Powered by Blogger.
टिस्टुङको बाराही जात्रा यो पटक पनि स्थगन गर्न आग्रह

 


टिस्टुङ (बज्रबाराही) । कोरोना कहरका कारण गत वर्ष यस पटक गर्ने गरि स्थगन गरिएको बज्रबाराहीको ३ वर्षे जात्रा सकेसम्म नगर्न थाहानगर पालिकाले आव्हान गरेको छ ।

तिथि अनुसार यो वर्षको जात्रा जेठ १५, १६ र १७ गते पर्दछ । पछिल्लो समय थाहानगरमा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नगरले जात्रा प्रति चासो लिएको हो । 

आइतबार जात्रा गुठी सम्बन्धित समुदायसङ्ग ६ नम्बर वडा कार्यालयमा बसेको बैठकमा मेयर लवशेर विष्टले कोरोना महामारीमा जात्राले थप संकट निम्तिन सक्ने हुँदा सकेसम्म जात्राका विधिहरु पूरा गरि महामारीबाट बच्न र बचाउन आग्रह गरे । 

मेयर विष्टले सकेसम्म नगर्न नै आग्रह गर्दै विधि नै पूरा गर्नु पर्ने भएपनि न्युनतम संख्यामा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरि प्रस्ताव लिएर आउन आग्रह गरे । 

बैठकमा सहभागी जात्राका धामीझाँक्री, पुजारीहरुले भने कुनै पनि हालतमा जात्रा गर्नै पर्ने अडान राखेका छन् । जात्रामा भोग दिन भक्तालुहरुले भाकल गरि पशुपन्छी पालिरहेको चार वर्ष भैसकेकोले पनि जोखिम न्यूनीकरणका उपाय अपनाएर भएपनि जात्रा गर्नु पर्ने उनीहरुको अडान छ । 

जात्रामा भोग दिन पालेको राङ्गा गत वर्ष जात्रा नभएपछि वडा कार्यालय तथा स्थानीय गुठियारहरुबाट दानापानीको व्यवस्था गरि नियमित पाल्दै आएका छन् । 




उता, जात्रा नहुदा तान्त्रिक बिधिबाट नचाइने १२ वर्षे नाच समेत प्रभावित हुने स्थानीयको दाबी छ । तर, हरेक दिन संक्रमितको संख्या बढिरहेको प्रति गम्भीर हुन स्थानीयलाई नगरपालिकाले आग्रह गरेको छ । 

शनिबारसम्म थाहानगरमा ४ सय ३ जनाको स्वाव परिक्षण गरिएकोमा २ सय जना संक्रमित भैसकेका छन् । वडा नम्बर १ मा ७० को परिक्षणमा ३०, २ मा ६१ जनामा ३०, ३ मा १ सय २ जनामा ७०, ४ मा ५९ जनामा १७ जना संक्रमित भएका छन् । त्यसैगरी, वडा नम्बर ५ मा १८ जनामा १०, ६ मा ५१ जनामा २३, ७ मा २ जनामा १ ८ मा ४ जनामा १, ९ मा १३ जनामा ३, १० मा १० जनामा ५, ११ मा ८ जनामा ७ जना संक्रमित भैसकेका छन् । यी मध्ये १२ जना निको भएका छन् । २ जनाको मृत्यु भैसकेको छभने ६ जनाको थाहानगर बाहिर उपचार भैसकेको छ । हालसम्मको अवस्थामा संक्रमित दर ४९.६२ प्रतिशत छ । 

सुरेन्द्रमान प्रधान


0 comments

Write Down Your Responses