Powered by Blogger.
चुनियाँ हुँदै कैलाश गाउँपालिका जाने सडक कालोपत्रे गर्छु : काँग्रेस नेता बानियाँ


हेटौँडा / प्रदेश ३ का प्रमुख विपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले वर्षौदेखि अधुरो रहेको चुनियाँ नामटार कालिकाटार सडक कालापत्रे गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा मकवानपुरको विकट गाउँ कैलाश गाउँपालिका १० स्थित कुमलटारमा शुक्रबार आयोजित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले आगमी चार वर्षभित्रमा स्तरोन्नतिसँगै कालोपत्रे गर्ने बताउनु भयो ।
११ औँ निर्माण दिवशको अवसरमा शुक्रबार सामुदायिक स्वास्थ्य क्लिनिकको परिसरमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
सडक निर्माण भएपछि ग्रामीणक्षेत्र सुगम बन्ने र स्वास्थ्यलगायतका सेवामा पहुँच वृद्धि हुने भएकोले पूर्वाधार निर्माणमा आफूले जोड दिएको बताउनुभयो ।
उहाँले निर्माण व्यवसायीलाई वर्तमान सरकारले अपराधीलाई जस्तै व्यवहार गर्ने गरेको बताउँदै निर्माण व्यवसायीहरुलाई कार्यस्थलमा इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो ।
स्थानीय बासिन्दालाई आफ्नो स्वास्थ्य समस्याको समयमा उपचार गर्न भन्दै स्थानीयको स्वास्थ्य उपचारमा सहयोग गर्ने बताउनुभयो । 
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष आनन्दराम पराजुलीले राष्ट्र निर्माण निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै सरकारले निर्माण व्यवसायीमाथि गलत व्यवहार गरिरहेको बताउनुभयो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर विष्णुमणि धितालले स्थानीयलाई रोग लुकाएर नराख्न र समयमा उपचार गर्न भन्दै स्वास्थ्य विमा गर्न आग्रह गर्नुभयो ।
संघका अध्यक्ष श्यामसुन्दर ढकालले संघले सामाजिक उत्तरदायित्वअन्तर्गत निर्माण दिवशका अवसरमा स्वास्थ्य शिविर आयोजना गरेको बताउँदै स्थानीय बासिन्दाको स्वास्थ्य सेवाका लागि आवश्यक थप सहयोग गरिने बताउनुभयो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष आनन्दराम पराजुली, वरिष्ठ उपाध्यक्ष बालगोपाल कँडेल, कैलाश गाउँपालिका वडा नम्बर १० का अध्यक्ष मानिकलाल मोक्तान र प्रेम सेवा समाजका अध्यक्ष मीरा स्याङ्तानले स्थानीयको स्वास्थ्य अवस्थाको बारेमा चर्चा गर्नु भएको थियो ।
शिविरमा डाक्टर विष्णुमणि धिताल, डाक्टर आरिफ करिम र डाक्टर राहुल श्रेष्ठसहितको टोलीले स्वास्थ्य शिविरमा स्थानीय दुईसयभन्दा बढीको स्वास्थ्य जाँच गर्नु भएको थियो ।
न्यू त्रिवेणी मेडिकलको सौजन्यमा भएको शिविरमा आएकाहरुलाई इसिजी सेवासँगै रक्तचाप, सुगर, मुटुरोगलगायतका विरामीहरुको स्वास्थ्य जाँच गरिएको थियो । संघका उपमहाचिव भवनाथ अधिकारीको संयोजनमा भएको स्वास्थ्य शिविरबाट कैलाश गाउँपालिकाको ३, ४, ९ र १० वडाका बासिन्दाहरु लाभान्वित भएका छन् ।

0 comments

Write Down Your Responses