Powered by Blogger.
चलचित्र क्षेत्रमा पढेर–बुझेर आएकोले मलाई कुनै समस्या छैन

देवेन्द्र पाण्डे, निर्देशक

नेपाली चलचित्र निर्देशक देवेन्द्र पाण्डेलाई एक पछि अर्को गर्दै चलचित्र निर्देशनको अफर आउन थालेको छ । चलचित्र ‘वान साइड लभ’ बाट निर्देशनमा डेब्यू गरेका पाण्डेले निर्देशन गरेको चलचित्र ‘भिलेन’ प्रदर्शनको तयारीमा छ । 

सुपरस्टार निखिल उप्रेती, शिल्पा पोखरेल लगायतको अभिनय रहेको चलचित्र आगामी महिना देशभर प्रदर्शनमा आउँदैछ । चलचित्र वान साइड लभ निर्देशन गरेर प्रदर्शन भएको केहि समय लगत्तै भिलेन पाएका पाण्डेले भिलेन प्रदर्शनमा आउन नपाउँदै फेरि अर्को चलचित्र पाउने भएका छन् । 

एक्शन र प्रेम कथामा आधारित अर्को चलचित्र निर्देशनका लागि अफर आएको पाण्डेले बताए । निर्देशन गर्नका लागि सम्झौतामा हस्ताक्षर भने भइनसकेकाले अहिले नै थप जानकारी भने दिन नसकिने उनले बताए । 

पाण्डे निर्देशित चलचित्र भिलेन २७ पुसबाट प्रदर्शनमा आउने छ ।  अघिल्लो साता  भिलेन चलचित्रको पहिलो गीत ‘च्यानाकुटी झ्याई झ्याई’ सार्वजनिक गरिएको थियो । 

अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर रहेको गीतमा कपिल खत्री र अभिनेत्री शिल्पा पोखरेलले नृत्य गरेका छन् । एकनारायण भण्डारीको शब्द रहेको गीतमा लालकुमार बरालले संगीत भरेका छन् । गीतमा कोरियोग्राफी दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठको छ । गीतको अन्त्यमा अभिनेता निखिल एक्सन अवतारमा देखिएका छन् ।

 द ग्लोबल पिक्चर प्रा.लि.को ब्यानरमा कपिल खत्रीले भिलेनको निर्माण गरेका हुन् । भिलेनमा निर्माता कपिल आफै समेत प्रमुख भूमिकामा देखिएका छन् । कान्छो निर्देशकको परिचय बनाएका पाण्डे के भन्छन् त उनको सिनेमा क्षेत्रकोअ अनुभवबारे, प्रस्तुत छ उनीसंग गरिएको कुराकानीः



तपाइको दिनचर्या आज भोलि कसरी बितिरहेको छ ?

अहिले म चलचित्र ‘भिलेन’को डबिङ, त्यसै गरि मिक्सिङ र ब्याकग्राउण्ड कलर तिर व्यस्त छु । यो ‘भिलेन’ फिल्म पुस २७ गतेबाट बजारमा आउँदैछ । म अहिले यस फिल्मको काम तिव्र गतिले गर्नु पर्ने भएकोले यस मै व्यस्त रहेको छु । 

तपाइ सिने क्षेत्र र सांगीतिक क्षेत्रमा कहिलेबाट लाग्नु भएको हो

म २०५८ साल देखि यस क्षेत्रमा लागिरहेको छु । पहिले यो क्षेत्रको तल्लो तहबाट काम गर्दै सहायक निर्देशक हुँदै अहिले निर्देशकका रुपमा काम गरिरहेको छु ।  २०५८ साल पछाडिको मेरो यात्रा सिने क्षेत्र र गीत संगीतको म्युजिक भिडियो तिर नै लागि रहेको छ । 

सिने क्षेत्रमा विभिन्न स्टेप पार गर्दै यहाँ सम्म पुग्न सफल हुनु भो, यहाँ सम्म पुग्दा के कस्ता अफ्ठ्यारो मोडहरु आए ?

त्यति बेलाको समयमा सारै गाह्रो थियो । दुख थियो । काम पाउँन पनि धौ धौ थियो । अहिले काम सजिलैसंग पाउन सकिन्छ । पहिला सिक्ने ठाउँहरु थिएन । अहिले सिक्ने ठाउँहरु पर्याप्त छन् । धेरै कुराहरु सिक्न पाइएको छ । पहिला त धेरै दुख थियो ।

पहिलाको सिनेमा बजार र अहिलेको बजारमा के के फरक छ ? 

पहिला र अहिलेमा धेरै फरक छ । अहिले पुरै डिजिटल बजार छ । पहिला डिजिटल प्रबिधिक सामानहरु केहि पनि थिएन । पहिला डिभि भन्ने थियो । अहिले त्यसमा काम गर्नु पदैन । 

अहिले मनपरेका कुराहरु राख्न पाइयो । मन नपरेको कुराहरु फाल्न पाइयो । यस्तै अहिले सजिलो छ  । प्राबिधिक पक्ष फराकिलो भएको छ । काम गर्दा राम्रो हुदै गएको छ । स्तर तथा प्रगति र उन्नति बढ्दो छ । अहिले पहिला भन्दा राम्रो छ ।



यो सिने क्षेत्रमा र सांगीतिक क्षेत्रमा काम र नाम मात्र छ, दाम छैन भन्दै धेरै मान्छे बिदेश पलायन भएका छन, तपाई यो क्षेत्रमा के देखेर लाग्नु भयो ?

आफनो जन्म, मृत्यु, शिक्षा अनि जागीर भने कुरा आमाको गर्भमै  हुदाँ निश्चीत भएर आँउदो रहेछ । त्यहि लाग्छ मलाइ पनि । 

म पहिला देखि नै यस क्षेत्रमा लागें । म यो क्षेत्र पढेर–बुझेर आएकोले मलाई  कुनै समस्या छैन । मैले ४ सयको हाराहारिमा म्युजिक भिडियो बनाएको छु । फिल्मी क्षेत्रमा पनि निरन्तर काम गरि रहेको छु । 

तपाईले भने जस्तै यो क्षेत्रमा नाम छ, दाम छैन ।  तर मलाई भने यो क्षेत्र छोडेर बिदेश पलायन हुनु पर्ने अवस्था छैन, राम्रै भइरहेको छ । कमाइ पनि राम्रै छ किन भने मैले काम राम्रै ढंगले गर्दै आइरहेको छु । त्यसैले मैले दाम पनि राम्रो पाइरहेको अवस्था छ ।

तपाईले दुई दशकको सिने क्षेत्र र सांगीतिक क्षेत्रको यात्रामा कति वटा फिल्म र कति वटा म्युजिक भिडियो बनाउनु भो ?

यो दुई दशकको बीचमा मैले काम सिक्ने अवधी लामो रह्यो । धेरै कुराहरु सिकें । यस बीचमा मैले ४ सयको हाराहारीमा म्युजिक भिडियो निर्माण गरें । ती म्युजिक भिडियो अहिले बजारमा छन् । सांगीतिक क्षेत्रको कुरा गर्ने हो भने र फिल्मको कुरा गर्दा  यहाँ भन्दा अगाडि दुई वटा फिल्म निर्माण गरेकै हो । 

मैले यसअघि वान साइड लभ भन्ने चलचित्र निर्माण गरें । त्यस फिल्मले राम्रो बजार पायो  । नेपाली जनताले माया गरि दिनु भो । वान साइड लभको अपार सफलता पछि हामीले अहिले भिलेन फिल्म मेरो निर्दशनमा निर्माण हुँदै छ । यसले पनि सोचेको भन्दा राम्रो गर्ने आशा छ । दर्शकले माया गरि दिनु हुने छ ।

त्यस्तै मैले नेपाली सेनाले आयोजना गरेको लद्यु चलचित्रमा मैले निर्देशन गरेको कथा फस्ट भएको थियो । भिलेन चलचित्र सकिने बित्तिकै मैले एउटा नयाँ चलचित्र निर्देशन गर्ने लगभग पक्का भइसकेको छ । सायद त्यो फिल्म माघ, फागुन या चैत्रको पहिलो हप्ताबाट काम शुरु हुन्छ ।

तपाईको पुस २७ गते बजारमा आउने फिल्ममा के कस्ता विषय बस्तु समेट्नु भएको छ ?

यो भिलेन  फिल्ममा भिलेन भन्ने बित्तिकै नामले नै जनाइसकेको छ  फिल्मको बारेमा ।  यसमा कलाकारहरु निखिल उप्रेती, सिल्पा पोखरेल, निशान अधिकारी रहेका छन् । 

बलबहादुर श्रेष्ठ र कपिल खत्री यसमा निर्माता रहनु भएको छ । यो कथा पहाड र तराईबीचमा बढेको दुरी दुर गर्नुपर्छ भन्ने शन्देशमुलक पनि हो ।  यो एक दमै प्रेम कथावस्तु आधारित फिल्म हो । 

यो भिलेन तपाईले पहाड र तराई बीचको सम्बन्ध गाढा पार्ने भनेर निर्माण गर्नु भएको छ भन्नु भयो, संभव छ त ? 
अवश्य राम्रो छ । एकदम राम्रो फिल्म बनेको छ । हामीले एकदम राम्रो मिक्सिङमा ध्यान दिएर काम गरेका छौं । प्राबिधिक पक्षमा पनि त्यति नै मेहनत गरेका छौ । 

सबै काम राम्रो संग गरेका छौ । निखिल उप्रेतीको फिल्म नआएको पनि लामो समय भयो । त्यस कारणले पनि दर्शकले यो भिलेन फिल्म पर्खिरहेका छन् भने आशामा छौ ।

सिने क्षेत्रमा मान्छे सुरुमा रहर देखाउँछन्, लाग्छन् पछि यसमा केहि छैन भन्दै बिदेश पलायन हुन्छन, यस्तो अवस्था के कारणले आँउछ, यसमा तपाई के भन्नु हुन्छ ?

पहिला काम तथा यो क्षेत्रको बारेमा पुरा कुरा नसिकेर सिने क्षेत्रमा प्रवेश गरेको पीडा हो ।  सिकेर आउने हो भने यसमा कुनै  दुख छैन । मिहेनत गरेर आउनु प¥यो । यो राजनीतिक पेशा जस्तै हो । यसमा लामो समय सम्म कुर्न पर्छ । तत्कालै अहिले केही पनि रिजल्ट पाइदैन । त्यो कुरा सोचेर आउनु पर्छ सिने क्षेत्रमा सफल भइन्छ ।

नेपाली सिने बजार आफैँमा साँघुरो छ, पहिलेको र अहिलेको सिने बजारमा के फरक छ ?

मैले अघि पनि भनिसके अहिले चाहि पुरानो प्रविधी छैन, डिजिटल युग छ । मन परेको मेमोरिमा हालेर किन्न सक्छन । पन नपरेको फाल्न सक्छन् । त्यस कारण राम्रो कुरा दिन सक्नु पर्छ ।

पहिला त्यस्तो थिएन । साघुँरो दायरा थियो । अहिले बिश्व भर सिने क्षेत्रको सञ्जाल छ । अहिले मलेसिया, साउदी, अमेरिकामा गएर चलचित्र चलाउन सकिन्छ । आनन्दले नेपाली दर्शक बढ्नु भएको छ । 

नेपाली चलचित्रमा पनि एउटा स्थान छ । हामीले बलिउड, हलिउड संग  टक्कर  गर्न सक्छौं  भन्ने स्थिती नेपाली चलचित्रमा बढेको छ ।



चलचित्र निर्माण गर्दा कस्तो गाह्रो हुँदो रहेछ, तपाइको अनुभव सुनाइ दिनुस् न ?

अत्यन्त गाह्रो हुन्छ । लाम्रो सयम दुख गरेर आउनु पर्दछ । यसलाई सिक्नु पर्दछ । जान्नु पर्छ । जानेर सिकेर गर्ने कुरा हो । यतिकै गर्न सकिदैन । दुख हुन्छ । एकदम दुखको विषय हो सिने क्षेत्र  । सब भन्दा गाह्रो चिज यहि  छ । 
दर्शकलाई हामीले राम्ररी माया दिइरहेका हुन्छौ, कसरी सन्तुष्ट पार्ने भनेर सोचिरहेका हुन्छौं । कुनै बेला नराम्रो लागि दियो भने नराम्रो भनिदिए पुग्छ । 

किन भने त्यो दुख पीडा त्याग कसैलाइ पनि थाहा हुन्न । त्यो प्राविधीक र कलाकारहरुलाई मात्र थाहा हुन्छ कति दुख हुन्छ भनेर । संसारमा सबैभन्दा ठुलो गाह्रो काम भनेकै चलचित्र बनाउनु हो । यो ठुलो चुनौती हो ।

आगामी दिनमा सिने क्षेत्रमा लाग्न चाहनेहरुको लागि के भन्न चाहनु हुन्छ ?

म यो सिने जगतमा आउने युवा युवतीहरुलाई के भन्न चाहन्छु भने कसैको देखा सिकी गरेर नआउनुुस्, दुख पाइन्छ । 

यो क्षेत्रमा जम्न सारै गाह्रो छ । तपाई यो क्षेत्रमा आउन चाहनु हुन्छ भने पहिलो काम सिकेर आउनु ।  यो सिने क्षेत्रको बारेमा बुझेर आउनुस् । अहिले नेपाली सिने क्षेत्र यति फराकिलो भएको छ । 

सबैलाई एउटा चलचित्र राम्रो व्यावसायीक रुपमा अंगालेर हेर्न सकिने व्यवस्था छ ।  त्यसैले धेरै कुरा बुझेर मात्र आउनुहोस् भन्न चाहन्छु । 


0 comments

Write Down Your Responses