Powered by Blogger.
अस्ताए नख्खु जेल ब्रेकर वीरबहादुर लामा, प्रधानमन्त्री ओली, सभामुख सापकोटा, माले महासचिव मैनाली लगायतद्धारा शोक व्यक्त


काठमाडौं । पुराना कम्युनिष्ट नेता एवं पुर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । यही कात्तिक २३ गते आइतबार लामाको निधन भएको हो ।

 

स्वर्गीय लामाको यही २६ गते बुधबार अन्तिम श्रद्धाञ्जली सहित स्वयम्भुमा अन्तेष्टी गरिएको छ ।  लामाको निधनप्रति सभामुख अग्निप्रसाद सापकोटाले शोक व्यक्त गर्नुभएको छ । उहाँले बुधबार वक्तव्य जारी गर्दै दिवंगत लामाप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको हो ।

 

  सभामुख सापकोटाले जारी गर्नुभएको वक्तव्यमा स्वर्गीय लामाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको योगदान सधैं स्मरण्मीय रहने उल्लेख गर्नुभएको छ ।


 

 

उहाँले वक्तव्यमा भन्नुभएको छ, ‘वि.सं. ०५६ सालमा मकवानपुर जिल्ला क्षेत्र नं ३ बाट प्रतिनिधीसभामा  निर्वाचित पुर्व सांसद, लोकतान्त्रिक आन्दोलनका योद्धा, सादा जीवन व्यतित गर्नुभएका देशभक्त नेता एवं मेरा प्रिय मित्र वीरबहादुर लामाको यही कात्तिक २३ गते विहान उपचारका क्रममा निधन भएको खबरले मलाई स्तव्ध बनाएको छ । ’

 

त्यसो त लामाको निधनको खबर लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, सभामुख सापकोटा, उपप्रधानमन्त्री इश्वर पोखरेल, बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल,  मुख्यमन्त्री शंकर पोखरेल लगायतले शोक व्यक्ति गर्नुभएको छ । साथै माले महासचिव सिपी मैनालीले पनि शोक वक्तव्य जारी गर्नुभएको छ ।


 

 

यसैगरी मन्त्री भानुभक्त ढकाल, कृष्णगोपाल श्रेष्ठ,  पुर्वमन्त्रीहरु थममाया थापा, शेरबहादुर तामाङ, गोकुल बास्कोटा, संसदीय समितिका सभापतिहरु रामनारायण बिडारी, कृष्णप्रसाद दाहाल, परशुमेघी गुरुङ, प्रदेश मन्त्री रामेश्वर फुँयाल,  सांसद विरोध खतिवडा,  विशाल भट्टराई, शुसीला नेपाल, गोरख बोगटी, नेकपाका नेताहरु भीम रावल, टंक कार्की, काशीनाथ अधिकारी, प्रदिप नेपाल, प्रदीप कटुवाल, शान्ती पाख्रिन,  मुनु सिग्देल, संविधानसभा सदस्य सुभाष ठकुरी, अनन्त पौडेल लगायतले सामाजिक सञ्जाल मार्फत शोक सन्देश जारी गर्नुभएको थियो ।

लामाको पार्थिव शरिरमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मंगलबार कम्युनिष्ट पार्टीको झण्डा ओढाउँदै पार्टीको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । 


 

बुधबार भने लामाको अन्तिम श्रद्धाञ्जली सहित लामा परम्परा अनुसार अन्तेष्टी गरिएको हो । सभामुख सापकोटाले अन्तिम श्रद्धाञ्जली सहित राष्ट्रिय झण्डा ओढाउने कार्यक्रम तय भएपनि प्राविधीक कारणले उहाँ आउन नसक्नुभएको अन्तेष्टी कार्यक्रममा सहभागी पुर्वमन्त्री तथा नेकपा नेता एवं प्रतिनिधीसभा सदस्य हितबहादुर तामाङले जानकारी दिनुभयो ।

 

उहाँले लामा महान क्रान्तिकारी योद्धा भएको बताउँदै उहाँले योगदान नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपुर्ण रहेको बताउनुभयो । 

स्वर्गीय लामाप्रति श्रद्धाञ्जली प्रकट गर्दै सहभागीहरुले लामाको योगदानको कदर राज्यतहबाट भने हुन नसकेको गुनासो गरे ।


 

कार्यक्रममा पुर्व मन्त्री शेरबहादुर तामाङ, दिलमान पाख्रिन, संसदीय समितिका सभापति तथा नेकपा नेताहरु रामनारायण बिडारी, कृष्णप्रसाद दाहाल, सांसद विरोध खतिवडा, संविधानसभा सदस्य सुवास ठकुरी, सांसद शान्ती पाख्रिन लगायत उपस्थित थिए । 



को हुन् वीरबहादुर लामा ?

तत्कालिन कोअर्डिनेशन केन्द्र, माले हुँदै झापा आन्दोलनका मोर्चामा सहभागी भई पछिल्लो कालमा एमालेमा सक्रिय राजनीति गरेका थिए वीरवहादुर लामाले । 

 

पुराना कम्युनिष्ट नेता लामा नेपाली राजनीतिमा २०३३ साल चैत १२ गते राती भएकोे ‘नख्खु जेलब्रेक’ को घटनाका मुख्य व्यक्तित्व हुन् । राजवन्दीको रुपमा जेल परेपछि नख्खु जेल तोडेर उम्किन सफल तत्कालिन नेकपा एमालेका केन्द्रीय सल्लाहकार, केन्द्रीय कमिटी सदस्य तथा नेपाल लोकतान्त्रिक तामाङ संघका संस्थापक अध्यक्ष रहेका लामाको पार्थिव शरिरमा नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीको झण्डा ओढाएका थिए ।

मंगलबार स्वयम्भु स्थित वुद्ध धर्म सेवा संघमा आयोजित एक संक्षिंप्त शोेक सभामा नेता नेपालले लामाको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एक सादगी र इमान्दार व्यक्ति गुमाएको धारणा राखे । स्वर्गीय लामाप्रति अन्तिम श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गर्दै नेता नेपालले लामालाई राज्यले अन्तिम अवस्थामा आएर बेवास्ता गरेको स्विकारे ।


 

 

श्रद्धाञ्जली कार्यक्रममा नेकपाका नेता राजेन्द्र पाण्डे, माधव पौडेल, केन्द्रीय सदस्य निरज आचार्य, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका उपाध्यक्ष पासाङ शेर्पा, सचिव रामचन्द्र बल, नेकपा मकवानपुरका नेता तथा स्वर्गाीय वीरबहादुरका ज्वाई जीवन लामा लगायत सहभागी भएका थिए । 

नेपाली राजनीतिक इतिहासमा बेलाबेला चर्चा भइरहने घटना हो, नख्खु जेल ब्रेक । ४४ वर्षअघि नख्खु जेल तोडेर भाग्नेमध्येका एक लामा दुई वर्षदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित थिए । ७० वर्षीय लामाको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनी नियमित डायलसिस गराइरहेका थिए ।

 

२०३३ चैत १२ उनीसहित तत्कालीन मालेका महासचिव सीपी मैनाली, प्रदिप नेपाल, गोपाल शाक्य, माधव पौडेल, नारद वाग्लेलगायत १५ जना जेल ब्रेक गरी भागेका थिए । तीमध्ये १३ जना फाखेल मकवानपुर स्थित सलेमले डाँडाको जंगलमा एक महिनासम्म लुकेर बसेका थिए ।  

लामाकै अग्रसरतामा नख्खु जेलमा रातारात सुरुङ खन्ने काम भएको थियो ।  महासचिव सिपी मैनालीको निर्देशनअनुसार लामा र माधव पौडेलले सुरुङ खन्न थालेपछि अरूले पनि  साथ दिएका थिए । लामा रातभर सुरुङ खन्ने काममा खटिन्थे, दिनभर सुत्थे । एक महिनामा ६५ हात लामो सुरुङ खनेपछि त्यहींबाट उनीहरू भागेका थिए । 

आफ्नो विचार हक्कीसाथ राख्ने लामालाई २०३२ वैशाख १९ मा अन्तर्राष्ट्रिय मई दिवसका दिन प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो । झापा संघर्षको समर्थन गर्दै राजतन्त्रको विरोध र गणतन्त्रको पक्षमा पर्चा छर्ने क्रममा उनी समातिएका थिए । उक्त पर्चा काठमाडौंस्थित नेपाल कोरीया मैत्री संघको कार्यालयमा तयार गरिएको थियो । पक्राउ पर्नुअघि लामा मैत्री संघमा कार्यालय सहयोगीका रुपमा जागिरे थिए ।

 

प्रदिप नेपाल, राजेन्द्र पाण्डे, माधव पौडेल, गोपाल शाक्यलगायत मिलेर मुस्लो समुह नामको संगठन खोलेका थिए । त्यही संगठनका नाममा काठमाडौंमा पर्चा छरिएको थियो । पर्चा छरेकै कारण अदालतले लामालाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना गरेको थियो । कैद भुक्तानी गर्ने क्रममा नै भद्रगोल जेल हुँदै पौडेल, नेपालसहित लामालाई पनि नख्खु जेल पु¥याइयो ।


 

 

त्यहीं मैनालीलगायत अरू नेतासँग लामाको भेट भएको थियो । लामाकै अगुवाइमा २०३७ सालमा फाखेलमा बसेको मालेको केन्द्रीय समिति बैठकले क्रान्तिको नयाँ कार्यदिशा पारित गरेको थियो ।

 

लामा २०४९ मा मकवानपुर जिल्ला विकास समितिका सभापति भए । उनकै पहलमा कुलेखानी, फाखेल–फर्पिङ सडक निर्माण भएको हो । भीमफेदी हुँदै कुलेखानीसम्म १६ किमि सडक विद्युत् प्राधिकरणले निर्माण गरेको थियो । उक्त सडकमा प्राधिकरणबाहेक अन्य सवारी चल्न पाउदैनथे ।

 

लामाको अगुवाइमा उक्त सडक सबैका लागि सहज पारिएको थियो । २०५६ को प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुर क्षेत्र नं ३ बाट लामा निर्वाचित भए । जिविस सभापति र सांसद हुँदा पनि उनको आर्थिक जीवनमा कुनै पनि परिवर्तन भएन ।

 

आर्थिक अभावकै कारण उपचार गर्नसमेत समस्या भयो । पछिल्लो पटक अस्पतालले बेहोस भएपछि मात्र भर्ना लियो, जुन बेला उनको अवस्था जटिल भइसकेको थियो । परिवारले उपचारमा सहयोग गरिदिन सरकार र विभागीय मन्त्रीसंग अनुनय गरेका थिए ।


 

 

महंगो नीजी अस्पतालमा उपचार गर्न आर्थिक हैसियत नभएपछि उनको परिवार सधैं पाटन अस्पतालमा जान्थ्यो ।  पछिल्लो पटक चारपटक कोरोना निगेटिभ रिपोर्ट आएपछि मात्र अस्पतालले जटिल स्वास्थ्य अवस्था भन्दै आइसीयुमा भर्ना लियो ।

 

अन्तत आइतबार विहान ४ बजे चिकित्सकहरुले उनलाई मृत घोषणा गरे । २०६८ मा अशोक राइसंगै नेकपा एमाले छाडेर संघीय समाजवादीमा लागेका उनी पछिल्लो समय राजनीतिमा सक्रिय थिएनन् । त्याहा पनि सन्तुष्ट हुन नसकेपछि उनी सबै पाटी छोडेर स्वतन्त्र वामका हैसियतामा रहेका थिए । 

पछिल्लो पटक ‘जीवनको उत्तरार्धमा पुरानै पार्टीमा फर्कर्ने मन भएको’ उनका निकटवर्तीहरुसंग उनले बताउदै आएका थिए । सादा जीवन, उच्च विचारका हिमायती उनी इमानदार नेताका रुपमा परिचित थिए । कम्युनिष्ट भएर सुविधाभोगी हुनुहुँदैन भन्ने मान्यता उनको थियो । 


 


0 comments

Write Down Your Responses