Powered by Blogger.
देशभरका स्वतन्त्र साहित्यकारहरूलाई एउटै मालामा गाँसी छन्दको संरक्षण गर्नैछौं



भवानी न्यौपाने ‘भावना’, अध्यक्ष, स्वतन्त्र साहित्यपुञ्ज नेपाल


वास्तविक नाम भवानी न्यौपाने भएपनि साहित्यिक चिनारीमा भावना न्यौपानका रुपमा परिचित उनी पिता पवित्र राज न्यौपाने र माता विमला न्यौपानेको कोखबाट  भदौ पाँच गते जन्मिएकी हुन् । बिएड सम्मको औपचारिक शिक्षा हासिल गरेकी भावना साहित्यिक विधा –छन्द कविता ,शास्त्रीय बहरबद्ध गजल,कथा ,मुक्तक ,नियात्रा आदिमा कलम चलाउँछिन् । 

भावनाका बिम्बहरू कविता संग्रह ,भावनाका उद्भाष छन्द कविता संग्रह , भावनाका बहर वाटिका शास्त्रीय बहरबद्द गजल संग्रह उनको नामबाट प्रकाशित भैसकेकोे छ भने प्रकाशोन्मुख कृतिहरूमा–भावनाका तरङ्ग –छन्दकविता संग्रह ,भावनाका डोबहरू नियात्रा संग्रह ,भावना तरेली कथा संग्रह ,भावनाका अनुभूति मुक्तक संग्रह लगायत छन् । 

उनी नेपाल स्रष्टा समाज काठमाडौं ,नुवाकोट साहित्य प्रतिष्ठान ,लेखक संघ दाङ ,देउखुरी साहित्य मञ्च,राप्ती साहित्य परिषद ,ब्रम्हकुमारी विश्व विद्यालय,पल्लव साहित्य प्रतिष्ठान चितवन  आदि संस्थाहरूको आजीवन सदस्यको हैसियतमा संलग्न छिन् भने –तीन दर्जन भन्दा बढी (नेपाल र छिमेकी राष्ट्र भारतमा समेतबाट गरी ) पुरस्कार तथा सम्मान हात पारेकी छिन् । 

प्रस्तुत छ, विगत एघार वर्ष देखि  दाङ तुलसीपुरमा बसेर विद्यालय शिक्षिका पेशामा आवद्ध भई छन्द साहित्यमा कलम चलाउँदै साहित्य र शिक्षणमा जीवन समर्पित गरेकी चर्चित कवि तथा साहित्यकार भवानी न्यौपाने भावनासित गरिएको साहित्यिक कुराकानी ः

आजकल के मा व्यस्त हुनुहुन्छ ?

–शिक्षण र साहित्यिक लेखनीमा जीवनका हर दिन सेकेन्ड झैँ बित्दैछन् ।

तपाईंको विचारमा साहित्य के हो?

–साहित्य समाजको ऐना हो, समाज परिवर्तनको संवाहक हो, जीवनको विराट सम्पत्ति हो साहित्य ।

तपाईंले कति वटा कृति निकाल्नुभयो?

–आठ वर्ष अगाडि  तीन कृति प्रकाशित भएका थिए । अहिले अरू चार कृतिहरू तयार भएका  (प्रकाशोन्मुख) छन् ।

तपाईं त देशको एउटा परिचीत शिक्षक अनि स्थापित प्रसिद्द साहित्यकार, साहित्य र शिक्षण दुबैमा उत्तिकै व्यस्त देखिनुहुन्छ ,कसरी समय मिलाउनुहुन्छ ?

–जीवन कृयाशील हुनुपर्छ भन्ने  मेरो मुल मन्त्र हो । फुर्सदिलो जीवन मन पर्दैन मलाई । फेरि यो धर्तीमा हामी केही असल कर्म गर्न आएका हौंँ । जहाँ इच्छा त्यहाँ उपाय अवश्य हुन्छ । दिनभर सरकारी शिक्षकको  गहन भूमिका निभाएर घर फर्किन्छु । बिहान बेलुका घरको व्यवस्थापन गर्दागर्दै राति हुन्छ । 


खाना   खाएर सबै शयन कक्ष जान्छन्, म आफ्नो निन्द्रालाई कटाएर राति लेख्छु । दिनभर त मलाई कलम चलाउने फुर्सद कुनैदिन भएन किनकि हरेक कुरामा व्यस्त छ जीवन । 

तपाईंका हरेक विधाका रचना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिका मार्फत आइरहेका छन्  ,साहित्यमा सबैभन्दा बढी कुन विधामा कलम चलाउन मन पर्छ ?

–सबै विधा उत्तिकै मन पर्छन् , विभिन्न विधामा लेखिरहेकी छु । सबैभन्दा बढी छन्द कविता र शास्त्रीय वहरबद्ध गजलमा बढी कलम चलिरहेकोछ ।

साहित्य र शिक्षामा तपाईंलाई कुन क्षेत्र बढी मन पर्छ ?

शिक्षणका क्रममा अहिलेसम्म लाखौं बालबालिकालाई ज्ञान दिँदै आएकोले शिक्षण क्षेत्र  पनि अत्यन्तै मन पर्छ , किनकि शिक्षण पेशा भनेको यस्तो पेशा हो जसले हरेक मानिसको जीवन निर्माण गर्दछ । हरेक तह र तप्कामा पुग्ने व्यक्तिहरू शिक्षकले नै तयार गरेका हुन् । साहित्यले पनि जीवनमा ठुलो खुसी दियो यो पनि मेरो जिन्दगीको प्राणवायु हो । दुबै उत्तिकै महत्वपूर्ण छन् मेरा लागि ।

तपाईंले साहित्यमा कस्तो योगदान दिएँजस्तो लाग्छ ?

–देश र समाजका निम्ति अहोरात्र साहित्यमा खटिरहेको मेरो जिन्दगीले  के कति योगदान दियो त्यो तपाईंहरूको हातमा छ मूल्यांकन अनि भविष्यले बताउने नै छ ।

तपाईं त चर्चित कवि, आफूलाई देशका हरेक  भूगोलले सम्झिरहँदा कस्तो अनुभूति हुन्छ ?

–मलाई नेपालका हरेक भूगोलले दिएको माया प्रति अत्यन्त आभारी छु ,भावुक पनि भैरहन्छु । कसरी यति धेरै माया प्राप्त गरेँ  । यो मायाको अमूल्य ऋण मेरा प्रिय शुभेच्छुकहरूलाई मेरो लेखनीबाट  तिर्न चाहन्छु । उहाँहरूले खन्याइरहेको माया र सद्भाव ,शुभेच्छाले मलाई ऊर्जा थपिँदै ,चुलिँदै गएको छ । साहित्यमा अँझै  नयाँ काम गर्नेछू ।

साहित्यकारमा कस्तो गुण हुनुपर्छ ?

– रचनाभित्र  अब्बल क्षमता ,सरल जीवन पद्दति ,सहयोगी भावना ,घमण्डबाट टाढा , अग्रज साहित्यकारको सम्मान गर्न सक्ने,अनुजलाई हौसला , ज्ञान ,प्रेरणा दिँदै आफूसँग डोर्याउदै जाने यस्ता गुण हुनुपर्छ  साहित्यकारमा ।


साहित्यमा पुरस्कार वितरणको विकृति सम्बन्धमा के भन्न चाहनुहुन्छ?

–कतिपय राम्रा स्रष्टाहरू ओझेल पार्दै विभिन्न गुट उपगुट तयार गरी  राम्रो मूल्यांकन नै नगरेर पुरस्कार वितरण गर्ने , साहित्यमा राजनीति ,नातावाद घुसाइने , मेला पर्वमा सामान बाँडे पुरस्कारको मेला लगाउने यस्ता विकृति देख्दा  मनमा कहिलेकाहीँ वितृष्णा पैदा हुन्छ । 

त्यसैले म खास महत्त्वपूर्ण कार्यक्रम  बाहेक अन्य कार्यक्रममा जाँदिन । घरमै साधना र सृजनामा डुबिरहेकी हुन्छु । यसैमा आफूलाई  परमानन्द प्राप्त भैरहेकोछ । नेपालमा जो जो गुट उपगुटमा नलागेका स्वतन्त्र  साहित्यकार हुनुहुन्छ उहाँहरूसित मात्र नजिक छु । 

हालै २०८० सालको यही साउन महिनाको ६ गते तपाइको पहलमा नयाँ साहित्यिक संस्था जन्मिएको भन्ने सुनिन्छ, यसबारे बताइदिनु न ?ं

–स्वतन्त्र साहित्यपुञ्ज नेपाल नामको एक नयाँ संस्था देशभरका अग्रज र प्रतिनिधीमूलक साहित्यकारहरुको बाल्मिकी क्याम्पसमा भएको भेलाबाट गठन गरिएको हो । 

देशमा देखिएका साहित्यिक विकृति र विसङ्गतिहरू चिर्दै आफ्नै घरमा साधना गर्दै कलम चलाउने देशभरका स्वतन्त्र साहित्यकारहरूलाई एउटै मालामा गाँसी छन्दको संरक्षण गर्ने, देशभर शाखा विस्तार गर्ने, अब्बल क्षमता भएका राज्यले ओझेल पारेका स्वतन्त्र साहित्यकारहरूलाई उच्च सम्मान र पुरस्कार  दिने,अनुजलाई छन्द साहित्यको मार्गमा डोर्याउँदै अग्रजको सम्मान गर्दै देशभर कार्यक्रम गर्ने, क्रमशः अन्तर्राष्ट्रिय स्तरमा समेत जोड्दै विश्व साहित्यमा परिणत गर्ने यो संस्थाको उद्येश्य हो ।

अन्त्यमा केही भन्न छुट्यो कि?

–मेरो साहित्यिक जीवनलाई माया गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका आदरणीय पत्रकार मित्रहरू ,वरिष्ठ कविज्यूहरू,नेपाली एवम् संस्कृत  भाषाका उच्च  धरोहरहरू मलाई र मेरा रचनालाई  माया गर्ने देशभर र देशबाहिरका आम पाठक ,शुभेच्छुक ,आत्मीयजनहरू सबैलाई मेरो तर्फबाट अभिवादन तथा मिठो सम्झना छ ।

 मेरो जीवनलाई निरन्तर आफ्नो पत्रिकामार्फत आम पाठक माझ उभ्याइदिने  राष्ट्रिय साप्ताहिक  दामन पोष्ट र अनलाइन पोर्टल दामन पोष्ट डटकमप्रति आभारी छु । यो अन्तरवार्ता लिनुभएकामा तपाँइलाई विशेष  हार्दिक धन्यवाद ।


0 comments

Write Down Your Responses