Powered by Blogger.
यस्तो छ महापर्व छठको ऐतिहासिक र धार्मिक महत्व


सुरेन्द्र ठाकुर

चार दिन सम्म मनाईने महापर्व छठ को सुरुवात “नहाय खाय“ सँग–सँगै नै सुरु हुन्छ । मुख्यतः गोबर्धन पुजाको दिन ब्रतालुहरु “गोधन कुटे“ देखि नै छठ पुजाको पुर्व तयारी हुन थाल्छ । गोधन कुटे देखि “नहाय खाय“ बीचको समयमा छठ पुजाको विभिन्न तयारी जस्तैः माटोको नयाँ चुलो बनाउने, साठी धान सुकाउने तथा पर्वमा आवश्यक पर्ने अन्य सामाग्रीको ब्यवस्थापन गर्ने गरिन्छ । 

छठ पर्वको सुरुवात “नहाय खाय“ को दिनबाट विधि पुर्वक सुरुवात हुन्छ । धार्मिक मान्यता अनुसार छठ पर्व संतानको प्राप्ति, कुशलता, दिर्घायु, स्वास्थ्य लाभ  तथा मानव कल्याण, बिश्व शान्ति, मंगल कामनाका साथ सम्पन्न गरिन्छ ।  छठ पूजामा व्रतालुहरू चार दिन सम्म पवित्रताको बिशेष ध्यान राख्नु पर्दछ । चार दिन सम्म मनाइने यो महापर्व हिंदू पञ्चाङ्ग अनुसार छठ पुजा कार्तिक महिनाको शुक्ल चतुर्थी देखि सप्तमी सम्म मनाईन्छ ।


हिंदू धर्म शास्त्र अनुसार “छ्ठी मईया“ भगवान ब्रह्माजी को मानस पुत्री तथा सूर्य देव को बहिनि हुनुहुन्छ । वहाँलाई नै प्रसन्न गर्न छठ ब्रत गरिन्छ । ब्रह्मवैवर्त  पुराणमा उल्लेख भएअनुसार ब्रह्माजीले  सृष्टि रचना गर्न स्वयं आफै लाई दुई भागमा विभाजित गर्नुभएको  थियो । दायाँ भागमा  पुरुष र बायाँ भागमा प्रकृतिको रूप लिई आउनुभएको थियो । सृष्ठीको अधिष्ठात्री प्रकृति देवि स्वयं आफैं ६ भागमा विभाजीत हुनुभयो । वहाँको छैठौ अंश सर्वश्रेष्ठ मातृ देवीको रूपमा प्रख्यात हुनुहुन्छ । प्रकृतिको छैंठौ अंश भएको कारण वहाँको नाम  षष्ठी  परेको हो । जो “छठी मैया’ को नामले प्रख्यात हुनुहुन्छ । धार्मिक मान्यता अनुसार शिशु जन्मेको छैठौ दिनमा मनाईने छठीयारमा पनि यही माताको पुजा गरिन्छ ।  माताको उपासनाले बच्चाको स्वास्थ्य, सफलता तथा दिर्घायुको आशीर्वाद प्राप्त हुन्छ। पुराणमा यसै देवीको नाम कात्यायनी बताइएको छ । जसको नवरात्रिमा षष्ठी तिथिमा पुजा गरिन्छ ।


व्रतको सुरुआत


ब्रह्मवैव्रत पुराण कथा अनुसार, सन्तान प्राप्त नभएपछि दुःखीत भएको प्रथम मनुको पुत्र राजा प्रियव्रतलाई महर्षि कश्यपले भने अनुसार महायज्ञ सम्पन्न गर्नुभयो।  जसको परिणाम स्वरूप वहाँ को पत्नी गर्भवती हुनुभयो। दुर्भाग्यवस बच्चाको गर्भमै मृत्यु भयो। यस कारण पुरै राज्यमा दुःखद माहौल सृजना भयो। त्यसै समय आकाशमा एउटा चम्किलो पत्थर देखियो । जुन पत्थरमा षष्ठी माता विराजमान हुनुहुन्थ्यो। 



राजाले देखें पछि वहाँको परिचय सोध्नुभयो अनि माता षष्ठीले भन्नु भयोकी म ब्रह्माको मानस पुत्री, मेरो नाम षष्ठी देवी हो। म संसार भरिको बच्चाको रक्षक तथा सबै  निसन्तान महिलालाई संतान सुखको आशीर्वाद प्रदान गर्दछु। तत्पश्चात राजा प्रियव्रतको प्रार्थना अनुसार देवी षष्ठीले बच्चालाई जीवित पर्नुका साथै दिर्घायुको वरदान दिनु भयो। षष्ठीदेवीको कृपा देखेर राजा प्रियव्रत निकै प्रसन्न हुनुभई षष्ठी देवीको पुजा अराधना गर्नुभयो। लोक मान्यता अनुसार राजा प्रियव्रतले छठी माताको पुजा गरे पश्चात यो पर्व मनाउनु थालियो। छठ पर्व मधेशको महत्वपूर्ण महापर्व हो। चार दिन सम्म हर्षोल्लासका साथ मनाईने यो पर्व कार्तिक शुक्ल चतुर्थी देखि सप्तमी तिथि सम्म मनाईन्छ।     


१.नहाय खाय                          


छठ पर्वको पहिलो दिन अर्थात कार्तिक महिनाको शुक्ल चतुर्थी “नहाय खाय“ को दिन व्रतालुहरु जलाशय नदी, पोखरी तथा ताल आदि मा नुहाएर नयाँ कपडा लगाएर लहसुन,प्याज रहित शुद्ध शाकाहारी खाना खान्छन। फर्सी र लौकाको तरकारी तथा चना वा रहरको दाल खानामा अनिवार्य हुनुपर्छ। यस दिन व्रतालु ले खाना खाए पछि मात्र घरको अन्य सदस्यले खाना खान्छन।


 


२.खरना


छठ पूजा को दोस्रो दिन पञ्चमी तिथिमा खरनाको दिन व्रतालुहरु बिहानको खाना नखाई, दिन भरी व्रत बस्छन । खरनाको राति ‘’चामल र गुड्’’ बाट बनेको खिर प्रसादको रुपमा छठी माईलाई खरना पुजामा अर्पण गर्छन्। आँपको दाउरा तथा गोईठाको आगोको हवनमा प्रसाद, धुप, तिल, जौं आदिबाट हवन गरिन्छ। माटो बाट बनेको नयाँ चुलोमा गोईठा तथा आँपको दाउराको आगोमा प्रसाद पकाइन्छ। यस दिनमा ब्रतालुले नुन खानु हुँदैन। ब्रतालुहरु खरनाका दिन भरि भोकै बस्छन र राति खरना पुजाको प्रसाद ‘’चामल र गुड्’’ बाट बनेको खिर मात्र खान्छन्। खरना पश्चात छठ ब्रतालुहरुले ३६ घण्टाको  निर्जला उपवास ब्रत ‘पारना’ सम्म बस्छन्।




३.संझिया घाट÷सन्ध्या अर्घ्य


छठ पूजा को तेस्रो दिन, कार्तिक महिनाको शुक्ल षष्ठी तिथि, छठ पूजाको सब भन्दा महत्वपूर्ण दिन हो। संझिया घाटको नामले प्रख्यात यस दिन व्रतालुहरू जलाशय घाटमा गएर अस्ताउदै गरेको सूर्यलाई अर्घ्य दिन्छन। डाला÷टोकरीमा फलफूल, ठेकुवा, कसार, गुड्, मिठाई, उखु, कागती, हरियोपात सहितको अदुवा ईत्यादि पुजा सामाग्रीबाट अर्घ्यको सुपली सजाईन्छ। नदी, जलाशयमा कमर सम्म पामिमा उभिएर अर्घ्य दिइन्छ। व्रत हुने जलाशय घाटलाई फूल, बत्ती, टेन्ट, बाजागाजा सहित मनमोहक ढंगले सजाइएको हुन्छ। घाटमा सुमधुर छठ लोक गितहरु गुंजीरहेको हुन्छ। ब्रतालुहरु रातभरी घाटमा जाग्रम बसी सुमधुर छठ लोक गित गाउदै, पुजा–आजा गर्दछन।




छठ माताको लोकप्रिय गीत ः–


केरवा जे फरेला गवद से, ओह पर सुगा मंडराय ।


उ जे खबरी जनइबो आदिक से, सुगा देले जुठियाए ।। 


उजे मरबो रे सुगवा धनुक से, सुगा गिरे मुरझाय ।


उजे सुगनी जे रोबे ले वियोग से, आदित होई ना सहाय ।।


 


४.भिनहिया घाट÷भोरबा घाट÷उदाउँदो सूर्यलाई अर्घ्य÷पारना


चौथो दिन, कार्तिक महिनाको शुक्ल सप्तमी तिथि, छठ महापर्वको अंतिम दिन हो। ब्रतालुहरुले बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्। उदाउँदो सूर्यलाई अर्घ्य दिएपश्चात, छठ ब्रत समापन हुन्छ। यस पश्चात व्रतालुहरु पारन गर्दछन्। छठ व्रतमा अर्घ्य चढाइएको ‘प्रसाद, गुँड र अदुवा’ को सेवन गरेर व्रतालुहरुले पारना गर्दछ ।


मधेशमा निकै धूमधाम र आस्था को साथ मनाईने यो पर्व परिवारिक पुनरमिलन तथा साथि–भाई, ईस्ट मित्र तथा सामाजिक भेटघाटको एउटा मौका समेतको रूपमा लिईन्छ। छठ व्रतमा, छठको धार्मिक लोकगीत गाएर ब्रतालुहरु पुजा गर्दछन्। छठ पर्वको प्रसाद ठेकुवा, कसार, मिठाई, फलफूल प्रसाद दिदि बहिनि तथा छोरी चेलीको घरमा सनेस÷कोसेलीको रुपमा बुवा आमा तथा दाजु भाईले लानुपर्ने चलन परापूर्वकालदेखि चलिआएको छ ।







0 comments

Write Down Your Responses