Powered by Blogger.
पहिलाजस्तो चलचित्र डुब्ने सम्भावना निकै कम हुन्छ

देवेन्द्र पाण्डे, निर्देशक
देवेन्द्र पाण्डेले उमेरले हजुरबा भन्नेसम्मका वरिष्ठ कलाकारहरूलाई फिल्ममा अभिनय गराउनु भएको छ ।  सुरुमा पाण्डेलाई देख्नेले राम्रो काम गर्छ भनेर पत्याउँदैनन् । 

तर, काम गर्दै जाँदा पाण्डेसँग यत्ति निकट हुन्छन् कि पुनः अर्को फिल्म वा म्युजिक भिडियोहरूमा दोहो¥याएर काम गर्ने हुट्हुटी लागेको उहाँको निर्देशनमा काम गर्नेहरू नै बताउँछन् । धादिङको धुनबेँसी नगरपालिका वडा नं. ३ मा बुबा नारायणबहादुर पाण्डे र आमा कान्छी पाण्डेको कोखबाट ०४६ सालमा जन्मिनु भएका पाण्डेको बाल्यकाल काठमाडौं उपत्यकामा बित्यो । 

उहाँले काठमाडौंलाई नै कर्मथलो बनाउनु भएको छ । प्रस्तुत छ जनप्रशासनतर्फ स्नातकोत्तर तहमा अध्ययनरत पाण्डेसँग गरिएको कुराकानीः 

तपाईँ चलचित्र निर्देशमा कसरी लाग्नुभयो ?

चलचित्र क्षेत्र मेरा लागि एउटा विश्वविद्यालय नै हो । चलचित्र क्षेत्रमा म ०५८ सालदेखि क्रियाशील छु । सानैदेखि चलचित्र क्षेत्रमा लागेको हुँ । ०५८ सालमा चलचित्रमा ग्रुप डान्समा नृत्य गरेको थिएँ । ०६३ सालमा एसएसली सकियो ।

अरु गीतहरूमा पनि नाँच्दै गएँ । वरिष्ठ निर्देशक शिव शर्माको असिस्टेन्टमा चलचित्र निर्देशन गरेँ । उहाँको मुख्य सहायक निर्देशक भएर लामो समय काम गरेँ । धेरै फिल्ममा काम गर्ने मौका पाएँ । ‘हत्याकाण्ड’, ‘आफ्नै मनलाई सोधेर’, ‘पर्खी राख है’ लगायत फिल्म शिव शर्माले निर्देशन गर्नुभएको चलचित्र हुन् । उहाँको असिस्टेन्ट गर्दै मैले म्युजिक भिडियो निर्देशन गर्ने मौका पाएँ ।

यहीबीचमा मलाई एउटा फिल्म निर्देशन गर्न अफर आयो । त्यो फिल्म ‘वान साइडलभ’ थियो । फिल्म सोँचेभन्दा धेरै राम्रो भयो । धेरैले मन पराइदिनुभयो । त्यसपछिमलाई झन् हौसला बढ्यो । केही समयपछि चलचित्र ‘भिलेन’ निर्देशन गरेँ । ‘भिलेन’ पनि सोँचेभन्दा धेरै राम्रो चल्यो । ‘भिलेन’ पछि मलाई धेरैले झन् हौसला दिनुभयो ।

चलचित्र र म्युजिक भिडियो कति वटा निर्देशन गर्नुभएको छ ?

चलचित्र दुई वटा निर्देशन गरेँ । ती दुवै चलचित्र राम्रो बनेका छन् । नाम चलेका कलाकारले अभिनय गर्नुभएको छ । म्युजिक भिडियो तीन सयभन्दा धेरै निर्देशन गरेको छु ।

फिल्म क्षेत्रमा नै किन लाग्नुभयो ?

मेरो चाहना फिल्म निर्देशक बन्ने थियो । म्युजिक भिडियोको पार्ट मेरो दोस्रो कुरा हो । निर्देशक बन्नका लागि म्युजिक भिडियोले थोरै सहयोग गरेको छ ।

यसले पनि भोलिका दिनमा निर्देशनलाई सहयोग गर्छ भनेर म्युजिक भिडियो निर्देशन गरेको हुँ । म्युजिक भिडियोले फिल्म निर्देशनलाई सहयोग मिल्छ ।

 चलचित्र र म्युजिक भिडियो निर्देशन गर्दा दिमाग लगाउने विषय उस्तै हो । चलचित्र लामो हुन्छ, धेरै विषय राख्न सकिन्छ । म्युजिक भिडियो छोटो हुन्छ । थोरै समयमा दर्शकले बुझ्ने गरेर सबै कुरा समेट्नु पर्छ ।

नेपाली चलचित्रहरूको स्तरीयतामा प्रश्न उठ्ने गरेको छ नी ? राम्रा बनेका छन् त ?

अहिलेका नेपाली चलचित्रहरू धेरै राम्रा र उत्कृष्ट बनेका छन् । पहिला ‘डिभी’ थियो । पहिला चलचित्र ‘क्यान’मा खिचिन्थ्यो । अहिले चलचित्र बनाउन डिजिटल प्रविधि आएको छ । मन नपरेको कुरा डिलिट गरेर मजाले अर्को सिन खिच्न सकिन्छ । अहिले धेरै राम्रो भएको छ ।

चलचित्र बनाउने प्रविधि नेपालमा कस्तो  पाउनुभएको छ ?

पहिलाको भन्दा धेरै राम्रो प्रविधि नेपालमा आइसकेको छ । चलचित्र बनाउन पहिला जस्तो झन्झटिलो छैन । डिजिटल प्रविधि आइसक्यो । चलचित्रको गुणस्तर पछिल्लो समय ह्वात्तै बढेको छ ।

दृष्य, साउन्ड, कलर, अभिनय, गीत, संगीत सबै राम्रा हुने गरेका छन् । नयाँ टेक्नोलोजी आएको छ । नयाँ क्यामराहरू आएका छन् । पहिला क्यान, डिभी, पाल भन्ने थियो । अहिले त्यो प्रविधि छैन ।

अहिलेको युग भनेको डिजिटल युगहो । ममोरीबाट मन परेको कुरा राख्यो । मन नपरेको कुरा डिलिट ग¥यो ।

चलचित्र निर्देशनमा लागेपछि पुरस्कार वा सम्मान पाउनु भएको छ कि छैन ?

पाएको छु । धेरै ठाउँमा बोलाएर सम्मान पनि गर्नु भएको छ । राष्ट्रिय स्तरका अवार्डहरू पनि पाएको छु । नेपाली सेनाबाट पनि अवार्ड पाएको छु । गाउँ ठाउँमा हुने स–साना पुरस्कार र सम्मान पनि पाएको छु ।

मेरो कामको मूल्यांकन गरेर अवार्ड र सम्मान दिँदा खुसी लाग्छ । अझै केही गरौँ भन्ने हौसला जागेर आउँछ । रापती समाजको राष्ट्रयस्तरको अवार्ड पनि पाएको छु ।

चलचित्रमा लाग्नु हुन्छ कि यो क्षेत्रबाट पलायन हुनुहुन्छ ?

चलचित्र निर्देशन नै मेरो पेसा हो । यो क्षेत्रलाई छाड्ने कुरै आउँदैन । बरु आगामी दिनमा कसरी राम्रो निर्देशक बनेर अझै राम्रा चलचित्र कसरी दिउँ भन्नेतिर लागेको छु ।

नयाँ चलचित्र बनाउने योजना छ कि छैन ?

‘जन्ते बाख्रो’ चलचित्र बनाउने योजना बनाएको छु । तयारीहरू पनि भइरहेको छ । यो चलचित्र हाँस्यप्रधान हुनेछ । स्क्रिप्टको लेबलमा छु । फाइनल गर्दै छु ।

एउटा चलचित्र बनाउन कति लाग्छ ?

चलचित्र बनाउन अहिले त एक करोडभन्दा माथि नै खर्च हुन्छ । करोडभन्दा कम पैसामा चलचित्र नै बन्दैन ।

यति धेरै पैसा लगानी गरेर बन्ने चलचित्रको पैसा उठ्छ कि उठ्दैन ?

अहिले त चलचित्र राम्रोसँग बनाउने हो भने पैसा उठ्छ । चलचित्र हलबाट पनि राम्रो पैसा उठ्छ । युट्युबको बजार पनि छ । पहिलाजस्तो चलचित्र डुब्ने सम्भावना निकै कम हुन्छ । हिन्दी फिल्मभन्दा नेपाली दर्शकहरू नेपाली चलचित्रमा आकर्षित हुने गरेका छन् ।

चलचित्रतिर लाग्न तपाईलाई प्रेरणा कसरी मिल्यो ?

म बच्चैदेखि नृत्य गर्न जानेको थिएँ । नाच्दानाच्दै चलचित्र क्षेत्रमा लागेको हुँ । राम्रो निर्देशक बन्ने योजनाका साथ चलचित्रमा लागेँ । घरपरिवारमा पनि मलाई साथ थियो ।

तपाईको उमेर पनि सानो रहेछ । चलचित्रको निर्देशन गर्नु हुन्छ । कलाकारहरू तपाईभन्दा उमेर र अनुभवले ठूलो हाइटका हुन्छन् । काम कसरी गर्नु हुन्छ ?

म उमेरले मात्रै सानो । ज्ञान र सीप तथा अनुभवले सानो छैन । सुरुमा नपत्याउँने । काम हेरेपछि उहाँहरू पनि चकित हुने भएको छ । यस्तो फुच्चेले पनि राम्रो काम गर्ने भन्ने हुन्छ ।

चलचित्रमा कलाकार क–कसलाई अभिनय गराउनु भयो ?

नाम चलेका सिनियर कलाकार लगभग सबैसँग काम गरेको छु । फिल्म र म्युजिक भिडियोमा खेलाएको छु । निर्देशन गरेको छु । महानायक राजेश हमाल, नायिका करिष्मा मानन्धर, नायक निखिल उप्रेती, नायिका शिल्पा पोखरेल, नायिका निशा अधिकारी, नायिक ध्रुव कोइराला अधिकांश कलाकारसँग काम गरिसकेको छु ।

ती ठूला कलाकारले निर्देशनका बेला केही भन्नु भएको छ ?

उहाँहरूले केही भन्नु हुन्न । सुरुमा आश्चर्यका साथ हेर्नु हुन्छ । काम गर्दै जाँदा मेरो काम देखेर खुसी हुनुहुन्छ । धन्यावाद दिनु हुन्छ । मैले काम गर्ने भनेको प्रोफेसनल रूपमा हो ।

 लप्पनछप्पन जानेको छैन । सबैले माया गर्नुहुन्छ । सानैमा पनि राम्रो प्रगति गरेछ, भन्नुहुन्छ् ।

नेपालमा कस्ता खालका चलचित्र चल्छन् ?

टिपिकल खालका चलचित्र चल्छन् । हाँस्य प्रधान चलचित्र चल्छन् । मैले नयाँ चलचित्र पनि त्यस्तै खालको बनाउँदै छु । दर्शकको भावना बुझेर चलचित्र बनाउनेछु । फरक स्वादको ‘जन्ते बाख्रो’ बनाउने सोचमा छु ।

हिन्दी र नेपाली चलचित्रमा फरक हुन्छ कि हुँदैन ?

धेरै फरक हुन्छ । हिन्दी चलचित्रको मेकिङदेखि लिएर अन्य विविध विषयहरू राम्रो हुन्छ । हिन्दी चलचित्रको पब्लिसिटीदेखि खर्च धेरै गरिएको हुन्छ । त्यो कुरा नेपालमा छैन । भारतको एउटा प्रान्तको जति नेपालमा दर्शक पनि हुँदैनन् । नेपालमा थोरै दर्शक हुनुहुन्छ ।

हिन्दीको लगानी पनि धेरै हुन्छ । दर्शक पनि धेरै हुन्छन् । हाम्रो दर्शक र लगानी पनि थोरै छन् । सोहीअनुसार चलचित्र बन्ने हो ।

चलचित्र कथा र प्रविधिक विषयमा तालमेल मिलेको हुँदैन भन्छन् ?

त्यस्तो हुँदैन । सबैले मेहनत गरेर चलचित्र बनाएका हुन्छन् । कुनै–कुनै चलचित्रमा तालमेल नमिलेको हुन सक्ला । सकेसम्म सबै विषय तालमेल मिलेकै हुन्छ । पछिल्लो समय धेरै लगानी गरेर चलचित्र बनेका छन् ।

सबैलाई आफ्नो लगानी नडुबोस् भन्ने हुन्छ । आफ्नो सिर्जनाको माया सबैलाई हुन्छ ।



0 comments

Write Down Your Responses