Powered by Blogger.
वैद्यसंग बिद्रोह गरेका दुई मोर्चा छिट्टै एकिकरण हुने



काठमाडौं । मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) बाट विद्रोह गरेका दुइवटा छुट्टाछुट्टै मोर्चाहरुले संयुक्त विज्ञप्ति निकाल्दै एकताको घोषणा गरेका छन् । 

आइतबार आयोजित एक कार्यक्रममा अशोक शर्माले नेतृत्व गरेको नयाँ जनवादी मोर्चा, नेपाल र विष्णु खड्काले नेतृत्व गरेको क्रान्तिकारी मोर्चा, नेपाल बीच बैचारिक, सैद्धान्तिक  तथा दार्शनिक रुपमा एकरुपता कायम रहेको कारण राजनीतिक तथा सांगठनिक एकता कायम गरेर अगाडि बढ्ने सहमति भएको छ । 

सांगठनिक रुपमा एकतालाई अन्तिम रुप दिन दुबै पक्ष मिलाएर ३÷ ३ जनाको कार्यदल समेत गठन भएको छ । 

जसमा नयाँ जनवादी मोर्चा, नेपालको तर्फबाट संयोजक अशोक शर्मा, प्रवक्ता दिनेश बर्ताैला र केन्द्रीय सदस्य रविन लिम्बू रहनुभएको छ भने क्रान्तिकारी मोर्चा नेपालको तर्फबाट संयोजक विष्णु खड्का, सहसंयोजक मोहन पहाडी र प्रवक्ता धर्म विसी रहनु भएको छ । 

नयाँ जनवादी मोर्चा, नेपालका प्रवक्ता दिनेश बर्ताैलाको अनुसार चाँडै नै कार्यदलको बैठक बसी सांगठनिक एकता कायम गरिने छ ।  

मोहन बैद्य किरण नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) मिलेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको  निर्माण भएपछि मोहन बैध्यले एकताको नाममा विचार परिवर्तन गरेको भन्दै केन्द्रीय सदस्य अशोक शर्मा लगायतका देशभरका युवाहरुले विद्रोह गरि नयाँ जनवादी मोर्चा निर्माण गरेका थिए । 

मोर्चाले पछिल्लो समय प्रदेश न. १, ३ र ४ का भेलाहरु भव्यतापुर्वक सम्पन्न गरिसकेको बुझिन आएको छ । 

देशव्यापी रुपमा युवाहरु संगठित गर्दै आएको उक्त समुहले छरिएर रहेका देशभरिका क्रान्तिकारी समुहहरुसंग एकताबद्ध भएर जाने लक्ष्य लिए अनुसार आफुहरुले काम गरिरहेको नयाँ जनवादी मोर्चाका संयोजक अशोक शर्माले बताउनु भएको छ ।




0 comments

Write Down Your Responses