Powered by Blogger.
चित्लाङ–थानकोट सडक अलपत्र, ठेकेदारको चरम लापरवाही


मकवानपुर । ठेकेदार कम्पनीको लापरबाहीका कारण निर्माणाधीन  गणेशमान सिंह सडक  अर्थात चित्लाङ–थानकोट सडक अलपत्र अवस्थामा छ । 

गणेशमान सिंह राजमार्गका रुपमा परिचित सडक निर्माणको जिम्मा पाएको किराँतेश्वर कन्स्ट्रक्सनले काममा लापरबाही गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । स्थानीयले छिटो सडक निर्माण कार्य सम्पन्न गर्न निरन्तर दबाव दिइरहेका छन् । 

सुरुङ निर्माणको समेत योजना रहेको २२ किलोमिटर लामो थानकोट–चित्लाङ सडक उच्च प्रविधियुक्त र छिटो बनाउनुपर्ने भए पनि त्यसो हुन सकेको छैन । ठेकदार कम्पनी पिएस–किराँतेश्वर जेभिको लापरबाहीका कारण चित्लाङका मात्रै नभएर आसपासका गाउँका बासिन्दाले समेत सास्ती भोग्दै आएका छन् । 

पर्यटकीय गाउँ मकवानपुरको थाहा नगरपालिका स्थित चित्लाङलाई थानकोटसँग जोड्ने गणेशमान मार्गमा ठेकदारले काम नगरी बाटो मात्रै बन्द गरेर सास्ती दिएको भन्दै गत जेठमा स्थानीयले जर्बजस्ती बाटो खुलाएका थिए । पछिल्लो पटक थाहा नगरपालिका वडानम्बर ९ र १० का वडा अध्यक्षसहित स्थानीय बासिन्दा कलंकीस्थित सडक आयोजना कार्यालय पुगेका थिए । 

उनीहरुले सडक छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्न सरोकारवालालाई दवाव दिनुको साथै लिखित सहमति समेत गराएका छन् । 

आयोजना प्रमुख ध्रुव नारायण पाण्डेय र निर्माण कम्पनीका प्रतिनीधि सनक सिंह राई समेतको उपस्थितिमा मंसिरसम्म सडक निर्माणको काम सम्पन्न गर्नेगरि सहमति गराइएको छ । सहमतिमा गणेशमान सिंह मार्ग (थानकोट चित्लाङ सडक आयोजना) ठेक्का नम्बर ३३७११०४ ०७२–७३ –००२ को कार्य साउन १५ गतेबाट सुचारु गराउने निर्णय गरिएको छ । त्यस्तै ठेक्काको सम्पूर्ण कार्य ०७६ मंसिर मसान्तभित्र सम्पन्न गर्ने, बैकल्पिक मार्ग मातातीर्थ (चखेल–चित्लाङ सडकखण्डको मर्मतका लागि थानकोट चित्लाङ सडक योजना मार्फत सडक विभागसँग आवश्यक बजेटमाग गर्ने सहमति भएको छ । 

बैकल्पिक मार्गको अवस्था आवतजावत् उपयुक्त नभएको  भन्दै गएको जेठमा स्थानीय बासिन्दाले निर्माणाधीन मार्गको काम रोकेर आवागमन सुचारु गराएका थिए । त्यसैगरी गणेशमान सिंह मार्गलाई दसैं र तिहार जस्ता चाडपर्वका लागि भने अस्थायी रुपमा सञ्चालनमा ल्याउने सहमति भएको चित्लाङका अगुवा बुद्धरत्न मानन्धरले जानकारी दिए । ‘अब काममा आलटाल सैह्य हुनेछैन ।

 आयोजना कार्यालय र निर्माण कम्पनीले मंसिर मसान्तसम्म काम सम्पन्न गराउने सहमति गरेका छन् ,’ उनले भने । स्थानीयले थाहा नगरपालिका वडा नं ९ र १० का कर्मचारी समेत राखेर सडक निर्माण कार्यको दैनिक अनुगमन गर्ने र लापरबाही गरेको पाइएको खण्डमा झन् कडा कदम चाल्ने चेतावनी समेत दिएका छन् ।

वडा नं ९ का अध्यक्ष परशुराम श्रेष्ठले निर्माण कम्पनीले चार महिना समय दिएको खण्डमा काम सम्पन्न गर्ने आश्वासन दिएपछि एक पटकलाई मौका दिइएको बताए । चित्लाङ–थानकोट सडकलाई थाहानगरको मुख्य विकासको मार्गको रुपमा लिने गरिएको छ । 

सडक निर्माण सम्पन्न भएको खण्डमा चित्लाङ, बिसिंखेल, टिस्टुङ बज्रबाराही मात्रै नभएर पालुङमा उत्पादित तरकारी राजधानी र्पुयाउन र त्यस क्षेत्रका बासिन्दालाई आवतजावत् गर्न सहज हुन्छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, आयोजना कार्यालय लगायतले तदारुकता नदेखाउँदा निर्माण कार्यले तीव्रता पाउन नसकेको स्थानीयले बताउँदै आएका छन् । समयमा काम नगर्ने ठेकदार कम्पनीले त्यस क्षेत्रबाट ढुंगा निकालेर बेच्दै आएको आरोपसमेत लाग्दै आएको छ ।

–अनलाइनखबरबाट

0 comments

Write Down Your Responses