Powered by Blogger.
प्रधानमन्त्री प्रचण्ड २२ औं सशस्त्र प्रहरी दिवसमा सरिक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार ‘२२औं सशस्त्र प्रहरी दिवस २०७९’को अवसरमा आयोजित सन्ध्याकालिन विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । 

समारोहमा प्रधानमन्त्री प्रचण्डले अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्रराज राईलाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ समेत प्रदान गर्नुभयो । सम्माननीय प्रधानमन्त्री दाहालले उक्त विशेष समारोहमा यसवर्ष उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्कालाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बल, नेपालद्वारा प्रकाशित सचित्र पुस्तक आर्मड पोलिस फोर्स नेपालको विमोचन समेत गर्नुभयो । 

सम्माननीय प्रधानमन्त्री दाहालले विशेष समारोहमा सम्बोधनको क्रममा देश र जनताका खातिर कर्तव्यपालनाको क्रममा बीरगति प्राप्त गर्नुभएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीहरुप्रति हार्दिक समवेदना व्यक्त गर्नुहुँदै कर्तव्य पालनाको सिलसिलामा घाईते सशस्त्र प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

उहाँले सशस्त्र प्रहरी बलबाट हुने उद्धारका कार्य, सामूहिक व्यायाम वा सांकृतिक कार्यक्रम मौलिक र सृजनशिल तारिकाबाट हुने बताउनुहुँदै राजनीतिक संक्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरी बल नेपालले मुख्यतय २०६४ सालको निर्वाचनमा खेलेको नेतृत्वदायी भुमिकाको साथै २०७०, २०७४ र २०७९ सालमा सम्पन्न आम निर्वाचनहरु शान्तिपूर्ण, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । 

उहाँले सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरुले २०७२ सालको विनाशकारी भूकम्प लगायत विभिन्न समयमा भएका प्राकृतिक तथा मानवसृजित विपत्तीमा आफ्नो ज्यानको प्रवाह नगरी वीरताका साथ खटिएर जनताको जीवन रक्षाको लागि कर्तव्यनिष्ठ भएर जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्नुहुँदै सीमित साधनश्रोत र चुनौतीको विचमा पनि सुरक्षा र विपद् व्यवस्थापनको क्षेत्रमा राष्ट्रसेवकहरुको कृयाशिलता र सकारात्मक परिणामको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।



सम्माननीय प्रधानमन्त्री दाहालले नेपालको सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल डेडिकेटेड फौजको रुपमा हिमालदेखि तराईसम्म कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलता, सीमित पूर्वाधारका वावजुद परिचालित रहेको उल्लेख गर्नुहुँदै नेपालको सीमा सुरक्षाको लागि पूर्व, पश्चिम, उत्तर, दक्षिण सवैतिर परिचालन गर्न र त्यसका लागि आवश्यक साधनश्रोत, तालिम र प्रोत्साहनको व्यवस्था गर्न नेपाल सरकार प्रतिवद्ध रहेको कुरा व्यक्त गर्नुभयो । 

उहाँले सशस्त्र प्रहरी बल, नेपालले आफुलाई प्राप्त सवै प्रकारका भूमिकालाई उच्च साहास, इमान्दारी एवं व्यावसायीकताका साथ सम्पादन गरेको बताउनुहुँदै राजश्व संकलनमा पु¥याएको सहयोग र महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, आन्तरिक सुरक्षा, कानून कार्यान्वयन, देशमा शान्ति सुरक्षा र अमन चयन कायम गर्ने तथा जनताको जीउधनको सुरक्षामा पुर्यायएको योगदानको उच्च प्रशंसा गर्नुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका सामान, सवारी साधन र भौतिक पूर्वाधार लगायत आवश्यक उपकरण र जनशक्तिको लागि नेपाल सरकारको तर्फबाट यथासम्भव पहल हुने बताउनुहुँदै संवैधानिक सर्वोच्चता र कानूनी शासनको मान्यतालाई आत्मसाथ गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको रक्षा, जनताको जीउधनको सुरक्षा, समाजिक सद्भावको विकास र समय परिस्थिति अनुसार नेपाल सरकारबाट प्रदान गरिएको आदेश तथा निर्देशनहरुलाई पालन गरी अनुशासित, नैतिकवान, व्यावसायीक एवं कर्तव्यनिष्ठ भई सवै निकायहरुसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालन हुन सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो । 



उहाँले मानव अधिकारको पूर्णपालना, भ्रष्टाचार तथा लैंगिक विभेदमा शून्य सहनशीलताका नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्दै जनताको मनमस्तिष्क जित्ने गरी देश र जनताको सेवा र सुरक्षा प्रदान गर्ने कार्यमा संगठनको सफलताको कामना गर्नुहुँदै सूचना प्रविधिको विकासले मानव जीवनमा सकारात्मक प्रभाव मात्र नभई अपराधहरुको चरित्रमा समेत बहुआयमिक फेरबदल भईरहेको चर्चा गर्नुहुँदै वर्तमान विश्व परिवेशलाई मुल्यांकन गरी बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्नका लागि आवश्यक रणनीति बनाई सोही अनुसार परिचालित हुन निर्देशन दिनुभयो । 

साथै उहाँले नेपाल सरकारको सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय रणनैतिक लक्ष्यलाई सफल बनाउन सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुले आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

 सो समारोहका विशिष्ट अतिथि माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले स्वदेश तथा विदेशमा विभिन्न जिम्मेवारी र नियुक्तीमा रहि

आफ्नो भूमिका निर्वाह गरिरहेका सशस्त्र प्रहरी कर्मचारीहरु ‘काँधमा जिम्मेवारी, लक्ष्यमा इमान्दारी र मस्तिष्कमा समझदारी’ राखेर कार्य गर्ने प्रेरणा मिलोस् भनि शुभकामना व्यक्त गर्नुभयो । 

माननीय उपप्रधान एवं गृहमन्त्री लामिछानेले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको निवृत्त जीवन सुखमय बनोस, अनुकुल र व्यावसायीक क्षमतालाई आगामी दिनमा पनि प्रयोग गरी समृद्ध नेपाल निर्माणको अभियानमा टेवा पुर्यावउन सकियोस् भन्ने शुभकामना व्यक्त गर्नुहुँदै देश र जनताको सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालमा आवद्ध भई कर्तव्य पालनको सिलसिलामा वीरगति प्राप्त गर्नुभएका प्रथम सशस्त्र प्रहरी महानिरीक्षक स्वार्गीय कृष्णमोहन श्रेष्ठ लगायत दिवंगत सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभयो । 

उहाँले सशस्त्र प्रहरी बलले स्थापनाको २२औं वार्षिकोत्सव मनाई रहँदा विभिन्न कालखण्ड पार गर्दै आईरहेको स्मरण गर्नुहुँदै स्थापनाकालका सुरुवाती वर्षहरुमा श्रोतसाधन र जनशक्तिको अभावका कारण कार्यक्षमतामा कमि देखिएको भएपनि क्षम्य भएको बताउनुहुँदै संगठन अहिले पूर्ण बयश्क अवस्थामा प्रवेश गरिसकेकोले नयाँ संगठन भनेर कुनै हालतमा क्षमा पाउने अवस्था छैन तसर्थ सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीहरुले आफ्नो उर्जा र क्षमताको अधिकतम उपयोग गरी संगठनको बयश्क समयलाई जीवन्तता दिनुहुने छ र यसमा गृहमन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।



सशस्त्र प्रहरी बल नेपालले नेपालको आन्तरिक शान्ति सुरक्षा, सीमा सुरक्षा एवं व्यवस्थापन, विपद् व्यवस्थापन, सम्पूर्ण प्रतिष्ठान तथा व्यक्तिहरुको सुरक्षा, औद्योगिक एवं राजश्व संकलनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आईरहेको उल्लेख गर्नुहुँदै ऐनको कार्यादेश र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको मुल्यांकन र अध्ययन गरी जनशक्ति तयार गर्नु र देशको आवश्यकता र क्षमता बमोजिम सशस्त्र बल नेपाललाई थप मजवुद बनाउन कानून एवं नीतिगत सुधार लगायत श्रोतसाधन उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताउनुहुँदै उहाँले भन्नुभयो–‘सुरक्षा फौज जहिले पनि कडा मेहेनत गर्नुपर्ने संगठन हो, शान्त अवस्था भनेको कठिन समयको तयारी अवस्था हो, ‘लडाईमा शान्ति स्थापना गर्ने हो भने शान्तिमा लडाईको तयारी गर्नुपर्छ ।’ 

सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बल मार्फत सुरक्षा र विकासको कार्यक्रम संचालन गरिने नीति लिइएको बताउनुहुँदै उहाँले यसबाट सीमा क्षेत्रको भौतिक विकासका साथै सीमा क्षेत्रमा राष्ट्रभक्तिको भावना अझ बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल विपद् जोखिमको हिसावले उच्च स्थानमा रहेको र कुनै पनि विपद्लाई रोक्न नसकेनि आवश्यक पूर्व तयारी गरी विपत्तीको न्यूनिकरण गर्न सकिने उल्लेख गर्नुहुँदै उहाँले विपद् व्यवस्थापनका लागि थप जनशक्ति निर्माण गर्न, श्रोतसाधन उपलब्ध गराउन र आवश्यक नीति निर्माणमा समेत मन्त्रालयले विशेष भूमिका खेल्ने बताउनुभयो ।

 नेपाल सरकारले २०७२ को भूकम्प र तत्पश्चातका विभिन्न विपद्का घटना पश्चात उद्धारमा सशस्त्र प्रहरी बलले गरेको कामको उच्च मुल्यांकन गर्दै अबोप्रान्त हुनसक्ने विपद्मा प्रभावकारी भूमिका निर्वाह गर्न थप श्रोतसाधान उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुहुँदै दुषित मनसायले कहिले पनि कार्य नगर्न निर्देशन दिनुभयो ।

 धन्यवादको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले देश र देशवासीको हितको लागि नेपाल सरकारले लिएको सुशासन, समृद्धि र आर्थिक बृद्धिको लक्ष्य प्राप्तीको लागि सशस्त्र प्रहरी बल नेपालाई निर्दिष्ट

कार्यादेशहरु ईमान्दारिताकासाथ पालना गर्दै आईरहेको बताउनुहुँदै नेपाली जनताको सेवा, सुरक्षामा सेतीको खोचदेखि गोक्यो हिमतालको बीच भागसम्म पुगेको सशस्त्र प्रहरी बल नेपाल भुकम्पको भग्नाअवशेषसम्म पुग्नुको साथै बाढि, पहिरो, र आगलागी नियन्त्रण लगायत आपत् विपद्का परेका नागरिकहरुको उद्वार कार्यमा सकृयताकासाथ खटिई आईरहेको बताउनुभयो । 

उहाँले हालै सम्पन्न भएको संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालले खेलेको अहम भूमिकाको प्रशंसा गर्नुहुँदै तराईको गर्मीदेखि हिमालका कठ्यांग्रीदो जाडोसम्म आफ्नो कर्तव्य पालनामा अविचलित नभई खटिई रहेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

महानिरीक्षक अर्यालले संगठन सुधारका कार्यहरुको लागि संस्थागत, संरचनागत तथा नीतिगत सुधारका कार्यहरु तर्जुमा गरी क्रमश कार्यान्वयमा लगिएको हुँदा उक्त नीति तथा कार्यहरु कार्यान्वयनका लागि नेपाल सरकार तथा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरुको आवश्यक निर्देशन र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षालाई थप प्रभाकारी बनाउन हालसम्म २ सय २८ वटा बिओपीहरु स्थापना गरिएको र सीमा सुरक्षालाई थप व्यवस्थित बनाउन कम्तीमा ५ सय वटा बिओपी स्थापनाको लागि थप जनशक्ति र भौतिक संरचनाको अलावा डिजिटल बोर्डर कन्सेप्टलाई आधुनिक उपकरण तत्कालै आवश्यकता रहेको बताउनुभयो ।

निरन्तर सहयोग र सहकार्यका साथ राष्ट्रसेवाको अविरल यात्रामा संगठनलाई अनुकरणीय निर्देशन, समन्वय र सहयोगी भूमिका निर्वाह गर्नुहुने नेपाल सरकार, संवैधानिक निकायहरु, कुटनीतिक नियोगहरु, अग्रज राष्ट्रसेवकहरु, सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरु, नागरिक समाज लगायत सरोकारवाला सबै प्रति हार्दिक कृतज्ञाता प्रकट गर्नुभयो ।

नेपाल सरकार तथा गृहमन्त्रालयबाट प्राप्त भएका आदेश तथा निर्देशहरुलाई अक्षरस पालना गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुहुँदै वार्षिकोत्वसको अवसरमा लाईभ टाईम अचिभमेन्ट अवार्ड प्राप्त गर्नुहुने अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्रराज राई र उत्कृष्ट बाहिनी अवार्ड प्राप्त गर्ने बाहिनीपतिप्रति विशेष धन्यवाद प्रकट गर्नुभयो ।

सशस्त्र प्रहरी बल, नेपालको संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त विशेष समारोहमा नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा, गृहसचिव विनोद प्रकाश सिंह, संवैधानिक निकायका प्रमुखहरु, कामठमाडौं महानगरपालिका प्रमुख, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।



0 comments

Write Down Your Responses