण लगायतका जागरण अघि बढाउनेबारे केही काम गर्ने सोचमा छौं । 

पर्यटकले  यो गाँउपालिका आएर सात दिन बिताउन चाहे भने कहाँ कहाँ पुगेर मनोरञ्जन लिन सक्छन् ?

इन्द्रसरोवर भित्र सातदिन भित्रमा पर्यटक रमाउने ठाउँहरु पर्याप्त मात्रामा छन् । तर केहि संरचनाहरु भने निर्माण गर्नुपर्ने जरुरी छ, इन्द्रसरोवर ताल वरिपरि नै २–४ दिन बिताउन र रमाउन सक्ने ठाउहरु धेरै छन् । 

यस्तै इन्द्रसरोवर गाउँपालिकाकै सेरोफेरोमा रहेको भालेश्वर चन्द्रागिरीमा पनि १–२ दिन रम्न सक्ने अवस्था छ । अर्को ऐतिहासिक चन्द्रगढी छ । जुन ठाउँबाट लस्करै हिमालहरु देख्न सकिन्छ ।  त्यो ठाउँ पनि हामीसँग पर्याप्त छ ।

यस बाहेक ?

हामीले बनाउँदै गरेकोे मदन भण्डारी फाखेल मैत्री पार्कमा पनि १–२ दिन बिताउन सक्ने पर्याप्त ठाउँहरु छन् । हामीसँग गाउँपालिकाको वडा नं २ को चौकी लेक डाँडा छ जहाँ थोरै मान्छे मात्र त्यहाँ पुगेको छ, जुन ठाउँबाट सिङ्गो इन्द्रसरोवरलाई निहुरिएर हेर्न सकिने ठाउँ हो । 

त्यति सम्मको अग्लो ठाउँहरु पनि हामीसँग पर्याप्त छन्  । मात्र हामी सँग त्यसलाई पर्याप्त ढंगले विकास गर्दै लैजान स्रोत र साधनको कमि छ । स्रोत र साधन हामीसँग भयो भने एक हप्ता होइन हामीले पन्ध्र दिन, महिना दिन पर्यटकलाई यहाँ अड्काएर यहाँ रमाएर बिताउन सक्ने वातावरण  सिर्जना गर्न सक्ने ठाउँहरु छन् ।  

यस गाँउपालिका सँगै जोडिएको थाहा नगरपालिका पनि अर्को पर्यटकिय गन्तव्य हो । थाहा नगरपालिकामा पनि आफ्नै किसिमको विकास भैरहेको छ  । पर्यटकहरु त्यहाँ पनि जान सक्ने भए ।

यहाँ सार्वजनिक शौचालयहरु निक्कै कम मात्रामा छन, खुल्ला  दिसा मुक्त क्षेत्र भनिएको छ, यसले पर्यटकलाई पारेको छ नी ?

यो स्वास्थ र सरसफाइ सँग सम्बन्धित महत्पूर्ण कुरा होे । सार्वजनिक शौचालयहरु बढी भन्दा बढी आवश्यक छन् , तर यो सार्वजनिक शौचालयहरु निर्माणको लागि पनि स्रोत र साधनकै आवश्यकता पर्दछ । 

गतवर्षको योजनाले यो वर्षदेखी मार्खुमा सार्वजनिक शौचालय निर्माण गरेर संचालन गर्ने क्रममा छौ र इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ को सिमखोलामा रहेको एउटा सार्बजनिक शौचालय जुन पहिला नै निर्माण भएको त्यसलाई पनि संचालनका लागि अगाडि बढिरहेका छौ । 

त्यस्तै बाँकी ठाउँहरुमा शौचालयहरु निर्माण गरेर जानका लागि गाउँपालिकाले पनि त्यो खालको योजना बनाएको छ भने राज्यले पर्यटकीय गन्तव्य घोषणा गरिरहँदा घोषणा गर्नको लागि संरचनाहरु बनाउनका लागि पनि राज्यको तर्फबाट केहि अनुदानहरु पक्कै हुनेछन्  भन्ने आशामा छौं । 

गाँउपालिकावाशीलाई नभनी नहुने कुरा केही छ ?

इन्द्रसरोवर गाउँपालिकाले वास्तवमा एउटा गाउँपालिकाको भाग्य कोर्ने अवसर पाएको छ । त्यो क्रम अहिले सुरु भएको छ । जुन पर्यटनको गन्तव्यको रुपमा संघीय सरकारले घोषणा गरेर मौका दिएको छ । यो अवसरलाई भरपुर उपयोग गरिकन अगाडि बढ्नु पर्छ । 

र, त्यसरी अगाडि बढ्नका लागी यहाँका पर्यटन सँग सम्बन्धित सम्पुर्ण जनसमुदायहरु र इन्द्रसरोवर भित्रका सम्पुर्ण जनताहरुलाई यो योजना सफल बनाउनको लागि होस्टेमा हैंसे गरेर अघि बढ्न आवश्यक छ ।  

त्यसका लागि आमसञ्चार क्षेत्रको पनि स्वस्थ आलोचनात्मक प्रचार प्रसारको लागि म आग्रह गर्दछु ।



0 comments

Write Down Your Responses