Powered by Blogger.
सडक र पूर्वाधार निर्माण निकायबीच समन्वय सुरु


काठमाडौं । काठमाडौं उपत्यकास्थित सडक र पूर्वाधार निर्माणसँग सम्बन्धित निकायहरूको साझा प्रतिनिधित्व रहेको समन्वय समितिको नियमित बैठक भौतिक पूर्वाधार र यातायात मन्त्रालयमा सम्पन्न भएको छ ।

एकीकृत बागमती सभ्यता, विद्युत् प्राधिकरण, सडक डिभिजन, महानगर, सडक विभाग, केयुकेएल, मेलम्ची खानेपानी, खानेपानी संस्थान, नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक कम्पनीलगायतले सडक तथा सार्वजनिक ठाउँमा निर्माणसम्बन्धी काम गर्दा र समयमै निर्माण फिनिसिङ नगर्दा जनताले सास्ती भोग्नुपरेपछि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको पहलमा साझा संयन्त्रका रुपमा समन्वय समिति बनाइएको थियो । 

बैठकमा मन्त्री श्रेष्ठ, सचिव केशवकुमार शर्मा लगायतका मन्त्रालयका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

समितिले तिनकुनेस्थित बागमती पुल र बिजुलीबजार–धोबीखोला पुलमुनिको करिडोर तत्काल सुचारु गर्न प्रभावकारी समन्वय गर्नेछ । विद्युत् प्राधिकरणबाट सञ्चालित आयोजनाहरूको काम सकिएपछि सडकलाई पुरानै अवस्थामा पु¥याउन समन्वय गर्नेछ । उपत्यकाभित्र सञ्चालनमा रहेका प्रदेश सरकारका आयोजनाहरूको कार्यान्वयन गर्न समन्वय गर्नेछ । र, उपप्रधान एवम् भौतिकपूर्वाधार तथा यातायात मन्त्रीसमक्ष कुन निकायले कहाँ काम गर्दै छ भन्नेबारे रिपोर्टिङ गर्नेछ ।

अबदेखि उपत्यकामा सडक तथा पूर्वाधार निर्माण गर्दा सम्बन्धित निकायले काम सुरु गर्नुपहिले समितिलाई जानकारी गराउनुपर्नेछ र समन्वय समितिले कहाँ, कुन निकायले, के गरिरहेका छन् भन्नेबारे मन्त्रालयमा दैनिक रिपोर्टिङ गर्नुपर्ने छ । 

कुनै निकायले अर्को निकायको जानकारी बिना नै सडक खन्ने, तार वा पाइप भूमिगत गर्ने, ढल खन्ने, फुटपाथ भत्काउने गर्दा सर्वसाधारणलाई ओहोरदोहोरमा सास्ती पुगेको, सडक जीर्ण भएको, निर्माण सामग्री भद्रगोल अवस्था छाड्ने गरेको, बजेटको दुरुपयोग हुने गरेको र समयमै काम नसकिको जस्ता समस्या अन्त्यको लागि समन्वय समितिले काम सुरु गरिसकेको छ । 

उपप्रधानमन्त्री श्रेष्ठले हरेक १५ दिनको नियमित बैठकमा आउँदा समस्या होइन, समस्याको पहिचान र समाधान भैसकेको फेहरिस्त लिएर आउन समितिलाई आग्रह गर्नुभयो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर डा. विजय जैसीको संयोजकत्वमा गठित समितिमा काठमाडौं महानगरपालिकाबाट सुरेशकुमार राई, उपत्यका विकास प्राधिकरणबाट सज्जन कुँवर, ललितपुर महानगरबाट कुमार महर्जन, बागमती सभ्यता एकीकृत विकास समितिबाट मिहिरचन्द्र आचार्य, पिआइडीबाट रवीन्द्र पोखरेल, विद्युत् प्राधिकरणबाट राजन ढकाल, नेपाल टेलिकमबाट प्रकाश मानन्धर लगायत सदस्य हुनुहुन्छ ।




0 comments

Write Down Your Responses