Powered by Blogger.
चैत ८ गते राष्ट्रव्यापी कविता प्रतियोगितासहित कविता महोत्सव हुने


काठमाडौं । साहित्य सदन नेपालले विश्व कविता दिवस (मार्च२१) अर्थात चैत्र ८ गते कविता महोत्सव गर्ने भएको छ। 

संस्थाले कवि र कवितालाई सम्मान गर्ने उद्देश्यले विश्व कविता दिवसका दिन राष्ट्रव्यापी कविता प्रतियोगितासहित  कविता महोत्सव गर्ने निर्णय गरेको साहित्य सदनका अध्यक्ष प्रा. डा. हेमनाथ पौडेलले बताउनुभयो ।

उक्त दिन प्रतियोगी कविका साथै अतिथि कविहरूका समेत कविता वाचन हुने  र कविता विमर्शका साथ  महोत्सव  सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो । 

यस सन्दर्भमा प्रतियोगितामा सामेल हुन इच्छुक कविहरूका लागि सदनले एक सूचना प्रकाशित गरी कविता आह्वान गरेको छ ।  

सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनिस्कोले  मार्च २१ लाई विश्व कविता दिवस मनाउने निर्णय गरेपछि संसारभरि  विश्व  कविता दिवस मनाइदै आएको छ । यसै अवसरमा सदनले उक्त दिन कविता महोत्सव गर्न लागेको जनाइएको छ ।

साहित्य सदन नेपाल जनस्तरबाट स्थापित साहित्यिक संस्था हो । २०४३ सालमा कवि केदारमान व्यथितका अध्यक्षतामा स्थापित यस संस्थाले  भाषा–साहित्य र संस्कृतिका क्षेत्रमा महत्त्वपूर्ण कार्यहरू गर्दै आएको छ । 

व्यथितपछि रमेश विकल र अमिर थापाले नेतृत्व गर्नुभएको यस संस्थाको हाल अध्यक्ष प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल हुनुहुन्छ । 

यस संस्थाले  हृदयचन्द्र स्मृति सम्मान, गोपालप्रसाद रिमाल पुरस्कार र व्यथित काव्य सम्मान जस्ता पुरस्कार र सम्मानको स्थापना गरेर  विशिष्ट साहित्यकारहरूलाई सम्मान गर्दै आएको छ । 

जन प्रज्ञा–प्रतिष्ठानका रूपमा स्थापित यस संस्थाले एउटा प्रेक्षालयका साथ हाल महानगरपालिकाको सहयोगमा  आधुनिक सुविधासम्पन्न भवनको निर्माण गरी आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ । 

हाल  साहित्यकारहरूका लागि आवासीय  साधना कक्ष, वाचनालयसहितको पुस्तकालयको निर्माण गरेको छ । 


0 comments

Write Down Your Responses