Powered by Blogger.
लकडाउनकै बीचमा आलु खन्ने चटारोले छोडेन टिस्टुङ पालुङका किसानहरुलाई



बज्रबाराही(टिस्टुङ) । देश लकडाउनले पुरै जस्तो ठप्प छ । सरकारले दोश्रो चरणको नयाँ भेरियन्टको  कोभिड –१९ (कोरोना )बाट सुरक्षित रहन सम्पूर्ण देशबासीलाई अत्यावश्यक काम बाहेकका लागी घर भित्रै बस्नु  भनेको छ । उसो  त किराना पसल , औषधीपसल संगै तरकारीको ब्यापारलाई खासै रोकतोक गरेको छैन र खुल्ने समय पनि निर्धारण गरिएको छ । स्वास्थ्य क्षेत्र , एम्बुलेन्स, बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरु, मिडीयाका बाध्यात्मक  अवस्था बाहेक अरु सबै मानिसहरुलाई कोरोनाले घर भित्रै कैद गरिरहेको अवस्था छ । तर उत्तरी मकवानपुरको थाहा नगरपालिकाका किसानहरुलाई भने अर्कै चटारो छ , त्यो हो जेठको आलु खन्ने । 



साधारणतया किसानले पुस–माघमा रोपेको आलु जेठ महिनाको अन्तिम देखी असार पहिलो साता सम्ममा खन्नका लागि तयार हुन्छ । 

थाहा नगरपालिका  मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित कृषि प्रधान नगरपालिका हो  । यहाँका बहुसंख्यक जनता कृषिमा निर्भर छन् । उसो त, यस क्षेत्रलाई  तरकारीको लागि ‘पकेट’  क्षेत्रनै मानिन्छ । चित्लाङ मुलाको लागी देशै भरी प्रसिध्द छ भने टिस्टुङ पालुङको आलुको पनि काठमाडौं , हेटौँडा बिरगंज नारायणघाट , बुटवल जस्ता ठुला शहरमा ‘टिस्टुङ–पालुङ्गे आलु’ भनेर प्रख्यात छ । त्यहि प्रख्यात  टिस्टुङ–पालुङे आलु आ–आफ्नो घर भिर्त्याउन ब्यस्त देखिन्छन  यहाँका किसानहरु । 

हुनत यो क्षेक्रमा कोरोनाको असर नदेखिएको होइन  । सयौँको संख्यामा  कोरोना संत्रमित घरमै आइसोलेशनमा छन् भने कतिपय स्थानीय सरकारले उपलव्ध गराएको आइसोलेशनमा छन् । त्यसबाहेक कतिपय  काठमाडौं , हेटौँडा लगायत शहरका अस्पतालामा उपचाररत छन् भने केहीको मृत्यु समेत भैसकेको छ । तर कोरोनाको कहरको  बाबजुद पनि आफूले मेहनत गरेको बाली भिर्त्याउन यस क्षेत्रका किसानहरु तल्लिन छन् । 

किसानहरु अर्म – पर्म र ज्यालादारीको हिसाबले काम गर्ने गर्दछन । आफ्नो खेतमा १० जना खेतालाहरु लगाएर आलु खन्दै गरेको जितबहादुर खुलाललाई कोरोनाको यत्रो त्रासमा पनि किन यसरी अन्य घरको मानिस समेत बोलाएर काम गरेको भन्ने प्रश्न गर्दा उहाँ भन्नुहुन्छ ; “के गर्नु त  सरकारले घरमा थुन्न मात्र जानेको छ । भोकालाई भोजनको ब्यबस्था गर्न जानेको छैन । लगाएको बाली कुहाएर भोकले मर्नु भन्दा रोगले मर्नु जाती’ । 

७० बर्षिय जीतबहादुरले आफ्नो दश रोपनी खेत र केही रोपनी  बारीमा आलु लगाएका छन् । “लकडाउनले बरु आलुको  भाउ पो के हुने हो ।“उनले चिन्ता ब्यक्त गरे । ‘गत साल जस्तो भए त दुई लाखको आलु बेचिन्थ्यो यसपाली त कोरोनाले चौपट पार्ला जस्तो छ ।’ उनले दुखेसो पोखे । 



उता  भटुवालको किसान सिताराम सिंह ठकुरीले पनि आफ्नो बारीमा लगाएको आलु भर्खरै खनेर सिध्याए । “अचेल खेतालाको अभाव छ  । सात दिन लगाएर आलु त खनिसकियो  । अहिले भाउ खासै राम्रो छैन । केही समय स्टोर गरेर राख्न पर्ला, कतै लकडाउन खुलेर भाउमा बृद्दि हुन्छ कि’  उनले अड्कल काटे। 

यसो त अहिले नगरको सबै जसो फाँटमा आलु खन्न भ्याई नभ्याई नै छ । केहिले खनिसके  भने केहिले  खन्दैछन । आलुको यो चटारो पछि लगतै किसानहरु धान रोप्न र अन्य तरकारी लगाउन ब्यस्त छन् । 

थाहा नगरमा अहिले आलु बाहेक बन्दा , मुला , काउलीको उत्पादन उल्लेख्य  मात्रामा भैरहेको छ । तर किसानहरुले उत्पादित सामानको उचित बजारमुल्य पाएका छैनन् । –सुभास खुलालबाट


0 comments

Write Down Your Responses