Powered by Blogger.
मलका लागि थाहा नगरका किसानद्धारा धर्ना


पालुङ । मकवानपुरको उत्तरी क्षेत्रमा रासायनिक मल नपाएपछि किसानहरु आन्दोलनमा उत्रिएका छन् । 

आलु रोप्ने समय नजिकिँदै गर्दा मलको अभावका कारण चिन्तित बनेका थाहाका किसान आन्दोलनमा उत्रिएका हुन् । 

मलको सहज आपूर्तिको व्यवस्थापनको माग गर्दै थाहाका किसान आन्दोलन संघर्ष समितिले बिहीबार नगरपालिकामा ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ’मकवानपुरको उत्तरी क्षेत्रमा माघ महिनाको पहिलो हप्तादेखि आलु लगाउनुपर्ने सिजन प्रारम्भ हुन्छ । आलुको लागि प्रति किसान ६ बोरादेखि १५ बोरासम्म मल आवश्यक पर्छ । समानुपातिक मल वितरणको नियमले प्रतिकिसान १० किलो मल मात्रै प्राप्त हुन्छ । जुन आलु बालीको लागि प्रयाप्त होइन ।’ 

मल आएपछि त्यसको बाडफाँट आवश्यकता र ओैचित्यको आधारमा गर्नुपर्ने उनीहरुको माग छ । किसानको समस्यालाई मध्यनजर गरी थाहा नगरपालिकाले आम किसानको हकहितको निमित्त काम गरोस् भन्दै  संघर्ष समितिको संयोजक लक्ष्मण बर्तौलाले उक्त ज्ञापनपत्र वाचन गर्दै नगर प्रमुख बिष्णुबहादुर बिष्टलाई ज्ञापनपत्र बुझाएको हो ।

बर्तौलाको नेतृत्वमा थाहा नगरपालिका वडा नम्बर ३ बाट प्रारम्भ भएको आन्दोलनमा आसपासका किसानहरुको ठूलो संख्यामा सहभागी थियो । आन्दोलनलाई सम्बोधन गर्दै लक्ष्मण बर्तौलाले भन्नुभयो, ‘यो आरम्भ हो अन्त्य होइन । किसानको माग र मुद्दालाई सम्बन्धित निकायले संवेदनशील ढंगले नहेरी बेवास्ता गरे आन्दोलन थप चर्कने र देशव्यापीरुपमा अन्य कार्यक्रम घोषणा गरिनेछ ।’


0 comments

Write Down Your Responses