Powered by Blogger.
एकीकृत समाजवादी मकवानपुरद्वारा मतदाता र गठबन्धनलाई धन्यवाद



हेटौँडा । सत्ता गठबन्धन साझेदार दल नेकपा (एकीकृत समाजवादी) मकवानपुरले गठबन्धनका दलहरु र मकवानपुरका मतदातामा आभार प्रकट गरेको छ । 

आइतबार हेटौँडामा बसेको जिल्ला कमिटी बैठकले मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडालाई उम्मेदवार बनाउने गठबन्धन र मतदान गर्ने मतदातालाई धन्यवाद् ज्ञापन गरेको हो । 

अध्यक्ष सूर्यचन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा पार्टीका शीर्ष नेताहरुले कमजोर संगठन, अरुको गठजोड, आर्थिक अभाव तथा नयाँ शक्तिहरुको बलियो उपस्थितिमा पनि इमानदार भएर मतदान गर्ने ३० हजार भन्दा बढी मतदातालाई धन्यवाद् ज्ञापन गर्ने निर्णय गरेको हो । 

निर्वाचन क्षेत्र नम्बर २ को वडाहरुमा समेत मतदाताकहाँ पुगेर धन्यवाद ज्ञापन गर्ने समाजवादीको तयारी छ । 

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश इञ्चार्ज एवम् उपाध्यक्ष केदार न्यौपानेले निर्वाचन परिणाममा झिनो मतले हारजित भए पनि संगठन बलियो पारेर अघि बढ्न सके मकवानपुरमा समाजवादी पार्टी बलियो हुने बताउनु भयो । 

यस्तै, स्थायी कमिटी सदस्य ललित बस्नेतले कम जनशक्ति भएको पार्टीले गठबन्धनको जोडमा चुनावमा होमिँदा यस्ता अप्ठ्यारा परिस्थिति आइलाग्ने भएकाले शिक्षाका रुपमा लिएर अघि बढ्नु पर्ने बताउनु भयो । 

निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार एवम् स्थायी कमिटी सदस्य विरोध खतिवडाले प्राविधिक रुपमा निर्वाचनमा पराजय हुनुमा अरुको गठजोडको आन्तरिक समस्या भए पनि नेता कार्यकर्तालाई निरास नभई पार्टी काममा लाग्न र सक्रिय रहन आग्रह गर्दै आफू पनि मकवानपुरे जनतासँग निरन्तर सम्पर्कमा रहेर पार्टी काममा लागिरहने बताउनु भयो । 

एकीकृत समाजवादीले आगामी पुस ९ गते विस्तारित बैठक र भेला बोलाउने भएको छ । भेलाले पार्टीको मकवानपुर नेतृत्व हेरफेरसमेत गर्ने तयारी गरेको सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख रामकुमार एलनले बताउनु भयो । स्थानीय तह निर्वाचन अघि नै पार्टीका तत्कालील अध्यक्ष श्रीधर पोखरेलले पार्टी छाडेपछि केन्द्रीय सदस्य सूर्यचन्द्र न्यौपानेले पार्टी अध्यक्षको भूमिका निर्वाह गरिरहनु भएको छ ।


0 comments

Write Down Your Responses