Powered by Blogger.
रामारोशनको पर्यटकीय पुर्वाधार विस्तार हुनुपर्ने स्थानीयको माग


प्रकाश न्यौपाने

अछाम, बैशाख २९ । झट्ट हेर्दा कुनै कलाकारले कोरेको काल्पनिक चित्र झै लाग्ने धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र हो रामारोशन । समुद्रि सतहबाट करिव २५ सय मिटरको उचाईमा अवस्थित यो क्षेत्र “बाह्र बण्ड अठार खण्ड” नामले परिचित छ । 

भौगोलिक रुपमा सुदुरपश्चिम प्रदेश, अछाम जिल्लाको सदरमुकाम मंगलसेनबाट करिब ४२ कि.मि. दुरीमा रामारोशन गाँउपालिका वार्ड नम्वर ५ मा अवस्थित यस क्षेत्रमा १२ वटा ताल र १८ वटा मैदान रहेका छन् ।

ऋतु अनुसार मौसम परिर्वतन भई रहने हुनाले फरक फरक प्रकृतिको प्राकृतिक आनन्द लिन पर्यटकहरु यस क्षेत्रमा आउने गर्दछन् ।

हिँउदमा सेताम्मे हिँउले ढाक्ने, बसन्तमा रङगिबिरंगी लालिगुराँस फुल्ने र बर्षातमा हरियाली वनजंगल, झरना, छहरा,गुफा, ठूला ठूला चट्टान तथा जलमग्न हुने तालहरुले गर्दा यस क्षेत्रको र्सौन्र्दयको बयान जति नै गरेता पनि कम नै हुन्छ् ।

रामारोशन क्षेत्रमा आउने पर्यटकहरुमा अधिकांश पर्यटकहरु प्राकृतिक आनन्द लिन तथा डुङ्गगा सवार गर्न आउने गरेका छन् । यस क्षेत्रमा बर्षातमा बादल र कुहिरोले ढकमक्क छोपिरहने तथा हेर्दा अलौकिक देखिने दृश्यले जो कोहि लोभिन्छ् । 

वडा कार्यालयबाट ३ कि.मि.उत्तरमा पर्ने यस क्षेत्रमा विभिन्न किसिमका जडिबुटि सतुवा, पाँचऔंले, पदमचाल्नु, सेलपाडु लगायतका २८ प्रजातिका जडिबुटी पाइन्छन् भने लौठसल्ला,उतिस,ओखर,गुलाफ,विभिन्न सल्ला प्रजाति त्यस्तै मृग, कस्तुरि, बदेल, बा“दर, भालु, कालिज, डा“फे, मुनाल,जस्ता वन्यजन्तु तथा चराचुरुङ्गि पाईने हुनाले पनि यस क्षेत्रको रणनीतिक महत्व रहेको छ  । 

तालहरुमा विभिन्न प्रजातिका माछा तथा अन्य जलचर प्राणीहरु रहेका छन् ।

रोशनको मैदान तथा किनिमीनि जस्ता घा“से मैदानले यस क्षेत्रको सौंर्दय झन् बढाएको छ । सन् २०२० मा गरिएको सर्वेक्षण अनुसार १२ वटा तालह्रु मध्ये ३ वटाको मात्रै विस्तृत विवरण पत्ता लागेको छ जसमध्ये जिगाले तालको कुल क्षेत्रफल २०.९२हेक्टर छ भने औसत गहिराई ४५मिटर रहेको छ त्यस्तै वाटुल्ला तालको क्षेत्रफल ४.६८ हेक्टर, गहिराई१५ मिटर र माथिल्लो धाउने तालको क्षेत्रफल २.३६ हेक्टर रहेको छ् । 

बा“की ९  वटा तालहरु लामादह ताल,लिस्सेडाली ताल,तल्लो धाउने ताल,ताउले ताल,गाग्रे ताल,डउठे ताल,दल्लेना ताल,गोराहा ताल,रामेतालको विस्तृत सर्वोक्षण हाल सम्म पनि हुन सकेको छैन्। 

यतिका सम्भावनाका वाबजुत पनि पर्यटकिय गतिबिधिमा विस्तार हुन नसक्नुमा राज्यको विभेदकारी नीति तथा यसको व्यापक प्रचारप्रसार हुन नसक्नु नै प्रमुख कारण हुन् । 

पर्यटकिय पुर्वाधारको विकास तथा विस्तार गरि यसको सम्भावनाको पुर्ण उपयोगमा राज्यको दृष्टि तत्काल पुग्नुपर्ने स्थानीयवाशिन्दाको माग रहेको छ । 

(प्रशिक्षार्थी पत्रकार)




0 comments

Write Down Your Responses