Powered by Blogger.
थाहामा मलको चरम अभावः किसानका करोडौंको बिउ आलु नै मल बन्ने खतरा



सुबास खुलाल 

मकवानपुर(बज्रबाराही) । ‘जति जोगी आए पनि कानै चिरेको । चुनाव अघि आश्वासन दिने अहिले टेर पुच्छर नलाउने । भोकै मार्छन एक्दिन यिनले ।’  चुल्होमा आगो फुक्दै थाहानगर पालिका वडा नम्मर ६ का   उत्तम मगर नेतालाई सराप्छन् । 

 गाँउका साधारण कृषक उनी चार बोरा आलु रोप्ने तयारीमा छन् । त्यसका लागि रासायनिक मल चाहिएको छ ।  यतिबेला बरु आकाशका तारा खसाल्न सकिएला  तर आलु खेतीको पकेट क्षेत्र मानिएको थाहा नगरमा १० किलो मल पाउन पनि कृषकलाई ज्यादै कठिन छ  अचेल । त्यसैले हरेक दिन उनी नेता र गाँउका अगुवा भन्नेहरु भेटियो की यही वाक्य दोहो¥याँउछन् । दिँउसो मात्र होइन सुतेको बेला पनि उनले ‘१० किलो मल दिन नसक्ने के नेता ?’ भनेर बर्रबराउन थालेको धेरै भयो ।  

उनको गुनासो छ, ‘माघ ३ गते आलु रोपौँ कि भनेको । मल छैन बजारमा ।’  तीन पटक बजार आएर लाइन बस्दा समेत रित्तो हात फर्किनु परेपछि उनको रिसको पारो ह्वात्तै बढेको देखिन्छ । 

यतिखेर थाहा नगरपालिकाका सबै वडाका सबैजसो किसानहरुले आलु रोप्नका लागि खेतबारी खनजोत गरेर तयारी अवस्थामा राखेका छन् । बिउका लागि शितभण्डारणका लागि पठाएका आलु घर–घरमा आइसकेको छ । माघको पहिलो साता देखि यहाँको किसानहरुलाई आलु रोप्ने चटारो शुरु हुन्छ तर रासायनिक मलको अभावले किसानको ओठ, मुख र तालु सुक्न थालेको छ । 

गाँउघरको  साझा(सहकारी) पसलले  उपलब्ध गराएको २० किलो मल बोकेर घरतिर उक्लँदै गरेका श्याम लामिछानेलाई उकालोको  स्याँ स्याँले भन्दा पनि कसरी  रासायनिक मल जोहो गरेर २० रोपनी खेतमा आलु रोप्ने भन्ने चुनौतीले बडो तनाव पारेको छ ।  बाटो छेउको चौतारामा मलको पोको बिसाउँदै उनी दुखेसो गर्छन् ; ‘मलको अभाव भएको धेरै भयो । खेती नगरी खान पुग्दैन । खेती गर्न समयमा मल आइपुग्दैन । आइपुगी हालेपनी पुग्ने गरि आइपुग्दैन ।’ 

थाहा नगरमा करिव ८० प्रतिशत भन्दा बढी जनता कृषीमा निर्भर छन् । यहाँको  २७०० हेक्टर जमिन खेतीयोग्य छ । एकै सिजनमा तीन पटक सम्म बाली लगाउन सकिने यो  क्षेत्रमा मलकै अभावका कारण किसानले सोचे जस्तो प्रतिफल लिन सकिरहेका छैनन् । 

अहिले आलु रोप्नको लागि थाहा नगरको १३०० हेक्टर जमिन तयारी अवस्थामा छ तर संघिय सरकारले पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसकेको कारण किसानहरुमा चरम संकट र सन्नाटा दुबै छ ।

आलु रोप्नकै लागि खेतमा ट्याक्टर जोतिरहेका अर्का  किसान शनिसिंह ठकुरीको पनि गुनासो कम्तीको छैन । ‘मल पाएकै छैन । यस्तो चटारोमा घण्टौँ लाईन बसेर पनि मल नपाइने स्थिति छ । अब कोल्ड स्टोरबाट ल्याएको आलु तरकारी पकाएर खानुको विकल्प छैन।’  निधारबाट चुहिनै लागेको पसिना पुछ्दै उनले आफ्नो भित्री मनको बह पोखे । 

समयमै आफूहरुले मल पाउन नसकेको कारण कृषकहरुले किसान संघर्ष समिती नै बनाएर आन्दोलन थालेका थिए । सोही समितका तर्फबाट नगरपालिकामा धर्ना समेत दिइएको थियो । तरपनि ठोस पहल कसैले पनि नगरेपछि किसानहरु अलपत्रमा परेको संघर्ष समितीका संयोजक लक्ष्मण बर्तौलाल गुनासो गरे । 


बर्तौलाको अगुवाईमा नगर प्रमुख बिष्णु बिष्ट समक्ष कृषकको माग लिएर ज्ञापन पत्र समेत बुझाए । तर प्रमुख विष्ट आफैले ‘तपाँइहरुको आन्दोलनमा मेरो पनि समर्थन छ मिलेर संघर्ष गरौं’ भनेर निरिहता प्रदर्शन गरेपछि आफुहरुको बोल्ने बाटो हराएको बर्तौलाको बुझाई छ । 

संघिय सरकारले  समानुपातिक प्रणालीबाट मल वितरण गर्दै आइरहेको छ । थाहा नगरपालिकाले त्यही अनुरुप केही मल त प्राप्त गरेको छ तर यो प्रणालीबाट मल वितरण गर्नु न्याय संगत नरहेको ठम्याई संयोजक बर्तौलाको छ । ‘कुनै जिल्लामा यो मौसममा खेती हुँदैन् ।  त्यता मल सञ्चित हुने अवस्था छ भने यता अपुग छ ।’ उनी भन्छन् ।

यता चुनाव अघि नवनिर्वाचित  संघीय संसद महेश बर्तौलाले  थाहानगर आएर किसानको नाममा  सम्बोधन गर्दा मल उपलब्ध गराउने प्रतिबद्दता  व्यक्त गरेका थिए । चुनाव जित्नासाथ तात्तातोमा  हेटौंडा  स्थित मल गोदाम र सिंहदरबारको कृषी मन्त्रालयमा सचिव भेटेर मलको लागि चासो राखेको तस्विरहरु पनि सार्वजनिक भएका  थिए ।  तर पनि हात लाग्यो शुल्य अर्थात किसानका समस्या भने ज्यूँ का त्यूँ छ । 

यही समस्याका बीचमा एक सहकारीको साधारणसभा उद्घाटन गर्न पालुङ आइपुगेका सांसद बर्तौलाले अब भने आफ्नो भनाई फेर्न थालेका छन् ।  हिजोका दिनमा किसानलाई जसरी पनि मल ल्याउछौं भन्ने उनी अहिले भने  ‘रासायनिक मल आएन, अब अर्गानिक खेती थाहानगरले शुरु गर्नु पर्छ’ भन्न थालेका छन् । उनको यो भनाइपछि किसानहरुले खिन्नता प्रकट गरेकका छन् । 

एक सामान्य किसानलाई ६ बोरा देखि २० बोरा सम्म मल आवश्यक पर्ने भए पनि किसानले १० देखि २० किलो मल लिएर घर जानु परेको छ । 

नगरपालिकाले प्रत्येक वडामा २–३ वटा वितरण केन्द्र बनाएर मल वितरण गरिरहेको र आफ्नो सहकारीमा युरिया ३० बोरा र डिएपी मल ६० बोरा गरेर जम्मा  ९० बोरा आइपुगेको भए पनि १ सय ३० घरलाई वितरण गर्नु पर्ने चुनौती रहेको साना किसान सहकारी संस्था बज्रबाराहीका अध्यक्ष महेश्वर सुवेदी बताउँछन ।  

उसो त गत मंसीर महिनामै थाहा नगर प्रमुख बिष्णु बिष्ट नेतृत्वको एक टोलीले बाग्मती प्रदेशका मूख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डे, बागमती प्रदेश कृषि तथा पशुपंक्षी  विकास मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डे , मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे लगायतलाई भेटी बेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्रमा रासायनिक मलको अभावका कारण उत्पन्न  समस्या समाधान गर्न आग्रह गरेका थिए ।

छलफलकै क्रममा मूख्य मन्त्री पाण्डेले सहज रुपमा मल उपलब्ध गराउन पहल भैरहेको र थाइल्यान्डको एक कम्पनीसंग सहकार्य गरि बागमती प्रदेशमै रासायनिक मलको कारखाना स्थापनाको पहल भैरहेको बताएका थिए । तर पहल पहलमा मात्रै सिमित भएको भन्दै किसानहरु यतिबेला झनै आक्रोशित बनेका छन् । 

मल किन यसरी अभाव भैरहेको छ ? कहिले सम्म यो समस्या यहाँका किसानहरुले भोग्नु पर्ने हो ? कहिले देखि किसानले ढुक्क भएर खेती गर्न पाउँछन् ? यी यस्ता प्रश्नहरु  नगरपालिकाका मेयर बिष्णु बिष्टसमक्ष राख्दा  उनी भन्छन ; ‘यो  बिषयमा मेरो पनि गम्भीर ध्यानाकर्षण छ । यो थाहा नगरको मात्र नभई देशकै समस्या हो । स्थानीय र प्रदेश सरकारको पहलले मात्र यो समस्या समाधान नहुने देखिन्छ । ’ 

प्रमुख विष्टका अनुसार सरकारले देशभरको मल व्यवस्थापनका लागि  ३०  देखि ३२अर्ब बजेट छुट्याउन पर्नेमा जम्माजम्मी १५ अर्ब छुट्याएको छ यहि नै मूख्यत समस्या हो ।  उनको दावी छ, ‘यसले गर्दा स्थानीय र प्रदेश सरकारले बनाएको कार्यबिधीले मात्र यो सम्भव हुन सकेको छैन ।’ तर स्थानीय आरोप लगाँउछन्, ‘मेयर किसानको लागि चिन्तित देखिए पनि समस्या समाधानमा डटेर लागेको देखिँदैन् । ’

त्यसो त पछिल्ला दिनमा गाँउका पसलहरुमा अलि अलि मुस्ताङ मल भन्ने आएको छ  । तर किसानहरु त्यसलाई प्रयोग गर्न हिचकिचाउँछन् । नयाँ भएकाले के हो कसो हो भन्ने दुविधामा रहेको अवस्था छ ।  चितवन हेटौँडा तिरबाट अलि अलि युरिया डिएपि मल ल्याइएको पनि छ तर त्यसको दाम अत्यन्तै महंगो रहेको पाइन्छ । 

अभावका बीच कालोबजारी गरे मौकामा चौका हान्ने केही व्यापारीहरुको दाउप्रति पनि सचेत उपभोक्ता र प्रशासनले निगरानी बढाउनुपर्ने अवस्था छ । 


बागमती प्रदेशले देशको कुल मलको १० प्रतिशत मात्र प्राप्त गर्ने व्यवस्था छ  र  सो  मल १ सय १९ स्थानीय तहलाई समानुपातिक ढंगले दिनु पर्ने बाध्यकारी अवस्था छ ।  जसका लागि जनप्रतिनिधीहरु एकजुट भएर  सरकारलाई दवाब दिनु पर्ने स्थानीय  कृषकहरु बताँउछन् ।

 किसानहरुले झेल्नु परेको यो समस्याको समाधान तत्काल हुने देखिँदैन । स्थायी समाधानका लागि सरकार आफैँले रासायनिक  मलको कारखाना स्थापना गर्नुको विकल्प छैन ।



0 comments

Write Down Your Responses