Powered by Blogger.
राष्ट्रपतिले स्वार्थ देखाएकोले दलहरूबीचमा खिचातानी बढेको कमल थापाको दावी


बुटवल । पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले देशमा अवलम्बन भएको राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पुर्नविचार र विकल्पको बहस गर्नुपर्ने बताएका छन् ।


रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकोले पुनर्विचार र विकल्पको बारेमा बहस गर्नुपर्ने बताएका हुन् ।


उनले राजतन्त्र फाल्नको लागि भएको आन्दोलन १८ वर्ष पुग्दा समेत जनताले अमनचयन शान्ति र समृद्धि नपाएको बताउँदै अहिले देशमा भइरहेको राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार गर्नुपर्ने उनको भनाई छ ।


उनले निर्वाचन हुनुभन्दा पहिलाको गठबन्धनलाई जनताले म्यान्डेड दिएको भएपनि त्यो गठबन्धन चुनावलगत्तै भत्किएर सत्ता स्वार्थमा नयाँ गठबन्धन बनेको बताउँदै देशमा फोहरी राजनीतिक खेल चलेको बताए । उनले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन पनि अस्वभाविक र अपवित्र भएको बताउँदै उनले नेकपा एमाले नेतृत्वको गठबन्धनमा दुईतर्फ बिचार फर्केका दलहरू भएकोले यो गठबन्धन पनि अस्वभाविक र अपवित्र नै रहेको ठोकुवा गरे ।


उनले भने, ‘अहिलेको गठबन्धनमा राजा फाल्ने, राजा ल्याउँछु भन्ने, संघीयता चाहिदैन भन्ने, संघीयता चाहिन्छ भन्ने र हिन्दु धर्म र धर्मनिरपेक्षताका एजेण्डा बोक्ने एकैठाउँमा बसेका छन् । यो गठबन्धन झन अपवित्र छ ।’ यसले मुलुकलाई दुर्घटनातर्फ धकलेको उनको जिकीर छ ।


अध्यक्ष थापाले देशको अर्थतन्त्र निकै कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी दैनिक बढेपनि सरकार सत्ता टिकाउनमा व्यस्त रहेको बताउँदै उनले देश अहिले रेमिटेन्सको भरमा मात्रै चलेको बताए । उनले अहिलेका राजनीतिक दलहरूमा अराजनीतिक, मर्यादाहीन र फोहोरी प्रवृत्ति देखिएको बताउँदै अब देशको अवस्थाको अपूर्वानुमेय र अविश्वसनीय अवस्थामा पुगेको बताए । उनले राजनीतिक दलहरूको अस्थीरताको कारणले देशको एकता र संविधान नै धरापमा परेको उल्लेख गरे ।


पूर्व उपप्रधानमन्त्री थापाले अबको राष्ट्रपति हुने ब्यक्तिले राजनीतिक स्वाथ अनुसारका कामहरू गर्न नहुने बताउँदै राष्ट्रपतिले स्वार्थ देखाएकोले दलहरूबीचमा खिचातानी बढेको बताए ।


देशमा बिदेशी चलखेल बढ्नुमा दलहरु स्वंम दोषी भएको बताउँदै अध्यक्ष थापाले मुलुकको स्वाभीमानमा सचेत रहन दलहरुलाइ सुभाब दिए।

राजतन्त्र पुर्नस्थापनाको विषयमा पत्रकारको जिज्ञासाबारे बोल्दै अध्यक्ष थापाले अहिले राजतन्त्र र राजनीतिक दलहरूका बिचमा आशंका र अविश्वासको खाडल रहेको बताए । उनले प्रजातन्त्र दिवसका दिनमा पूर्वराजाले दिएको सन्देशमा राजनीतिक दलहरूसंग समन्वय गर्ने भनेपनि यसको लागि निकै ढिलो भएको बताए । उनले राजाले दिएको अभिव्यक्ति दोहोरो प्रकृतिको देखिएको बताउँदै दलहरुसंगको सहकार्य सकारात्मक रहेको र मौन बस्दीन भन्ने कुराले द्धन्द्ध सिर्जना गर्नेतर्फ संकेत गरेको बताए ।


दुर्गा प्रसाईँ राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा हिँडेको प्रश्नमा बोल्दै थापाले हिन्दुराष्ट्रको पक्षमा आफुहरु पनि रहेको बताउँदै हिन्दुराष्ट्रको विषयमा आवाज उठाउने ब्यक्तिलाई नैतिक समर्थन गर्ने दाबी गरे । उनले यो पटकको निर्वाचनमा जनताले पार्टी बनाउन आग्रह गरेको बताउँदै ७७ वटै जिल्लामा संगठन बिस्तारको कामहरू भइरहेको बताए । कार्यक्रम रिपोटर्स क्लब लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षत्रीको अध्यक्षतामा भएको थियो ।


0 comments

Write Down Your Responses