Powered by Blogger.
भावुकतामै सृजनाको छाल बग्छ, त्यसपछि लेख्न थाल्छु


भवानी न्यौपाने भावना

वरिष्ठ साहित्यकार


कविज्यु, भर्खरै सम्पन्न भएको राष्ट्रिय पर्व दशैं कस्तो भयो ?

मुसलधारे वर्षाको कारण सडकखण्ड अवरुद्द ,यात्रामा कठिनाइ, प्रतिकुल मौसमका कारण  आमा बाबासँग टीका आशीर्वाद ग्रहण गर्न पाइएन ।

तपाँइले नेपाली सहित्य आकाशमा धेरै नै योगदान दिनुभएको छ, यो कामको प्रेरणा कसरी प्राप्त भयो ?

मलाई जन्मदिने बुवा आमा,मेरो बाल्यकालको पारिवारिक पृष्ठभूमिको कारण यो जिन्दगीमा बलियो रूपमा उभिन सकेकी हुँ ।

तपाँइले विभिन्न्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा पुरस्कारहरू पाइरहँदा कस्तो महशुस गर्नुभयो ?

यो अवसर प्राप्त हुँदा अत्यन्त खुसी छु । नेपालको सुदूर पूर्व देखि सुदूरपश्चिमसम्म र छिमेकी देश भारतका विभिन्न संघ संस्थाबाट  सम्मानित भएँ ।

तपाँइको नजरमा  साहित्य के हो, समाजलाई यो किन आवश्यक छ ?

साहित्य समाजको मेरुदण्ड हो । साहित्य बिनाको जीवन ,समाज र राष्ट्र निरस र शून्य हुन्छ । जीवनमा आर्जन गरेका धन ,पैसा क्षणिक र नश्वर हुन्छन् । मानिसलाई अमर र प्रतिष्ठित बनाउने काम साहित्यले गर्छ । समाजमा भैरहने कुरीति ,विसङ्गति,भ्रष्टाचार ,बलात्कार ,अशान्तिलाई चिरफार गर्दै सचेतना प्रदान गरि समुन्नत र आदर्शवादी एवम् नैतिक समाजको निर्माण गर्न साहित्यले अत्यन्तै ठुलो भूमिका खेलेको हुन्छ ।

साहित्यको कुन विधातर्फ तपाँइको रुचि र लगाव छ अनि यसको कारण के होला ?

मेरो साहित्यिक कलम धेरै जसो छन्द कविता र शास्त्रीय बहरबद्द  गजलतिर नै बढी चल्दछ । मुक्तक समेत छन्दमै लेख्छु धेरै जसो किनकि छन्दका रचना साहित्यका अमृत कुण्ड हुन् जसले पत्थर मुटु भएका मानिसलाई समेत पगाल्दछन । यस धर्तीका प्राणी मात्र होइन वृक्ष लता समेत आनन्दित हुन्छन् । म धेरै जसो छन्दमै कलम चलाउने भएको कारण अनि राष्ट्रकवि सितको बारम्बार भेट र उहाँको आशीर्वाद अनि प्रेरणा हो ।

लामो समयदेखि  साहित्यका लाग्दा तपाँइले तयार गरेका सिर्जनाहरु कुन कुन हुन्, र अब नयाँ के के पस्कँदै हुनुहन्छ ?

मेरा रचनाहरु, १–भावनाका बिम्बहरू कविता संग्रह , २–भावनाका उद्भाष कविता संग्रह, ३–भावनाका बहरवाटिका शास्त्रीय बहरबद्द गजल संग्रह हुन भने चौथो कविता संग्रह  र पाँचौ नियात्रा संग्रह, छैटौं मुक्तक संग्रह र सातौं कथा संग्रह तयारीमा छन् ।

दशैं तिहारको विदा समय साहित्यमा कसरी सदुपयोग गरीरहनु भएको छ ?

यो समय घरपरिवारमा व्यस्त हुँदै  बाँकी समय साहित्यमै लगाएकी छु ।

पेशाले शिक्षिका हुनुहुन्छ, कस्तो लाग्छ यो पेशा ?

शिक्षण पेशामा जीवन बिताउन पाउँदा आफूलाई अत्यन्त भाग्यमानी ठानेकी छु । यस पवित्र पेशामा भविष्यका कर्णधारहरूको जीवन निर्माताको रूपमा यो भूमिकामा रहनु मेरो निम्ति गौरवको विषय हो ।

दिनहुँको, जागिर, घर परिवार अनि साहित्यका काम कसरी समायोजन गर्नुहुन्छ समयको चापलाई ?

दिनभर जागिरको व्यस्तता, बिहान बेलुका घरको जिम्मेवारी अनि सामाजिक कार्यले निरन्तर व्यस्त हुँदाहुँदै सारा दिन बित्छ । रातको समयमा सबै सुत्छन् म लेख्न बस्छु ।



विगतमा लकडाउनको उपज स्वरुप तपाँइका के कस्ता कृतिहरु बाहिर आउदैछन् ?

विगत लकडाउनमा प्रकाशोन्मुख तीन कृतिको जन्म दिएकी छु, भविष्यमा तपाईंहरूको हातमा आइपुग्ने छन् ।

तपाँइ त यात्रामा रमाउने मान्छे, पछिल्लो समय साहित्य वा अन्य त्यस्ता खालका कार्यक्रम वा यात्राहरुमा कत्तिको निस्कन पाउनुभएको छ ?

अवश्य, म धेरै यात्रा गर्ने मान्छे हो । यात्राले जीवनलाई परमानन्दित बनाउँछ । हरेक यात्राले मलाई ऊर्जा प्रदान गरिरहेका छन् । म निरन्तर यात्रामै हुन्छु, यात्रामै जीवन बित्नेछ । सानातिना कार्यक्रमको निमन्त्रणामा म कहिँ जाँदिन तर विशेष कार्यक्रममा चाहिँ जाने गर्छु ।

साहित्यकारहरु एकोहोरो हुन्छन् भन्छन्, घर परिवारलाई कत्तिको समय दिने गर्नुभएको छ ?

व्यस्त जीवनका कारण समय अभावमा बाँचेकी छु । खासै घरपरिवारमा बसिरहन भ्याउँदिन । चाड पर्वमा चाहिँ परिवारसँगै हुन्छु ।

तपाँइ छन्दमा असाध्यै मिठो कविता लेख्ने र वाचन गर्ने गर्नुहुन्छ, छन्दमै कलम चलाउने प्रेरणा कसरी आयो ?

छन्दमा कलम चलाउने प्रेरणा नेपालका वरिष्ठ संस्कृतविद्हरूसितको सङ्गत र कवि राष्ट्रकवि माधव घिमिरेबाट मिलेको हो ।

मोफसलको दाङमा रहेर शिक्षक पेशासंगै साहित्य सिर्जनामा तल्लिन हुँदा कस्तो अनुभुती हुने गर्छ ?

दिनभर ती कलिला  भविष्यका कर्णधारहरूसित अध्यापनमा रम्दा घर फर्केपछि बेलुका तिनै ईश्वरीय कोमल अनुहार आँखामा  नाचिरहन्छन् । ममताले हृदय छचल्कीन्छ । अनि भावुकतामै बग्छ सृजनाको छाल अन्तर मनमा, त्यसपछि लेख्न थाल्छु । 

अहिलेसम्म नेपाली साहित्य आकाशमा लागेर के के पाउनुभयो अनि के के गुमाउनुभयो ?

साहित्यमा लागेर देश तथा देश बाहिर मलाई माया गर्ने प्रशस्त शुभेच्छुक ,मित्रहरू कमाएकी छु ।आफू भित्रका उकुसमुकुस सबै सधैंका लागि गुमाएर जीवनमा अपार खुसीले बाँच्दैछु ।

समाजले तपाँइलाई कस्तो किसिमको आदर गरेको पाउनुभएको छ ?

जहाँको भूगोल पुग्छु अत्यन्तै सद्भाव र आदर प्राप्त गरिरहेकी छु ।

समाजलाई तपाँइले के दिन चाहनुहुन्छ ?

समाजलाई साहित्य मार्फत चेतना,सद्भावना, प्रेम, सन्देश  र सहानुभूति दिन चाहन्छु ।

देशका विभिन्न भूगोलमा पुगेर नेपाली भाषा र साहित्यको सेवा गर्दै आउनुभएको छ, त्यस्ता अविश्मरणीय स्थानहरु कुन कुन हुन् ?

मलाई सबै यात्रा उत्तिकै महत्वपूर्ण र अविस्मरणीय  लागिरहेछन् । त्यसमा अँझै बढी स्मरणीय यात्रा भन्नुपर्दा इलाम, गोसाइँकुण्ड,मकवानपुर, महेन्द्रनगर, भारतको माउन्ट आबु, दिल्ली, लखनउका यात्रा हुन् ।

साहित्यमा लागेर जीवनमा कत्तिको खुसी पाउनुभएको छ ? 

अत्यन्त खुसी छु । साहित्यले दिएको यो खुसी कसैले खोसेर लिन सक्दैन ,न हराएर जान्छ । जीवनको अन्तिम दिनसम्म खुसीमै बाँच्नेछु ।

तपाँइ केका लागि लेख्नुहुन्छ ?

म समाज,राष्ट्र र स्वयं आत्मसन्तुष्टिका लागि लेख्ने गर्दछु ।

तपाँइको पारिवारिक पृष्ठभूमि पनि साहित्य नै हो भन्ने सुनिएको छ, यसबारे अलिकति प्रकाश पारिदिनुस् न ?

म साहित्यिक परिवारमा जन्मिएकोले बाल मस्तिष्क मै साहित्यको सुगन्ध मगमगाइरहन्थ्यो, विद्यालय स्तर र कलेजमा पनि कहिलेकाही उपस्थित हुँदा पुरस्कृत हुँदै आएकी हुँ । घर परिवार सबै साहित्यकार भएकोले म सानै देखि साहित्यमा प्रेरित भएँ ।

तपाँइको बुझाइमा साहित्य के हो ?

साहित्य समाज परिवर्तनको मेरुदण्ड र चेतनाको संवाहक हो । घरपरिवारसित व्यवहारिकरूपले नजिक नै छु तर समय अभाव हुन्छ । साहित्यकारहरूलाई एकान्त ,शान्त वातावरण  नै मन पर्छ । होहल्ला र भीडको कचिङ्गलमा बस्न मन पर्दैन ।

साहित्यकारहरु सधैं आर्थिक संकटमा हुन्छन् भन्छन्, तपाँइलाई त्यस्तो संकट परेको अनुभुति छ की छैन ?

निश्वार्थ रूपले लेखिरहन्छन् साहित्यकारहरू । आर्थिक पक्षमा कमजोर नै हुन्छन् । कार्यक्रममा हिडिरहनुपर्छ आफ्नै गोजी खर्चले । कृति निकाल्दा उत्तिकै खर्च । लेखे बापत सरकारले  दृष्टि दिन सकेन । आफ्नो जीवन चलाउन लेखेर मात्र पुग्दैन । त्यसका लागि अन्य पेशा अङ्गाल्नु नै पर्छ ।

तपाँइ आफुले आफैंलाई परिचय दिनुपर्दा के भनेर चिनाउन चाहनुहुन्छ ?

म शिक्षक एवम् साहित्यको अविरल यात्री भन्न रुचाउँछु ।


लेखनीको समय कसरी व्यवस्थापन गर्नुहुन्छ, कुन समयमा तपाँइका कलम बढी चल्छन् ?

बिहान देखि बेलुका सम्म अन्य कामले व्यस्त जीवनका कारण रातमा निद कटाएर लेख्ने गर्छु ।

मोफसलमा रहेर ओझेलमा परिए जस्तो लागेको छैन ?

म साहित्यमा निरन्तर समर्पित भएर लागेको  बाह्र वर्ष भयो । केन्द्रिय स्तरका कार्यक्रममा केन्द्रमा  रहनेले नै  प्राय  त्यस्ता अवसर  लिने गरेको देखिन्छ । तर पनि उदाएको सूर्य हत्केलाले छेक्दैन सायद ।

तपाँइको विचारमा प्रेम के हो, कोसंग बढी प्रेम गर्नुहुन्छ ?

प्रेम जीवनको अमृत सञ्जीवनी हो । म मेरा विद्यार्थीलाई अत्यन्तै माया गर्छु अनि मेरो साहित्यिक जीवनले आर्जन गरेका मेरा हितैषी शुभेच्छुकलाई पनि धेरै माया गर्छु ।

नेपाली साहित्यको सुन्दर पक्ष अनि विकृत रुपबारे केही भोगाई र अनुभव छन् होला नी, केही चर्चा गरिदिनुस् न ? 

साहित्य जीवनको अमृत हो । यसले मानिसलाई नैतिकता र अनुशासनमा बाँध्छ । संस्कार फराकिलो बनाउँछ । साहित्यिक विकृति पनि थुप्रै छन् । यसैकारण सच्चा अर्थात खास  साहित्यकार जो आफ्नो जीवन साहित्यमा होमिसकेका छन् ,दिनरात खटेर साहित्यमै जीवन बिताएका छन् उनीहरूलाई ओझेलमा राखेर चाकडी ,चाप्लुसी गर्नेहरूले नै राम्रा अवसर ओगटेको देखिन्छ ।

अन्त्यमा यहाँले भन्नैपर्ने र मैले सोध्न छुटाएको केही छ की ?

मैले जन्माएका मेरा साहित्यिक सन्तान हेरिदिनुहोला सल्लाह सुझाव दिनुहुनेछ ।  अन्तमा मेरो साहित्यिक जीवनलाई मूल्यांकन गरि आम पाठक माझ उभ्याउनु भएकोमा हजुर प्रति आभारी छु । यो स्थानका लागि  हार्दिक धन्यवाद दामन पोस्ट परिवार अनि विशेष धन्यवाद हजुरलाई ।


0 comments

Write Down Your Responses