Powered by Blogger.
एनप्याब्सनको २५ औँ स्थापना दिवस तथा रजत महोत्सव सम्पन्न


काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले आफ्नो २५ औँ स्थापना दिवस तथा रजत महोत्सव सम्पन्न गरेको छ । 

स्थापनाको २५औँ वर्ष पुरा गरेको अवसरमा संस्थाले बुधवार राष्ट्रिय सभागृह भृकुटीमण्डपमा औपचारिक कार्यक्रम सहित नेसनल प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता र नेसनल प्याब्सन राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै रजत जयन्ती कार्यक्रम सम्पन्न गरेको हो। 

उक्त अवसरमा मुलुकभरका सदस्य विद्यालय, पालिका समिति, जिल्ला समिति, प्रदेश समिति तथा केन्द्रीय समितिले पनि विविध कार्यक्रमहरूको आयोजना गरी एकैसाथ उत्सव मनाएका थिए ।

नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीको सभापतित्वमा सम्पन्न राष्ट्रिय सभागृहको कार्यक्रममा नेपाल सरकारका मन्त्री अब्दुल खानको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रमका अन्य अतिथिहरूमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंह, नेसनल प्याब्सनका संस्थापक संयोजक वसन्त बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष टिका प्रसाद उप्रेती, निवर्तमान अध्यक्ष ऋतुराज सापकोटा, संघिय सांसद ठाकुर गैरे, शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिपक शर्मा, हिसानका अध्यक्ष रमेश सिलवाल, प्याब्सन अध्यक्ष डि. के ढुङ्गाना, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी लगायत रहेका थिए। त्यस्तै देशभरका प्रतिनिधि शिक्षक, शिक्षिका, कर्मचारी, विधार्थी तथा संस्थाका शुभचिन्तकहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गरेका अधिकांश अतिथिहरूले नेसनल प्याब्सनले प्राप्त गरेको सफलताका लागि बधाई दिँदै निजी विद्यालयको समस्या, चुनौती र सम्भावनाका बारेमा व्याख्या गरेका थिए भने निजी विद्यालयहरूको समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री अब्दुल खानले वर्तमान सरकार निजी विद्यालयको स्थायित्वका लागि मिलेर काम तयार रहेको बताउँदै मुलुकको शिक्षा क्षेत्र तथा निजी विद्यालयको उन्नतिका लागि धारणा पत्र माग गरे। उनले प्राप्त धारणा पत्र अनुसार नै शिक्षा नीति अवलम्बन गरिने आश्वासन दिए।

कार्यक्रममा नेसनल प्याब्सनले आफ्ना संस्थापक संयोजक वसन्त बहादुर श्रेष्ठ, पूर्व अध्यक्षहरू गीता राणा, टिका प्रसाद उप्रेती, कर्णबहादुर शाही तथा निवर्तमान अध्यक्ष ऋतुराज सापकोटालाई अभिनन्दन गरेको थियो । त्यस्तै केन्द्रीय समितिको विभिन्न कार्यक्रमहरूमा सहयोग पु¥याउने जिल्ला समितिहरू क्रमशः बाँके, कपिलवस्तु र तनहुँ जिल्ला समितिहरूलाई सम्मान गरिएको थियो । 

नेसनल प्याब्सनको विभिन्न समितिहरूमा रही संस्थालाई अघि बढाउन योगदान गर्ने पूर्व वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई, सप्तरी जिल्ला पूर्व अध्यक्ष इन्जिनियर बौकु शाह तथा रुपन्देही जिल्ला पूर्व अध्यक्ष देउ प्रकाश राईलाई उक्त अवसरमा प्रशंसा पत्र प्रदान गरिएको थियो । बुधवार साँझ नै नेसनल प्याब्सनको स्थापना देखिका विविध गतिविधि समेटिएको डकुमेन्ट्री प्रदर्शन तथा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो।

‘निजी लगानीका विद्यालयहरूमा अभिभावक र विद्यार्थीहरूको आकर्षण’ शीर्षकमा भएको प्रतियोगितात्मक वक्तृत्वकलामा लुम्बिनी प्रदेशबाट श्रद्धा बस्नेत प्रथम, प्रदेश १ का सन्देश राई द्वितीय, बागमती प्रदेशकी प्रशंसा कार्कीले तृतीय स्थान हासिल गरे भने अन्य प्रदेशहरूबाट प्रतिनिधित्व गर्ने विद्यार्थीहरू सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए ।

 उक्त प्रतियोगिताको निर्णायकका रूपमा नवराज लम्साल, हरिहर तिमिल्सिना र योगेन्द्र पौडेल रहेका थिए । विजयी प्रतियोगी विद्यार्थीले क्रमशः प्रथमले १५,००० द्वितीयले १०,०००, तृतीयले ७,५०० र सान्त्वनाले ५,०००नगदका साथै ट्रफि, मेडल र प्रमाण पत्र गरेका थिए।



त्यस्तै मिथिला शर्मा, कमल राई र महेश गोदार निर्णायक रहेको नेसनल प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम, गण्डकी प्रदेश द्वितीय, र बागमती प्रदेशले तृतीय स्थान हासिल गर्दा अन्य प्रदेशहरू सान्त्वना पुरस्कारबाट सम्मानित भएका थिए। 

यो विधामा क्रमशः प्रथमले ५१,००० द्वितीयले ३१,०००, तृतीयले २१,००० र सान्त्वनाले ११,००० नगदका साथै ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।


0 comments

Write Down Your Responses