Powered by Blogger.
टिस्टुङको श्री बज्रबाराही जात्राको सांस्कृतिक र परम्परागत पक्ष



रामजी बलामी

बाराहीलाई एक देवी मानिन्छ । त्यस्तै विष्णुको बाराह अवतारको शक्तिबाट नै बाराहीको उत्पत्ती भएको मानिन्छ । नेपालमा प्रशिद्ध चार बाराहीमध्ये टिष्टुङको बाराही पनि एक हो । 

यहाँको बाराहीलाई अन्य ठाउँको बाराहीको आमा भन्ने जनश्रुती पनि पाईन्छ । बज्रबाराहीलाई स्थानीय भाषामा बाराही द्यो भनिन्छ । नेवार भाषामा द्यो भनेको देवता हो । बज्रबाराहीलाई अजिमा देवीका रुपमा पनि लिईन्छ । 

बज्रबाराही माईको उत्पत्तिका सन्दर्भमा स्थानीयमा विभिन्न भनाईहरु छन् । यहाँका स्थानीयका अनुसार त्यसबेला एक जना स्थानीय टिष्टुङको दक्षिण क्षेत्रमा रहेको बन (बाराही बन) मा गाईवस्तु चराउन गएका थिए । त्यसबखत ति गोठालोले एउटा किरा मारेर ढुंगामाथि राखेका थिए । त्यो ढुंगामा अचानक दैवी शक्ती उत्पन्न भयो । 

यो शक्ति गोठालोमा पनि देखियो । र, तिनै गोठालोले काम्दै उक्त ढुंगामा बज्रबाराहीको शक्ति उत्पन्न भएको भन्दै बोले । उनले बाराहीलाई नरबली दिनुपर्ने पनि बताए ।

उनको बोलीलाई अनुशरण गर्दै केही स्थानीयले त्यस ठाउँमा एक जना सुस्तमनस्थितीका बालकलाई बली दिईयो । बली दिएर मासु समेत पकाएको र मासु पकाउने भाँडो (खासी) अचानक गुल्टेर तल आईपुग्यो (हाल मन्दिर रहेको ठाउँ) । 

त्यसबेला बाराहीले मानव बली अस्विकार गरेको भन्दै पुजारीले आप्mनो औँला काटेर बली दिएको भन्ने कथन रही आएको छ । अहिले पनि बाराही बनको डाँडामा बाराहीको पूजा गर्न जाने चलन छ । वडा कार्यालयले यो ठाउँलाई ब्यवस्थित बनाएर पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्ने योजना बनाएको छ । 

बज्रबाराही माईको उत्पत्तिका सन्दर्भमा अर्काे एउटा जनश्रुँती पनि स्थानीयमा चर्चित छ । उक्त भनाई अनुसार, एक दिन एक जना बृद्धा महिला गाउँमा बास माग्दै आए तर कुनै पनि बस्तीमा बास पाएनन् । ति बृद्ध महिला बास खोज्दै जाने क्रममा पोडे टोलमा पुगिन् । त्यहाँ उनले ससम्मान बास पाइन् । आफूलाई बास दिने बृद्धा महिलाले घरमुलीलाई तान्त्रिक ज्ञान दिइन् । 

पछि तिनै बृद्धा महिला बाराही अजिमा भएको थाहा पाएपछि सबैले पुज्न थालेको स्थानीय बताउछन् । त्यतिबेला बाराही गाउँमा बस्न नमानेको र खोलाको किनारमा बस्न चाहेकाले नै अहिलेको स्थानमा बस्न दिइएको पनि भनिन्छ । 

आपूmलाई बास नदिएपछि ति बृद्ध महिला (बाराही) ले टिष्टुङबासीलाई ‘दुई छाक खान पनि नटुटोस र सम्पन्न पनि नहोस्’ भनेर श्राप दिएको भन्ने मान्यता छ । त्यसो त यो क्षेत्रमा अझै पनि कपाल फुलेका बृद्धा नयाँ महिला देखा प¥यो भने बाराही आएको भन्ने चलन छ । 

त्यसबखत बाराहीलाई बास दिएकाले नै बज्रबाराहीको तीन बर्षे जात्रामा पोडे समुदायको पहिलो र महत्वपूर्ण भूमिका रहेको भन्ने गरिन्छ । बाराही देवी रिसाएमा टिष्टुङमा प्राकृतिक बिपत्ती आउने, आगलागी तथा रोगको महामारी हुने जन–बिश्वास रही आएको छ । 

विगतमा यहाँको पापुङ गाउँमा भएको ठूलो आगलागी र विभिन्न प्राकृतिक प्रकोपहरुलाई बाराही रिसाउँदा भएको प्रकोपका रुपमा लिईन्छ । पापुङमा आगलागी हुँदा स्थानीयले निभाउन नसकेर राजधानी काठमाडौंबाट दमकल गएको थियो । 

दमकल जाने त्रिभुवन राजपथको देउरालीबाट टिष्टुङ उपत्यका छर्लङ्गै देखिन्छ तर पनि दमकल टिष्टुङ नपुगी पालुङ पुगेको थियो । त्यसकारण पनि यो घटना बाराही माई रिसाएर भएको भन्ने गरिन्छ ।  

बज्रबाराहीलाई त्रास निर्मुल पार्ने, हौसला दिने तथा शक्ति दिने देवताका रुपमा लिईन्छ । ने.सं. ८३२ मा राजा बिष्णु मल्लले यहाँ बज्रबाराहीको नाममा ढुंगाको मुर्ती राखेको बताईन्छ । बाराही पिठ भनिए पनि यहाँ बाराहीसँगै, गणेश, भैरव, ईन्द्रायणी, कुमारी लगायतका देवताहरुका मुर्तीहरु राखिएका छन् । 

त्यसो त यतिधेरै चर्चित, ऐतिहासिक र महत्वपूर्ण स्थल भएर पनि यो मन्दिर खुल्ला रुपमा रहेको छ । बाराहीका लागि कुनै मन्दिर बनाइएको छैन । एक जनश्रुती अनुसार बाराही अजिमा मन्दिरभित्र बस्न नचाहने भएकाले खुल्ला स्थानमा नै राखिएको हो । खुल्ला स्थानमा भएकाले नै कहिलेकाही यहाँका घण्टीहरु चोरिने गरेका छन् । 

बज्रबाराहीको पिठमा टिष्टुङका स्थानीयले हरेक शनिवार पूजा गर्न जाने, हरेक बर्ष बली चढाउने जस्ता भाकलहरु नै राखेका हुन्छन् । यसका अलावा यहाँ हरेक तीन बर्षमा बज्रबाराही मेला लाग्छ जुन टिष्टुङको मुख्य मेला हो ।

 त्यस्तै हरेक १२ बर्षमा बाराही नाच हुन्छ । यस्तै बली फाल्ने पूजा, बनवारा पूजा, छ्वो पूजा, वा पूजा लगायतका बिशेष पूजाहरु पनि हुने गछनर्् । यस्तो बिशेष पूजाहरु धामीको ब्यवस्थापनमा आचाजुले गर्ने गर्छन् । कसैले बलीसहित भाकल पूजा गर्नु प¥यो भने धामी वा आचाजुको उपस्थितीमा साइत जुराएर पूजा गर्नुपर्छ । अन्य पूजा गर्नलाई भने धामी र आचाजुको आवश्यकता रहँदैन । 

बज्रबाराहीमा पूजा गर्न र भाकल पुरा गर्नका लागि केन्द्रिय राजधानी काठमाडौं, प्रदेश राजधानी हेटौडा, छिमेकी जिल्लाहरु धादिङ लगायतका ठाउँहरुबाट दिनहुँजसो भक्तजनहरु आउने गर्दछन् । 

बज्रबाराही मन्दिरमा बिशेषतः मंगलबार र शनिवार भक्तजनहरुको भिड लाग्छ । त्यस्तै हरेक चाडपर्वमा यो मन्दिरमा पूजा गर्नेहरुको घुँइचो लाग्छ । 

बज्रबाराही अजिमाको नाममा गुठी पनि छ । बाराही गुठीका नाममा यहाँ थुप्रै जग्गा जमिन समेत रहेका छन् । बज्रबाराहीको नाममा बनजंगल र चौर पनि छन् । बाराहीलाई भाकलस्वरुप घण्टी चढाउनेहरु पनि धेरै हुन्छन् । 

मन्दिर प्रवेशका लागि आकर्षक प्रवेशद्वारहरु बनाईएका छन् भने आसपासका खाली ठाउँहरुमा विभिन्न ब्यक्तिहरुले सार्वजनिक पाटीपौवाहरु बनाई दिएका छन् ।

बाराहीको पिठ हरियाली चौर, जंगल र खोलाको नजिकै गहिराईमा अवस्थित छ । वरिपरि हरियाली घना जंगल छ भने पिठ जाने बाटोमा ठूलो चौर छ । पिठको नजिकै बाह्रै महिना कलकल बग्ने बाराही खोला छ ।  

यो खोलाको नाम पनि यही बाराही अजिमाको नामबाट ‘बाराही खोला’ नामाकरण गरिएको हो । टिष्टुङका विभिन्न क्षेत्रबाट आउने खोल्साहरु यही खोलामा आएर मिसिन्छ । बाराही पिठ नजिककैको खोलामा शबदाहस्थल पनि छ ।

मन्दिर पुग्न कुन्छाल–कुलेखानी सडकबाट बाराही चौरको बाटो हुँदै करिव १० मिनेट ओरालो झर्नुपर्छ । मन्दिर जाने दर्शनार्थीहरुको सुविधाका लागि पक्की गोरेटो बाटो निर्माण गरिएको छ । फराकिलो बाटो र पर्याप्त ठाउँ रहेकाले आवतजावत गर्न निकै सहज छ । यो चौर ठूलो र भिरालो हुनु तर कुनै पर्खाल र तारवार नभएकाले कहिलेकाँही दुर्घटना पनि हुने गरेका छन् । 

बाराही पिठमा गरिने मुख्य पूजाहरु

बाराही मन्दिरमा हरेक बर्ष तीन वटा बिशेष पूजा गरिन्छ । ति हुन् ‘वा’ पूजा अर्थात धान पुजा, ‘छ्वो’ पूजा अर्थात गहँु पूजा र ‘वनवारा’ पूजा अर्थात वन पूजा । वा पूजा दशै सकिएको पहिलो शनिवार गरिन्छ । त्यसपछि मात्रै यहाँका स्थानीयले धान काट्न शुरु गर्छन् । 



त्यस्तै बैशाख अथवा जेठको पहिलो शनिवार पारेर छ्वो पूजा गरिन्छ । यो पूजापछि मात्रै यहाँका स्थानीयले गहँु काट्छन् । त्यस्तै चैत महिनामा बनवारा पूजा गरिन्छ । त्यो दिन यहाँका स्थानीयले खेतवारी र जंगलमा काम गर्दैनन् । यो दिन यहाँका स्थानीयले दिउँसो ४÷५ बजेतिर बाराहीको पिठमा गई प्रसाद ग्रहण गर्छन् । यो बेलामा धामीले भविष्यवाणी गर्छन् ।     

बली फाल्ने पूजा 

यो पूजा १२ बर्षमा एकपटक गरिन्छ । तान्त्रिक विधिवाट गरिने यो पूजालाई नेवारी भाषामा ‘महा वौ वायगु’ भनिन्छ । यो पूजाका लागि केही समय अघिदेखि नै स्थानीयहरुसँग पूजा सामाग्री संकलन गरिन्छ ।

यो पूजाको दिन कर्माचार्य पुजारीद्वारा पाला, पिचा र कलशमा कालो बोका र राँगाको बली दिएर पूजा गरिन्छ । यसका लागि करिव ४ फिट उचाइ र ५ फिट गोलाइ भएको वाँसको चोयाले बनाएको पिचा बनाइन्छ । यसमा २ मुरी चामलको भात र सिंगो राँगोको मासु राखिन्छ । 

यही पूजाका लागि करिब ४ फिट लम्बाई, २ फिट चौडाइ र ३ फिट गहिराई भएको एक किसिमको टोकरी पनि बनाइन्छ । यसमा पनि मासु र भात राखिन्छ र पञ्चरंगी पताका फहराइन्छ । यस क्रममा चारै दिशामा पूजा गरिन्छ ।

टोकरीमा धामी पनि बस्ने चलन छ । धामीलाई स्थानीयले बोकेर पाल्चोकदेखि बज्रबाराही अजिमाको पिठसम्म बाजागाजासहित लैजाने गरिन्छ । यस क्रममा धामीले बिभिन्न देवदेवताहरुलाई मासु र भात चढाउँदै जाने  परम्परा छ । बज्रबाराही देवीको पूजापछि यो पूजा समापन हुन्छ । यो पूजा सकेको एक बर्षपछि १२ बर्षे नाच सिकाउने परम्परा छ ।

धामी र आचाजु

बज्रबाराहीका मुख्य शक्तिका रुपमा धामीलाई लिईन्छ । त्यस्तै मुख्य पुजारीका रुपमा आचाजुलाई लिईन्छ । धामी र आचाजुलाई यहाँका स्थानीयले बिशेष आदर सम्मानका साथ लिने गर्दछन् । 

नेपालभरीमा बोल्ने धामी नुवाकोट र टिष्टुङमा मात्रै पाईन्छ । पूजाका बखत यहाँको धामी, आचाजुसँग मात्रै बोल्छन् । यहाँको धामीले राज्यमा हुने घटनाको भविष्यवाणी गर्ने गर्छन् । धामीले तान्त्रिक पुजारी आचाजुलाई त्यो भविष्यवाणी सुनाउँछन् । र, पुजारी आचाजुले जनतालाई सुनाउछ । 

हाल यहाँ धामीका रुपमा मधुराम महर्जन र आचाजु पुजारीका रुपमा टिकालाल कर्माचार्य, सानाभाई कर्माचार्य र तिर्थराज कर्माचार्य रहेका छन् । धामीलाई भैरवको प्रतीक मानिने हुँदा आफन्त नाता कुटुम्भको कोही मर्दा पर्दा जुठो बार्नु पर्दैन ।  आचाजु हुने मान्छे यदि एउटा मात्रै छोरो हो भने उसले बुबाआमाको किरिया समेत गर्न पाउदैन । 

पूजाको सबै ब्यवस्थापन धामीले गर्छन् भने आचाजुले पूजा गर्छन् । बाराही मन्दिरमा गरिने वा पूजा, छ्वो पूजा, बनवारा पूजा, बज्रबाराही मेलामा गरिने पूजा, तलेजु पूजा लगायतका पूजाहरुमा धामी र आचाजुले पूजा गर्छन् । 

बज्रबाराहीसँग सम्बन्धित कुनै काम गर्नुप¥यो भने धामीसँग सोध्नुपर्छ । धामीलाई पनि स्थानीयले सिधै सोध्न मिल्दैन । स्थानीयले धामीलाई कुनै कुरा सोध्नुप¥यो भने आचाजुमार्फत सोध्नुपर्छ । किनकी धामीले आचाजुसँग मात्रै बोल्छन् । बलीसहितको भाकल पूजा गर्नका लागि पनि धामीलाई सोध्नुपर्छ । 



यहाँका आचाजुहरु ललितपुरको पाटनबाट पूजापाठ गर्नका लागि टिष्टुङ आएको भन्ने गरिन्छ । यहाँका आचाजुहरुको थर कर्माचार्य हुन् । तर सबै कर्माचार्य आचाजु बन्न पाउदैनन् । यसका छुट्टै मान्यता र तरिकाहरु छन् । बज्रबाराही जात्राका क्रममा ख द्यो बन्ने पनि कर्माचार्यहरु नै हुन् । ख द्योले सेतो बेताली र सेतो जामा लगाएर खड्ग बोक्ने गर्दछन् । 

बज्रबाराही माईको तीन बर्षे जात्रा

बज्रबाराही अजिमा यहाँको प्रमुख संरक्षक देवता हुन् भने बज्रबाराही जात्रा यहाँको प्रमुख जात्रा हो । यो जात्रा तीन बर्षको अन्तरमा तीन दिनसम्म मनाईन्छ । बैशाख पूर्णिमापछि आउने सबैभन्दा पहिलो शनिवार पारेर यो जात्राको सुरुवात गरिन्छ । यो गणेश, कुमारी, बाराही, इन्द्रायणी र भैरवको संयुक्त जात्रा हो । साथमा बेताहा पनि हुन्छ तर बेताहालाई देवता मानिदैन । 

भैरब र बाराही महर्जन समुदायका हुन्छन्, ईन्द्रायणी र गणेश श्रेष्ठ समुदायका हुन्छन् भने कुमारी गोपाली समुदायका हुन्छन् । टिष्टुङका अन्य समुदायले भने सहयोगीको भूमिका निभाउछन् । जात्रामा यहाँका सबैले आ–आप्mनै भेषभुषा, संस्कृति र बाजागाजाका साथ रमाईलो गरी सहभागि जनाउँछन् । जात्रा संचालन र ब्यवस्थापनका लागि १३ वटा गुठीहरु समेत संचालनमा छन् । एउटा गुठी नेपाल सरकारका नाममा समेत संचालित छन् । गणेश गुठी, कुमारी गुठी, बाराही गुठी, ईन्द्रायणी गुठी, भैरव गुठी, बाजा ब्यवस्थापन गुठी लगायतका गुठीहरु छन् । 

यो जात्रामा काठमाडौंका शाक्य समुदायको समेत उपस्थित रहेको छ । राजा त्रिभुवनको धाई आमा सदानन्द कुमारी ठकुरी यही क्षेत्रको रहेको पनि भन्ने गरिन्छ । यसैकारण काठमाडौका शाक्य समुदायलाई बज्रबाराही जात्रामा सखरको सर्वत खुवाई दिन अनुरोध भए पश्चात यो जात्रामा सर्वत खुवाउन काठमाडौंबाट शाक्य समुदाय जाने गरेको पनि ऐतिहासिक लेखहरुमा पढ्न पाईन्छ ।  

जात्राका बेलामा बाराही पिठमा बली दिनका लागि पहिले नै दुई वटा राँगा खुल्लारुपमा छाडिएको हुन्छ । यसरी छाडिएको राँगालाई कुट्न, लखेट्न र थुन्न हुँदैन भन्ने मान्यता छ । यसरी छाडा छाडिएका राँगाहरु जहाँ पुगे पनि स्थानीयले पिठो लगायतका खानेकुरा खुवाएर पठाउने गर्छन् । 

बाराहीको ठूलो चौरमा मेला लाग्ने भएकाले यो मेलाले ब्यापारिक महोत्सवकै झल्को दिलाउछ । बाराही जात्राको बेलामा हुरीबतास चल्छ भन्ने आम बिश्वास छ । 

जात्राको साता

जात्रा शुरु हुनुपूर्व पुजारीहरुले एक साता अघिदेखिको आईतबारदेखि बिहिबारसम्म मध्यरात मन्दिरमा     (पिठ)मा गई पूजा गर्नुपर्छ । जसलाई चा पूजा भनिन्छ । चा भनेको नेवार भाषामा रात हो । यसरी चा पूजा अर्थात रात पूजा गर्न जानेहरु दुबै जनाले घर नफर्केसम्म एकअर्कासँग बोल्न हुँदैन र पछाडि फर्केर पनि हेर्नु हुँदैन भन्ने मान्यता छ । त्यसको भोलिपल्ट अर्थात शुक्रबार दिउँसो देवीको पूजा गरिन्छ । 

पहिलो दिन 

 जात्राको पहिलो दिन शनिवार पूजारीले पाल्चोकमा बली फाल्ने पूजा र तलेजु मन्दिरको पूजा गर्छन् । त्यसपछि दुई वटा राँगा पन्छाउने काम हुन्छ । आगम घरमा खँ द्य को पूजा गरिन्छ । यसै क्रममा इकुटोलबाट गणेशको पूजा र भेलु ल्याईन्छ । पापुङबाट कुमारीको पूजा र भेलु ल्याईन्छ । 

पाल्चोकबाट बज्रबाराहीको पूजा र भेलु ल्याईन्छ । पुजारी टोलबाट इन्द्रायणीको पूजा र भेलु ल्याईन्छ । धामीको घरबाट भैरवको पूजा र भेलु ल्याईन्छ । यसरी ल्याईएका सबै पूजा र भेलुहरुलाई भैरब खटमा राखिन्छ । पोडे समुदायले पनि बज्रबाराही देवीलाई सुंगुरको बली दिई उक्त खटलाई भैरव खटमा लगिन्छ । 

यता आगममा पूजारीले तान्त्रिक बिधिबाट पूजा गर्छन् । यसरी पूजा गरी देखा लिएका कर्माचार्यहरुलाई खड्क दिईन्छ । यसरी खड्क दिँदा जसलाई देवता चढ्छ ऊ नै खः द्यो बन्न पाउँछ । यसरी खः द्यो चयन भएपछि उसले सेतो जामा र सेतो बेताली लगाएर खड्क बोकी काम्दै बाहिर निस्कन्छन् । 

यसरी निक्लेको खः द्यो लाई मल्ल र ठकुरी समुदायले अबिरले पूजा गर्ने चलन छ । त्यसपछि मात्रै खः द्यो भैरब खटतर्फ जान्छन् । भैरब खटमा ५ देवता गणेश, ईन्द्रायणी, कुमारी, बज्रबाराही, भैरवको पूजा र ध्वजापटाका (भेलु) सहित रथ (खट) बोक्नेहरु प्रतिक्षारत हुन्छन् । खःद्यो त्यहाँ पुगेपछि बज्रबाराहीको जयजयकार गर्दै पूजा, रथ र भेलुलाई मन्दिर (पिठ) तर्फ लगिन्छ । 



यसरी रथ लैजाँदा प्राय ४÷५ बज्छ । रथ लगेको हेर्न यहाँका सबै गाउँका स्थानीयहरु बाटोमा निस्कन्छन् । रथलाई पुज्छन् र ढोक्छन् । सक्नेहरु रथ बोक्न अग्रसर हुन्छन् । यो रथ पिठसम्म लैजाने पनि छुट्टै बाटो छ । पछि बनेको सडकबाट नभएर खेतको डिल हुँदै स्वास्थ्यचौकी भवनबाट घुमाएर बाराहीचौर हुँदै पिठसम्म पु¥याईन्छ । खट पिठमा पुग्नुअगावै बाटोमै द्वारभैरवको पूजा गरिन्छ । 

पहिलो दिनको मध्यरातमा बिशेष पूजा गरिन्छ । यो पूजा गरेको हेर्नका लागि धेरै मान्छे राती नै उठेर मन्दिर जाने गर्छन् । यो पूजा अन्तर्गत शुरुमा पोडे समुदायले ल्याएको पूजा गरिन्छ जसलाई सरकारी पूजाको रुपमा लिईन्छ । यो पूजामा सर्प, भ्यागुतो, हाँस, भेडा, किरा फट्याङग्रा, माछा, चरा, भाले, बोका र राँगा लगायतको बली दिईन्छ । 

यसरी बली दिनका लागि हरेक जीवको भालेपोथी जोडी नै पीठमा लगिन्छ । तर भालेलाई बली दिईन्छ भने पोथीलाई त्यतिकै मन्दिरस्थलमा छाडिन्छ । यो पूजालाई नरवलीको सट्टामा गरिएको पूजा पनि भन्ने गरिन्छ ।

योसँगै अन्य विभिन्न पूजाहरु पनि यही मध्यरातमा गरिन्छ । यो पूजा सकेपछि सबै गुठीयार र पुजारीहरु बसी सामुहिक भोज खाईन्छ । यो भोज पनि खाँदै रोक्दै बिशेष प्रकारले खाने गरिन्छ । यो भोज बाजाको ताल र पुजारीहरुको निर्देशन अनुसार रोक्दै खाँदै गर्नुपर्छ । पुजारीहरु र अन्य गुठीका सदस्यहरु छुट्टाछुट्टै बसेर एकैसाथ यो भोज खाने चलन रही आएको छ । 

दोस्रो दिन

यसको भोलिपल्ट अर्थात आईतबारको दिनलाई जात्राको मुख्य दिन मानिन्छ । शरिरले बाटो नाप्दै जानेहरु यो दिन बिहान २÷३ बजेदेखि नै नाप्दै जान्छन् जसलाई नेवारीमा ‘म्ह कु दा वन्यउ’ भनिन्छ । यसरी जाने मान्छेहरु हिड्न हुँदैन । 

उनीहरु आफ्नो घरको ढोकादेखि नै शरिरले बाटो नाप्दै मन्दिरसम्म जानुपर्छ । उनको साथमा चेलीबेटी र केही सहयोगीहरु हुन्छन् । उनीहरु बिहान छिटोमा ५ बजे र ढिलोमा ८ बजेभित्र मन्दिर पुगिसकेका हुन्छन् । यो हेर्नका लागि बिहान झिसमिसेमा नै सडकमा निस्किनुपर्छ ।

यसरी जानेहरु मध्ये घर नजिक भएका र बलियो मानिसहरु चाँडै बाराहीको पिठ पुग्छन् भने घर टाढा भएका र अलि कमजोर मानिसहरु अलि ढिला पिठमा पुग्छन् । 

शरिरले बाटो नाप्दै गएर पिठसम्म पुग्दा त्यो ब्यक्तिको हातले मुर्तीमा ठ्याक्कै मिल्ने गरी छोयो भने कर्म सिद्धि भएको मानिन्छ । मुर्तीलाई छोएन अथवा छोएर हातको लम्बाई बढी भयो भने फेरि अर्काे पटक त्यसरी नै शरिरले बाटो नाप्दै जानुपर्छ भन्ने मान्यता छ । 

जात्राको दोस्रो दिन बिहान झिसमिसेदेखि नै बली दिन सुरु हुन्छ । शुरुमा कुखुराको बली पूजा हुन्छ । कुखुराको बली दिन आचाजु चाहिँदैन, अरु व्यक्तिहरुले पनि दिन मिल्छ । बिहान करिव ११ बजेसम्ममा कुखुराको बली पूजा सकिन्छ । कुखुराको बली पूजा सकेपछि बोकाको बली पूजा शुरु हुन्छ । यो दिन बली दिईएका बोकाहरुको टाउको यही छोड्नुपर्छ । 

लाखबत्ती बाल्नेहरुले पनि यही दिन बाल्ने गर्छन् । त्यस्तै पञ्चबली दिनेहरुले पनि यही दिन पूजा गर्छन् । पञ्चवलीमा बोका, हाँस, भाले, राँगा र भेडाको बली दिईन्छ । यही दिन तीन बर्ष अघिदेखि भाकल राखेकाहरुले समेत बली पूजा गर्छन् । मन्दिरमा पशुपंक्षी मात्रै होईन फलफूल पनि उत्तिकै चढाईन्छ । 

पिठमा बली दिएको टाउकोले जतिधेरै स्थान ओगट्छ त्यति नै जात्रा भब्य भएको मानिन्छ । यो दिन मुख्य पूजा भए पनि प्रसाद भने लिनु हुँदैन । 

पूजा सकिएपछि अघिल्लो राती बली दिईएका दुई वटा राँगाका मुटुहरु र बोकाको टाउको यज्ञमा होमिन्छ । बिशेष मन्त्रोच्चारण गर्दै यज्ञ गर्ने चलन छ । यो यज्ञ पश्चात बाराहीको शक्ति पिठमा बली दिईदैन । 

तेस्रो दिन

जात्राको तेस्रो अर्थात अन्तिम दिन सर्वप्रथम पिठमा बली दिई छाडिएका जीवहरुको टाउको संकलन गरिन्छ । त्यसपछि देवतालाई फूलपातीले छोप्ने र त्यसमाथि मासु र भातले छोप्ने चलन छ । त्यही मासु र भातलाई देवता फर्काउनुअघि प्रसादका रुपमा बाँडिन्छ । 

प्रसाद लिनेहरुको भिड हुने भएकाले पुजारीहरुले माथि माथिसम्म फाल्ने र टाढा टाढासम्म प्mयाँकेर प्रसाद दिने गर्दछन् । धार्मिक आस्था र मान्यता अनुसार यो प्रसाद खाँदा स्वस्थ्य हुने र रोगव्याधी भए निको हुने आम विश्वास छ ।

यो दिनमा खुवाइने जाँड पहिले पोडे समुदायले खान्छन् र त्यही जुठो जाँड देवताहरुलाई खुवाईन्छ । त्यो जाँड पछि अन्य सर्वसाधारणलाई पनि बाँड्ने चलन छ । त्यसो त जात्रा अवधिभर विभिन्न गुठीमा प्रसादस्वरुप जाँड खुवाउने चलन छ । 



यावत काम सकिएपछि बज्रबाराही देवीको खटमा धामी र बज्रबाराही अजिमाको प्रतीकका रुपमा एक जना पोडे समुदायका ब्यक्ति बस्छन् । खटलाई उठाएर तीन पटक पीठमा जयजयकारसहित परिक्रमा गराईन्छ । यति बेलाको माहोल एकदमै रमाईलो, रोचक र हेर्नलायक हुन्छ । 

रथ बोक्नका लागि विभिन्न टोलका मानिसहरुको हारालुछ हुने गर्छ । कहिलेकाँही रथ बोक्ने बिषयमा युवाहरुबीच झगडा समेत हुने गर्छन् । रथलाई पिठबाट घरमा फर्काउँदा निकै रमाईलो हुने गर्छ । रथ हेर्नेहरु रथ सँगसँगै घर फर्किन्छन् ।

यसरी फर्काइने खट सबैभन्दा पहिले पोडेटोलमा लगिन्छ । त्यहाँ पूजा गरि बली दिईन्छ । त्यसपछि खटलाई भैरव, गणेश, पाल्चोक, थहचोक र बाराही खटहरुमा पूजा गरिन्छ । 

ति टोलहरुमा विभिन्न समुदायले पूजा गरी बली दिईन्छ । सबैतिरको पूजा सकिएपछि अन्त्यमा पोडेटोलमा नै ल्याएर जात्रा समापन गरिन्छ । सबैतिर घुमाएर खटलाई यहाँ ल्याएपछि ईकुन्डोल, लिलाखेल लगायत ठाउँका बलामीहरुले बोकाको बली चढाउँछन् । यतिबेला कम्तिमा बेलुकाको ८ बजिसकेको हुन्छ । 

यसरी तीन बर्षको तीन दिने जात्रा समापन हुन्छ । भोलिपल्ट बज्रबाराहीको प्रसादकारुपमा यहाँका प्रत्येक गाउँको घरघरसम्म प्रसाद पु¥याउने गरिन्छ ।

(टिस्टुङ चिनारी पुस्तिकाबाट साभार)


0 comments

Write Down Your Responses