Powered by Blogger.
अनेरास्ववियु आरआरले पुरुष भलिबल प्रतियोगिता गर्दै, प्रथम हुनेलाई एक लाख पुरस्कार


काठमाडौं । अनेरास्ववियु आरआर क्याम्पस कमिटीले क्याम्पसस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । 

बुधबार अनेरास्ववियु आरआर कमिटीले पत्रकार सम्मेलनमार्फत् असार १८ गतेदेखि २२ गतेसम्म अन्तर क्याम्पसस्तरीय खुला भलिबल प्रतियोगिता गर्ने जानकारी दिएको हो । 

आरआर क्याम्पसमा पछिल्लो समय भएका विभिन्न घटनाक्रमले विद्यार्थीको छविप्रति नकारात्मक सन्देशमात्र जाने भएकाले सकारात्मक सन्देश दिएका लागि खुला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको अनेरास्ववियु आरआर कमिटीका अध्यक्ष लोकेश खड्काले जानकारी दिए ।

खड्काले भने, ‘विभिन्न विद्यार्थी संगठनका कारण आरआरमा स्ववियु निर्वाचनसमेत हुन सकेन । अनेरास्ववियु सधैं विद्यार्थीहरुकाबीचमा रहँदै उनीहरूका साझा मुद्दामा केन्द्रित छ । स्ववियु नभए पनि अनेरास्ववियुले स्ववियुको कमी हुन नदिन खुला भलिबल प्रतियोगिताको आयोजना गरेको हो।’



उनले विद्यार्थीहरूलाई शैक्षिक रूपमा मात्रै नभई खेलकुदमा पनि सहभागिता गराउन आवश्यक भएकाले उक्त प्रतियोगिता गर्न लागिएको बताए। 

अध्यक्ष खड्काले प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख रुपैंया , द्वितीयलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार नगद पुरस्कारका साथै शिल्ड र प्रमाणपत्र उपलब्ध गराइने जानकारी दिए । 

अनेरास्ववियुले उपत्यकाका साथै देशभरीका सम्पूर्ण क्याम्पसहरूलाई खुला पुरुष भलिबल प्रतियोगितामा भाग लिन आह्वानसमेत गरेको छ ।

नेपाल सरकारले भलिबल प्रतियोगितालाई राष्ट्रिय खेलको मान्यता दिएको भए पनि यसको व्यावसायिकतामा चासो नदिएको अवस्थामा सो खेलको प्रवर्धनको लागि प्रतियोगिता गर्न लागेको अनेरास्ववियु क्याम्पस कमिटीले जनाएको छ । 

विश्वविद्यालय भित्र रहेका विद्यार्थी खेलाडीका बीचमा प्रतिस्पर्धा गराउन प्रतियोगिता आयोजना गरेको क्याम्पस कमिटीका अध्यक्ष लोकेश खड्काले विज्ञप्ति जारी गरी जानकारी दिए । 

प्रतियोगितामा भाग लिने टिमले १० हजार रुपैँया दर्ता शुल्क तिर्नुपर्ने छ । सहभागी समूहले आवश्यक सम्पूर्ण व्यवस्था आफै गर्नु पर्ने आयोजकले जनाएको छ । 

 प्रतियोगिताको उद्घाटन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको समापन असार २२ गते हुने छ ।




0 comments

Write Down Your Responses