Powered by Blogger.
लेखापढी कानून व्यवसायीहरुले २९ औं वार्षिकोत्सव मनाए


काठमाडौँ । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनले संगठन स्थापनाको २९ औं वार्षिकोत्सव मनाएको छ । एसोसिएसनको केन्द्रीय कार्यालय डिल्लीबजारमा आयोजित एक भव्य कार्यक्रमकाबीच दीप प्रज्वलन, शुभकामना आदानप्रदान गर्दै वार्षिकोत्सव सम्पन्न गरिएको हो ।

एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालको सभापतित्वमा भएको वार्षिकोत्सव समारोहमा पूर्वअध्यक्षहरु नवराज पुडासैनी, अर्जूनप्रसाद घिमिरे, तेजप्रसाद ढकाल लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा उपत्यकाभरिका शाखा तथा इकाईका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा देशभरका शाखाहरुले दीप प्रज्वलनसहित विविध रचनात्मक कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको केन्द्रीय महासचिव कृष्णप्रसाद दाहाल (नवराज) ले जानकारी दिएका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै एसोसिएसनका प्रथम अध्यक्ष नवराज पुडासैनीले संस्था स्थापना गर्न झेलेका दुख सम्झिए । एसोसिएसनलाई पटक पटक प्रहार भइरहे पनि त्यसलाई जोगाउँदै अहिलेको यो अवस्थामा आइपुगेकोले अबको नेतृत्व पनि संवेदनशील भएर संस्थाको विकास, उन्नती र व्यवस्थापनमा लाग्नुपर्ने उनले बताए । आफू यही धरातलबाट उठेको भन्दै पुडासैनीले एसोसिएसनलाई आवश्यक परेको बेला जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे । 



कार्यक्रममा शुभकामना व्यक्त गर्दै पूर्वअध्यक्ष अर्जुनप्रसाद घिमिरेले शुभकामना दिँदै एसोसिएसनलाई अहिले राज्यबाट परिचित रहेको संस्थाको रुपमा ल्याउन सकेको भन्दै खुसी व्यक्त गरे । ‘अध्ययन, अनुशासन र लगनशीलता’ लेखापढी व्यवसायीहरुको मूल मन्त्र हुनुपर्ने भन्दै आफू र आफ्नो पेशालाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गरे । 

शुभकामना व्यक्त गर्दै पूर्वअध्यक्ष तेजप्रसाद ढकालले विगतका आरोह अवरोहहरुलाई चिर्दै संस्था यहाँसम्म आइपुगेको बताए । लेखापढी एसोसिएसनभित्र २५ हजार लेखापढी व्यवसायीहरु आबद्ध र संगठित रहेको उल्लेख गर्दै व्यवसायी निरन्तर संगठित रहनु पर्ने उनले बताए । 

कार्यक्रम समापन गर्दै वार्षिकोत्सव समारोहका सभापति तथा एसोसिएसनका अध्यक्ष सीताराम दाहालले देशभर दीप प्रज्वलन गरेर वार्षिकोत्सव मनाइएको बताए । उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै उनले वार्षिकोत्सव तथा आउँदै गरेका सम्पूर्ण चाडवाडको अवसरमा शुभकामना व्यक्त गरे । 

तत्कालीन लेखापढी व्यवसायी संघ चितवनको आयोजनामा चितवनमा २०५२ असोज २७–२८ मा एक भव्य कार्यक्रमको आयोजना भएको थियो । त्यो प्रथम राष्ट्रिय भेलाले लेखापढी क्षेत्रमा काम गर्ने व्यवसायीहरुको केन्द्रीय रुप गठन भएको थियो त्यो नै अहिलेको ‘नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन’ हो ।

अहिले एसोसिएसन केन्द्रीय, प्रदेश, जिल्ला र इकाइ समितिहरुमार्फत संगठित छ । देशभर शाखा रहेको यो एसोसिएसन एक दरिलो संस्था पनि हो ।

 यो नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको नाममा औपचारिक दर्ता भने २०६३ सालमा भएको हो । ‘पेशागत दक्षता अभिवृद्धि र व्यवसायिक मर्यादाका लागि अग्रसर बनौं, अर्धन्यायिक निकायमा रहेका विकृति र विसंगति विरुद्ध संघर्ष गरौं’ भन्ने मुल नाराका साथ एसोसिएसनले काम गरिरहेको छ ।




0 comments

Write Down Your Responses