Powered by Blogger.
लेखापढी एसोसिएसन कलंकीद्धारा रक्तदान

 


कलंकी । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई समिति कलंकीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहान दश बजे सुरु भएको रक्तदान कार्यक्रमको सुभारम्भ केन्द्रीय समितिका अध्यक्ष सिताराम दाहालले गर्नु भयो । 

“रक्तदान जीवनदान” भन्ने नाराको उद्घोषका साथ उद्घाटन ब्यानरमा लेखिएका कुराहरु स–श्वर वाचन गर्दै कार्यक्रमको उद्घाटन गर्नु भयो । रक्तदान जस्तो रचनात्मक कार्यक्रम आयोजना गरेकोमा अध्यक्ष दाहालले इकाई समिति कलंकीलाई धन्यवाद दिनु भयो । 

“हामीले गर्ने रक्तदानबाट अरु बिरामी, रोगी वा अशक्तले नयाँ जीवन पाउने भएकोले नै यसलाई जीवनदान भनिएको हो । यो अन्य सबैखाले दानभन्दा माथि छ । यसर्थ यो महादानको अभियानमा सहभागी हुनुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।” उद्घाटन मन्तब्यका क्रममा केन्द्रीय अध्यक्ष दाहालले भन्नु भयो ।



संक्षिप्त मन्तब्यको क्रममा इकाई समिति कलंकीका निवर्तमान अध्यक्ष पूर्णप्रसाद श्रेष्ठले भन्नु भयो, “एउटै ब्यक्तिको जिन्दगीका सबै चरणहरुमा रक्तदान गर्ने अवसर जुर्दैन । रक्तदानको लागि जिन्दगीका सबै कालखण्डहरुमा भाग्यले साथ दिंदैन । यसर्थ जीवनका यहि भाग्यमानी कालखण्डमा रक्तदान गरौं ।”

 कार्यक्रम सञ्चालनार्थ गठित उपसमितिका संयोजक सोम बहादुर कुँवरले स्वागत मन्तब्य राख्नु भएको थियो । इकाई समितिका अध्यक्ष अच्युत प्रसाद भट्टराईको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रम सचिव नारायण प्रसाद कटेलले सञ्चालन गर्नु भएको थियो । 

इकाई समिति कलंकीका निवर्तमान अध्यक्ष पूर्णप्रसाद श्रेष्ठले रक्तदान गरेर शुभारम्भ गर्नु भएको कार्यक्रममा केन्द्रीय महासचिव कृष्ण प्रसाद दाहाल “नवराज” लगायत ९७ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो ।

 नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र ताहाचलसँगको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा इकाई अध्यक्ष अच्युत प्रसाद भट्टराईले कार्यक्रम भब्य र सभ्य ढङ्गले सफल बनाउन सहयोग गर्ने रक्तदाता, आर्थिक तथा भौतिक सहयोग गर्ने सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।






0 comments

Write Down Your Responses